Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआफूलाई पक्राउ गर्न लागिएको ट्रम्पको भनाइ, आरोप के हो?

आफूलाई पक्राउ गर्न लागिएको ट्रम्पको भनाइ, आरोप के हो?


काठमाडौं,अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गरिने अपेक्षा गरेको भन्दै आफ्ना समर्थकहरूलाई सामूहिक प्रदर्शन गर्न अनुरोध गरेका छन्।

तर उनका वकिलहरूले कानुन कार्यान्वयन गर्ने निकायबाट कुनै खबर नआएको जनाउँदै पूर्व राष्ट्रपतिको टिप्पणी सञ्चारमाध्यमका विवरणमा आधारित रहेको बताए।

अभियोजनकर्ताहरूले ट्रम्पलाई अभियोग लगाउने सम्भावनाबारे अध्ययन गरिरहेका छन्। खबरहरूमा त्यो यो सातामा हुनसक्ने जनाइएको छ।

यदि अभियोग लगाइएको खण्डमा त्यो अमेरिकाका पूर्व राष्ट्रपतिमाथि लागेको पहिलो फौजदारी मुद्दा हुनेछ।
यो मामिला ट्रम्पको तर्फबाट उनका वकिलले वयस्क चलचित्रकी एक जना नायिका स्टोर्मी ड्यानीयल्स्लाई आफूसँगको सम्बन्धबारे मौन बस्न भन्दै सन् २०१६ को राष्ट्रपति चुनावअघि दिएको रकमसँग सम्बन्धित छ।

ट्रम्पमाथि जारी अनुसन्धान
यो ७६ वर्षका ट्रम्पमाथि भइरहेका कैयौँ अनुसन्धानमध्ये एक हो। उनलाई हालसम्म कुनै अभियोग लगाइएको छैन। ट्रम्पले आफूले कुनै पनि गल्ती नगरेको बताउने गरेका छन्।

ड्यानीयल्स् र अरू महिलाहरूलाई मौन बस्न भन्दै ट्रम्पका वकिलहरूले उनका तर्फबाट पैसा दिएका थिए।

यो मुद्दामा ग्रान्ड ज्यूरी भनिने कानुनी निकायसँग प्रत्यक्षदर्शीहरूले बयान पनि दिएका छन्। सो निकायले ट्रम्पमाथि अभियोग लगाउने वा नलगाउने निर्णय लिनेछ।
ट्रम्पले आफूलाई अभियोग लगाइए पनि सन् २०२४ को राष्ट्रपति चुनावमा रिपब्लिकन दलका तर्फबाट उम्मेदवार बन्न प्रयास जारी राख्ने बताएका छन्।
विगतमा उनीमाथि छानबिन गर्न अघि बढाइएका प्रयासहरूले आफ्ना समर्थकहरूमाझ ट्रम्पलाई थप लोकप्रिय बनाएको थियो।

त्यसमा दुई वटा महाभियोग सुनुवाइ, रुससँग जोडिएको अनुसन्धान र मारा लागोस्थित निवासमा मारिएको छापा पर्छन्।

यो अभियोग लगाएपछि पनि त्यस्तै खालको प्रभाव पर्नसक्छ।

अहिले नै उनीमाथि फौजदारी अभियोग लगाइन्छ कि लगाइँदैन प्रस्ट छैन।

अभियोगको प्रभाव कस्तो पर्नसक्छ?
तर पूर्व राष्ट्रपतिले पक्राउ पर्ने भविष्यवाणी गर्दै आम प्रदर्शनको लागि आग्रह गर्नु भनेको एउटा विगतमा कहिल्यै नभएको यात्राको सुरुवात गर्नु जस्तै हो।

ट्रम्पसँग प्रतिबद्ध समर्थकहरूको जमात छ र उनले निरन्तर प्रदर्शनका लागि अपिल गरेपछि सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद्‌मा भएको आक्रमणको जस्तै तनावपूर्ण अवस्था तुरुन्तै हिंसामा परिणत हुनसक्ने देखाएको छ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका रिपब्लिकन सभामुख केभिन मकार्थीले अनुसन्धानको आलोचना गर्दै त्यसलाई एक जना ‘उग्र’ जिल्ला न्यायाधिवक्ताकातर्फबाट ‘अपमानजनक ढङ्गले भएको शक्तिको दुरुपयोग’ भनेका छन्।

एउटा ट्विटमा उनले सङ्घीय बजेट राजनीतिक रूपमा पूर्वाग्रही भएर चुनावमा हस्तक्षेप गर्न प्रयोग गरिएको विषयमा अनुसन्धान गर्ने वाचा गरे।

ट्रम्पमाथि कुनै अभियोग लागेको अवस्थामा उनको दलभित्रका उनका विपक्षीहरूका लागि अझ अप्ठेरो परिस्थिति निर्माण हुनसक्ने सम्भावना छ।

किनभने उनीहरूले या त पूर्व राष्ट्रपतिको आलोचना गर्नुपर्ने हुन्छ या मौन बस्नुपर्ने अवस्था देखिन्छ।
अब के हुन्छ?
ग्रान्ड ज्यूरीले अनुसन्धान सम्पन्न गर्छ
ट्रम्पका पूर्व वकिल माइकल कोहेन र उनका पूर्व सहयोगी केलीयन कोनवे र होप हिक्ससहितले अहिलेसम्म प्रमाण दिएको बुझिन्छ। ट्रम्पको समूहले पूर्व राष्ट्रपतिले उपस्थित हुन दिइएको निम्तो अस्वीकार गरेका थिए जसलाई विज्ञहरूले उक्त मुद्दा समाप्त हुन लागेको सङ्केतका रूपमा हेरेका छन्। विवरणहरूमा एक जना अन्तिम प्रत्यक्षदर्शीले सम्भवतः सोमबार बयान दिने जनाइएको छ।

अभियोग लगाउने वा नलगाउने निर्णय लिइन्छ
अनुसन्धान सकिएपछि ग्रान्ड ज्यूरीले फौजदारी आरोपका लागि सिफारिस गर्ने वा नगर्ने निर्णय लिन्छ। तर उक्त आदेश बाध्यकारी हुँदैन। अन्तिम अधिकार म्यानहाटनका जिल्ला न्यायाधिवक्ता एल्भिन ब्रागले कुनै अभियोग लगाउने वा नलगाउने निर्णय गर्छन्। त्यसका लागि कुनै समय सीमा छैन। यो एउटा कानुनी निर्णय हो र उनले यसमा दोषी ठहर गर्न प्रमाण पुग्छ भन्ने ठानेर निर्णय लिन सक्छन्। तर यो गहिरो राजनीतिक मुद्दा समेत बनेको छ।

न्यूयोर्क अदालतमा ट्रम्पको सम्भावित उपस्थिति
कुनै पनि पूर्व अमेरिकी राष्ट्रपतिलाई हालसम्म अभियोग लगाइएको छैन। तर ट्रम्पका वकिलहरूले उनले साधारण कानुनी प्रक्रिया पालना गर्ने बताएका छन्। साधारण रूपमा प्रतिवादीहरू कि पक्राउ पर्छन् वा अधिकारीहरूसमक्ष आत्मसमर्पण गर्छन्। गम्भीर खालको अपराध गरेको अवस्थामा हतकडी लगाइएको हुन्छ। उनीहरूको तस्बिर र औँलाको छाप पनि लिइन्छ। प्रारम्भिक सुनुवाइपछि लेनदेन जस्ता विषयका यस्ता अपराधमा अर्को सुनुवाइको मिति अघिसम्म प्रतिवादीलाई रिहा गर्ने गरिन्छ।

लाइन
पछिल्लो अनुसन्धान जोडिएको विषय
स्टोर्मी ड्यानीयल्स्को मुद्दा ती वयस्क नायिकालाई आफ्ना वकिल माइकल कोहेनले तिरेको १ लाख ३० हजार डलर ट्रम्पले कसरी शोधभर्ना गरेसँग सम्बन्धित छ।
अभिलेखमा उक्त रकम तिरेको विषयलाई ‘कानुनी शुल्क’ का रूपमा राखिएको छ।

अभियोजनकर्ताहरूले यसबाट ट्रम्पले आफ्ना किर्ते विवरणसहित आफ्ना व्यापारका तथ्याङ्क राख्ने गरेको देखिन सक्ने निष्कर्ष निकाल्न सक्छन्।

त्यो न्यूयोर्कमा सजाय हुने कसुर हो।

अमेरिकी सञ्चारमाध्यमहरूले न्यूयोर्कका कानुन कार्यान्वयनसम्बन्धी निकायहरूले ट्रम्पलाई अभियोग लगाएर चाँडोमा अर्को सातासम्म अदालतमा उपस्थित गराउने हिसाबमा काम गरिरहेको विवरण प्रकाशित गरेका छन्।(बीबीसी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया