Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसबाट चीनमा मात्रै मर्ने दुई हजार नाघे

कोरोना भाइरसबाट चीनमा मात्रै मर्ने दुई हजार नाघे


बेइजिङ, फागुन ९
कोरोना भाइरसको संक्रमणबाट चीनभर मृत्यु हुने व्यक्तिको संख्या दुई हजार १ सय १८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए पनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ ।

एएफपीका अनुसार गत मंगलबार एकै दिनमा यस भाइरसको संक्रमणका कारण १ सय ३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको थियो । बुधबारको दिन यस भाइरस संक्रमणको कारण १ सय १४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुगेको समाचारमा जनाइएको छ । बिहीबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार १ सय १८ पुग्नुको साथै ७४ हजार ५ सय ७६ व्यक्ति संक्रमित भएका छन् ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेई प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

२५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
सियोल, दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको संक्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन् । उनले कोरोनाविरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन् । दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो ।

टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरे । कोरियाली संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ । उक्त चर्चमा एक जना कोरोना संक्रमित व्यक्ति पनि सहभागी भएका थिए ।

केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना संक्रमण देखिएको थियो । बुधबार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु संक्रमित भएको जनाएको थियो । तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएका थिए वा अस्पतालमा ती महिलाबाट अरुमा संक्रमण भएको थियो ।

दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना जीवाणुको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए । कोरोना जीवाणुको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

पहिलो मृत्यु : यसैबीच, दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । संक्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ । बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन् । उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया