Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी राष्ट्रपतिको एक खर्ब डलरको आर्थिक प्याकेज तुहियो

अमेरिकी राष्ट्रपतिको एक खर्ब डलरको आर्थिक प्याकेज तुहियो


वासिड.टन, चैत ११
कोरोनाभाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत एक खर्ब अमेरिकी डलरको एक प्रस्ताव बहुमत नपुग्दा तुहिएको छ । समाचार संस्था एएफपीका अनुसार उक्त प्रस्तावको विपक्षमा रहेका डेमोक्रेटिक पार्टीका सदस्यहरुले मतदानमा भाग लिएका थिएनन् भने रिपब्लीकन पार्टीका पाँच सदस्य कोरोनाभाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका कारण सिनेटको मतदानमा उपस्थित हुन पाएका थिएनन् ।

डेमोक्रेट्सका सांसदहरुले रिपब्लिकन पार्टीले अघि सारेको योजनाले लाखौं अमेरिकी कामदारलाई पर्याप्त संरक्षण गर्न नसक्ने आरोप लगाएका थिए । उनीहरुको भनाईमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन पनि प्रस्तावित योजना असफल रहेको छ । विधेयकमा अमेरिकी परिवार र हजारौं बन्द उद्योग व्यवसायलाई मद्दत गर्न झन्डै एक खर्ब ७० अर्ब वा सोभन्दा बढी रकम खर्च गर्ने प्रस्ताव गरिएको थियो ।

रिपब्लिकन, डेमोक्रेट्स र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबीच गहन वार्ताका बाबजुद सिनेटमा भएको मतदानमा पक्ष र विपक्षमा बराबर अर्थात् ४७–४७ मत परेको थियो । उक्त विधेयक पारित गर्न १०० सदस्यीय सिनेटमा ६० मत आवश्यक पर्ने व्यवस्था छ । सिनेटर र्यान्ड पल समेतका पाँच जना रिपब्लिकन सिनेटरहरु अहिले स्व–क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सिनेटको मतदानमा उपस्थित भएका थिएनन् । सिनेटर पलले आइतबार आफूलाई कोेविड१९ सक्रमण भएको घोषणा गर्नु भएको थियो । आर्थिक सहयोगको उक्त विधेयक पारित गर्न आइतबार विस्तृत छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।

सिनेटमा वरिष्ट डेमोक्रेट्स सदस्य चक सुमर र अमेरिकी अर्थमन्त्री स्टिभन मुन्चिनबीच आर्थिक प्याकेजमा सहमति जुटाउन राति अबेरसम्म वार्ता भएको सुमरका एक प्रवक्ताले बताए । सिनेटमा सहमति हुन नसक्दा त्यसको पहिलो असर सोमबारको अमेरिकी सेयर बजारको कारोबारमा देखिने छ । पछिल्ला दुई महिनामा नै अमेरिकी सेयर बजार डाउजोन्समा झण्डै १० हजार अंकको गिरावट आइसकेको छ । पछिल्ला दिनहरुमा मुख्य अमेरिकी स्टक एक्सचेन्जमा चार प्रतिशत वा सोभन्दा बढी घट्दै गएको छ । वाल स्ट्रिटको कारोबार सोमबार निकै घट्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया