Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘केही प्रतिशत कर बढाएका छौँ’

‘केही प्रतिशत कर बढाएका छौँ’


प्रस्तुति रामहरि चौलागाईं

नगरप्रमुख भएपछि गर्नुभएका उत्कृष्ट कामहरू के–के हुन् ?

२०७४ साल मंसिर महिनामा भएको स्थानीय तहको निर्वाचनबाट हामीले चुनाव जितेर आएपछि ४/५ महिना जति नगरपालिकाको लागि आवश्यक पूर्वाधारहरू खडा गर्न नै समय लाग्यो । संघीय सरकारले स्थानीय ऐन बनाएर कार्यान्वयनमा ल्याएपछि मात्र हामीलाई काम गर्न बाटो खुल्यो । संघीय सरकारले स्थानीय निकायसम्बन्धी ऐन जारी गरेपछि त्यसकै आधारमा नगरपालिकाले पनि ऐन नियम, नियमावली तयार ग-यो । ऐन नियम बनिसकेपछि विकास निर्माणलगायत स्थानीय जनताका काम गर्न हामीलाई बल्ल बाटो खुल्यो । अहिले हामी तीव्र गतिका साथ आफ्ना गतिविधि अगाडि बढाइरहेका छौँ ।

१५ वडाहरू रहेको यस नगरपालिकाले समानुपातिक ढङ्गले वडाको विकास गर्न कसरी बजेट विनियोजन गरेको छ ?

चन्द्रागिरि नगरपालिकाले फर्मुला नै बनाएर १५ वटा वडालाई समानुपातिकरूपमा बजेट वितरण गरेको छ । उद्योग, कलकारखाना, जमिन, राजस्व, पूर्वाधारलगायत विषयलाई ध्यानमा राखेर बजेट पठाएका छौँ । यसैगरी जनसंख्या, भूगोल, खर्च गर्नसक्ने क्षमतालाई पनि आधार बनाइएको छ । समानुपातिक ढङ्गले प्रत्येक वडालाई तीन करोडका दरले बजेट उपलब्ध गराइएको छ । त्यसैगरी आवश्यकता हेरी अन्य पूर्वाधारको लागि थप रकम पनि उपलब्ध गराएका छौँ । बाटो, अस्पताल, खानेपानी, पुललगायत अति आवश्यक पूर्वाधारको लागि भनेर थप रकम पनि विनियोजन गरेर पठाएका छौँ ।

नगरपालिकाको आम्दानीका स्रोतहरू के–के छन् ?

नेपाल सरकारले सशर्त उपलब्ध गराउने अनुदानबाहेक नगरपालिकाबाट उठ्ने राजस्व नै हाम्रो प्रमुख स्रोतहरू हुन् । यसबाहेक प्रदेश सरकारले पनि हामीलाई सहयोग गर्दै आएको छ । नगरपालिकाले आन्तरिक तवरबाटै संकलन भएको राजस्वले मात्र नगरपालिका विकास गर्न कठिन हुने देखिएपछि नगरपालिकाको बोर्ड बैठकबाट निर्णय लिएर कलंकी मालपोत कार्यालयसँग समन्वय ग-यौँ । त्यसपछि घरजगा खरिदबिक्री गर्दा जग्गाको प्रकृति र अवस्था हेरेर साबिकको भन्दा केही प्रतिशत कर बढाएर उठाउने गरी निर्णय प्रक्रिलाई अगाडि बढायौँ ।

यस नगरपालिकाभित्रका मुख्य–मुख्य सहरीकरणको लागि आकर्षक बन्दै गएका ठाउँहरूको सरकारी मूल्याङकन केही बढाएका छौँ । त्यसैगरी खरिदबिक्री गर्दा हुने मुनाफामा केही प्रतिशत कर बढाएका छौँ । यो करबाट नगरपालिकालाई राम्रै आम्दानी पनि भएको छ । गत असार मसान्तमा त्यो करबापत झण्डै २९ करोड जति थप राजस्व नगरपालिकालाई प्राप्त भएको छ । हामीले यसरी उठेको करको बढीभन्दा बढी सदुपयोग गरी यो नगरपालिकालाई अरु नगरपालिकाभन्दा केही फरक ढंगले विकास गर्ने सोच अगाडि बढाएका छौँ ।

काठमाडौँ उपत्यकाभरिमा यसरी थप जग्गा कर लगाएर बढी राजस्व संकलन गर्ने नगरपालिका पनि चन्द्रागिरि नगरपालिका नै हो । यो नगरपालिकाभित्रका संरचनालगायत अन्य भौतिक कुराहरूको वास्तविक तथ्याङ्कहरूलाई डिजिटलाइज गर्न पनि हामीले छुट्टै बजेटको व्यवस्था मिलाएका छौँ । डिजिटल प्रणाली लागू हुनासाथ यस नगरपालिकाभित्र बसोबास गर्नेहरूको सम्पूर्ण विवरण स्वतः आउनेछ । त्यसपछि हामीले हिजोको जनसंख्यालाई आधार मानेर विकास गर्न जरुरी छैन । किनभने सो प्रणालीले सबै कुराको अपडेट स्वतः गर्नेछ । एक जना बालक जन्मिएको, मानिस बसाइ सरेको, मृत्य भएकाहरूको समेत तथ्यांक स्वतः अपडेट हुनेछ । यो कामको सुरुवात अब चाँडै नै हुँदै छ ।

चन्द्रागिरि नगरपालिका पर्यटनको लागि धेरै नै सम्भावना बोकेको छ भनिन्छ, त्यसको वास्तविकता के हो त ?

यो नगरपालिकालाई अहिले पनि पर्यटकीय नगरीकै रूपमा चिनिन्छ । यो नगरपालिकाभित्र तीनवटा प्रमुख धार्मिक स्थलहरू रहेका छन् । परापूर्वक कालदेखि नै मातातिर्थमा आमाको मुख हेर्ने दिन अर्थात् मातातिर्थ औँशीका दिनमा दश लाखभन्दा बढी आन्तरिक पर्यटकहरू यहाँ दर्शन गर्न आउनुहुन्छ । त्यसैगरी इन्द्र दहमा पनि आन्तरिक पर्यटक र भक्तजनको भीड लाग्दछ । यसैगरी मच्छेनारायणमा पनि वर्षेनी २० लाखभन्दा बढीले दर्शन गर्ने गरेका छन् । सात गाउँले जात्रा पनि यहाँको प्रमुख जात्रा हो । यहाँ हजारौँले दर्शन गर्ने गर्छन् । यो मेला अब केही दिनमै सुरु हुँदै छ । धार्मिक पर्यटन गर्नका लागि वलम्बु, कालु पाँडेको समाधीस्थललगायत थुप्रै ठाउँ यहाँ रहेका छन् । यसैगरी थानकोटमा रहेको त्रिभुवन पार्कले आफ्नो पहिचान बनाइसकेको छ ।

त्रिभुवन पार्कमा विवाह, वनभोजका लागि उपत्यकालगायत अन्यत्रबाट पनि आउँछन्, यस नगरपालिकाको अर्काे आकर्षक गन्तव्यको रूपमा चन्द्रागिरि केबुलकार पनि यही नगरपालिकामा नै पर्दछ । यो केबुलकार चढ्न स्वदेशी मात्र होइन विदेशी पर्यटकहरूको पनि ओइरो लाग्ने गरेको छ । त्यसैले यो नगरपालिका आफैँ पनि अर्काे आकर्षक पर्यटकीय नगरी बनेको छ । राजधानीबहिरबाट काठमाडौँ भित्रिने यो नै मुख्य नाका रहेको छ । नेपालको पूर्व–पश्चिम हसँदै अहिले पनि दिनहुँ हजारौँ आन्तरिक र बाह्य पर्यटकहरू यो नगर भएर भित्रिने र बाहिरने गरिरहनुभएकै छ । यद्यपि अहिले अन्यत्रबाट पनि प्रवेश नाकाहरू खुलिरहेका छन् । यहाँको केही पुराना बस्तीहरूलाई हामीले सम्पदा बस्तीको रूपमा पनि विकास गर्न गइरहेका छौँ । सम्पदा बस्तीमा जातीय संग्रहालयहरू स्थापना गरिनेछ । त्यसैगरी इन्द्र दह, मसिनेलगायत ठाउँहरूलाई होमस्टे सञ्चालन गर्ने र त्यहाँ आन्तरिक र बाह्य पर्यटकलाई घुमफिर गर्न, बास बस्न योग्य बनाएर त्यहाँका जनताको आयस्तर बृद्धि गर्न पहल गर्ने योजना रहेको छ ।

चन्द्रागिरि नगरपालिकाबाट गोरखाको मनकामना, धादिङ, नुवाकोटसम्मको दृश्यावलोकन गर्न सकिन्छ । सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग पुग्ने गरी हामीले पदमार्ग हाइकिङको लागि पनि बजेट व्यवस्थापन गरेका छौँ । यो नगरपालिकालाई मिनी उपत्यका भनेर पनि चिनिन्छ । थानकोटदेखि नैकापसम्मको भू–भाग हेर्दा त्यही झल्को दिन्छ । त्यसैगरी चन्द्रागिरि हिल्सबाट सगरमाथाको पनि अवलोकन गर्न सकिन्छ र अन्नपुर्णको रेन्ज पनि यहीँबाटै देख्न सकिन्छ । विभिन्न ठाउँको दृष्यावलोकन गर्न सकिने भएकोले पनि यसलाई हामीले पर्यटन नगरीको रूपमा विकास गर्ने सोच अगाडि सारेका हौँ ।

निर्वाचित भएर नगरपालिकाको प्रमुख भएको पनि दुई वर्ष बित्यो, अब तीन वर्षको अवधिमा विकास निर्माणका के–के काम गर्ने योजना अगाडि सार्नुभएको छ त ?

मैलै माथि पनि धैरै कुरा बताइसकेँ । हामीले बितेको यो अवधिमा भौतिक पूर्वाधारलाई नै बढी जोड दियौँ । नगरपालिकाको हाम्रो आफ्नै भवन थिएन । त्यसका लागि जग्गाको व्यवस्था गरेर अहिले करिब सात रोपनी क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । अहिले त्यो निर्माणाधीन अवस्थामा रहेकोले हाम्रो बाँकी कार्यकालमै हामी त्यो भवनमा सर्ने योजना छ ।

नगरभित्र रहेका सार्वजनिक सम्पत्ति र जग्गा जमिन संरक्षणको लागि कस्तो योजना अगाडि सार्नुभएको छ ?

हामीले सार्वजनिक जग्गा संरक्षणको लागि भनेर वडा कार्यालयहरूलाई बजेट नै विनियोजन गरेर निर्देशन दिएका छौँ । उपलब्ध भएका सार्वजनिक जग्गालाई तारबार गर्ने, कम्पाउण्ड घेर्नको लागि हामीले स्थानीय निर्वाचित जनप्रतिनिधिहरूलाई सुरुदेखि नै निर्देशन पनि गरिसकेका छौँ । यसैगरी सार्वजनिक विद्यालयलाई संरक्षणको लागि पनि हामीले अभियान नै चलाएका छौँ । यो नगरपालिकाभित्र झण्डै ७०/८० वटा जति सार्वजनिक विद्यालयहरू रहेका छन् । काठमाडौँ भ्यालीभित्र धेरै सार्वजनिक विद्यालयहरू भएको नगरपालिका पनि हो भन्दा अतियुक्ति नहोला ।

हामी निर्वाचित भएर आएपछि सार्वजनिक विद्यालयहरूलाई आधुनिक भवनका साथै सुविधासम्पन्न बनाएका छौँ । १७/१८ वटा तयार नै भइसकेका छन् । बाँकी विद्यालयहरूलाई पनि आधुनिक र सुविधासम्पन्न बनाउन पहल गरिरहेका छौँ । पुनर्निर्माण प्राधिकरणबाट विद्यालय भवन निर्माणको लागि बजेट आएको भए पनि अन्य भौतिक पूर्वाधारको लागि नगरपालिकाले विद्यालयहरूलाई बजेट उपलब्ध गराएको छ । एकै किसिमको पाठ्यक्रम, परीक्षा प्रणाली, कम्पयुटर ल्याब, छात्राहरूलाई सेनेटरी प्याड वितरणलगायतको लागि बजेटको व्यवस्था गरिसकेका छौँ । तालिम, उत्कृष्ट विद्यालय, विद्यार्र्थी र शिक्षकलाई पुरष्कृत र सम्मान गर्ने भएका छौँ । हरेक विद्यालयका विद्यार्थीलाई कसरी समाज सेवातर्फ अग्रसर गराउने भन्नेतर्फ पनि नगरपालिकाले ध्यान दिएको छ । त्यसको लागि हरेक विद्यालयहरूमा स्काउटको व्यवस्था हुनुपर्छ भन्ने मान्यतालाई अगाडि सारेका छौँ ।

हालको अवस्थामा विद्यार्थीको ध्यान पढाइतर्फ भन्दा पनि बढी मोबाइल, कम्प्युटर र इन्टरनेटमा मात्र केन्द्रित भइरहेको पाइन्छ । स्काउट र रेडक्रसमार्फत उनीहरूलाई सामाजिक उत्तरदायित्वतर्फ पनि आकर्षण गर्नेगरी नगरपालिकाले बजेटको व्यवस्था गरेको छ । यसबाट थोरै भए पनि सामाजिक कामतर्फ सचेत र अग्रसर भएर विद्यार्थीहरू निस्कन सकून् भन्ने अपेक्षा हाम्रो रहेको छ । सामाजिक दायित्व निर्वाह गर्न सकून्, साथै सामाजिक दायित्व सँगसँगै स्वयंसेवक तयार गर्ने उद्देश्य र लक्ष्यसहित त्यसरी बजेटको व्यवस्था गरेका हौँ । करिब २०/३० जना राम्रा स्वयंसेवीहरू उत्पादन भएर समाज सेवामा लागे भने पनि त्यसले पनि समाजलाई बदल्न सक्नेछन् ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया