Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाढे ४ अर्ब डलर मूल्यको फुटबल क्लब अब कसले किन्ला ?

साढे ४ अर्ब डलर मूल्यको फुटबल क्लब अब कसले किन्ला ?


लण्डन । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मालिकहरुले चर्चित फुटबल क्लब बिक्री गर्न चाहेको बताएका छन् । उनीहरुले मंगलबार क्लबको रणनैतिक विकल्पहरुको खोजी प्रक्रिया सुरु भएको भन्दै बिक्रीको इच्छा देखाएका हुन् ।

ती विकल्पमा ग्लेजर परिवारबाट क्लब पूर्ण बिक्री समेत हुनसक्नेछ । ग्लेजर परिवारले सन् २००५ मा म्यानचेस्टर युनाइटेडको पूर्ण स्वामित्व लिएको थियो । ‘प्रक्रियागत रुपमा निर्देशकीय बोर्डले सबैखाले रणनैतिक विकल्पहरुबारे सोच्नेछ, यसमा क्लबमा नयाँ लगानी भित्र्याउने, पूर्ण बिक्री वा अन्य कारोबार समावेश छन्’, क्लबले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर वक्तव्यमा क्लबको बिक्रीको सुनिश्चितता भने गरिएको छैन । ‘अहिले भइरहेको समीक्षामा कम्पनी बदलिने गरी हुने कारोबारको कुनै सुनिश्चितता छैन’, वक्तव्यमा उल्लेख छ । अव्राहम र जोयल ग्लेजरलाई समेत उद्धृत गरिएको वक्तव्यमा थप भनिएको छ, ‘हामीले क्लबको सफलताको इतिहास निर्माणलाई निरन्तरता दिँदै गर्दा बोर्डले रणनैतिक विकल्पहरुको समीक्षा गर्न आधिकारिक रुपमा अनुमति दिएको छ ।’

वक्तव्यमा सबैखाले विकल्पको समीक्षा गर्दै फ्यान र क्लबलाई ध्यानमा राखेर आज र भोलिका दिनमा क्लबमा महत्वपूर्ण अवसर वृद्धिको सिर्जना गर्ने उल्लेख छ । ‘यो प्रक्रियाअनुसार हामी पूर्णरुपले फ्यान, सेयरसदस्य र अन्य धेरैको उत्कृष्ट चाहनालाई ध्यान दिनेछौँ’, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडले रेनी ग्रुपले ग्लेजर परिवारको वित्तीय सल्लाहकारको रुपमा काम गरिरहेको पनि पुष्टि गरेको छ । त्यस्तै लाथम र वाट्किन्स एलएलपीले कानुनी पाटो हेरिरहेको पनि उल्लेख गरिएको छ । यता रोथचाइल्ड एन्ड कम्पनीले ग्लेजर परिवारका सेयर सदस्यको वित्तीय सल्लाहकारको काम गरिरहेको उल्लेख छ ।

खेल र वित्तीय क्षेत्रमा क्लब विरलैमध्येको एक हो । यो मुख्य खेल फ्रेन्चाइजमा सार्वजनिक रुपमा व्यापार भइरहेको थोरैमध्ये एक हो । युनाइटेडका दुई प्रतिस्पर्धीको सेयर पनि युरोपेली सेयरबजारमा यसरी कारोबार भइरहेको छ । तिनमा फ्रांकफर्टमा कारोबार भइरहेको जर्मनीको बोरुसिया डर्टमन्ड र मिलानमा सूचीकृत इटालीको युभेन्टस रहेको छ ।

फोर्ब्सका अनुसार म्यानचेस्टर युनाइटेड संसारकै तेस्रो धेरै मूल्यवान् क्लब हो । यसको बजार मूल्यांकन ४ अर्ब ६ करोड अमेरिकी डलर रहेको छ । यसभन्दा अगाडि दुई स्पानिस क्लबहरु रियल मड्रिड र बार्सिलोना छन् ।

तर क्लबले सन् २०१७ यता कुनै उपाधि जित्न सकेको छैन । सर एलेक्स फर्गुसन यसका व्यवस्थापक हुँदासम्म भने क्लब खेल क्षेत्रमा निकै सफल थियो । फर्गुसनले सन् २०१३ मा अवकाश लिएका थिए । हाल यसका प्रशिक्षकमा एरिक टेन ह्याग आएका छन् जो युनाइटेडमा फर्गुसनपछि स्थायी मेनेजर हुने पाँचौँ प्रशिक्षक हुन् । उनीभन्दा अगाडि डेभिड मोयस, लुइ भान गाल, जोसे मौरिन्हो र ओले गनर सोल्स्कर रहेका थिए ।

मंगलबार नै क्लबले चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेको जनाएको थियो । रोनाल्डोको केही दिनअघिको एक अन्तर्वार्ता विवादित भएको थियो । योसँगै क्लब र रोनाल्डोको मौखिक सहमतिमा यस्तो निर्णय भएको क्लबले जनाएको छ । रोनाल्डो प्रशिक्षक ह्याग र मालिक ग्लेजर परिवारप्रति निकै असन्तुष्ट थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया