Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह


टोक्यो । जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

एएफपीका अनुसार नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ । आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन् ।

आइतवार बिहान क्युशुको दक्षिणी शीर कागोशिमा सहरनजिकै अवतरण भएको आँधीका कारण एक करोड ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको क्युशुमा सामान्य जनजीवन प्रभावि बनेको हो । उक्त द्वीप जापानका चार मुख्य टापुमध्ये सबैभन्दा दक्षिणमा पर्छ।

अधिकारीहरूले उक्त टापुमा सर्वसाधारणलाई सचेत बनाउन ‘विशेष सूचना’ जारी गरेका छन् । ओकिनावा प्रिफेक्चरबाहिर जारी भएको त्यस्तो सूचना हालसम्मकै पहिलो भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने र वायुको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जनाएको छ ।

उक्त आँधी अहिले क्युशुमा उत्तरतर्फ बढिरहेको छ र त्यसले टापुको मध्यभागमा अवस्थित पर्वतीय क्षेत्रमा ठूलो वर्षा गराइरहेको छ । यो आउँदा दिनमा जापानको मध्यतिर हुँदै टोकियोेसम्म पुग्ने अपेक्षा गरिएको छ । त्यस क्रममा यो उत्तिकै शक्तिशाली हुने बताइएको छ । जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया