मोदीको नौवर्षे कार्यकालमा चार करोड घर र ११ करोड शौचालय निर्माण
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झन्डै एक सय वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् ।
“यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले ६० हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,” प्रधानमन्त्री मोदीले भने । करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरूको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए ।
“नयाँ संसद् भवन मात्र होइन यो भारतका एक अर्ब ४० करोड जनताको आकाङ्क्षाको प्रतीक हो । यसले विश्वलाई भारतको दृढ सङ्कल्पको सन्देश दिन्छ । ‘अमृत काल’ ले राष्ट्रलाई नयाँ दिशा दिनेछ । नयाँ संसद् भवन नयाँ भारतको दृष्टिकोण र सङ्कल्पको ज्वलन्त उदाहरण बन्नेछ,” आफ्नो कार्यकाललाई अमृत कालको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले भने– केही वर्षको विदेशी शासनले हामीबाट हाम्रो गौरव खोस्यो । तर आइतबार भारतले त्यो औपनिवेशिक मानसिकतालाई पछाडि छोडेको छ । भारत लोकतन्त्रको जननी हो । यो विश्वव्यापी लोकतन्त्रको जग पनि हो । लोकतन्त्र हाम्रो संस्कार, आदर्श र परम्परा हो ।
प्रधानमन्त्रीले पञ्चायत भवनदेखि संसद् भवनसम्मको प्रेरणा एउटै भएको उल्लेख गर्दैै नयाँ संसद्मा बस्दा जनताका लागि चार करोड घर र ११ करोड शौचालय निर्माण, चार लाख किलोमिटर ग्रामीण सडक निर्माण, ५० हजार अमृत सरोवर निर्माण र ३० हजार नयाँ पञ्चायत भवन निर्माण गरेकोमा मलाई निकै सन्तुष्टि मिलेको बताए ।
पञ्चायत भवनदेखि संसद् भवन भारतको प्रेरणा तथा देश र जनताको विकास भएको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ संसद् भवन आत्मनिर्भर भारतको प्रमाण बन्ने बताए । उनले भारतको विकाससँगै विश्वको पनि विकास हुने बताउँदै नयाँ संसद् भवनले विश्वको प्रगतिमा योगदान गर्ने तर्क गरे ।
यसैबीच, सत्तारुढ भारतीय जनता पार्टीको विपक्षमा रहेका १९ राजनीतिक दलले प्रधानमन्त्री मोदीको सट्टा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ संसद् भवनको उद्घाटन गर्नुपर्ने भन्दै समारोह बहिष्कार गरेका थिए । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया