Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताकुनफेन औषधालय नेपालकै ‘ब्राण्ड’ बनेको छ

कुनफेन औषधालय नेपालकै ‘ब्राण्ड’ बनेको छ

डा.निमा छिरिङ नेपाली, उपनिर्देशक, कुनफेन औषधालय


नेपालमा सोवा रिग्पा उपचार पद्दतिको औपचारिक शुरुवात गर्ने कुनफेन चिकित्सालयको अवस्था अहिले कस्तो छ ?

नेपालमा सोवा रिग्पा उपचार पद्दतिको संस्थागत थालनी गर्ने कुनफेन औषधालय नै हो । यो औषधालयको स्थापना डा कुन्साङ फेन्दोक शेर्पाले गर्नु भएको हो । डा कुन्साङ सोवा रिग्पा उपचार विधिका बारेमा राम्रो जानकारी राख्ने व्यक्ति हुनुहुन्थ्यो । राजा त्रिभुवनलाई फोक्सोमा समस्या भएपछि विभिन्न ठाउँमा लगेर उपचार गरियो तर अन्यत्र उपचार गर्दा ठीक नभएपछि कुन्साङलाई दरबारमा झिकाएर उपचार गराइएको थियो।

उहाँले गरेको उपचारले राजाको स्वास्थ्यमा सुधार आएपछि राजाले काठमाडौँमा यससम्बन्धी औषधालय स्थापना गर्न सल्लाह दिए । सोही अनुसार कुन्साङले सन् १९७३ मा यस औषधालयको स्थापना गर्नु भएको थियो । सोवा रिग्पा उपचार विधिका ज्ञाता मानिएका कुन्साङले नेपाललगायत विभिन्न हिमाली मुलुकहरुमा गरी करीब एक लाख बिरामीको उपचार गराउनुभएको थियो । त्यतिबेला काठमाडौँमा सोवा रिग्पा उपचारका कुनै क्लिनिक र औषधि उत्पादन गर्ने औषधालयहरु थिएनन् । हाल यस औषधालय रहेको क्षेत्रपाटीबाट पकनाजोल जाने सडकको बीचतिर कुनफेन मार्ग नै नामाकरण गरिएको छ । यहाँ विरामीको परीक्षण गर्ने क्लिनिक पनि रहेको छ ।

हाल कुनफेन क्लिनिकमा विरामीको चाप कस्तो रहने गरेको छ ?

यस क्लिनिकमा दैनिक ७०÷८० जना बिरामी आउने गर्दछन् । यसको आफ्नै औषधि उद्योग पनि छ । यहाँ उपचारका लागि आउने अधिकांश बिरामीहरु हिमाली तथा दुर्गम भेगका रहेका छन् । यहाँ सस्तोमै उपचार हुने भएकाले आर्थिकरुपले कमजोर वर्गका लागि निकै उपयोगी बनेको छ । सोवा रिग्पा उपचार दुस्प्रभावरहित हुने भएकाले नेपालमा घुम्न आउने पर्यटक वा यहाँस्थित कुटनीतिक नियोगका अधिकांश कर्मचारीहरु पनि यस क्लिनिकमा उपचारका लागि आउने गर्दछन् । धार्मिक सङ्घसंस्था, गुम्बा, मठमन्दिरका भिक्षु एवं पुजारीलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

यसैगरी गाउँपालिका तथा नगरपालिकाका वडाबाट सिफारिस भएमा दलित समुदायका बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । त्यस्तै विपद्को समयमा हामीले स्थानीयस्तरमै शिविर चलाएर पनि स्वास्थ्य सेवा दिएका छौँ । भूकम्पको बेला धेरै ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विश्वका विभिन्न विश्वविद्यालयसँगको सहकार्यमा कतिपय रोगको अनुसन्धानको कार्य पनि गर्ने गरेका छौँ । हाल यस क्लिनिकमा पाँच जना चिकित्सकले सेवा दिइरहेका छन् ।

के यस क्लिनिकमा देशका वरिष्ठ व्यक्तित्वहरु पनि उपचारका लागि आउने गर्दछन् ?

हो कुनफेन क्लिनिक निरन्तर रुपमा सञ्चालन भएको ५० वर्ष पुग्न लागेको छ । यस अवधिमा यहाँ हजारौँ बिरामीको उपचार भएको छ । तीमध्ये देशका बरिष्ठ राजनीतिज्ञदेखि कुटनीतिक नियोग, उच्च घरानाका व्यापारी, उच्चपदस्थ कर्मचारीदेखि सर्वसाधारणलाई उपचार सेवा दिइएको छ । राजधानीका ठूला निजी अस्पतालदेखि नाम चलेका डाक्टरहरुलाई देखाएर उनीहरुको सल्लाहअनुसार औषधि खाँदा पनि ठीक नभएका बिरामीहरु आउने गर्दछन् ।

सोवा रिग्पाको उपचारबाट नेपालीले मात्र होइन, नेपाल भ्रमणमा आएका थुप्रै विदेशी नागरिकले पनि स्वास्थ्य लाभ गरेका छन् । यसको महत्व बुझ्नेहरु त विदेशबाट हामी कहाँ नै उपचार गराउनकै लागि पनि नेपाल आउने गर्दछन् । राज्यले अहिलेसम्म यस उपचार विधिलाई ममूल धारको उपचार पद्दतिको रुपमा प्राथमिकता नदिएपनि जनस्तरमा यसप्रतिको विश्वास भने झनझन बढ्दै गएको छ । सोवा रिग्पा उपचार पद्दतिलाई अझ महत्व दिएको अवस्थामा परम्परागत एवं वैकल्पिक उपचारको रुपमा कुनफन अन्तराष्ट्रिय जगतमा नेपालकै ब्राण्डको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । साथै नेपाललाई विश्वको स्वास्थ्य पर्यटनको रुपमा विकास गर्न सकिने अवसर रहेको छ ।

कुनफेनको आफ्नै औषधालय पनि छ नि ?

कतिपय जडीबुटी लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण गर्न वृक्षरोपण गर्ने योजना रहेको छ । यस औषधालयबाट करिब १६३ किमिका जडीबुटीका औषधि र अन्य आठ किसिमका विशेष औषधिको उत्पादन हुने गर्दछ भने तीमध्ये औषधि व्यवस्था विभागमा ७० किसिमका औषधि दर्ता भएका छन् । कुनफेन औषधालय सोवा रिग्पा उपचार गराउने नेपालको पहिलो स्वास्थ्य संस्था हो । परम्परागत सोवा रिग्पा उपचारमा प्रयोग हुने औषधिको उत्पादन, प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले स्थापना भएको यस क्लिनिकको बौद्ध स्तुपाको क्षेत्रभित्र पनि अर्को क्लिनिक सञ्चालन गरिएको छ ।

नेपालमा सोवा रिग्पा उपचार पद्दतिको विस्तारका लागि संस्थागत पहल भएका छन् कि ?

सोवा रिग्पा उपचार पद्दतिको संस्थागत विकासका लागि यसमा संलग्न रहेका आम्चीहरुको क्षमता विकास गर्ने उद्देश्यले हिमालयन आम्ची एशोपसिएशन र सोवा रिग्पा एशोसिएशन गरी दुईवटा संस्था क्रियाशील छन् भने यससम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न सोवा रिग्पा इन्टरनेशनल कलेजको पनि स्थापना गरिएको छ ।

भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको पाँच महाविद्याअन्र्तगत पर्ने चिकित्सा विधा सोवा रिग्पाको प्रचारप्रसार एवं अभ्यास गर्नुको साथै हिमाली भेगमा रहेका जडीबुटी विभिन्न उपचार पद्दतिहरु एवं योगा, हिलिङ र थेरापीबाट गरिने सोवा रिग्पा परम्पराको संरक्षण एवं सम्बद्र्धन गर्न सोवा रिग्पा एशोसिएशनले विभिन्न तालिम, गोष्ठी, सम्मेलनको आयोजना गर्दै आएको छ । डा तेन्जिङ धार्के गुरुङको अध्यक्षतामा गठित यस एशोसिएशन सोवा रिग्पा परम्परासँग सम्बन्धित व्यक्ति, व्यवसायी, सोवा रिग्पाको संरक्षण, सम्बद्र्धन र विकासका लागि क्रियाशील छ ।

नेपालमा सोवा रिग्पा उपचार पद्दतिको अवस्था कस्तो छ ?

नेपालमा वर्षौंदेखि प्रचलनमा आएका विभिन्न प्राकृतिक चिकित्सा पद्दतिहरुमध्ये सोवा रिग्पा एक वैकल्पिक चिकित्सा पद्धति हो । सातौँ शताब्दीदेखिको इतिहास बोकेको सोवा रिग्पा मानव जीवन र स्वास्थ्यको लागि प्रकृतिको अमूल्य वरदान बनेको छ । सोवा रिग्पा हिमालय क्षेत्रमा पाइने जडीबुटी, खनिज र प्राकृतिक रुपमा उत्पादित वस्तुहरुको प्रयोग गरी गरिने वैकल्पिक उपचारात्मक विधि हो । सोवा रिग्पा उपचार पद्दतिले मानिसलाई लामो समयसम्म स्वास्थ्य रही बाँच्न सिकाउँछ ।

जुन ठाउँको मानिस हो, त्यसलाई त्यही ठाउँमा उम्रेका जडीबुटीद्वारा निर्मित औषधिले नै बढी फाइदा गर्छ भन्ने आयुर्वेदीय मूलभूत सिद्धान्तलाई सोवा रिग्पामा पनि आत्मसात् गरेको छ । नेपालमा सोवा रिग्पा उपचार पद्धति विशेष गरेर नेपालको उत्तरी क्षेत्रको हिमाली भेगमा बढी प्रचलनमा रहेको छ । अहिले राजधानीमै ५० भन्दा बढी क्लिनिकहरु सञ्चालनमा रहेका छन् । विस्तारै यो उपचार हिमालबाट पहाड र तराईमा समेत विस्तार हुँदै गएको छ ।

विश्वमा यस उपचार पद्दतिको अभ्यास कस्तो रहेको छ ?

केही वर्षअघिसम्म एसियाका हिमालय क्षेत्रमा प्रचलनमा रहेको सोवा रिग्पा चिकित्सा पद्दति विस्तारै विश्वव्यापीकरण हुँदैछ । हिमालय क्षेत्रका देशहरुमा परम्परागत एवं वैकल्पिक चिकित्सा प्रणालीको रुपमा रहेको सोवा रिग्पा आज युरोप, अमेरिकालगायत धेरै देशहरुमा मूल अर्थात आधुनिक चिकित्सा पद्धतिजत्तिकै मान्यता पाउन र प्रयोगमा ल्याउन थालिएको छ ।

सन् २०१७ मार्चसम्मको तथ्याङ्कअनुसार नेपाललगायत भारत, चीन, भुटान, मङ्गोलिया, जापान, अमेरिका, रुस, जर्मनी, फ्रान्स, अस्ट्रिया, इटाली, मलेसिया, थाइल्याण्ड, सिङ्गापुर, अस्ट्रेलिया, कोरियालगायत देशमा सोवा रिग्पा विश्वविद्यालय स्थापना भएका छन् । विभिन्न देशमा सोरिंग प्रयोगकर्ता र आम्चीहरुले सोवा रिग्पाको क्लिनिक सञ्चालन गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरु १२९ मध्ये २५ वटा देशमा परम्परागत चिकित्सा पद्धतिको प्रयोग हुने गरेको छ ।

तपाइँ सोवा रिग्पा इन्टरनेशनल कलेजको प्रिन्सिपल पनि हुनुहुन्छ, अहिले कलेजको अवस्था कस्तो छ ?

सातौँ शताब्दीबाट थालनी भएको सोवा रिग्पासम्बन्धी अभ्यासलाई भारत, चीनलगायत विश्वका थुपै्र देशहरुमा औपचारिक रुपमा पढनपाठन गर्न शुरु भइसकेको सन्दर्भमा नेपालमा पनि यसको आवश्यकता र माग धेरै वर्षअघिदेखि हुँदै आएको थियो । प्रकृति र मानिसबीचको अन्तरसम्बन्धलाई चिकित्सीय ज्ञानको रुपमा विस्तार भएको सोवा रिग्पा अब पुस्तौली ज्ञानमा मात्र सीमित नरही विद्यालयदेखि विश्वविद्यालयमा अध्ययनको विषय बन्न थालेको छ ।

नेपालमा पनि अहिले विभिन्न ठाउँमा यससम्बन्धी पढाइ र उपचार केन्द्रहरु सञ्चालन भएका छन् । आम्ची बेदअनुसार नै पाँच तहमा यससम्बन्धी औपचारिक शिक्षा प्रदान गर्ने गरिन्छ । विश्वका विभिन्न देशबाट सोवा रिग्पाको उच्च शिक्षा हासिल गर्न नेपालमा आउने विद्यार्थीको सङ्ख्या पनि क्रमशः बढ्न थालेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट स्वीकृति लिएर प्राविधिक एसएलसी सरहको काङ्जेन्पा र प्रविणता तहको दुराप्पाको अध्ययन सञ्चालन भइसकेकाले त्यसपछि उच्च शिक्षा पढ्ने चाहने विद्यार्थीलाई स्वदेशमै अध्ययनको सुविधा दिलाउन सोवा रिग्पा अन्तर्राष्ट्रिय कलेजको स्थापना भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सन् २०१६ मा सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको यो कलेज आधिकारिक डिग्री तहको अध्ययन गराउने नेपालको पहिलो शैक्षिक संस्था हो । साढे चार वर्षको कोर्ष सकिएपछि विद्यार्थीले एक वर्ष इन्टर्न कोर्ष गर्नुपर्छ । त्यतिबेला उनीहरुलाई छ महिना देशका विभिन्न क्लिनिक र छ महिना भारतमा लगेर अध्ययन भ्रमण गराइन्छ । काठमाडौँको बौद्ध जोरपाटीमा स्थापना भएको यस कलेजमा होस्टेलको सुविधा पनि रहेको छ ।

अहिले यस कलेजमा सोवा रिग्पा विषयमा उच्च शिक्षासम्म अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई अवसर मिलेको छ भने विदेशबाट पनि हाम्रो कलेजमा पढ्न आउने क्रम बढ्न थालेको छ । हाल भुटान, भारत, फिनल्याण्ड, कोस्टारिका, स्पेन र तिब्बतबाट विद्यार्थी अध्ययन गरेका छन् । आगामी दिनमा हामी कलेजको आफ्नै अस्पताल स्थापना गर्ने तयारीमा छौँ । काठमाडौँको साँखुमा २० रोपनी जग्गामा अनुसन्धान केन्द्रको स्थापना गरी मेन्रम्पा(स्नातकोत्तर) र छोजे लोपोन(पिएचडी) तहको अध्ययन शुरु गर्ने गुरुयोजना रहेको छ ।

अन्त्यमा, विश्वव्यापी सङ्क्रमणको रुपमा रहेको कोरोना भाइरसलाई न्यूनीकरण गर्नमा पनि यस उपचार पद्दति उपयोगी हुन्छ ?

चीनको उहान प्रान्तमा सन् २०१९ मा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै छोटो समयमै यसले विशवव्यापीरुपमा फैलिन पुग्यो र आजसम्म पनि विशवका प्रायः सबै देशका यसको सङक्रमण फैलिएको छ र लाखौ मानिसको ज्यान गएको छ । चीनले आधुनिक उपचार विधिको सँगसँगै सोवा रिग्पा अनुसार प्रतिरोधात्मक क्षमता बढाउने औषधिलाई तत्कालै प्रयोगमा ल्याएका कारण चीनमा सोचेजस्तो सङ्क्रमण फैलिन सकेन । विश्वका अन्य कतिपय देशले पनि यस्ता विधिलाई प्रयोगमा ल्याएका छन् ।

विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्दतिसँगै परम्परागतरुपमा अभ्यास गरिँदै आएको सोवा रिग्पालगायत अन्य वैकल्पिक उपचार पद्दतिलाई पनि जोड दिइएको छ । नेपालमा पनि कोराना भाइरस रोकथाममा वैकल्पिक चिकित्सामा जोड दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका ल्याएको छ । सोवा रिग्पा एशोशिएसनले विभिन्न जिल्लामा कोरोना महामारीको समस्याका कारण आधारभूत स्वास्थ्य सेवासमेत पाउन बञ्चित सर्वसाधारणलाई कोरोना रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शिविर सञ्चालन गरेको थियो ।

यस विधिअनुसार गरिने उपचारमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण र एन्टिभाइरल गुण भएका विभिन्न जडीबुटीको सेवन गर्न सकिने सम्भावनालाई पनि महत्व दिएको छ । कोरोनासहित अन्य भाइरसजन्य संक्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रवल हुनुपर्ने हुन्छ । वैकल्पिक चिकित्सा अन्तर्गत सोवारिग्पा तन्त्र अनुसार यी औषधिहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै सरुवा रोगहरुको रोकथाम र तिनको गर्न सकिने भएकाले चीन, भारत, अमेरिकालगायत विभिन्न देशहरुले यसतर्फ जोड दन थालेका छन् ।

नेपालमा पनि गाउँघरमा प्रशस्त पाउन सकिने असुरो, बेसार, गुर्जो, त्रिफला, जाइफल, ल्वाङ, अलैंची, केशर, सुकमेलजस्त जडिबुटीले वायुपित्त उदर प्रदाहसम्बन्धी रोग प्रतिरोधात्मक क्षमता बढाउने हुन्छ । सोवा रिग्पा उपचार विधिमा प्रयोग हुने यस्ता विभिन्न जडीबुटीकोको सेवन, उचित आहारविहारले कोरोनालगायत अन्य घातक रोगको रोकथाममा सहयोग पुग्ने विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया