Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमेटा र ट्विटर कर्मचारी हटाउँदै, टिकटक थप्दै

मेटा र ट्विटर कर्मचारी हटाउँदै, टिकटक थप्दै


अमेरिका । प्रविधिको राजधानी मानिने अमेरिकाको सिलिकन भ्यालीमा धमाधम रोजगारी कटौती चलिरहँदा कम्तीमा एक सामाजिक सञ्जालले भने कर्मचारी थप्ने क्रमलाई निरन्तरता दिने भएको छ ।

अन्य चर्चित सामाजिक सञ्जालले पछिल्लो समय भएका कर्मचारी समेत हटाइरहेको अवस्थामा टिकटकले भने थप्ने क्रमलाई निरन्तरता दिने भएको हो । छोटा भिडियोमार्फत प्रयोगकर्तामाझ लोकप्रिय कम्पनीले झण्डै एक हजार इन्जिनियर थप्ने लक्ष्य रहेको जनाएको छ । टिकटकले आफ्नो माउन्टेन भ्यु कार्यालयमा उक्त संख्यामा इन्जिनियर ‘हायर’ गर्ने भएको हो । विशेष रुपमा गरिन लागेको कर्मचारी वृद्धिको उद्देश्य अमेरिकी प्रयोगकर्ताको विवरण अमेरिकाकै टोलीले हेर्नका लागि भएको बताइएको छ । टिकटकविरुद्ध पछिल्लो समय वासिङटनमा अनुसन्धान बढिरहेको छ । किनभने टिकटकको मातृकम्पनी बाइटीडान्सको चीनसँग सम्बन्ध रहेको छ ।

द इन्फरमेसनले पहिलोपटक टिकटकको यस्तो योजनाबारे उल्लेख गरेको सीएनएनले जनाएको छ । टिकटकका प्रमुख कार्यकारी शाउ जि च्युले गत हप्ताको एक मन्तव्यमा कम्पनीको कर्मचारी थप्ने योजनाबारे उल्लेख गरेका थिए । सिंगापुरमा ब्लुमबर्ग न्यु इकोनोमीमा आयोजित एक कार्यक्रममा उनले यसको पुष्टि गरेका थिए । अहिले कर्मचारी थप्ने निर्णय अत्यावश्यक रहेको पनि उनको भनाइ थियो ।

पछिल्ला केही हप्तामा मेटाले ११ हजार रोजगारी कटौती गर्ने बताएको छ भने ट्विटरले पनि कुलमध्ये आधा कर्मचारी हटाउने बताएको छ । त्यस्तै अमेजनले पनि कर्मचारी कटौती अघि बढाउने बताएको छ । कोभिड महामारीका बेला अमेजनले धेरै रोजगारी दिएको थियो । तर अहिले आवश्यक नभएको भन्दै कर्मचारी हटाउन थालिएको हो । सिलिकन भ्यालीबाट कर्मचारी हट्दै गर्दा टिकटकलाई पनि नयाँ कर्मचारी राख्न सहज हुने देखिएको छ । विश्वव्यापीस्तरका पदहरुमा टिकटकमा अहिले चार हजारभन्दा धेरै पद रहेको देखिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया