Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताआफूले जस्तो सेवा खोजिन्छ जनतालाई त्यस्तै सेवा दिन सक्नुपर्छ

आफूले जस्तो सेवा खोजिन्छ जनतालाई त्यस्तै सेवा दिन सक्नुपर्छ


२०२८ सालमा गुल्मी जिल्लाको दिगाममा जन्मिएका दामोदर भण्डारी तिनाउ गाउँपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत हुन् । स्थानीय क्षेत्रमै माध्यमिक शिक्षा हासिल गरेका भण्डारीले तानसेन बहुमुखी क्याम्पसबाट बीकम गरेका छन् । उनले २०५० सालमा शिक्षकबाट जागिरे जीवनको यात्रा प्रारम्भ गरेका थिए ।

२०५४ सालमा नासु पदमा नाम निकालेर जिल्ला हुलाक कार्यालय हुम्लामा पदस्थापना भई निजामती सेवामा प्रवेश गरेका भण्डारी दीर्घकालीन महत्वका योजनाहरुलाई बढी प्राथमिकता दिने गर्दछन् । उनी २०६६ माघमा शाखा अधिकृतमा बढुवा भएका थिए । उनीसँग विभिन्न क्षेत्रमा कार्यसम्पादन अनुभव पनि छ । गत वर्षको माघ महिनामा तिनाउ गाउँपालिकाको पाल्पामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका भण्डारीसँग गाउँपालिकाको समसामयिक विषयमा रहेर आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

तिनाउ गाउँपालिकामा विकासको अवस्था कस्तो छ ?

म गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पनि करिब करिब नौ महिना हुन लाग्यो । गाउँपालिकाको विकास अवस्थालाई नियाल्दा तिनाउ गाउँपालिका बत्तीमुनिको अँध्यारोजस्तै छ । देशकै उत्कृष्ट सहर, सुन्दर नगरी बुटवलको काखमा भएर पनि बुटवलको तुलनामा गाउँपालिकाको विकास एउटा छेउ पनि हुनसकेको छैन । यद्यपि पछिल्लो समयमा विकासको क्रम बढ्दै गए पनि अझै धेरै परिवर्तनको खाँचो छ । जुन परिवर्तनका लागि गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, स्थानीयहरु सबै निरन्तर लागिपरेको अवस्था छ ।

विकास निर्माणमा बाधक बनेका आधारहरु के–के हुन् ?

मुख्य गरेर यहाँको भौगोलिक बनावट नै प्रमुख बाधक हो । अधिकांश भूभाग चुरे क्षेत्रमा पर्ने र वर्षात्को समयमा भूस्खलन हुने र बाढीपहिरोको अत्यन्तै जोखिमपूर्ण ठाउँ हो । चालू आर्थिक वर्षमा पनि गाउँपालिकाका दशौं स्थानहरुमा बढी पहिरोको कारण ठूलो धनजनको क्षति भयो ।

भौगोलिक बनावट पनि टाढा टाढासम्मको हुँदा त्यसले पनि गाउँपालिकामा अपेक्षित विकास हुन नसकेको सोझै अनुमान गर्न सकिन्छ । स्थानीय सरकार गठन भइसकेपछि गाउँपालिकाले भौतिक क्षेत्रको विकासमा एउटा आधार बनाइसकेको छ । अब गाउँपालिकाले आर्थिक क्षेत्रको विकासका लागि आवश्यक योजनाहरु छनोट गरी कार्यान्वयनमा ल्याउने समय आएको छ ।

आर्थिक क्षेत्रको विकासको लागि सम्भावनाका स्रोतहरु के कस्ता छन् ?

तिनाउलाई पर्यटकीय र कृषि नगरीको रुपमा विकास गर्नसक्ने केही आधारहरु छन् । दीर्घकालीन लक्ष्यका साथ ती आधारहरुलाई कार्यान्वयनमा ल्याउँदा समृद्ध गाउँपालिका निर्माणमा ठूलो सफलता मिल्ने देखिन्छ । गाउँपालिकाले पनि तीनै क्षेत्रहरुमा बढी केन्द्रित भएर योजनाहरु छनोट गरी कार्यान्वयनमा ल्याउने गरेको छ ।

बाख्रापालनको लागि उर्वर भूमिको रुपमा चिनिएको गाउँपालिकामा, दुग्ध उत्पादन क्षेत्रमा पनि गाउँपालिकाले उल्लेख्य सफलता हासिल गर्दै गएको छ । पर्यटकीय सम्भावना भएका क्षेत्रहरु पहिचान गरेर सोहीअनुसार विकास निर्माणका कामहरु पनि भएका छन् । ऐतिहासिक मन्दिर सत्यवती र नुवाकोटजस्ता पर्यटकीय क्षेत्रहरुको विकासमा गाउँपालिका योजनाबद्ध रुपमा अगाडि बढेको छ ।

स्थानीय सरकारको यो तीन पर्षे कार्यसम्पादन अवधिलाई फर्केर हेर्ने हो भने जनताले प्रत्यक्ष रुपमा स्थानीय सरकारको अनुभूति मिल्ने गरी कामहरु भएका छन् । पूर्वाधारअन्तर्गत पहिलो चरणमा बाटाघाटा बनाउने काम लगभग सम्पन्न भएका छन् । सडकहरु स्तरोन्नति गर्दै वर्षात्को समयमा समेत सवारीसाधन सञ्चालन गर्नसक्ने गरी विकास गर्नुपर्ने आवश्यकता देखिएकोले आगामी दिनका लागि सोहीअनुसारको रणनीति तय गरेका छौँ ।

गाउँपालिकाको आफ्नै प्रशासकीय भवन नहुँदा साँघुरो ठाउँबाट सेवा प्रवाह भएको देखिन्छ भवन निर्माणको कुनै योजना छैन ?

अवश्य पनि छ । धेरै स्थानीय तहहरु आफ्नै प्रशासकीय भवनबाट कार्यसम्पादन गरे पनि तिनाउ गाउँपालिकाले अहिलेसम्म आफ्नै प्रशासकीय भवन निर्माण गर्नसकेको छैन । विभिन्न कारणवश प्रशासकीय भवन निर्माणमा केही ढिलाइ भए पनि चालू आर्थिक वर्षदेखि भवन निर्माणको काम सुरु गर्न टेण्डर प्रक्रिया सम्पन्न गरिसकेका छौँ । जहाँसम्म साँघुरो ठाउँबाट सेवा प्रवाहको कुरा छ, कर्मचारीहरु साँघुरो ठाउँमा कोचिएर कार्यसम्पादन गरे पनि जनतालाई दिने सेवामा कुनै कमी आएको छैन ।

जनताको सरकार भएकोले जनताका कामहरु जति सक्यो छिटो गर्नुपर्छ भन्ने मान्यतालाई प्राथमिकताका साथ दु्रत सेवा प्रवाहमा विशेष जोड दिएर लागेको अवस्था छ । केही वडा कार्यालयहरुका आफ्नै भवन भए पनि केही वडा कार्यालयहरुका नहुँदा आफ्नै भवन नहुने वडा कार्यालयहरुका भवन निर्माण प्रक्रियाहरु पनि अगाडि बढेका छन् । आगामी वर्षदेखि वडास्तर र गाउँपालिकाका सबै कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन हुने व्यवस्थाअनुरुप चलेका छौँ ।

गाउँपालिकाका स्थानीयहरुको जीवनस्तर उकास्ने आधारहरु के–के हुन् ?

गाउँपालिकाका स्थानीयहरुको जनस्तर उकास्ने प्रमुख आधार भनेको व्यावसायिक कृषि नै हो । जसको अवस्था क्रमशः बढ्दै गएको छ । हिजोका दिनहरुमा कृषिमा आत्मनिर्भर बन्न पनि धौ–धौ थियो भने आज निर्यातमुखी कृषि प्रणालीको बाटो अवलम्बन भइसकेको अवस्था छ । गाउँपालिकाका सबैजसो वडाहरुलाई एउटा एउटा पकेट क्षेत्रको रुपमा विकास गर्दै अगाडि बढेका छौँ । जसअनरुप दालचिनी पकेट क्षेत्र, कागती पकेट क्षेत्र, बाख्रापालन पकेट क्षेत्र, दूध पकेट क्षेत्र, तरकारी खेतीलगायतका व्यावसायिक कृषिले दिनप्रतिदिन जनस्तरलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने आधार सृजना गरेको छ ।

कृषि क्षेत्रमा कुनै प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्नुभएको छ ?

जबसम्म कृषक र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्न सकिंँदैन तबसम्म आर्थिक विकासमा अपेक्षित सफलता पाउन कठिन हुन्छ । कृषि क्षेत्रको विकास र कृषक प्रोत्साहनको लागि गाउँपालिकामा धेरै योजनाहरु सञ्चालनमा आएका छन् । किसानलाई प्रोत्साहित गर्न विभिन्न अनुदानका कार्यक्रमहरु, लागतमा ५०÷५० का कार्यक्रमहरु, उन्नतजातका बीउबीजनहरु वितरणलगायतका कार्यक्रमहरुको कारणले केही हदसम्म कृषकलाई उत्साहित गराउने आधार सृजना गरेको अनुभूति गरेका छौँ ।

विगतका आर्थिक वर्षहरुमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

अघिल्ला दुई आर्थिक वर्षहरुमा बजेट खर्चको अवस्था अत्यन्तै राम्रो नै रह्यो भने गत आर्थिक वर्षमा पनि प्रशंसनीय रुपमा बजेट खर्च गर्न सफल भयौँ । गत आर्थिक वर्षमा कोभिड–१९ ले महामारीको रुप लिएर राज्यद्वारा लामो समयसम्म लकडाउन गरिएको अवस्था भए पनि करिब ८७ दशमलव पाँच प्रतिशत बजेट खर्च गाउँपालिकाबासीको लागि खुसीको कुरा बन्यो । गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीलगायत सरोकारवाला पक्षहरुको भरपूर सहयोगको कारण बजेट खर्च अघिपछिको सामान्य अवस्थामा जस्तै हुनुले कतिको मिहिनेत भयो भन्ने कुरा सोझै अनुमान गर्न सकिन्छ ।

चालू आर्थिक वर्षको लागि कति बजेट विनियोजन भएको छ र हालसम्म बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?

कुल ५० करोड ९९ लाख ७८ हजार चार सय ९० रुपैयाँ बजेट विनियोजन भएको छ । जहाँसम्म बजेट कार्यान्वयनको कुरा छ अहिलेसम्म वित्तीय प्रगतिको सन्दर्भमा खासै हुनसकेको छैन । यद्यपि काम सुरु नै नभएको भन्ने होइन, भएका छन् तर योजनाहरु सम्पन्न हुनसकेका छैनन् । केही योजनाहरु टेण्डर प्रक्रियामा छन् भने केही योजनाहरुको टेण्डर प्रक्रिया सम्पन्न भई कार्यान्वयनका लागि अगाडि बढेको अवस्था छ । वडागत योजनाहरु कार्यान्वयनमा आए पनि गाउँपालिकाबाट सञ्चालन हुने ठूला योजनाहरु प्रक्रियामा रहेका छन् ।

चालू आर्थिक वर्षमा बजेटले कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ?

पूर्वाधार विकासअन्तर्गत गाउँपालिकाको प्रशासनिक भवन प्राथमिकतामा रहेको छ भने कृषि, पशुपालन, स्वास्थ्य क्षेत्रका योजनाहरु पनि प्राथमिकताका साथ अगाडि बढाएका छौँ । विशेष गरेर चालू आर्थिक वर्षमा विदेशबाट फर्किएका र जागिर गुमाएकाहरुलाई उत्पादनसँग जोडेर कृषि क्षेत्रमा आबद्ध गराउने लक्ष्यका साथ कृषि क्षेत्रलाई अझै व्यापक रुपमा अगाडि बढाउँदै छौ ।

गाउँपालिकाका आन्तरिक आम्दानीका स्रोतहरु के–के हुन् ?

मुख्य आम्दानीको स्रोत खानी अथवा चुनढुङ्गा उत्खनन गरेबापत दिने रोयल्टीबापत दिने दश प्रतिशत र वातावरण प्रदूषण शुल्कबापत दिने रकम हो । अन्य सामान्य आम्दानीका स्रोतहरु भनेका व्यावसायिक कर, मालपोत कर आदि हुन् ।

वार्षिक आम्दानी कति हुन्छ र स्रोतवृद्धिको लागि कुनै योजनाहरु अगाडि सार्नुभएको छ ?

तीनदेखि चार करोड रुपैयाँको सेरोफेरोमा आम्दानी हुने गरेको छ । जहाँसम्म स्रोत वृद्धिको कुरा छ, स्रोत वृद्धिसँग हामीले जनस्तर उकास्ने कुरातर्फ पनि ध्यान केन्द्रित गरेका छौँ । खानी व्यवस्थित गर्ने, नदीजन्य पदार्थ उत्खनन प्रक्रिया अगाडि बढाउने सोचमा छौँ ।

गाउँपालिकामा ऐन, नियम निर्माणको अवस्था कस्तो छ ?

केन्द्र सरकारले दिएको रणनीतिअनुसार हालसम्म ऐन, नियम, नियमावली र कार्यविधि गरेर १७ वटा निर्माण गरिसकेका छौँ भने केही निर्माणको प्रक्रियामा छन् । स्थानीय सरकार सञ्चालनको लागि १७ वटा ऐन नियम नियमावली र कार्यविधि पूर्ण नभए पनि आवश्यकताअनुसार निर्माण गर्दै जाने रणनीतिअनुसार सञ्चालित भएका छौँ । कानुनकै अभावको कारण अहिलेसम्म रोकिनुपर्ने अवस्था छैन । तत्काल नबनाई नहुने कानुन भनेको ढुङ्गा गिट्टी बालुवासम्बन्धी हो । जुन विज्ञहरुको सुझाव सल्लाहअनुसार छिट्टै तयार गर्दै छौँ ।

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?

यसभन्दा अगाडि मलाई दुई/तीन वटा स्थानीय तहहरुमा काम गर्ने अवसर मिल्यो । यसअघि कार्यसम्पादन गरिएका स्थानीय तहहरुको अवस्थालाई हेर्दा यहाँको सम्बन्ध उत्कृष्ट लाग्यो । अत्यन्त सुमधुर छ । कानुनभन्दा बाहिर गएर काम गर्न जनप्रतिनिधिको कुनै दबाब हालसम्म व्यहोर्नुपरेको छैन ।

यद्यपि अन्य केही स्थानीय तहहरुमा त्यस्तो दबाब भएका धेरै समाचारहरु पनि सुन्ने गरिएका छन् । कानुनी मर्म बुझेका जनप्रतिनिधि हुँदा हामीलाई सौहार्दपूर्ण वातावरणमा काम गर्ने राम्रो व्यवस्था बनेको हुँदा जनप्रतिनिधिप्रति कर्मचारी र कर्मचारीप्रति जनप्रतिनिधि सन्तुष्ट भई समन्वय र सहकार्यमा कार्यसम्पादन हुने गरेको छ । जसको उदाहरणको रुपमा गत वर्षको बजेट खर्चलाई पनि हेर्न सकिन्छ । संक्रमणकालीन समयमा पनि झण्डै ८८ प्रतिशत बजेट खर्च गर्न सफल हुनु सबैको मिहिनेत र सम्बन्ध स्पष्ट रुपमा झल्किन्छ ।

सुशासनको अवस्था कस्तो छ ?

प्रमुख प्रशासकीय अधिकृतको नाताले गाउँपालिकामा सुशासन कायम गर्न मैले हरसम्भव सबै प्रयासहरु अवलम्बन गरेको छु । स्थानीय सरकार भनेको जनताको सरकार भएकोले जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी काम गर्नु हामी सबैको दायित्व हो । जनताले अपेक्षा गरेअनुसारको काम गर्न सक्नु नै सबैभन्दा उपलब्धिपूर्ण कार्य भएकोले सोहीअनुसारको नीति अपनाएका छौँ । म गाउँपालिकामा हाजिर भएको केही समयमै लकडाउन भए पनि लकडाउनको र भाइरस संक्रमणको कुनै प्रवाह नगरीकन कर्मचारी जनप्रतिनिधि एक भएर जनसेवामा लाग्यौँ । जसको कारणले जनतालाई उलेख्य राहतको महशुस गराउने आधार बनायो ।

जनतालाई दिने सेवा सुविधामा कुनै कन्जुस्याई नगरीकन सहज रुपमा दिने गरिएको छ । मैले सबै साथीहरुलाई निरन्तर के भन्ने गरेको छु भने आफू सेवा लिन जाँदा जस्तो सेवाको अपेक्षा गरिन्छ आफूले सेवा दिंदा पनि त्यस्तै सेवा दिन सक्नुपर्छ किनकि सेवाग्राहीको अपेक्षा पनि त्यस्तै हुन्छ । सेवाग्राहीलाई सबै कुराको जानकारी नहुन सक्छ कागजी प्रक्रियाको कमीको कारण दु्रत सेवाप्रवाहमा हुने समस्यालाई मध्यनजर गरेर चेकलिष्ट तयार गरेर दिनको लागि पनि निर्देशन दिँदै आएको छु । जसको कारणले हालसम्म कर्मचारीबाट दुःख पाएको भन्ने एउटा पनि गुनासो सुन्नुपरेको छैन ।

गाउँपालिकामा कोरोना भाइरसको संक्रमण अवस्था कस्तो छ र संक्रमण नियन्त्रणका लागि के कस्ता कामहरु गर्नुभएको छ ?

सुरुको समयमा संक्रमणको अवस्था भयावह हो । समूहस्तरमा पाल्पामा पहिलो पटक गाउँपालिकामा देखिएको थियो । हालसम्म कोभिड–१९ पोजेटिभ भएका केसहरु ३३ वटा छन् । संक्रमित ३३ जनामध्ये ३२ जनालाई निको भइसकेको छ भने हाल एक जना मात्र संक्रमित हुनुहुन्छ । छ वटा क्वारेन्टाइनमा करिब तीन सय जनाले सेवा लिनुभयो भने हाल एक वटा मात्र क्वारेन्टाइन सञ्चालनमा रहेको छ ।

तिनाउ गाउँपालिका, तानसेन नगरपालिका, माथागढी गाउँपालिका र बगनासकाली गाउँपालिकाको सम्युक्त लगानीमा तानसेन नगरपालिकामा आइसोलेसन निर्माण गरेर सुरुका दिनमा उपचार गराए पनि पछि एकाएक तानसेन नगरपालिकाले बन्द गरिदिएपछि अहिले उपभोक्ता र गाउँपालिकाको संयुक्त लगानीमा आइसोलेसन बनाउँदै छौँ । सुरुको समयमा संक्रमण समुदायमा फैलिनबाट रोक्न विभिन्न स्वास्थ्य मापदण्डहरु अपनाउँदै राहत वितरणका कामहरु पनि सञ्चालनमा ल्याएका छौँ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया