Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबीवाईडीको ल्यान्डरोभर र मर्सिडिज बेन्जलाई उछिन्ने योजना

बीवाईडीको ल्यान्डरोभर र मर्सिडिज बेन्जलाई उछिन्ने योजना


बेइजिङ । चीनको विद्युतीय सवारी उत्पादक बीवाईडीले आक्रामक रुपमा बजार विस्तार गर्ने योजना ल्याएको छ । प्रिमियम स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) बजारमा ल्याएर अन्य विलासी गाडीको बजार खोस्ने योजना कम्पनीले ल्याएको हो ।

मर्सिडिज बेन्ज र ल्यान्ड रोभरजस्ता चर्चित कम्पनीलाई उछिन्ने गरी अघि बढ्ने योजना चिनियाँ कम्पनी बीवाईडीले बनाएको हो । शेन्जेनको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी वांग चुआनफुले बुधबार कम्पनीको मुख्यालयमा न्यु प्रिमियम ब्रान्ड यांगवांगजस्तो उत्पादन मोडल सार्वजनिक गर्ने बताए ।

यी कारहरु सन् २०२३ को पहिलो त्रैमासिकसम्म उत्पादन सुरु हुनेछन् । यो कारको मूल्य १० लाख युआन अर्थात् १ लाख ४१ हजार १ सय ४० अमेरिकी डलरजति पर्न सक्नेछ । बीवाईडीले १० लाख युआन हाराहारी मूल्यका विलासी कार बनाउनलागेको हो । जुन अत्याधुनिक प्रविधिले सुसज्जित हुने बताइएको छ ।

चिनियाँ अर्बपति रहेका उनले कारको ड्राइभिङ रेन्ज र स्मार्ट फिचरबारे भने त्यति धेरै खुलाएनन्। तर स्रोतलाई उद्धृत गर्दै एससीएमपीले लेखेअनुसार उक्त विलासी कार अफरोड एसयूभी हुनेछ र यसले ल्यान्डरोभरको डिस्कभरी र मर्सिडिज बेन्जको जी–क्लास मोडललाई चुनौती पेस गर्नेछ ।

यसअघि सेमिकन्डक्टर युनिटबारे योजना बनाइरहेको उसले त्यसलाई हटाउँदै नयाँ कारको योजना प्रस्तुत गरेको हो । बीवाईडीले यसअघि नै टेस्लालाई संसारको ठूलो ईभी एसेम्ब्लरबाट हटाउँदै आफूलाई पहिलो बनाएको थियो। यसबाहेक उसले बिक्रीमा समेत टेस्लालाई उछिनेको थियो । टेस्लासँगै चिनियाँ अन्य कम्पनीहरु नियो र जेपेंगले ३ लाख युआनका कार बिक्री गर्दै आएकामा बीवाईडीले भने १ लाख र २ लाख युआनबीचको मूल्यमा आफ्ना सवारीसाधन बेच्दै आएको छ ।

गत अक्टोबरमा बीवाईडीले जुलाई–सेप्टेम्बरमा आम्दानी ३५० प्रतिशतले बढेर ५ अर्ब ७२ करोड युआन पुगेको बताएको थियो । कम्पनीले सेप्टेम्बरमा अट्टो ३ कार ल्याएको थियो। यसको ड्राइभिङ रेन्ज ४१० किमि छ भने मूल्य ३० हजार ९८४ अमेरिकी डलर छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया