Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजो भारतका ‘वारेन बफेट’ कहलिन्थे, रहेनन्

जो भारतका ‘वारेन बफेट’ कहलिन्थे, रहेनन्


नयाँ दिल्ली । भारतका ‘वारेन्ट बफेट’ र ‘बिग बुल’ नामले चिनिँदै आएका चर्चित सेयर लगानीकर्ताको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेयर लगानीकर्ता राकेश झुनझुनवालाको आइतबार बिहान मृत्यु भएको हो ।

६२ वर्षीय उनलाई भारतका ‘वारेन बफेट’ भनिन्थ्यो । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ५ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ । मुटुमा समस्या भएर उनको मृत्यु भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मृत्युमा शोक व्यक्त गर्दै आर्थिकजगतमा अमिट छाप छोडेर गएको बताएका छन् ।

धेरैपटक उनको तुलना वारेन बफेटसँग गरिने गरेको भारतीय मिडियाले जनाएका छन् । उनलाई भारतीय सेयरबजारका ‘बिग बुल’ पनि भनिन्थ्यो । कलेज पढ्दादेखि उनी सेयरबजारमा प्रवेश गरेका थिए । सुरुमा ५ हजार भारु मात्र लगानी गरेका उनले केहीअघि मात्रै जेट एयरवेजका पूर्वमुख्य कार्यकारी अधिकारी विनय दुवे र इन्डिगोका पूर्वप्रमुख आदित्य घोषसँग मिलेर नयाँ विमान सेवा कम्पनी आकाश एयरको सुरुवात गरेका थिए । यो एयरलाइनले यही महिना मुम्बईबाट अहमदाबादसम्म उडान सुरु गरेको छ ।

झुनझुनवाला भारतका ४८औँ सबैभन्दा धनी व्यक्ति थिए । चार्टर्ड एकाउन्टेन्ट (सीए) रहेका उनले कम्पनीको खाताको अडिट गर्न छोडेर सेयर लगानीको बाटो छानेका थिए । सन् १९८५ मा ५ हजार भारु लगानीबाट सुरु गरेका उनले सन् २०१८ सम्ममा लगानीको मूल्य बढेर १ खर्ब १० अर्ब भारुसम्म पुगेको थियो । उनको लगानी स्टार हेल्थ, टाइटन, र्यालिस इन्डिया, केनरा बैंक, इन्डियन होटल्स कम्पनी, एग्रो टेक फुड्स, नजारा टेक्नोलोजिज र टाटा मोटर्समा रहेको थियो । जुनमा सकिने त्रैमासिकको अन्त्यसम्म उनका ४७ वटा कम्पनीमा लगानी थियो ।

टाइटन, स्टार हेल्थ, टाटा मोटर्स र मेट्रो ब्रान्ड्स जस्ता कम्पनीमा उनको ठूलो हिस्सा थियो । उनी हंगामा मिडिया र एप्टेकका प्रमुख पनि थिए । उनी धेरै कम्पनीको बोर्डमा समेत थिए । उनको जन्म १९६० जुलाई ५ मा राजस्थानको परिवारमा भएको थियो । उनी मुम्बईमा हुर्किएका थिए । मुम्बईमा उनका बुबा आयकर आयुक्त थिए । उनले साइडेन्हेम कलेजबाट स्नातक डिग्री लिएका थिए ।

उनले सन् १९८६ मा टाटा टीको ५ हजार सेयर ४३ भारु प्रतिकित्तामा किनेका थिए । तीन महिनापछि यो सेयर १४३ भारु पुग्यो । जहाँ उनलाई पहिलो नाफा मिलेको थियो । तीन वर्षपछि २० देखि २५ लाख भारु कमाइ गरे । उनले जुन समयमा सेयर बजारमा लगानी सुरु गरे त्यो बेला सेन्सेक्स १५० अंकसम्म पुगेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया