Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहँगी नियन्त्रणमा नल्याए विश्वभरका मानिस सडकमा पुग्ने आईएमएफको चेतावनी

महँगी नियन्त्रणमा नल्याए विश्वभरका मानिस सडकमा पुग्ने आईएमएफको चेतावनी


अमेरिका । बढ्दो महंगीविरुद्ध तत्काल आवश्यक कदम नचाले गरिबीको रेखामुनि रहेका विश्वका मानिसहरु सडकमा पुग्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले दिएको छ । आईएमएफले अत्यन्त जोखिममा रहेका मानिसहरुलाई रक्षा गर्न पनि महंगी नियन्त्रण जरुरी भएको बताएको हो ।आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले बुधबार चेतावनी दिँदै उक्त कुरा बताएको सीएनएनले जनाएको छ ।

‘यो सोच्न महत्वपूर्ण भइसकेको छ कि धेरै संकटले यसअघि नै मानिसहरुको सहनशीलता र धैर्यको परीक्षण गरिसकेको छ र यदि कुनै कदम उनीहरुलाई रक्षा गर्न चालिँदैन भने परिणाम भयावह हुनसक्छ’, उनले भनिन्, ‘यदि महंगी तत्काल नरोके यसले जोखिमपूर्ण अवस्थाका मानिसलाई चोट पु-याउनेछ । किनभने खाद्य र ऊर्जाजन्य वस्तुको मूल्यवृद्धि उनीहरुका लागि विस्फोट भइसकेको छ । त्यसकारण हामीले गरिब मानिसहरुबारे पहिले सोच्नुपर्छ र महंगीविरुद्ध एकजुट हुनुपर्छ ।’

त्यसो त अहिले विश्वका केन्द्रीय बैंकहरुसँग ब्याजदर बढाउनेबाहेक महंगीविरुद्ध लड्ने अन्य कुनै उपाय नभएको उनको भनाइ थियो । उनले सबैलाई मद्दत गर्ने आर्थिक नीतिको खाँचो रहेको उनको भनाइ छ । उनले आर्थिक वृद्धिका लागि नीतिगत उपाय अपनाएर मूल्यमा स्थिरता ल्याउनुपर्ने बताइन् । कोभिड १९ को भेरिएन्ट ओमिक्रोनसँगै रुसले गरेको युक्रेनविरुद्धको आक्रमणले अहिले विश्वमा महंगी बढेको उनको भनाइ थियो ।

उनले यो वर्ष गाह्रो भएको र अर्को वर्ष झनै गाह्रो हुनसक्ने बताउँदै अहिले अनुमानै गर्न नसकिने बताइन् । महामारी, युद्ध र रुसी आक्रमणले ऊर्जा र खाद्य क्षेत्रमा महंगी तीन वर्षयता ह्वात्तै बढेको उनले बताइन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया