Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले ल्यायो इटाली र इरानमा फसेका नागरिक

भारतले ल्यायो इटाली र इरानमा फसेका नागरिक


नयाँदिल्ली, चैत ३
भारतीय अधिकारीहरुले कोरोनाभाइरसको संक्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् । कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० जना यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ । उनीहरु आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन् ।

भारतीय कनिष्ठ विदेश मन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थी समेत २१८ जनालाई उद्धार गरिएको जानकारी दिए । विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताए । विश्व स्वास्थ्य संगठनले कोविड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो ।

इरानमा अलपत्र परेका २ सय ३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन् । दुईवटा एयर इन्डिया उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिनेछ । यसैबीच, कोविड–१९ बाट भारतमा संक्रमितको संख्या ९३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म कोरोनाकै कारण २ व्यक्तिको मृत्यु भइसकेको छ । तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीट्जरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन् । कोरोना संक्रमण रोक्न भारत सरकारले विभिन्न उपायहरु अवलम्बन गरेको छ ।

धेरैजसो राज्यमा शैक्षिक संस्थाहरु र सिनेमा घरहरु मार्च ३१ सम्म बन्द गरिएका छन् । अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन् । मानिसहरुलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ ।   (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया