Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘प्रजननका लागि वातावरण नभए पनि सलह आतङ्कको जोखिममा छौँ’

‘प्रजननका लागि वातावरण नभए पनि सलह आतङ्कको जोखिममा छौँ’


अफ्रिका, एसिया अर्थात् पाकिस्तान, भारत हुँदै असारको दोस्रो साता अर्थात् १३, १४, १५ र १६ गते सलह नेपाल प्रवेश ग-यो । वायुको वेगसँगै बहने सलह भारतको राजस्थान, नयाँ दिल्ली हुँदै नेपाल प्रवेश गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ । ३, १४, १५ गते धेरै र १६ गते ज्यादै थोरै संख्यामा सलह नेपाल प्रवेश गरेको हो । भैरहवा, कपिलवस्तु , सलार्ही बारा तथा पश्चिमका केही जिल्लाबाट प्रवेश गरेको सलह नेपाल आएको करिब दुई साता भएको छ । सलहको पछिल्लो स्थिति र प्रवेशपछिको निम्त्याउने संकट अर्थात् प्रजनन प्रक्रियाको विषयलाई लिएर आर्थिक दैनिकका लागि प्रवीण राउतले प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ संरक्षण अधिकृत रामकृष्ण सुवेदीसँग गरेको कुराकानीः

अफ्रिकाबाट पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको सलहको तत्कालको स्थिति कस्तो रहेको छ ?

पाकिस्तानमा समेत प्रवेश गरेको तथा भारतको नयाँ दिल्ली, राजस्थान हुँदै करिब ७०, ८० लाख सलह नेपाल प्रवेश गरेको अनुमान गरेका छौँ । कसरी भने, यिनीहरूको ठूलो झुण्डमा सात/आठ करोड हुने गर्छन् । तिनीहरूको मापन गर्ने भनेको स्वयं वयस्क सलहले एक वर्ग किलोमिटर पूरै ढाक्यो भने त्यहाँ एक करोड सलह हुन्छ भन्ने अनुमान छ । त्यसैको आधारमा भन्ने हो । हामीकहाँ वयस्क पनि आएनन् साना–साना पनि आएनन् ।

एकातर्फ धेरै संख्यामा नआउनु तथा अर्कोतर्फ वयस्क सलह मात्र आउनु र भारतको नयाँ दिल्ला, राजस्थान हुँदै नेपाल प्रवेश गरेको सलहको अहिलेको स्थिति भने कमजोर रहेको छ । जसले गर्दा नेपालका बालीहरू ऋहिले सुरक्षित रहेका छन् भने किसानहरूलाई असहज स्थिति आउने सकेन भने कुनै प्रकारको दुःख तथा समस्या भोग्नु परेन । यसको प्रमुख कारण भनेको थोरै संख्या अर्थात् सानो झुण्ड नेपाल प्रवेश गर्नुले हो । सलह कहाँ पुग्छ भन्ने विषय हावा बहने दिशामा मुख्यगरी भर पर्छ । नेपाल प्रवेश गरेको सलह हावाकै गतिको कारण ठूूलो झुण्ड नेपाल प्रवेश गर्न पाएन जसले गर्दा नेपालमा रहेका बालीहरू सुरक्षित रहने पुगे अर्थात् नेपालीहरूले ठूलो नोक्सानी व्यहोर्नु परेन ।

सलह नेपाल प्रवेश गर्नका लागि हावाको वेग कस्तो हुनुपर्ने थियो ?

सलह नेपाल प्रवेश पाउनको लागि भारतबाट उत्तर–पश्चिम हावा बहनुपर्थ्यो भने सोहीअनुरूप हावा बहेसँगै सलह नेपाल प्रवेश गरेको हो । हावाको वेगसँगै सलह भैरहवा, कपिलवस्तु, सलार्ही, बारा तथा पश्चिमका केही जिल्लाहरूमा समेत प्रवेश गरेका हुन् । हावाको वेगकै कारणले गर्दा उनीहरू सो स्थानमा लामो समय नबस्नुको साथै पहाडी क्षेत्रतर्फ उक्लिए जसले गर्दा सलहको क्षति हुनु पुग्यो । पहाड क्षेत्रमा जंगलका कारण केही चिसो हुनेभयो भने पछिल्ला समयमा निरन्तर पानी परिरहेको हुँदा चिसोकै कारण सलह मर्न पुगे । सानो झुण्ड वर्षाको चिसोको कारणले गर्दा सलहको झुण्ड छरिनु तथा मृत्यु हुनुले गर्दा बाली जोगिन पुग्यो । त्यस्तै नेपाल प्रवेश गरेका सलह बाग्लुड, कालिकोटतिर पुगेका छन् भने यिनीहरू जंगलतर्फ प्रवेश गरेको हुँदा पनि सक्रिय हुन सकेनन् ।

भनेपछि नेपालमा प्रवेश गरेको सलहको झुण्ड विभाजन भएको अवस्थामा हाम्रा बालीनाली जोगियो भन्न सक्छौँ, अनि आगमी दिनमा यसको जोखिम छ वा छैन ?

तपाईंले ठीक भन्नुभयो । अहिलेको लागि सलाहबाट हुने बालीको क्षतिबाट हामी पूर्णरूपमा जोगिएका छौँ । सानो झुण्ड र विभाजन हुन नै बाली जोगिनुको प्रमुख कारण हो । यदि धेरै संख्यामा आएको भए बालीको स्थिति कस्तो हुन्थ्यो त्यसको अनुमान गर्न कठिन छ । तर, अहिलेको दिनमा सलहबाट हुने क्षतिलाई लिएर चिन्ता गर्नुपर्ने कुनै अवस्था छैन । तर, यसो भनिरहँदा अगामी दिनमा सलह नै नआउने । क्षति नै नहुने भन्ने कुराचाहिँ होइन है । पाकिस्तानमा सलह छ ।

त्यस्तै भारतमा पनि छ र फैलिने क्रम निरन्तर जारी छ । त्यसैले गर्दा फेरि सलह नेपाल प्रवेश नगर्ला भन्न सकिन्न अर्थात् प्रवेशको सम्भावना पर्याप्त छ । हावाको वेगमा भरपर्ने हुँदा भारतर्फबाट हावा उत्तर–पश्चिम वा उत्तर–पूर्व भएर आयो भने सलह हामी भएको ठाँउमा आउनेछ । त्यसैले गर्दा हामीले भारतको विभिन्न स्थानमा रहेका सलहहरूलाई नियालिरहेका छौँ । छरिएका सलह सीमा क्षेत्रबाट टाढा रहेको हुँदा अहिले तत्काल आउने सम्भावना कम छ भने झुण्डहरू समेत हेरिरहेको हुँदा अबको एक, दुई दिनमा झुण्ड हाम्रोमा आउने अवस्था छैन ।

यति भन्दाभन्दै पनि भोलि अचानक हावाको दिशा परिवर्तन भएर दक्षिणतर्फबाट आउने हावा हाम्रोतर्फ मोडियो भने त्यतिखेर नेपाल प्रवेश गर्ने छ त्यसैले गर्दा मौसम कस्तो हुन्छ त्यसमा भर पर्छ तर अहिलेको जस्तै सामान्य मौसम भएमा भने हामी केही समयको लागि ढुक्क हुनसक्ने अवस्था छ । सलह प्रवेश गर्ने विषयलाई अहिलेलाई मात्र नभएर भदौसम्म हेर्नुपर्ने हुन्छ । भदौको समयमा गर्मी पनि हुन्छ । झुण्ड पनि रहिरहन्छन्, त्यसैले गर्दा बहाब यतै आयो भने झुण्ड आउन सक्छ । त्यति खेर आयो भने झन् ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ किनकि धान हुन्छ । धानको समयमा आयो भने तराईमा रहने सम्भावना रहन्छ तराईमा बस्यो भने धेरै नै क्षति हुन सक्छ ।

त्यसो भए मानवका दृष्टिकोणबाट हेर्दा सलह र बाली एक–आपसमा प्रतिकूल बन्नुपर्छ भन्ने हो ? किनकि सलहले खाद्य संकट निम्त्यिाउँछ अनि हामीकहाँ पुनः सलहको प्रवेश भएमा खाद्य संकटको सम्भावना कत्तिको छ ?

अफ्रिका, एसिया जहाँ सलह पुगेको छ त्यहाँको स्थिति कस्तो छ त्यो हेर्नु जरुरी छ । सलह पुगेको स्थानका बासिन्दा, मुलुक खाद्य संकट हुन्छ भनी डराएको अवस्था छ, यसबाट हामी कहाँ अछुतो रहन सक्छौँ र ? त्यसैले गर्दा सलह नआओस् मेरो अर्थात् हामीहरूको कामना यही हुनेछ । ठूलो झुण्ड आएर त्यहीमाथि तराईमा बसेको खण्डमा भने खाद्य संकट हुने सम्भावना रहन्छ । ठूलो खाद्य संकट लाग्छ । ठूलो झुण्ड आएर बसेको खण्डमा बाली नाङ्गै बनाइदिने यिनीहरूको क्षमता हुन्छ । अनि बाली नाङ्गो भएपछि त्यसबाट हामीले के प्राप्त गर्न सक्छौँ । चाहे त्यो कलिलो बिरुवा होस् वा छिप्पेको नै किन नहोस् जस्तोसुकै बिरुवालाई पनि खान सक्छ ।

तराईको मात्र होइन पहाडमा पुगेमा पनि त्यही अवस्था हो । मैकैको समयमा पहाडमा आएर बसिदिएमा पनि यो सबै सखाप हुन्छ । पूर्व र पश्चिम भागबाट आएको सानो झुण्डले अहिले पो थोरै नोक्सानी ग¥यो र हरायो । प्रवेश गरेको पनि एक÷डेढ महिनाको समय यतै बिताएको भए धेरै नोक्सानी गथ्र्यो । नयाँ ठूलो झुण्डै आयो भने ठूलो समस्या निम्त्याँउछ । अहिले भारत पाकिस्तान, अफ्रिकामा ठूलो भन्डकै नोक्सानीको कारण आपत्तकालीन समय घोषणा गरेका छन् । धेरै नै क्षति गर्नसक्ने क्षमता भएकोले यसबाट हुने क्षतिको अनुमान गर्न कठिन हुन्छ ।

भनेपछि यसबाट बच्न हामीले के गर्न सक्छौँ वा के गर्नुपर्ने हुन्छ ?

अब तपाईंहाम्रो अर्थात् विश्वमा यो जहाँ–जहाँ फैलिएको छ त्यसबाट जोगिनु नै हाम्रो प्रमुख कुरा हो । तर, दुःखद कुरा भनौँ कि के भनौँ यसबाट बच्ने सुरक्षित उपाय तथा प्रविधि हालसम्म यो नै हो भन्ने निश्चित भएको छैन । त्यसैले यसबाट बच्न सकिने अवस्था छैन । हाम्रो सन्र्दभमा भन्नुपर्दा हाम्रो लागि यो रैथाने किरा होइन अर्थात् हाम्रो वातावरणमा बस्ने रमाउने र यहाँ प्रजनन तथा जीवनयापन गर्ने किरा होइन, यो । अर्को कुरा भनेको यसको नियन्त्रणको लागि हामीकहाँ कुनै प्रविधियुक्त यन्त्र बनेको छैन । विदेशी मुलुकको कुरा गर्ने हो भने पनि नियन्त्रणको लागि त्यति प्रभावकारी प्रविधि छैन । ठूलो–ठूलो झुण्डलाई हेलिकोप्टरबाट विषादी छरेर, ठूला आवाजहरू निकालेर रोकथाम गरिने प्रयास गरिएको पाइन्छ । ती उपाय अपनाए पनि नियन्त्रण भने भएको पाइँदैन ।

हाम्रोभन्दा भारतमा प्रत्येक वर्ष सलह आउने गरेको छ उनीहरूले समेत यसको रोकथाम तथा नियन्त्रण गर्न सकेका छैनन् । यदि भारतले नियन्त्रण गर्ने हो भने हामीकहाँ आउने सम्भावना नै हुदैन्थ्यो । भारतले ३४/३५ प्रतिशत, पाकिस्तानले पनि २० प्रतिशत मात्र नियन्त्रण गर्न सकेको बताँउदै आएको छ । त्यसैले गर्दा यसको नियन्त्रण सम्भव छ भन्न सकिन्न । मार्नको लागि भने विषादी नै प्रयोग गर्ने हो । त्यो पनि ठूलो झुण्डहरू बसेको समयमा पारी विषादी राख्न सकियो भने हो, अन्यथा नियन्त्रण गर्न सकिँदैन । उडिरहेको अवस्थामा पनि सकिन्न भने हाम्रो मुलुकको सन्र्दभमा भन्ने हो भने यो अझै कठिन छ, किनकि हाम्रो घर खेतबारी एकै स्थानमा हुनेगर्छ, जसले गर्दा मानव बस्तीमा विषादी गर्न सम्भव नहुँदा सलहलाई विषादी प्रयोग गर्न समेत सम्भावना देखिँदैन । त्यही पनि बाली सुरक्षित राख्ने तथा बसेको समय परेमा विषादी राख्न सक्छौँ ।

हाम्रो रैथाने किरा पनि होइन यो भनेपछि हामो वातावरणमा सलहलाई प्रजनन प्रक्रिया गर्नको लागि सहज छ वा छैन ?

हाम्रो वातावरणमा आएर सलहले बास बनाउने, बस्ने र लामो समय बिताउनका लागि उपयुक्त वातावरण छैन । त्यसो भन्दैमा बस्नै नसक्ने, प्रजनन प्रक्रिया नगर्ने अर्थात् पूरा नगर्ने भन्नेचाहिँ होइन । उसले आफ्नो क्रियाकलापहरू सञ्चालन गर्ला । मानौँ प्रजनन प्रक्रिया नै सञ्चालन गर्ला तर त्यसबाट सलहलाई राम्रो हुँदैन । कारण भनेको उसलाई सुहाउँदो वातावरण छैन । तर, यदि कहीँकतै प्रजनन प्रक्रिया अघि बढाएर उसले मरुभूमिमा जस्तो गरी ठूलो झुण्ड भने कोरोल्न सक्दैन । के भन्न सकिन्छ भने, यिनीहरूबाट झुण्ड निस्किँदैन । अन्य किरा फट्यांग्राजस्तै गरी एउटाबाट एउटा सलह उत्पादन भने हुन सक्छ । यहाँ अण्डा पार्ने स्थान राम्रो छैन अर्थात् उपयुक्त वातारण छैन ।

यिनीहरूले खोलाका किनारहरूमा प्रजनन प्रक्रिया पूरा गर्नको लागि उपयुक्त वातावरण हुनसक्छ तर हाम्रो खोला तथा नदीनालामा बाढी आउने हुँदा प्रजनन प्रक्रिया सफल हुन सक्छ भन्न सकिँदैन । मरुभूमि तथा ठूलो क्षेत्रफल आनन्दसँग प्रजनन प्रक्रिया गर्न उपयुक्त स्थान हो । यस्तै ३०/३५ तथा ४०/४५ डिग्री तापक्रममा सक्रिय हुन्छन् १५ डिग्रीभन्दा कम तापक्रममा भने सक्रिय हुन सक्दैनन् । त्यो अवस्था हामीकहाँ नभएको हुँदा प्रजनन हुने सम्भावना धेरै छैन तर कहीँकतै प्रजनन गरिहालेमा पनि त्यसको संख्या ठूलो अर्थात् धेरै हुँदैन अर्को कुरा भनेको तापक्रमकै कारण हामीकहाँ यिनीहरू सक्रिय हुन सक्दैनन् जसले गर्दा क्षति गर्न सम्भावना रहँदैन ।

अन्त्यमा, हामी सलह यसअघि कुन समयमा आयो र के–कस्ता गतिविधि ग-यो भन्ने विषयमा अन्यौल रहेका छौँ, त्यसलाई प्रस्ट बनाइदिनुहुन्छ कि ?

सलह यसअघि पनि प्रवेश गरेको छ यसमा दुईमत छैन । जुन कुरालाई हाम्रा पुस्ताले देखेका थिए, भेटेका थिए उहाँहरूको भनाइले नै पुष्टि गर्छ । मलाई थाहा भएसम्म सलह इस १८०० देखि नेपालमा आउने गरेको थियो  । तर, योभन्दा अगाडिचाहिँ इस् १९६२ मा आएको देखिन्छ । त्यसपछि अहिले नै आएको हो करिब ५०/६० वर्षको अन्तरालमा आएको देखिन्छ । त्यतिखेर पनि सानो झुण्ड प्रवेश गरेको हो किनकि ठूलो झुण्ड प्रवेश गरेको भए त्यसले गरेको क्षतिको विषयमा चर्चा हुन्थ्यो होला । त्यसैले गर्दा त्यतिखेर पनि सानो झुण्ड आयो होला र ठूलो नोक्सानी व्यहोर्नु नपरेकोले गर्दा धेरैलाई थाहै भएन । नेपालमा हालसम्म ठूलो झुण्ड आएको छैन । अहिले प्रवेश गरेको सलह नै ठूलो झुण्ड हो भन्न सक्छौँ  । यसअघि काठमाडौँ, ललितपुर तथा ललितपुरको गोदावरीमा आएको देखिन्छ । पश्चिम नेपालतिर पनि गएको देखिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया