Techie IT
×
गृहपृष्ठअन्तर्वार्ता‘जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने तयारीमा छौँ’

‘जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने तयारीमा छौँ’

चित्रबहादुर कार्की, नगर प्रमुख, सैनामैना नगरपालिका, रूपन्देही


लामो सयमसम्म शैक्षिक पेसामा आबद्ध चित्रबहादुर कार्की सैनामैना नगरपालिका रूपन्देहीका प्रमुख हुन् । २०४७ सालमा नेकपा एमाले पार्टीको सदस्यता लिएर राजनीतिक यात्रा प्रारम्भ गरेका कार्की पार्टीमा विभिन्न तहतप्कामा रही कार्यसम्पादन गरिसकेका छन् । नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)को जिल्ला सचिवालय सदस्यको जिम्मेवारीसहित नगरपालिकाको नगरप्रमुखको जिम्मेवारीमा रहेका कार्कीले अन्य धेरै सामाजिक संघसंस्थाहरूमा सल्लाहकार, अध्यक्ष तथा विभिन्न पदीय जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

जनताले दिएको अवसरलाई सही सदुपयोग गरेर जनताको मन जित्दै समृद्ध नगरपालिका निर्माणमा योगदान पु-याउने दृढ संकल्प गर्दै योजनाहरू कार्यान्वयनमा ल्याउन माहिर कार्की जनताको माझमा रहेर जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको भएको बताउँछन् । प्रमुख कार्कीसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको अंश :

चालू आर्थिक वर्षको पहिलो चौमासको अन्तिम समय चलिरहेको छ, हालसम्मको उपलब्धि कस्तो छ ?

एकातिर धेरै सार्वजनिक बिदाहरू र अर्कोतिर कोरोना भाइरस संक्रमणको त्रासले सोचेजस्तो उपलब्धि प्राप्त गर्न सकेका छैनौँ । यो समस्या सैनामैना नगरपालिकाको मात्र नभएर सिङ्गो देशकै हो । नगरपालिकाको उपलब्धिको कुरा गर्दा २८/३० प्रतिशत पुँजीगत र ३४/३५ प्रतिशत चालूतर्फ उपलब्धि भएको छ । जहाँसम्म योजना कार्यान्वयनको कुरा छ अल्या गरिएका योजनाहरू र सानातिना योजनाहरूमा दु्रत गतिमा कार्यसम्पादन भैरहेको छ भने ठूला टेण्डरबाट गर्नुपर्ने योजनाहरू प्रक्रियामामा छन् । जहाँसम्म पुस मसान्तसम्म चालू आवका लागि छुट्याइएका सम्पूर्ण योजनाहरू कार्यान्वयनमा आउँछन् ।

स्थानीय तहहले जनप्रतिनिधि पाएको पनि तीन वर्ष बितिसक्यो, यो तीन वर्षमा के–कस्ता विकासनिर्माणका कामहरू भएका छन् ?

नगरपालिकामा देखिने र नदेखिने दुवै क्षेत्रका कामहरू भएका छन् । हामीले जनतालाई स्थानीय सरकारको अनुभूति मिल्नेखालको विकास भएको छ । नगरपालिकाका सबै वडा तथा बस्तीहरूलाई जोड्नेगरी चक्रपथको निर्माण कार्य भैरहेको छ । ५३ किमीमध्ये यो वर्ष २० किमी कालोपत्रे र बाँकी खण्डको ग्राभेल गर्ने काम यो वर्ष सम्पन्न हुन्छ । दुईवटा पुलहरू पूर्ण भएका छन् भने बनाउने भनिएका बाँकी आवश्यक अरु पुलहरू पनि प्रक्रियामा छन् ।

नगरपालिकाभित्र पूर्व–पश्चिम लोकमार्ग र चक्रपथलाई जोड्ने उत्तर–दक्षिण जोड्ने मापदण्डअनुसारका सडकहरू सबै कालोपत्रे भइसकेका छन् । मुख्य सडकको पनि ४० प्रतिशत जति कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । पूर्वाधार विकासको क्षेत्रमा नगरपालिकाले उलेख्य सफलता प्राप्त गरेको छ । त्यस्तै जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने तयारीमा छौँ भने सरसफाइ र ढल व्यवस्थापनलाई पनि विशेष जोड दिँदै अगाडि बढेका छौँ । सरसर्ती भन्नुपर्दा तीन वर्षमा पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, कृषि, स्वच्छ पिउने पानी, सिँचाइलगायतका क्षेत्रहरूमा क्षमताअनुसारको उपलब्धि हासिल गरेका छौँ ।

देशभरका सात सय ५३ वटा स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै शैक्षिक संस्था मर्जर गराउने स्थानीय तह हो भन्ने सुनिन्छ नि त सैनामैना ?

त्यो हुन पनि सक्छ र नहुन पनि सक्छ । हामीसँग अन्य कुनै स्थानीय तहहरूको तथ्याङ्क नहुँदा यो नै हो भन्न सक्ने अवस्था छैन । नगरपालिकाभरि भएका २७ वटा सामुदायिक विद्यालयहरूमध्ये दशवटा मर्जर गरेर १७ वटामा झारेका छौँ । शिक्षक संख्या बराबर भएका, विद्यार्थी संख्या कम भएका, विद्यालयबीचको दूरी नजिक–नजिक भएका विद्यालयहरूलाई मर्जर गरेका हौँ । यद्यपि विद्यालयहरूको शैक्षिक गुणस्तर कम भएर नभई गुणस्तरमा थप वृद्धिको लागि मात्र मर्जर नीति अवलम्बन गरेका हौँ ।

शैक्षिक गुणस्तर वृद्धिका लागि के–कस्तो रणनीति अपनाउनुभएको छ ?

सबै विद्यालयहरूमा आईटी सेक्टरलाई प्राथमिकता दिइएको छ । शिक्षालाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ । विद्यालयहरूमा प्रोजेक्टर, ल्यापटप, इन्टरनेट, विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्थालगायत पठनपाठनको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू उपलब्ध गराएका छौँ । सबै शिक्षकहरूलाई आईटीसम्बन्धी तालिम पनि प्रदान गर्दै आएका छौँ । सबै शिक्षकहरू पाठ योजना निर्माण गर्ने, आवश्यक शिक्षण सामग्रीहरूको खोजतलास गरेर व्यवस्थितरूपमा पठनपाठन गराउँदै आउनुभएको छ । कक्षा बिहानी कक्षाहरूलाई दिवामा सारेका छौँ ।

विद्यालयहरूको भौतिक पूर्वाधारको विकासलाई पनि उत्तिकै महत्वका साथ लिएका छौँ । छात्रछात्रामैत्री शौचालय, स्वच्छ तातो र चिसो पिउने पानीको व्यवस्था, सबै शैक्षिक संस्थाहरूमा फ्रिजको व्यवस्था, छात्राहरूको लागि सेनेटरीप्याडको व्यवस्था, उपयुक्त खेल मैदानको व्यवस्था, आधारभूत तहका विद्यार्थीहरूको लागि टिफिनको व्यवस्था, शैक्षिक संस्थामा जंकफूड निषेध गरिएकोले घरैबाट खाजा लगेर खाने बानीको विकास भएको छ । विद्यालयस्तरीय खेलकुद सप्ताह सञ्चालन गर्ने पाठ्यपुस्तकबाहेक अतिरिक्त क्रियाकलापहरूमा गराउँदै विद्यार्थीहरूको सृजनात्मक क्षमताको विकासमा जोड दिँदै बालबालिकासँग मेयर कार्यक्रम पनि सञ्चालन गरी राष्ट्रिय कार्यक्रमको रूपमा उत्पादन गरेका छौँ ।

बाल मनोविज्ञानको विकास गर्ने गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरूमा अभिभावकहरूको आकर्षण बढाउनु हाम्रो प्रमुख लक्ष्य भएकोले लक्ष्य प्राप्तिका लागि सोहीअनुसारको आवश्यक रणनीति अपनाएका छौँ । त्यसैगरी संस्थागत विद्यालयहरूमा पनि आवश्यक आधारभूत भौतिक सुविधाहरू अनिवार्यरूपमा उपलब्ध गराउनुपर्ने व्यवस्थाको लागू गरेका छौँ । सरसर्ती हेर्दा पछिल्लो समयमा नगरपालिकाभित्र सामुदायिक र संस्थागत दुवै क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तरमा थप निखार आएको छ । शिक्षा क्षेत्रमा भएको विकासले केही वर्षभित्रै नगरपालिका शैक्षिक हबको रूपमा विकास हुनेमा हामी विस्वस्त छौँ ।

स्वास्थ्य क्षेत्रमा कत्तिको विकास भएको छ ?

प्रभावकारी स्वास्थ्य सेवा पाउनु सर्वसाधारणको नैसर्गिक अधिकार हो । उक्त अधिकारलाई आत्मसात गर्दै सोहीअनुसारको विकासमा लागेका छौँ । हिजोको जनप्रतिनिधिविहीन अवस्थामा भन्दा अहिले धेरै विकास भएको छ । अहिले तीनवटा स्वास्थ्य चौकी, आठवटा आधारभूत स्वास्थ्य केन्द्र, एउटा आयुर्वेदिक चिकित्सालय, आँखा उपचार केन्द्रको स्थापना गरिसकेका छौँ भने १५ श्ययाको अस्पताल निर्माण सरकारको रणनीति भए पनि हामीले त्यसलाई २५ श्ययाको अस्पताल निर्माण गर्नेगरी योजना बनाएका छौँ ।

नगरपालिकाले गौरव गर्ने खालका के–कति योजनाहरू सञ्चालनमा छन् र आउँदै छन् ?

चक्रपथको कुरा त माथि पनि उल्लेख गरिसकेँ । त्योबाहेक लामीरह बहुउद्देश्यीय बाँध, सिँचाइ आयोजनाहरू, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण, फुडबल रंगशाला र अन्य खेलमैदान, कभर्डहल निर्माण, औद्योगिकको स्थापना, प्रदेशस्तरीय ज्येष्ठ नागरिक संरक्षण ग्राम, स्मार्ट रिफ्रेस सेन्टर निर्माण, ग्राम निर्माण, सैनामैना संग्रहालयको निर्माण, दानव करिडोर निर्माण, हरियाली प्रवर्द्धनलगायतका केही योजनाहरूलाले नगरपालिकाको छवीलाई उँचो बनाउने काम गरेको छ ।

आर्थिक समृद्धिसँग जोडिने कृषि क्षेत्रको अवस्था कस्तो छ ?

कृषि क्षेत्रमा खाद्यन्न, दल्हन, तेल्हन, दुध, माछामासु, अण्डा र तरकारीमा पूर्णरूपमा आत्मनिर्भर छौँ । जति कृषि उत्पादन नगरपालिकाभित्र हुन्छ त्यो उत्पादन केवल सिजनेवल उत्पादन मात्र हो । किसानहरूले उचित बजार नपाउँदा सस्तोमा बिक्री गर्न कृषकहरू बाध्य छन् । सरकारले कृषि उत्पादनले उचित मूल्य पाउनेगरी बजारको सुनिश्चितता गर्नुपर्ने जरुरी देखिएको छ । जुन सिजनमा बढी उत्पादन हुन्छ त्यो सिजनमा भारतबाट सोही उत्पादन सस्तोमा भित्रिने हुनाले हाम्रा कृषकहरूलाई अर्गानिक उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यताले नेपाली कृषकहरू मर्कामा परेको अवस्था छ । जुन कुरालाई राज्यले विशेष प्राथमिकताका साथ लिनुपर्ने देखिन्छ । हामीले कृषि र पशुपन्छी पालनलाई विशेष महत्व र प्राथमिकताका साथ अगाडि बढाएका छौँ ।

कृषक प्रोत्साहनका के–कस्ता कार्यक्रमहरू सञ्चालन भएका छन् ?

कृषि क्षेत्रको विकास नै जीवनस्तर उकास्ने एउटा सम्भावनाको स्रोत हो । कृषिलाई प्रदेश सरकार र संघीय सरकारले पनि विशेष महत्वका साथ लिएको छ । कृषि क्षेत्रमा आकर्षण वृद्धिका लागि कृषि उपकरणहरू वितरण, उन्नत जातका बीउबिजन वितरण, सबै इच्छुक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा मौरीका घारहरू वितरण गरी २० हजारभन्दा बढी चिउरीका बोटहरू पनि लगाएका छौँ । त्यसैगरी गोठ तथा खोर सुधारका कार्यक्रमहरू, घाँसको बीउ वितरण, कम्पोस्ट मल उत्पादनलाई प्राथमिकता, महिला दिदीबहिनीहरूलाई संगठित गरी प्रत्येक वडामा व्यावसायिक फूल खेती गर्न प्रोत्साहनलगायत कृषि क्षेत्रको प्रवद्र्धनात्मक विकासमा हुनेगरी आवश्यक रणनीति अपनाउँदै अगाडि बढेका छौँ ।

पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलहरू कत्तिको छन् ?

सैनामैना धेरै जातजातिहरू र विभिन्न धर्मावलम्बीहरू भाइचाराको रूपमा धार्मिक सहिष्णुताका साथ एकआपसमा सहयोगी भावनाको विकास गर्दै बसेको नगरपालिकाको रूपमा पनि परिचित छ । सैनामैना नगरपालिका ऐतिहासिक बुद्धकालीन पाँचवटा सहरहरूमध्ये लुम्बिनी, तिलौराकोट, अरौराकोट कपिलवस्तु रामग्राम, देवदह र यीमध्ये सामग्राम भन्ने सेनामैनामा पर्दछ । सैनामैना वडा नं. १ सामग्राम सहर भएको क्षेत्र हो । २५/३० बिघा क्षेत्रमा भग्नावशेष पुराना दरबार, कुवाहरू अर्थात् ऐतिहासिक पुरातात्विक वस्तुहरू भेटिएका छन् । त्यसको ऐतिहासिकताको हामी अध्यनको लागि लागिपरेका छौँ । अर्को वर्तमानकै ऐतिहासिक शिवको एउटा शक्तिपीठमध्ये बोलबम धामले सैनामैनाको परिचय झल्काएको छ भने, अर्को पहिचाहन भनेको सालझण्डी ढोरपाटन सडक जुन सडकले चाइनाको बोर्डरसँग जोड्दछ ।

कोरोना भाइरसको महामारीले धेरैको जागिर गुम्ने र गुमेका समाचारहरू आइरहन्छन्, त्यो समस्यालाई समाधान गर्ने कुनै योजना बनाउनुभएको छ ?

औद्योगिक विकासबाट रोजगार सृजना गरौँ भन्ने अवस्था तत्कालको लागि असम्भव छ । अहिलेसम्म त्यस्तो धेरै समस्या त आएको छैन तर नआउला भन्न सक्ने अवस्था पनि छैन । वैदेशिक रोजगारीबाट फर्किका र आफ्नो जागिर गुमाएकाहरूलाई हामीले कृषि क्षेत्रलाई रोजेका छौँ । जसका लागि बाख्रा प्रवर्द्धन कार्यक्रम, गाई प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । यूएनडीपीको सहकार्यमा नगरपालिकाले कोभिडको प्रभावबाट सिथिल भएको आर्थिक अवस्थालाई पुनर्स्थापना गर्नेगरी आर्थिक, सामाजिक क्षेत्रप्रतिकार्य गर्नेगरी योजना ल्याएका छौँ । त्यसमा विशेष गरेर कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ ।

नगरपालिकाभरि रहेका परम्परागत कृषि औजार निर्माण गर्ने आरनहरूलाई मागअनुसारको आधुनिक उपकरणहरू उपलब्ध गराएर एकसाथ स्तरोन्नति गर्दै छौँ । २४ महिने, १८ महिने निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएर सीप युक्त जनशक्ति उत्पादन गर्नेगरी अगाडि बढेका छौँ । जसले नगरपालिकाको बेरोजगारीको संख्या प्रत्येक दिन घट्दो क्रममा रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत नगरपालिकाबाट अघि सारिएका विभिन्न योजनाहरूले हामीलाई हाम्रो लक्ष्यमा पु-याउन केही मदत गरेको हामीले विश्वास लिएका छौँ भने युवाहरूमा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको पनि पाइन्छ ।

गाउँपालिकामा आन्तरिक आम्दानीका स्रोतहरूको अवस्था कस्तो छ ?

आम्दानीको स्रोतमा प्रमुख नदिजन्य पदार्थ हो । त्यसपछि मालपोतकर, सिफारिस दस्तुर, बालबिटौरीकर नै मुख्य स्रोतहरू हुन् ।

आन्तरिक आम्दानी वृद्धिका लागि कुनै योजनाहरू बनाउनुभएको छ ?

दायरा फराकिलो बनाउने, सबैलाई करको दायराभित्र ल्याउने, दर न्यूनतम कायम गर्ने कुरामा हामीले उलेख्य सफलता प्राप्त गरेका छौँ । मेरो ख्यालमा नगरपालिकाका सबै घरपरिवार करको दायरामा आउनुभएको छ । सम्भवतः यो अवस्था अन्यत्र अति न्यून होला । नगरपालिकामा भएर १६ हजार पाँच सय घरपरिवारमध्ये १६ हजार पाँच सयले नै कर तिर्नुहुन्छ । यस्तो अवस्थामा स्रोतवृद्धिका लागि हामीले नयाँ क्षेत्रको खोजी गर्नुपर्ने हुन्छ । स्रोतवृद्धिका सम्भावित क्षेत्रहरूको खोजमा निरन्तर लागेका छौँ । स्मार्टसिटी निर्माण, औद्योगिक ग्राम तथा गौरवका योजनाहरूले पूर्णता पाउँदा र अघि सारिएका अन्य केही योजनाहरूले स्रोत वृद्धि होला तर तत्कालको लागि भने समस्या नै देखिन्छ ।

वार्षिक आम्दानी कति हुन्छ ?

स्रोतवृद्धिमा विगतको तुलना गर्ने हो भने हामीले तीन गुणाभन्दा बढी सफलता हासिल गरेका छौँ । पहिले तीन/चार करोड रूपैयाँबराबरको आन्तरिक आम्दनीमा वृद्धि भएर अहिले वार्षिक १३/१४ करोड रूपैयाँसम्म हुनेगरेको छ । आन्तरिक आम्दानीमा यसलाई हाम्रो ठूलो सफलताको रूपमा लिन सकिन्छ ।

हालसम्म कतिजति ऐन÷नियम निर्माण भएका छन् ?

ऐन/नियम, नियमावली, कार्यविधि, निर्देशिका गरेर ५४ भन्दा बढी निर्माण गरेका छौँ भने केही निर्माणको प्रक्रियामा रहेका छन् । आवश्यकताअनुसार बनाइने कुरा भएकोले हामीलाई चाहिनेजति सबै निर्माण गरिसकेका छौँ । मेरो बुझाइमा एउटा स्थानीय तहलाई ५४ वटा कानुन भनेको पर्याप्त हो ।

संघीयतामा विकासनिर्माण कत्तिको चुनौतीपूर्ण छ जस्तो लाग्छ ?

संघीयता चुनौतीभन्दा पनि अवसर हो । चुनौतीलाई चुनौतीभन्दा अवसरको रूपमा लिइयो भने मात्र विकासनिर्माण सम्भव हुनेहुँदा मर्मअनुसार चल्न जरुरी हुन्छ । संघीयतामा देशका सात सय ५३ वटा स्थानीय सरकारहरूले जनताले सक्षम देखेर पठाएका जनप्रतिनिधिहरू हुनुहुन्छ । कुनै पनि कार्यमा गुण र दोषको आधारमा सहयोग समन्वय भयो भने सकारात्मक परिर्वनले धेरै अवसर पाउनेछ । गल्ती सबैबाट हुन्छन् तर गल्ती केलाएर सुधार गर्नेले छिटो सफलता प्राप्त गर्न सक्छ भने उही बाटोमा चल्नेहरू सधैँ एकै ठाउँमा नाच्नुको विकल्प हुँदैन ।

पाँचवर्षे कार्यकालमा यहाँले कल्पना गरेको सैनामैना कस्तो छ ?

सरसफाइयुक्त, दुर्व्यसनमुक्त, चारैतिर हरियाली, एकीकृत र सामूहिक आधुनिक सहर, नमूना बस्तीहरू, गुणस्तरीय र व्यावहारिक शिक्षा, निर्यातमुखी कृषि, यात्रामा सहजता दिने नालीसहितका सडक, स्वच्छ पिउने पानी, पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुका साथै जनताको जीवनस्तर र नगरपालिकाको समृद्धिसँग जोडिएका हरेक क्षेत्रको विकास गर्दै समृद्ध सैनामैना निर्माण गर्नु नै कल्पनाको सैनामैना हो ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया