Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाले विश्वभर चार हजार बढीको मृत्यु

कोरोनाले विश्वभर चार हजार बढीको मृत्यु


काठमाडौं, फागुन २८
कोभिड–१९ संक्रमणको कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मंगलबार जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १ सय २० जना निको भएर घर फर्किएका छन् ।

यस भाइरस संक्रमणका कारण विश्वभरी चार हजार २७ व्यक्तिको मृत्यु भएको मंगलबार प्राप्त समाचारमा जनाइएको छ । बङ्गलादेश, अल्बानिया र पाराग्वेमा तीन वटा नयाँ देशमा कोभिड–१९ का संक्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । गत वर्षको अन्त्यबाट यस भाइरसको संक्रमण सुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभर यस रोगबाट मृत्यु भएपछि तीन हजार १ सय ३६ पुगेको जनाइएको छ ।

एक दिनमा मारिएका १७ मध्ये १६ जना हुृबेईको प्रान्तीय राजधानी वुहानका रहेका जनाइएको छ । चीनमा कोरोना भाइरस संक्रमणको कारण जनवरीको अन्त्यदेखि हालसम्म एकै दिनमा मृत्यु भएको यो सबैभन्दा कम संख्या भएको पनि समाचारमा जनाइएको छ । गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस संक्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । गत २४ घण्टामा विश्वभरी तीन हजार ९ सय ९३ मा यस भाइरसको थप संक्रमण देखिएको डब्लुएचओले जानकारी दिएको हो ।

इटालीमा यस भाइरसको संक्रमणपछि मृत्यु हुने व्यक्तिको संख्या ४ सय ६३ पुगेको जनाइएको छ । त्यसैगरी दक्षिण कोरियामा सात हजार ५ सय १३ जना संक्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ । यसैबीच प्राप्त समाचार अनुसार इरानमा सात हजार १६१ जना संक्रमित रहेका र २३७ व्यक्तिको मृत्यु भएको मंगलबार प्राप्त समाचारमा जनाइएको छ ।

विश्वका विभिन्न तथ्यांकबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचार गराएर घर फर्किनेको संख्या ९४ प्रतिशत रहेको छ । घातक कोरोना भाइरसबाट संक्रमितको संख्या भारतमा ४७ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । मंगलबारसम्म ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ ।

उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् । उता जर्मनीमा भने संक्रमितको संख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार १ सय १२ जना संक्रमित भएको जनाएको छ । यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय १९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रमहरु स्थगित गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार माल्दिभ्समा अहिलेसम्म दुई जनामा संक्रमण भएको पुष्टि भएको छ । जापानमा भने मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म १६ पुगेको छ । संक्रमितको संख्या ५ सय ५ पुगेको छ । स्थानीय समयअनुसार सोमबारसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओसाकामा ५५ जना बिरामी रहेको जनाएका छन् ।

त्यसैगरी बेल्जियममा संक्रमितको संख्या २ सय ३९ पुगेको छ भने हङकङमा १ सय १५, प्यालेस्टाइनमा २५, मलेसियामा १ सय १७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको संक्रमण भएको छ ।

चिनियाँ राष्ट्रपति वुहानमा : यसैबीच, चीनका राष्ट्रपति सी चिनफिङले मंगलबार चीनमा कोरोना भाइरसको संक्रमणको महामारी फैलिएको सहर वुहानका बासिन्दा र संक्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गरेका छन् । विश्व स्वास्थ्य संगठनद्वारा कोभिड–१९ नाम दिइएको उक्त भाइरसको संक्रमणका कारण चीनमा मंगलबारसम्ममा तीन हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति सीले भ्रमण गरेको हुबेई प्रान्तको राजधानी वुहान कोभिड–१९ को संक्रमणका कारण सबैभन्दा बढी प्रभावित स्थान हो । राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, ह्वो शन शान अस्पतालको निरीक्षण भ्रमणपछि प्रकोप नियन्त्रणका शिलशिलामा क्वारेन्टिनमा बसेका स्थानीयसँग पनि भेटगरी जानकारी लिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस संक्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिएका थिए । उनले स्थानीय र अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गरेको सिन्ह्वाले जनाएको छ ।

उनले त्यहाँ अस्पतालको सञ्चालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गरेका थिए । राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको काममा खटिइरहेका चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ भाइरस विरोधी लडाइँ जित्नुपर्ने पनि बताए । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया