Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसले वैदेशिक ऋणको ब्याज पनि तिर्न सकेन

रुसले वैदेशिक ऋणको ब्याज पनि तिर्न सकेन


मस्को । सन् १९९८ यता पहिलोपटक रुस समयमै आफूले विदेशी ऋणदातासँग लिएको रकमको ब्याज तिर्न असफल भएको छ । त्यसो त उसले पैसा नभएर तिर्न नसकेको भने होइन । बीबीसीका अनुसार ऋणको ब्याज रकम १० करोड अमेरिकी डलर आइतबारसम्म तिर्नुपर्ने अवस्था भए पनि पश्चिमा राष्ट्रको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय ऋणदातालाई ब्याज तिर्न रुस असफल भएको हो ।

क्रेमलिनले समयमै पैसा तिर्न भरमग्दुर प्रयास गरेको थियो । तर युक्रेनमाथि गरिरहेको सैन्य आक्रमणको प्रतिक्रियामा पश्चिमा राष्ट्रहरुले प्रतिबन्ध लगाएका कारण उक्त ब्याज तिर्न नसकेको हो । समयमै ऋणको ब्याज तिर्न नसक्नुलाई देशको प्रतिष्ठासँग समेत जोडेर हेरिन्छ ।

१० करोड ब्याजको भुक्तानी रुसले २७ मेमै तिर्नुपर्ने थियो । त्यही रकम तिर्न उसले ब्याज रकम ऋणदातालाई वितरण गर्ने युरोक्लियरमा पैसा पनि पठाएको थियो । तर उसले पठाएको पैसा त्यहीँ अड्किएको छ । सोही कारण ऋणदाताहरुले ब्याज पाउन सकेनन् । रुसले पठाएको पैसा ३० दिनभित्र आउनुपर्ने थियो । त्यो भनेको आइतबार साँझसम्म थियो । त्यो म्याद गुज्रेसँगै रुस ब्याज तिर्न चुकेको हो । यसलाई अंग्रेजीमा ‘डिफल्ट’ भनिन्छ ।

युरोक्लियरले भने रुसी रकम रोकिएकोबारे केही बताएको छैन । तर ब्लुम्बर्गले भने रकम रोकिएको उल्लेख गरेको छ । रुसले भने ब्याज तिर्न नसकेको विषयबारे खण्डन गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कभले सबै ब्याज मे महिनामै भुक्तानी गरिसकेको बताए । उनले युरोक्लियरले आफ्नो भुक्तानी रोकेकोले यसमा रुसको कुनै दोष नरहेको बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया