Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइन्डो प्यासिफिक साझेदारीले विश्व अर्थतन्त्रमा योगदान : ट्रम्प

इन्डो प्यासिफिक साझेदारीले विश्व अर्थतन्त्रमा योगदान : ट्रम्प


अहमदावाद (भारत), फागुन १३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणमा राष्ट्रपतिका साथ उनकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी छन् । विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा गएका थिए । भारत आएका ट्रम्पले अहमदावादस्थित एक विशाल कार्यक्रमलाई सम्बोधन गरेका छन् । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्बोधन गरेका थिए । अहमदावादस्थित सरदार पटेल स्टेडियम (रंगशाला) मा आयोजित ‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा विश्वका दुई शक्तिशाली अर्थतन्त्रको नेतृत्व गरेका दुवै नेताले आफ्नो सम्वोधनमा एकअर्काको प्रशंसामा व्यापक समय खर्चिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका हुन् । गुजरातमा उनको भव्य सार्वजनिक स्वागत गरिएको छ । विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अंकमाल गरेर स्वागत गरेका थिए । दुई नेतावीच पटक पटक अंकमाल गरी विशेष निकट सम्बन्धको सन्देश दिइएको थियो । महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको अवलोकन भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई साथ दिएका थिए । राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ । ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले ट्रम्प र उनकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गरेका थिए । उनले ट्रम्पको भ्रमणले दुई देशको मित्रतालाई विशेष उचाइमा पु-याएको बताएका थिए । ट्रम्पले पनि भारतीय हिन्दुवादी नेता तथा प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए । ‘सामान्य परिवारमा जन्मिएर भारतको कार्यकारी बन्नु भारतीय प्रधानमन्त्री मोदीको सफलता हो’, अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘मोदीको नेतृत्वमा भारतले मलाई दर्शाएको आतिथ्यता मैले कहिल्यै भुल्नेछैन ।’ भारत र अमेरिकाको नेतृत्व इन्डो–प्यासिफिक रणनीतिमा साझेदारीका साथै विश्व अर्थतन्त्र विकासका लागि महत्वपूर्ण रहने भनाइ ट्रम्पको थियो । उनले भने, ‘हामीले इन्डो प्यासिफिक कार्यक्रममार्फत विश्वकै प्रगतिमा योगदान गर्नसक्छौँ ।’

उक्त अवसरमा अमेरिकी राष्ट्रपतिले आतंकवादसँग लड्न अमेरिकाले भारतलगायतका एसियाली मुलुकसँग विशेष सहकार्य गरिरहेको प्रसङ्ग जोड्दै अमेरिकाले आतंकवादलाई परास्त गर्न पाकिस्तानसँग पनि राम्रो सम्बन्ध रहेको उल्लेख गरेका थिए । यसै प्रसङ्गमा राष्ट्रपति ट्रम्पले संसारबाट स्लामिक स्टेटजस्ता आतंकवादी सञ्जाललाई परास्त गर्न विश्व समुदाय एक हदसम्म सफल बनेको र आगामी चुनौतीको पनि एकतावद्ध भएर सामना गर्ने ट्रम्पको भनाइ थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया