Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्कजस्तै छन् उनका सुपरफ्यान

मस्कजस्तै छन् उनका सुपरफ्यान

पठोले भन्छन्– पृथ्वीमा हुर्किएँ, मंगलमा मर्न चाहन्छु !


अमेरिका । इलोन मस्कसँग खुलेर गफ गर्ने अवसर निकै कम मानिसले मात्र पाउँछन् । तर भारतीय सामान्य युवा प्रणय पठोले भने संसारकै धनी व्यक्तिसँग रमाइलो च्याट गरिरहन्छन् । उनका लागि मस्कसँगको गफ केवल एउटा ट्विटभन्दा टाढा छैन । पठोले एक भारतीय सफ्टवेयर इन्जिनियर हुन् ।

उनीहरुको अपत्यारिलो अनलाइन मित्रता पठोले किशोरावस्थामा हुँदादेखि नै फुलिरहेको छ । त्यसयता मस्कले उनका सयौँ ट्विटमा ‘रिप्लाई’ मात्रै गरेका छैनन्, ‘प्राइभेट मेसेज’ गरेका छन् । तिनमा कतिपय कम्पनीका समाचार बन्नसक्ने अपडेटहरु छन्, जीवनप्रतिका सल्लाह र सुझावहरु छन् ।

पठोले अमेरिका जाँदा यो हप्तामात्रै यी दुईको प्रत्यक्ष भेट भयो । जुन उनको पहिलो विदेश यात्रा थियो । उनी व्यवसाय विश्लेषणमा स्नातकोत्तर गर्न अमेरिका गएका हुन् ।

‘उनी साँच्चै असल छन्, वास्तविक अनि नम्र !’, २३ वर्षे पठोले थप्छन्, ‘जुन तरिकाबाट उनले आफ्नो समय लिएर मलाई रिप्लाई गर्छन् । यसैले देखाउँछ ।’

मस्क निकै ट्विटर चलाउनेमा पर्छन् । कहिलेकाहीँ त एकै दिनमा आफ्ना १० करोड बढी फलोअरलाई ३० भन्दा बढी ट्विट गर्छन् । तर २ खर्ब ६६ अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्ति भएका स्पेस एक्स र टेस्लाका यी मालिक किन यी भारतीय ठिटासँगको नियमित सम्पर्कलाई कायम राखिरहेका छन् भन्नेचाहिँ रहस्यमय छ ।

‘खोइ !’, प्रणय भन्छन्, ‘साँच्चै भन्ने हो भने मलाई थाहा छैन ! आफूले सोधिरहने प्रश्नहरुबाट मस्क साँच्चै उत्सुक भएको हुनसक्ने उनको अनुमान छ । हाल उनी पुनेमा रहेको घरमा छन् । पठोलेको एकाउन्ट त्यस्तो एउटा सामान्य एकाउन्ट हो जसले मस्कको रिप्लाई पाइरहन्छ । सन् २०२० यताका अर्बपतिको ट्विटरलाई आधार मान्ने हो भने मस्क औसत हरेक दुई दिनमा एकपटक यस्ता एकाउन्टलाई रिप्लाई गर्छन् ।

पठोले १९ वर्षको हुँदा सन् २०१८ मा पहिलोपटक मस्कले उनलाई रिप्लाई गरेका थिए । त्यतिखेर उनले टेस्लाको अटोमेटिक विन्डस्क्रिन वाइपरको कमजोरी औँल्याएका थिए । ‘यो समस्या अब समाधान भयो’, सफ्टवेयर अपडेटसँगै समस्या समाधान गर्दै मस्कले रिप्लाई गरेका थिए । त्यो राति पठोलेलाई उनका बुबाआमाले यसैको खुसियालीमा घरबाहिर खान लगेका थिए ।

‘म यति खुसी भएँ कि भनेर साध्य छैन !’, उनी भन्छन्, ‘मैले यसको धेरै स्क्रिनसटहरु लिएँ । त्यो दिन कहिल्यै नसकियोस् जस्तो भयो !’ उनीहरुबीच त्यसपछि प्राइभेट च्याट भएको थियो । सुरुमा दैनिकजसो प्राइभेट च्याट हुन्थ्यो । तिनमा मस्कले उठाएका किन अन्य ग्रहलाई उपनिवेश बनाउन महत्त्वपूर्ण छ जस्ता विषयमा छलफल हुने गरेको पठोलेको भनाइ छ ।

‘म प्रायः उनलाई हावादारी प्रश्न तेर्स्याउँथे, वाहियात खालका’, उनी भन्छन्, ‘र, उनी समय लिएर मलाई रिप्लाई गर्थे ।’ अमेरिका र भारतको थोरै फरक समयले उनीहरुको चार वर्षे अनलाइन मित्रतालाई केही दख्खल दियो । ‘मलाई लाग्दैन उनी धेरै सुतिरहन्छन् । किनकि उनी धेरैजसो समयमा ट्विटरमै भइराख्छन्’, पठोले भन्छन् ।

वर्ष बित्दै जाँदा यी दुईबीचको अन्तर्क्रिरया धेरै सामान्यीकरण भएको थियो । तर पठोले हतारिएर यसबारे आफ्ना परिवार र साथीलाई यो कुरा भन्दैनथे । ‘सार्वजनिक र व्यक्तिगत रुपमा इलोन उही मान्छे हुन्’, पठोले भन्छन् । मस्कका खुल्ला, अपमानजनक र कहिलेकाहीँ त अर्थ न वर्थका ट्विटहरुले सेयर र क्रिप्टोकरेन्सीको मूल्यमा नै हलचल ल्याउँछन् । यतिसम्म कि अमेरिकी नियामकको अनुसन्धानलाई नै निम्त्याउँछ ।

यी अर्बपति लगानीकर्ता अहिले ट्विटरसँगको कानुनी लफडामा अल्झिरहेका छन् । सुरुमा किन्ने सहमति गरेर पछि नकिन्ने भनेयता ट्विटरसँग उनको लफडा छ । यसबारे अक्टोवरमा अदालतमा सुनुवाइ हुँदै छ । तर पठोले भने मस्कले अरुलाई अहित हुने काम गरेका कुरामा सिधै नकार्छन् ।

‘मलाई लाग्दैन उनी नराम्रा मानिस हुन्’, मस्कबारे उनी भन्छन्, ‘उनी त अनुमानै लगाउन नसकिने व्यक्ति हुन् ।’ भारतकै ठूलो आईटी फर्म टाटा कन्सल्टेन्सी सर्भिसमा काम गर्न इन्जिनियरिङ कलेज छाडेका पठोले विद्यालयमा हुँदा झैँझमेलामा परिरहन्थे । बदनाम थिए । त्यसैले मस्कलाई बुझ्न सहज भएको उनको भनाइ छ ।

गत हप्ता अमेरिका पुग्दा उनले मस्कका लागि मिठाइहरु लगेका थिए । उनले युनिभर्सिटी अफ टेक्सस डल्लासबाट स्नातकोत्तर गर्ने मात्र होइन, मस्ककै कुनै अमेरिकी कम्पनीमा कामको अनुभव पनि पाउने आशा पनि गरेका छन् ।

‘म आफ्नै हिसाबले टेस्लामा काम गर्न चाहन्छु । मैले भनेजस्तो होइन । यदि साँच्चै उनले मेरो अन्तर्वार्ता लिइदिए साह्रो राम्रो हुन्थ्यो’, पठोले भन्छन् । उनीहरुको भेटपछि पठोलेले मस्कसँगको एउटा तस्बिर पनि सेयर गरेका छन् । जसलाई मस्कले लाइक गरेका छन् । आफ्नै तरिकाले कालो टि–शर्ट लगाएका पठोलेले पुनर्प्रयोज्य रकेट बुस्टरहरुको जटिलताबारे बताउन सक्छन् र सोही हिसाबले अन्तरिक्ष अन्वेषणका लागि सैद्धान्तिक विषय बनाउन सक्छन् । प्रायः उनी अर्बपति उद्यमीको प्रतिक्रियाहरु शब्दशः उद्धृत गर्छन् ।

Open photo

‘धर्ती (पृथ्वी)मा बाँच र मंगल (ग्रह)मा मर ः त्यो नै एउटा सिद्धान्त हो जुन हामी सबै सेयर गर्छौँ’, पठोलेले थप्छन्, ‘मलाई यहाँ हुर्किएर मंगलको रातो धूलोमा मर्न मन छ ।’ पठोलेका धेरै ठूलो संख्यामा फलोअर छन् । जुन मस्कले हरेकपल्ट ‘मेन्सन’ गर्दा बढिरहन्छन् । ‘अफलाइन’मा हुँदा समेत उनको परिवारमा मस्क नै विषयवस्तु बनिरहन्छन् । ‘इलोन हाम्रो पारिवारिक साथीजस्तै हुन्’, प्रणयका बुबा प्रशान्तले हाँस्दै भने, ‘म र मेरी श्रीमती पल्लवी छोरोको लगावप्रति गर्वान्वित छौँ ।’

प्रशान्त ठट्टा गर्छन्, ‘यदि उसले मस्ककै अनुसरण गर्छ र मंगलमै घरवार बनाउन चाहन्छ भने पनि हामीलाई केही समस्या छैन ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया