Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियामा कोरोना प्रकोप तीव्र

दक्षिण कोरियामा कोरोना प्रकोप तीव्र


सोल, फागुन १२
दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको पाइएको छ । केही दिनदेखि संक्रमितहरुको संख्या बढ्दै गएकोमा आइतबारसम्म ६ सय जना बढीमा यो भाइरस संक्रमण फेला परेको छ । त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि बढेर छ जना पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

मृतकमध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन् । पछिल्लो समयमा भेटिएका संक्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् । कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौंलाई कोरोना संक्रमण भएको छ । चर्चमा पहिलो संक्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ वर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिंदै गएको अधिकारीहरुले जनाएका छन् ।

कोरियाको डाएगु सहर देशकै चौथो ठूलो सहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन् । यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् । संक्रमित हुनेहरुको संख्या एकाएक अत्यधिक तीव्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले आइतबार जानकारी दिए । आगामी केही दिन संक्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने उनको भनाइ छ ।

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । ‘सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरुको सुझावका आधारमा गरिएको छ’, उनले भने ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया