Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताप्रतिस्पर्धाले नै उत्कृष्टता जन्माउँछ

प्रतिस्पर्धाले नै उत्कृष्टता जन्माउँछ

प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. रूपन्देही


प्रुडेन्ट बैंकिङलाई विशेष जोड दिने प्रकाश पौडेल शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । व्यवस्थापनको कुशल कार्यशैलीले बैंकलाई एउटा उचाइमा पु-याउन सफल पौडेलले बैंकिङ क्षेत्रमा बेग्लै पहिचान बनाएका छन् । २०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका पौडेल व्यावस्थापन संकायमा लुम्बिनी वाणिज्य क्याम्पसबाट स्नातककोत्तर गरेका छन् ।

२०५२ सालदेखि तत्कालीन पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडमा सहायक पदबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका पौडेल ३५ वर्षकोे उमेरमै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन शाइन डेभलपमेन्ट बैंकबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका पौडेलले गुल्मीको रेसुङ्गा बैंकसँग मर्जरपश्चात् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड बनेको थियो । जुन बैंक विभिन्न आरोहअवरोह पार गर्दै अहिले राष्ट्रियस्तरमै स्थापित भउको छ ।

पहाडमा जन्मिएर तराईमा कर्म गरी हिमालसम्म वित्तीय सेवा विस्तार गर्ने महत्वाकांक्षी लक्ष्यकासाथ दीर्घकालीन योजनासहित अगाडि बढेका शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड रूपन्देहीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलसँग समसामयिक विषयवस्तुमा रहेर आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

हरेक क्षेत्रको एउटा सानो संरचनाबाट निर्माण भएको बैंक अहिले १२ वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको मात्र नभई वित्तीय क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ । यो अवस्थामा आइपुग्न बैंकले के–कस्ता आरोहअवरोह पार गर्नुप-यो ?

चुनौतीभित्र नै सम्भावनाको भण्डार रहेको हुन्छ । निश्चय पनि हामीलाई यो अवस्थामा आइपुग्नको लागि धेरै आरोहअवरोहहरू पार गर्नुप-यो । हामी तीन जिल्ले विकास बैंकबाट २०६५ सालमा स्थापना भएका थियौं । त्यो समयको पुँजीगत संरचना र मानव संसाधनको कुरा गर्दा छ करोड रुपैयाँ पुँजी र प्रमुख कार्यकारी अधिकृत सुरक्षा गार्ड, सवारी चालकसहित ११ जना कर्मचारी मात्र थियौं ।

समयसापेक्ष आफूमा परिवर्तन ल्याउन सकियो भने सफलताको सिँडी पार गर्न सकिन्छ भन्ने मान्यताअनुरूप तीन जिल्लाबाट १० जिल्ला र राष्ट्रियस्तरमा स्तरोन्नति हुने प्रक्रियागत कुरा भए पनि समग्र बैंकिङ क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौतीसँगै हामी यात्रा गरिरहेका थियौं । जसको लागि मर्जर/एक्विजिसनको आवश्यकता महसुस ग-यौं । हामीले फरक–फरक क्षेत्रका फरक–फरक विकास बैंकहरूलाई एक्विजिसन गर्दै अगाडि बढ्यौं । हामीले डेटा मात्र इन्टिग्रेसन गरेको नभई मानव संसासन, लगानीकर्ता र ओभरअल विजनेसको कुशल व्यवस्थापन गर्दै स्थापनाकालको १३औं वर्षमा प्रवेश गरेका छौं, यसमा हाम्रो सम्पूर्ण स्टेकहोल्डर्सको भूमिका अत्यन्त सह्राहनीय छ ।

तीन जिल्ले विकास बैंकबाट १० जिल्ला हुँदै एकै पटक ७७ जिल्लामा कार्यक्षेत्र बनाएर विजनेस गर्ने योजनामा हुनुहुन्छ । पक्कै पनि हिजोको तीन जिल्ला र दश जिल्लाको व्यावसायिक सफलताको शैलीले राष्ट्रियस्तरमा काम गर्न सक्ने अवस्था रहँदैन । यस्तो अवस्थामा बैंकको अबको रणनीति कस्तो छ ?

लुम्बिनी प्रदेश बैंकिङ बजारको दृष्टिले अत्यन्त प्रतिस्पर्धासँगै अपार सम्भावना भएको क्षेत्र हो । नेपालको सम्पूर्ण बैंकिङ उद्योग र आर्थिक गतिविधिको कुरा गर्दा मेजर इकोनोमी एक्टिीभिटी र बैंकिङ एक्टिभिटी काठमाडौंमै केन्द्रित छ । काठमाडौंबाहिर हामीले जुन पोर्टफोलियो बनाएका छौं, जसरी स्टेकहोल्डर्सको रोजाइको विकास बैंक बनेका छौं, त्यसलाई कायम राख्दै राष्ट्रियस्तरमा क्रमशः सेवा विस्तार गर्दै अगाडि बढ्ने रणनीतिमा छौं ।

काठमाडौंमा तीनवटा शाखाहरू सञ्चालनमा आइसकेका छन् । अन्य सहरहरूमा पनि शाखा विस्तार गर्ने प्रक्रिया अगाडि बढाएका छौं । जसले हामीलाई विस्तारै राष्ट्रिय नेटवर्कमा प्रवेश गराउँदै छ । बैंकिङ इन्डष्ट्रिमा हामी टेस्टेड संस्था नै हो त्यसैले चनौती त छ नै तर बैंकको आगामी दिनहरू पनि विगतका जस्तै सुनौला हुनेमा हामी विश्वस्त छौं ।

शाइनभन्दा साना, समान र त्योभन्दा माथि पनि धेरै बैंकहरू छन्, बढ्दो वित्तीय पहुँच र आर्थिक गतिविधिमा प्रतिस्पर्धा पनि तीव्र हुन्छ । यस्तो अवस्थामा शाइनको शाइनलाई अब्बल बनाउँदै अगाडि बढ्न सक्छौं भन्ने आधारहरू के देख्नुभएको छ ?

आज बैंकिङ इन्डस्ट्रिज मात्र होइन हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । मेरो विचारमा प्रतिस्पर्धारहित क्षेत्र सायद कुनै छैन । यहाँलाई म के कुरा भन्न चाहान्छु भने प्रतिस्पर्धाभित्रै काम गर्ने हो र प्रतिस्पर्धाले नै संस्थालाई स्थापित गर्ने हो । प्रतिस्पर्धाले नै उत्कृष्टता जन्माउँछ । मैले देखेको हिजो र आजको फरक भनेको हिजो विकास बैंकको प्रतिस्पर्धा विकास बैंकसँग थियो भने आज समग्र बैंकिङ इन्डस्ट्रीसँग छ । समग्र स्टेकहोल्डर्सहरूको हितमा काम गर्दै आएको विगत छ र भविष्यमा पनि सोहीअनुरूप ओभरअल बैंकिङ इन्डस्ट्रिजसँग प्रतिस्पर्धा गरेर नै हामी अगाडि बढ्छौं ।

हालसम्म बैंकले कुन–कुन विकास बैंकहरूलाई आफूमा समाहित गरेर राष्ट्रियस्तरको विकास बैंकको दर्जामा उभिन सफल भएको हो ?

मर्जर पक्कै वा एक्विजिसन संस्थालाई बलियो मुख्य अस्त्र हो । नेपाल राष्ट्र बैंकले मर्जरको अवधारणा ल्याउन साथ हामीले सुरुमै उक्त बाटो अवलम्बन गरेका हौं । मर्जर र एक्विजिसनको सन्र्दभमा हामीले २०६९ साल चैत ४ गते गुल्मीमा रहेको रेसुङ्गा विकास बैंकलाई समाहित गरेसँगै हाम्रो नाम तत्कालीन शाइनबाट रेसुङ्गा थपिएर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड नयाँ नामले नामाङ्कित भयो । त्यसपछि हामीले क्रमशः २०७३ जेष्ठ १९ गते प्युठान जिल्लामा रहेको गौमुखी विकास बैंक, २०७६ आश्विन २७ गते यही रूपन्देहीको भैरहवामा अवस्थित पूर्णिमा विकास बैंक र सोही मितिमा बाँकेको नेपालगञ्जमा अवस्थित भार्गव विकास बैंकलाई हामीमा समाहित गरेसँगै राष्ट्रियस्तरको विकास बैंक बन्ने आधार तयार भएको हो ।

बैंकको पछिल्लो समयको पुँजीगत संरचना कस्तो छ त ?

अहिले तीन अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी र ७२ करोड रुपैयाँ जगेडा कोषसहित चार अर्ब १२ करोड पुँजीकोष रहेको छ भने ३३ अर्ब १२ करोड निक्षेप, ३० अर्ब ५० करोड कर्जा लगानी र चार लाखभन्दा बढी सेवाग्राहीको संख्या रहेको छ ।

पछिल्लो समयमा आर्थिक गतिविधिको वृद्धिदरमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले केही ब्रेक लगायो जसले विश्व जगतको अर्थतन्त्रलाई नै धक्का दियो । यहाँको विचारमा उक्त वातावरणले नेपालको आर्थिक क्षेत्रमा कस्तो प्रभाव पा-यो र अबको अर्थतन्त्र कता जान सक्छ ?

कोभिडले जसरी इन्टरनेसनल इकोनोमीमा हिट गरेको छ त्यसरी नै नेपालको इकोनोमीमा पनि हिट गरेको छ । यसैका लागि रि–फाइनान्सिङदेखि लिएर विभिन्न प्याकेजहरू केन्द्रीय बैंकले ल्याएको छ । पक्कै पनि कोभिडले चैतदेखि यता आर्थिक गतिविधिमा शिथिलता ल्याएको नै हो । विस्तारै कोभिडको इम्प्याक्ट रिकभर भइरहेको । पर्यटन क्षेत्र र शैक्षिक संस्थाहरूलगायतका केही क्षेत्रहरूमा यसको प्रभाव अझै बाँकी छ । व्यापार व्यवसाय पहिलेकै ठाउँमा फर्किसकेको छ । प्रभावित अन्य क्षेत्रहरू पनि पहिलेकै अवस्थामा फर्किने क्रममा छन् । कोभिडपछि अब इकोनोमी थप चलायमान हुन्छ । इकोनोमीको चलायमानसँगै बैंक तथा वित्तीय संस्थाका गतिविधिहरू पनि विस्तार भई अर्थतन्त्रलाई थप सुदृढ बन्छ ।

पहिलेको तुलनामा बैंकिङ गतिविधि र पुँजी परिचालनमा कत्तिको भिन्नता आएको छ ?

कोभिड प्रभाव परेपछि बैंकमा तरलता बढी नै थियो । अहिले ओभर लिक्यूडबाट म्यनेजेवल लिक्यूडमा आएका छौं । पुँजीको हिसाबले हामीलाई आफ्ना गतिविधिहरू सञ्चालनमा कुनै समस्या देखिएको छैन । कर्जाको माग पनि हिजोका दिनहरूमा भन्दा बढ्दो क्रममा छ । रिकभरीमा पनि त्यस्तो समस्या देखिएको छैन । कोभिडपछि बैंकको समग्र स्थिति हेर्दा सन्तोषजनक नै रहेको हामीले महसुस गरेका छौं ।

यहाँले आफ्नो जन्मकालको केही समयपछि अधिक समय बैंकर्सको रूपमा बिताउनुभएको छ । एउटा बैंकर्सको नाताले भन्नुपर्दा अबका दिनहरूमा देशको आर्थिक अवस्था सुधार्न बैंक तथा वित्तीय संस्थाहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ ?

बैंक तथा वित्तीय संस्थाहरू भनेका अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरू हुन् । अर्थतन्त्रसँग जोडिएकै नाताले अर्थतन्त्रलाई थप चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाको ठूलो भूमिका हुन्छ । हामी बैंकर्सहरूले कहिल्यै पनि बिर्सन नहुने कुरा के हो भने हाम्रो कारोबारलाई फेसिलिटेट गर्न सक्यौं, सहज वातावरण सिर्जना गर्न सक्यौं र अपेक्षित स्थानमा पु-याउन सक्यौं भने पक्कै पनि थप लगानीको क्षेत्रको विस्तार हन्छ । हाम्रो उद्देश्य भनेको कसरी हाम्रो कारोबारलाई प्रोटेक्सन गर्दै उसको प्रोजेक्टको बैंकिङ पार्टनरको रूपमा असल भूमिका निर्वाह गर्ने दिशामा केन्द्रित हुनु हो ।

समावेशी अर्थतन्त्र निर्माणमा पनि योगदान दिनुपर्छ । ग्रामीण क्षेत्रदेखि सहरसम्म समानुपातिकरूपमा प्रथामिकताको आधारमा आफ्नो सेवा विस्तार गरेको अवस्थामा देशकै अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । जसले एउटा गरिब, न्यून आय भएका र आय नै नभएकादेखि कर्पोरेट हाउससम्मलाई पनि बैंकले प्रमोट गर्नुपर्छ । एउटा सीमित र सजिलो क्षेत्रलाई मात्र प्रमोट गर्ने मात्र नभएर समग्र क्षेत्रलाई चलायमान गराउने उद्देश्यका साथ समावेसी अर्थतन्त्र निर्माणमा यदि बैंकहरूले रोलप्ले गरे भने पक्कै पनि बैंकको दायरा अझै ठूलो भई बैंकहरूको दीर्घकालीन भविष्य निर्माण हुने कुरामा दुईमत छ जस्तो लाग्दैन ।

परिनिर्भरताको दूरीलाई कम गरी जनस्तरबाटै आर्थिकस्तर वृद्धि गर्न विगतबाट के शिक्षा लिएर अब कस्तो रणनीति बनाउनु पर्छ जस्तो लाग्छ ?

परनिर्भरता भनेको हामीलाई चाहिने सबै वस्तुहरू हामीले उत्पादन गर्नुपर्छ, हामी बिहानदेखि बेलुकासम्म अथवा हाम्रो जीवनयापन गर्नलाई आवश्यक सम्पूर्ण हामीसँगै हुन्छ भन्ने यस्तो मान्यता होइन । एटलिस्ट, हामीले केसम्म गर्नु प-यो भने कुन क्षेत्रलाई उच्च प्राथमिकता राख्यो भने हाम्रो आयात कम हुन सक्छ । जस्तो कृषिजन्य वस्तुहरू त्यसका प्रमुख उदाहरण हुन् ।

पछिल्लो समयमा माछामासुमा पनि नेपाल आत्मनिर्भर भइसकेको छ । कृषि क्षेत्रलाई अझ व्यवसायीकरणको जरुरी छ । पेट्रोलियम पदार्थलाई विद्युतीकरणबाट पूर्ति गर्न सक्छौँ । हरेक क्षेत्रलाई थप व्यवसायीकरण गर्दै ठूला–ठूला प्रोजेक्टहरू स्थापना ग-यौं भने हामी सबल पथमा लम्किन सक्छौं । भूकम्प, कोभिड आदिलाई महामारीमा देखिएको भयावह अवस्थालाई हेर्दा हामी केही क्षेत्रमा उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालका थप योजनाहरूको आवश्यकता देखिन्छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल प्रविधिको प्रयोग बढाइरहेका छन् । अझै पनि सायद ४०/४५ प्रतिशत जनताहरू वित्तीय पहुँचबाहिर छन् तिनीहरूलाई डिजिटल प्रविधिको प्रयोग त धेरै परको कुरा हो । यस्तो अवस्थामा टिजिटल प्रविधिको प्रयोग कत्तिको प्रभावकारी छ जस्तो लाग्छ ?

डिजिटल बैंकिङ सेवालाई केन्द्रीय बैंकले नै उच्च प्राथमिकतामा राखेको छ । डिजिटल बैंकिङमा यहाँले भनेजस्तै हिजो हामीले वित्तीय साक्षरताका कुराहरू ग-यौं आज डिजिटल बैंकिङका कुराहरू गरेका छौ । हामीले कसरी डिजिटल बैंकिङको प्रयोग गर्ने, यसबाट फाइदा के हुन्छ, कसरी सुरक्षित कारोबार गर्न सकिन्छ जस्ता कुराहरूको लागि भर्खरै मौद्रिक पोलिसीमा पनि डिजिटल साक्षरतासम्बन्धी व्यवस्था गरिएको छ । डिजिटल बैंकिङलाई प्रभावकारीरूपमा अगाडि बढाउन हामीले ध्यान केन्द्रित गरेका छौं ।

जाँदाजाँदै, शाइन रेसुङ्गा हिजोको त्यो अवस्थाबाट आज यो उचाइसम्म सफलतापूर्वक आउनुका मुख्य विशेषताहरू के–के होलान् ?

हाम्रो पेसाप्रतिको इमान्दारिता नै प्रमुख कारण हो । संस्थागत सुशासन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र प्रुडेन्ट कल्चरले नै बैंक आजको स्थानमा पुगेको हो ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया