Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाभाइरस : चीनमा ९२ प्रतिशतले घट्यो कार बिक्री

कोरोनाभाइरस : चीनमा ९२ प्रतिशतले घट्यो कार बिक्री


बेइजिड., फागुन ११
चीनमा कार बिक्री ९२ प्रतिशतले घटेको छ । पछिल्लो समय फैलिएको कोरोनाभाइरसका कारण चीनमा कार बिक्री फेब्रुअरीमा ह्वात्तै घटेको छ । बीबीसीका अनुसार कार डिलरशिपहरु भाइरसका कारण बन्द रहँदा कार बिक्री घटेको हो । राष्ट्रव्यापी रुपमा फेब्रुअरी पहिलो साता कार बिक्री ९६ प्रतिशतले घटेको बताइएको छ । प्रतिदिन औसत ८ सय ११ वटा कारहरु बिक्री हुने गरेका छन् । द चाइना पेसेन्जर कार एसोसिएसन (सीपीसीए)का अनुसार शोरुमहरु खुल्न थालेपछि कार बिक्री बढ्न सक्नेछ । यो महिनाबाट डिलरहरु विस्तारै खुल्न थालेका छन् । फेब्रुअरीको उत्तरार्धतिर कार बिक्रीमा सुधार आउने अपेक्षा गरिएको छ ।

चिनियाँ कार निर्माता गिलीले भर्खरै अनलाइनबाटै कार बिक्री सुरु गरेको छ । उसले ग्राहकको घरमै कार पु-याउने व्यवस्था गरिएको जनाएको छ । चीन विश्वकै ठूलो कार बजार हो । चीनमा गत वर्षमात्रै २ करोड १० लाख वटा कारहरु बिक्री भएको स्टाटिष्टाको तथ्यांकले देखाएको छ । विश्वमा दोस्रो ठूलो बजार भने अमेरिका हो । त्यसो कोरोना भाइरस फैलिनुअघि नै चीनमा कार बिक्री घट्नथालेको थियो । चीनको अर्थतन्त्र नै सुस्त बन्दै गइरहेको र अमेरिकासँगको व्यापारिक तनावको असर परेको कारण यस्तो भएको हो ।

चीनमा कार बिक्री मात्रै हैन पछिल्लो परिस्थितिको कारण उत्पादनमा पनि असर गरेको छ । धेरै कार कम्पनीहरु यो हप्ता सञ्चालनमा आउने अपेक्षा गरिएको छ । तर पूर्ण क्षमतामा आउन अझै समय लाग्ने कम्पनीहरुले बताउँदै आएका छन् । भाइरसले प्रभावित हुनेमा कार उद्योग मात्रै छैनन्, सबै कलकारखानामा असर पुगेको छ । चर्चित स्मार्टफोन निर्माता एप्पलसम्मलाई भाइरस प्रकोपले असर गरेको छ । हालसम्म चीनमा सोही भाइरसका कारण मर्नेको संख्या २ हजार २ सय नाघिसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया