Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…

जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…


अमेरिका । विश्वकै धनी व्यक्ति हुन् इलोन मस्क । टेस्ला र स्पेस एक्सका मालिक उनी बेला–बेला सामाजिक सञ्जाल ट्विटरमा ठट्टा गरिरहन्छन् । उनले पछिल्लोपटक फेरि एकपटक ट्विटरबाट तहल्का मच्चाइदिए । त्यो थियो– राम्रो प्रस्तुति पस्किन नसकेर लज्जास्पद हार व्यहोरिरहेको इंग्लिस प्रिमियर लिग क्लब किन्दै छु भन्ने ट्विट ।

हो, उनले म्यानचेस्टर युनाइटेड किन्दै छु भनेर ट्विट गरे । यसलाई धेरै न्युज आउटलेटहरुले समाचार बनाए । तर केही समय नबित्दै उनले अर्को ट्विट गरिदिए– यो सबै ठट्टा मात्र हो । मैले म्यानचेस्टर युनाइटेड किन्न लागेको होइन । टेस्लाका अर्बपति सीईओले ट्विटमा भनेका थिए– र, म म्यानचेस्टर युनाइटेड किन्दै छु, स्वागत छ सबैलाई ।’ १० करोड ३० लाख बढी आफूलाई पछ्याउनेलाई उनले भनेका थिए । तर केही घण्टामै उनले यो सब ठट्टा मात्र हो है भन्ने स्पष्टीकरण दिए ।

यता म्यानचेस्टर युनाइटेडले पनि बजारमा चलेको हल्लाको पछि नलाग्ने भन्दै कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको सीएनएनले जनाएको छ । मस्कको पहिलो ट्विट भाइरल भएपछि न्युयोर्क स्टक एक्सचेन्जमा उक्त क्लबको सेयर सुरुमा ह्वात्तै बढ्नपुगेको थियो । बुधबारको व्यापार कारोबारमा क्लबको सेयर तीन प्रतिशत माथिले बढेको थियो ।

फोर्ब्सका अनुसार म्यानचेस्टर युनाइटेडको मूल्य चार अर्ब ६० करोड अमेरिकी डलर छ । यसको नियन्त्रण भने ग्लेजर परिवारको छ । यही परिवारले एनएफएल फ्रेन्चाइज टाम्पा बे बुकानिअर्सको पनि स्वामित्व लिएको छ । म्यानचेस्टर युनाइटेड संसारकै ठूलो क्लब हो तर सन् २०१३ यता यसले प्रिमियर लिगको उपाधिमा धावा बोल्न सकेको छैन । ट्विटरमा १३ वर्ष बिताइसकेका मस्क व्यक्तिगत ब्रान्डका लागि महत्वपूर्ण भाग बन्दै आएका छन् । आफ्नो व्यवसायको कुरा होस् कि अरुलाई गाली गर्न होस् बजारमा उनको प्रतिक्रिया वा धारणाले तहल्का मच्चाउँछ । उनले भर्चुअल मुद्राबारे गर्ने टिप्पणीले त्यसको मूल्यमै घटबढ गराउँछ ।

ट्विटकै विषयले अमेरिकी धितोपत्र र विनिमय आयोगसँग धेरैपटक उनलाई तातो पानीको माथि राखेको छ । सन् २०१८ मा उनले टेस्लालाई ४ सय २० डलरमा प्राइभेट लैजानलागेको र पैसा समेत सुरक्षित रहेको बताएका थिए । त्यसले उनलाई खूबै विवादित बनाएको थियो । योसँगै टेस्लाको सेयर ह्वात्तै बढायो तर यसले लगानीकर्तालाई गलत सूचना दिएको भन्दै नियामकसँग विवाद पनि बढेको थियो । पछि दुवै पक्ष सहमतिमा गएका थिए । ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने र नकिन्ने विवाद उत्कर्षमा पुगेका बेला मस्कले क्लबबारे ट्विट गरेका हुने । अहिले यो विवाद अदालत पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया