Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाको डरपछि अमेरिकाले घटायो ब्याजदर

कोरोनाको डरपछि अमेरिकाले घटायो ब्याजदर


वासिङटन, चैत ४
कोरोना संक्रमित र मृत्यु हुने क्रम बढ्नथालेपछि अर्थतन्त्रमा यसले प्रभाव पार्ने भन्दै अमेरिकी केन्द्रीय बैंकिङ प्रणाली फेडेरल रिजर्भले आइतबार ब्याजदर कटौती गरेको छ । सीएनएनका अनुसार फेडले कोरोना भाइरसको प्रभावबाट अर्थतन्त्र जोगाउन उक्त निर्णय लिइएको हो ।

फेडको निर्णयसँगै शून्य दशमलव २५ प्रतिशतमा ब्याजदर निर्धारण गरिएको छ । वित्तीय प्रणालीलाई अस्थिर हुनबाट जोगाउन फेडले यस्तो निर्णय गरेको हो । एक दशकअघि विश्व वित्तीय संकटका बेला पनि यसैगरी ब्याजदर न्यून विन्दुमा झारिएको थियो । फेडको बोर्डमा रहेका गभर्नरहरुले गत हप्ता कोरोना भाइरस महामारीलाई लिएर बैठक बसेका थिए ।

गत मार्च ३ मा पनि अमेरिकाले ब्याजदर कटौती गरेको थियो । गत हप्ता मात्रै अमेरिकी सेयरबजारमा ११ वर्षयताकै गिरावट आएको थियो । फेडको निर्णयसँगै सेयरबजारमा पुनः गिरावट आएको बताइएको छ। फेड प्रमुख जेरेमी पावेलले आर्थिक गतिविधिलाई यसले जारी राख्न मद्दत गर्ने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्याजदर कटौती नगरेको भन्दै पावेलको आलोचना गर्दै आएका थिए ।

ब्याजदर कटौतीसँगै फेडले ७ खर्ब डलरको ट्रेजरी बन्ड खरिद गर्न सक्ने जनाएको छ । साथै फेडले पाँचवटा विदेशी केन्द्रीय बैंकहरुसँग ब्याजदर न्यून गर्ने सम्झौता समेत गरेको छ । क्यानडा, बेलायत, जापान, ईयू र स्विट्जरल्यान्डको केन्द्रीय बैंकहरुसँग यस्तो सम्झौता गरेको छ । कोरोनाको विश्वव्यापी प्रभावबीच अमेरिकी अर्थतन्त्र भने बलियो रहेको छ । हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भइसकेको छ भने १ हजार ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

ब्याजदर कटौती निर्णयसँगै सोमबार सेयरबजारमा प्रारम्भिक कारोबार सूचक नकारात्मक बनेका छन् । एसएण्डपी सूचक ८.१ प्रतिशतले घटेको छ । उच्च अंकले घटेपछि सर्किट ब्रेक भएको थियो । डो र नास्डाक कम्पोजिट पनि घटेको बताइएको छ । अस्ट्रेलियाको बेन्चमार्क सूचक पनि १० प्रतिशतले घटेको छ भने युरोपमा लन्डनको एफटीएसई १०० ८ प्रतिशतले घटेको छ । फ्रान्सको सीएसी ४० १० प्रतिशतले घट्दा जर्मनीको डीएएक्स ९ प्रतिशतले घटेको छ ।

हङकङको हांगसेंग इन्डेक्स ४ प्रतिशतले, जापानको निक्की २२५ २.५ प्रतिशतले घट्दा चीनको सांघाई कम्पोजिट पनि ३.४ प्रतिशतले घटेको छ । सोमबार मात्रै चीनको केन्द्रीय बैंकले १ खर्ब युआन वित्तीय प्रणालीमा राखेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया