सुडान सङ्कट: सिरिया र लिबियाको भन्दा ‘खराब’ बन्न सक्ने चेतावनी
काठमाडौं,सुडानका पूर्वप्रधानमन्त्री अब्दुल्ला हमदुकले आफ्नो देशमा जारी द्वन्द्व सिरिया र लिबियाको भन्दा खराब हुनसक्ने चेतावनी दिएका छन्।
सुडानको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट (आरएसएफ) बीचको द्वन्द्व निरन्तर जारी रहेमा यो “विश्वकै लागि दुःस्वप्न बन्न सक्ने” उनले बताए।
यसअघि आइतवार लडाकु विमानहरू र शक्तिशाली विमानभेदी प्रहारहरूको आवाज राजधानी खार्टूममा सुनिएको स्थानीयवासीले सुनाए।
सेनाका अनुसार आरएसएफले चारै दिशाबाट शक्तिशाली अस्त्रहरू प्रयोग गरी आक्रमण गरिरहेको छ।गत एप्रिल १५ बाट सुरु भएको भिडन्तमा सयौँ मानिस मारिएका छन् भने हजारौँ मानिस देश छोडेर अन्यत्र गएका छन्।
संयुक्त राष्ट्र सङ्घसहित अमेरिका, यूके र छिमेकी देशहरूको कूटनीतिक प्रयासपछि युद्धरत पक्षहरूबीचको अस्थिर युद्धविराम बिहीवार राति लम्बिएको थियो।यद्यपि, ७२ घण्टाको लागि थपिएको युद्धविराम टिकेन।
यसैबीच, पोर्ट सुडानमा स्थिति अस्तव्यस्त बनेको छ जहाँ मानिसहरू जहाज चढ्न हतारमा देखिन्छन्। तीमध्ये केही मानिस साउदी अरब र केही यमनतर्फ गइरहेका छन्।यूके सरकारले आफ्नो उद्धार कार्य सकिएको बताएको छ।
विदेश मन्त्रालयका अनुसार स्थानीय समय अनुसार शनिवार राति १० बजे उद्धारका लागि पुगेको अन्तिम विमान खार्टूमबाट उडेको थियो।
अमेरिका सरकारले आफ्ना थप नागरिकहरूको उद्धारका निम्ति उद्धार टोली पोर्ट सुडान पुगेको र उनीहरूलाई जहाजमार्फत साउदी अरबको जेद्दा पठाइने बताएको छ।
उसका अनुसार सयौँ आम अमेरिकीहरूले सुडान छाडिसकेका छन्। कूटनीतिज्ञहरूलाई चाहिँ एक साताअघि नै हवाई यात्रामार्फत उद्धार गरिएको थियो।
केन्याको राजधानी नैरोबीबाट सम्बोधन गरेका पूर्वप्रधानमन्त्री हमदुकले युद्धरत सुडानी पक्षहरूलाई शान्ति वार्ताका लागि मनाउन सङ्गठित अन्तर्राष्ट्रिय पहलको आह्वान गरेका छन्।
“यो निकै वृहत् र विविधता भएको देश हो… मलाई लाग्छ यहाँको स्थिति बिग्रिएमा त्यो विश्वकै लागि दुःस्वप्न हुनेछ,” उनले भने।
“यो सेना र सानो विद्रोही समूहबीचको लडाइँ होइन। यो करिब तालिम प्राप्त र सशस्त्र दुई समूहबीचको लडाइँजस्तै हो।”
प्रधानमन्त्रीको रूपमा सन् २०१९ देखि २०२२ को बीचमा दुई वटा कार्यकाल सम्हालेका हमदुकले सुडानमा जारी सङ्कट सिरिया र लिबियाको गृहयुद्धभन्दा खराब बन्न सक्ने बताए।
ती युद्धहरूमा हजारौँ मानिस मारिएका थिए, लाखौँ मानिस शरणार्थी भए र ठूलो क्षेत्रमा अस्थिरता छायो।सेनाका कमाण्डर जनरल अब्देल फताह अल-बुर्हान र हेमेद्ती भनेर चिनिने आरएसएफ प्रमुख जनरल मोहम्मद हमदान डगालोबीच देशलाई नागरिक शासनतर्फ लाने दिशामा भइरहेका प्रस्तावित कदमहरूप्रति वैचारिक मतभेद छ।
खासगरी आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने कार्यतालिका र एक लाख फौज भएको आरएसएफ सेनामा समायोजन भएपछि सैन्य नेतृत्वमा को रहने भन्ने विषयमा मतभेद देखिन्छ। दुवै पक्षलाई सुडानमा आफ्नो प्रभाव गुम्ने डर छ।
किनकि दुवै पक्षमा करिब २० वर्षअघि डार्फर क्षेत्रमा गरेका युद्ध अपराधका कारण अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुग्न सक्ने मानिसहरू छन्।
अहिले खार्टूममा लाखौँ मानिसहरू फसेका छन् र त्यहाँ खाद्यान्न, पानी र इन्धनको अभाव छ।सुडानको सेनाले खार्टूमका मानिसहरूलाई घरभित्रै बस्न र झ्यालबाट टाढा रहन आग्रह गरेको छ।
आरएसएफले कब्जा गरेको क्षेत्रहरू पुनः नियन्त्रणमा लिने प्रयास स्वरूप उसले तोप र अन्य अस्त्रहरू निरन्तर प्रयोग गरिरहेको छ।आरएसएफका अनुसार सेनाले जगेडा सैनिकहरूको प्रयोग गरेर युद्ध चर्काएको छ।
सेन्ट्रल रिजर्भ पुलिस भनिने उक्त एकाइ नागरिकविरुद्ध क्रूरताको लागि कुख्यात छ।पश्चिमी सुडानको डार्फरको सहर अवस्थित एल जेनेइनामा पनि हिंसा थप चर्किएको विवरणहरू सार्वजनिक भएका छन्।
त्यहाँ विद्रोही समूहले स्थानीय बजारहरूमा लुटपाट मच्चाएका छन् र आगो लगाएका छन्।हेमेद्तीले आफूहरू झडपको अन्त्य नभएसम्म शान्तिवार्ताका लागि तयार नभएको बताए।
आफ्ना लडाकुहरूमाथि “निरन्तर” बमबारी भइरहेको उनले बताए।“हामी सुडानलाई ध्वस्त पार्न चाहँदैनौँ,” उनले भने।
हेमेद्तीले हिंसाको दोषी सेना प्रमुख जनरल अब्देल फताह अल-बुर्हान भएको आरोप लगाए।बुर्हानले भने दक्षिण सुडानमा प्रत्यक्ष वार्ताका निम्ति सहमति जनाएका छन्।
पोर्ट सुडानबाट करिब २,००० मानिस जेद्दा आइपुगेका छन्।तीमध्ये अधिकांशलाई चार्टर उडानमार्फत पठाइने व्यवस्था गरिने ठानिएको छ।
जेद्दामा रहेका बीबीसीका प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीस डुसेटसँग कुरा गर्दै ३२ वर्षीय इरानी सिभिल इन्जिनियर नाज्लीले भनिन्,”हामी हाम्रो बरन्डामा समेत बस्न सक्दैन थियौँ। सबैतिर बमबारी भइरहेको थियो।“
उनी आफ्नो पतिसँगै देश छाडेर आएकी हुन्।“कृपया सुडानमा रहेका हाम्रा परिवारलाई मद्दत गर्नुहोस्,” राशाले आग्रह गरिन्।सुडानी-अमेरिकी उनी चार सन्तानकी आमा हुन् जसले आतङ्कित हुँदै तीन दिनसम्म लुकेर बसेको सुनाइन्।“म विश्वलाई सुडानको रक्षाको लागि काम गर्न आग्रह गर्छु,” उनले याचना गरिन्।विदेशीहरूको उद्धारपछि त्यहाँ युद्ध झन् भयानक बन्ने उनको चिन्ता छ।(बीबीसी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया