Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाद्वारा अफगानिस्तानलाई १ अर्ब डलर सहयोग कटौती गर्ने घोषणा

अमेरिकाद्वारा अफगानिस्तानलाई १ अर्ब डलर सहयोग कटौती गर्ने घोषणा


चैत १२
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार अफगानिस्तान सरकारलाई दिइँदै आएको सहयोगमा भारी कटौती गर्ने घोषणा गरेका छन् । काबुल गएको अमेरिकी मिसनले अफगान नेताहरुबीच मध्यस्थता गर्ने प्रयास विफल भएसँगै अमेरिकी सहयोग कटौतीको घोषणा गरिएको हो । बरु अमेरिकी विदेश मन्त्री पोम्पेओले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने सम्बन्धमा तालिबान नेताहरुसँग कतारको एक अमेरिकी सैन्य अखडामा छलफल गरेका छन् ।

एएफपीका अनुसार अफगानिस्तानको भ्रमणपछि अमेरिका फर्किने क्रममा विदेशमन्त्री पोम्पेओले कतारस्थित अमेरिकी सैन्य अखडामा आकस्मिक भ्रमण गरी तालिबान विद्रोही नेताहरुसँग परामर्श गरेका थिए । अमेरिकी विदेशमन्त्रीले तालिबान नेताहरुसँग प्रत्यक्ष भेटवार्ता गरेको यो पहिलो अवसर हो । लगभग दुई दशक खुलेर अफगान सरकारको समर्थन गरेको अमेरिकाले यसपटक अफगान नेताहरुबीच देखिएको फाटो र वैमनश्यबाट निराश भएको जनाएको छ ।

विदेशमन्त्री पोम्पेओले राष्ट्रपति अशरफ घानी र उनका प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लालाई काबुलमा भेट गरेर दुबै नेताबीच मध्यस्थता गराउने प्रयास गरे पनि दुबै नेताबीचको मतभिन्नता हटाउन सफल हुन सकेका थिएनन् । ‘उहाँहरुको मतभिन्नताले अमेरिका–अफगान सम्बन्धलाई हानि मात्र गरेको छैन, दुःखको कुरा, ती अफगान, अमेरिकी र गठबन्धनका साझेदारहरूले अफगानिस्तानको नयाँ भविष्य निर्माण गर्ने संघर्षमा दिएको आफ्नो जीवन र धनको आहुति खेर जाँदै छ’, पोम्पेओले एक विज्ञप्तिमा भने । पोम्पेओद्वारा जारी विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले तत्काल १ अर्ब अमेरिकी डलर कटौती गर्दैछ र आगामी वर्ष सन् २०२१ मा थप १ अर्ब डलर कटौती गरिने उल्लेख छ ।

उनले संयुक्तराज्य अमेरिकाले भविष्यमा हुने दातृ सम्मेलनमा सहयोग फिर्ता लिने लगायतका थप कटौतीमा विचार गर्ने बताए । विदेशमन्त्री पोम्पेओले अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिकहरुलाई पूर्वसहमतिबमोजिम नै अर्को वर्षसम्ममा पूरै १३ हजार सैनिक फिर्ता लैजाने बताए । अमेरिकी अधिकारीहरूले मन्त्री पोम्पेओले कतारको अल–उडेड हवाई अखडामा तालिबानका तीन जना शीर्ष नेताहरुसँग एक घण्टासम्म भेटवार्ता गरेका थिए । भेटमा अमेरिकासँग भएको वार्ताका मुख्य मध्यस्थकर्ता तालिबानका नेता मुल्लाह बरादर पनि सहभागी थिए । गत फेब्रुअरी २९ मा अमेरिका र तालिवानबीच कतारको दोहामा भएको सम्झौतामा सहभागी हुन विदेशमन्त्री पोम्पेओ दोहा गएका थिए । तर सम्झौता कार्यक्रममा उनी उपस्थित भएका थिएनन् ।

फगानिस्तानमा केही भिडन्त र हिंसाका खबर सार्वजनिक भइरहे पनि विदेश मन्त्री पोम्पेओले तालिवानले अमेरिकी सेनामाथि हमला नगर्ने आफ्नो वाचाको पालना गरेको बताए । उनले संयुक्तराज्य अमेरिकाले पनि सम्झौताबमोजिम आफ्नो प्रतिबद्धता कायम राख्ने स्पष्ट गरे । विदेशमन्त्री पोम्पेओले आफ्नो विमानमा साथै रहेका संवाददाताहरुलाई भने, ‘तालिबान समूहले हिंसा घटाउने प्रतिबद्धता गरेका छन् र उनीहरूले त्यो काम धेरै हदसम्म पूरा गरेका छन् ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया