Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘रोबोट निर्माणको क्षेत्रमा नेपालले फड्को मार्दै छ’

‘रोबोट निर्माणको क्षेत्रमा नेपालले फड्को मार्दै छ’

रोशन पाण्डे, वैज्ञानिक नास्ट


रोशन पाण्डे नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा कार्यरत युवा वैज्ञानिक अधिकृत हुन् । उनले मेकानिकल इन्जिनियरिंगमा स्नातक र नवीकरणीय उर्जामा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । हाल उनी विगत ७ वर्षदेखि नास्टमा सेवा गर्दैछन् । साथै मेकानिकल इन्जिनीयरिंग अन्तर्गत जलविद्युत विषयमा विद्यावारिधिको तयारी पनि गर्दै छन् । उनी हाल नेपालले दुई वर्ष अघि जापानसंग मिलेर अन्तरिक्षमा प्रक्षेपण गरेको सानो वर्डस् सेटलाइटको ग्राउण्ड स्टेशनसम्बन्धी कार्य हेरिरहेका छन् । प्रस्तुत छ, सो सेटलाइटको ग्राउण्ड स्टेशनको कार्य तथा नेपालमा विज्ञान प्रविधि क्षेत्रमा भइरहेको पछिल्लो प्रगतिको सन्दर्भमा आर्थिक दैनिकका लागी शिरीषवल्लभ प्रधानले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं हाल नाष्टमा के गर्दै हुनुहुन्छ ?

म नाष्टमा प्राविधिक अधिकृतको हैसियतले साना जल विद्युत कार्यक्रम हेर्छु र साथै स्याटलाइट ग्राउण्डेड स्टेशन सम्बन्धी कार्यक्रम हेर्छु ।

यो सेटलाइटको प्रविधिसँग तपाईं कसरी जोडिनुभयो ?

यो ई.स.ं २०१९ सालतिरको कुरो हो । सैटलाइट प्रविधिसँग सम्बन्धित प्राविधिक मानिसहरु हमीकहां धेरै थिएन । नेपालले जापानको क्युसु इन्स्टिच्युटसंग सहकार्य बर्डस् प्रोजेक्ट अन्तर्गत अन्तरीक्षमा प्रथम पटक आफ्नो बेग्लै सैटेलाईट अमेरिकाबाट प्रक्षेपण गरेको थियो । सो सैटेलाईट प्रक्षेपण भएपछि त्यसको ग्राउण्ड स्टेशन हेर्ने जिम्मा नाष्टद्वारा मलाई सुम्पिएको थियो । सो कार्यको जिम्मा दिइनु अघि मलाई जापानमा त्यसबारे तालिममा पठाइयो । यसरी म यो सेटलाइट प्रणालीसँग जोडिन पुगें ।

ग्राउण्ड स्टेशनको खास कार्य के के छन् ?

यसको काम भनेको वर्ड सेटलाइटको निरन्तर आउने हाउस किपिङ डाटाको रिकर्ड राख्ने हो । अर्काे कार्य भनेको यसका चारवटा मिशनहरु छन् जसमध्ये एउटा स्याटेलाइटबाट पठाउने पृथ्वीको विभिन्न कोणका फोटोहरुको रिकर्ड राख्ने हो । यसरी रिसर्चको निम्ति उपयोगी डाटाहरु राख्ने कार्य नै ग्राउण्ड स्टेशन अन्तर्गत पर्दछ ।

सेटलाइटबाट कसरी डाटा प्राप्त हुन्छ ?

त्यो मोर्स कोडकोरुपमा आउँछ र त्यसलाई डिकोडिंग गरेर राख्नुपर्दछ । त्यसबाहेक व्याट्रीको तापक्रम के कति छ ? व्याट्रिको भोल्टेजको अवस्था कस्तो छ भन्ने आदि दैनिक हाउसकिपिङको डाटा राख्ने कार्य यसमा पर्छन् ।

सो फोटोको उपयोगिता के हो ?

त्यसले पृथ्वीको कुनै भाग वा सूर्यको पनि फोटो खिच्न सक्छ जुन रिसर्च कार्यमा उपयोगी हुन्छ ।

उक्त सेटलाइटको मुल उद्देश्य के हो ?

यो सेटलाइटको उद्देश्य भनेको शुद्ध रुपमा रिसर्च नै हो । यो कुनै टेलिकम्युनिकेशनको जस्तो सेटलाइट हैन ।

त्यसको आयु कति छ ?

सामान्यतया सो सेटलाइटको आयु साढे २ वा तीन वर्षको हुन्छ । अब छ महिना जतिमा यो पृथ्वीमा खस्छ । यो लोवर अर्विट सेटलाइट भएकोले पृथ्वीको नजिकको अर्विटमा करिब ४५० किमिको दूरीबाट घुम्छ र विस्तारै तल तल झर्दै जान्छ । अन्त्यमा त्यसलाई पृथ्वीको गुरुत्वाकर्षणले तान्छ र तल खस्छ ।

यो नेपालको पहिलो सेटलाइट भयो, जुन परीक्षणको रुपमा पठाइएको थियो । अब भविष्यमा अझ एड्भान्स प्रकारको सेटलाइट लञ्च गर्न यसबाट के कस्तो मद्दत पुग्ला ?

सेटलाइट लञ्च गर्नु भनेको कुन असम्भव कुरा हैन, यो एउटा निश्चित प्रविधिले बनेको हुन्छ । यसले सूचनामुलक सन्देशहरु पठाउन सक्छ । यसलाई रिसिभर कस्तो चाहिन्छ कस्तो फ्रिक्वेन्सीमा यसले काम गर्छ भन्ने कुरा बुझेर भविष्यमा अन्य सेटलाइट लन्च गर्नमा यसबाट मद्दत पुग्छ । नेपालीले पनि सेटलाइटबारे केही कुरा बुझेका छ भन्ने सन्देश यसले दिन्छ । यसरी भविष्यमा अरु उच्चस्तरका सेटलाइटमा काम गर्न, अनुसन्धान कार्यमा यसबाट सघाउ पुग्छ ।

यो सेटलाइटबारे थप केही जानकारी दिनु हुन्छ ?

जापानको क्यूसु इन्स्टिच्युटसँग मिलेर २०१९ को अप्रिल १७ मा यो अमेरिकाबाट लञ्च गरिएको हो । त्यसबखत वर्डस् १, वर्डस् २, वर्डस् ३ गरी तीन वटा सेटलाइटहरु क्रमैसँग लञ्च गरिएको थियो, जसमध्ये यो वर्ड्स ३ कार्यक्रम अन्तर्गत श्रीलंका, जापान र नेपालले तीनवटा सँगसँगै सेटलाइट लञ्च गरेको थियो । यो पृथ्वीबाट लगभग ४५० जति किमिको दूरीमा राखिएको थियो । अहिले यो तल झरेर ३८० जति दूरिमा छ ।

नाष्टले अहिले कुन कुन क्षेत्रमा कार्य गर्दैछ ?

नाष्टले खासगरी दुईवटा क्षेत्रमा काम गरिरहेको छ । एउटा फैकल्टी अफ साइन्छ र अर्काे फैकल्टि अफ टेक्नोलोजी अर्थात् विज्ञानको क्षेत्र र प्रविधिको क्षेत्र । विज्ञानमा फिजिक्स, केमेष्ट्री, इकनोमी आदि विविध क्षेत्रमा कार्य भइरहेको छ भने प्राविधितर्फ नविकरणीय उर्जा जस्तै सौर्य, वायु, जलविद्युत आदि क्षेत्र छन् । त्यसबाहेक सबैलाई र भुकम्पको सम्हार व्यवस्था सम्बन्धी एवं कार्यहरु पर्दछन् ।

नेपालमा विण्ड पावर अर्थात् वायु उर्जाको के कति सम्भावना छ ?

विण्ड पावरको नेपालमा अहिले नै त्यति धेरै सम्भावना नभए पनि पछि लो विण्ड पावरमा काम गर्ने टर्वाइनहरु आएपछि भने त्यसको सम्भावना रहन्छ । कुनै उर्जा सजिलो प्रविधिद्धारा नै निकाल्न सकिन्छ भने हामी गाह्रो गरेर निकाल्ने तिर जांदैनौं । जैविक उर्जा अर्थात् वायोइनर्जीको चाहिं अहिले पनि प्रचुर सम्भावना छ ।

तपाईंले नास्टमा हेरिहनु भएको अर्काे क्षेत्र कुन हो ?

यो ग्राउण्ड स्टेशन बाहेक मैले हेर्ने गरेको साना जलविद्युतसम्बन्धी क्षेत्र हो ।

विज्ञान प्रविधिको क्षेत्रमा नेपाली युवाहरुको के कस्तो योगदान छ वा सम्भावना छ ?

विज्ञान प्रविधिको क्षेत्रमा युवाहरुको निम्ति अवसर जति छन् र चुनौति पनि त्यत्तिकै छ । हामीसँग पर्याप्त ल्यावहरु छैन, रिसर्च सेन्टर छैन । तर अवसर कहाँ छ भने सानो प्राविधिक कुराले पनि ठूल्ठूला परिवर्तन ल्याउँछ समाजमा । जहाँ कामहरु भएको हुँदैन त्यहां सानो सानो इन्नोभेटिभ कामले पनि ठूलो महत्व राख्छ । अर्को नकारात्मक पक्ष हो हामीकहां एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ जसले गर्दा युवा वैज्ञानिकहरुले त्यति प्रोत्साहन पाइरहेको छैन । त्यसैले पनि विदेशमा पलायन हुने प्रवृत्ति बढ्दो छ । विज्ञान प्रविधिको क्षेत्रमा खासगरी भन्नपर्दा आजभोलि नवीनतम प्रविधि जस्तै अन्तरिक्ष अनुसन्धान रोवोटिक्स जस्तो क्षेत्रमा युवाहरुको बढ्दो आकर्षण छ ।

रोबोटिक्सको क्षेत्रमा के कस्ता कार्य भएका छन् ?

यस क्षेत्रमा हालसालै मात्र धेरै कामहरु भएका छन् । विगत १–२ वर्षको अवधिमा कोरोना महामारीले गर्दा पनि नयां अवसर सिर्जना भयो । त्यस अघि पनि रोबोटिक्समा कामहरु भएका छन् । इन्टरटेनमेन्टको निम्ति होस् वा गेष्टलाई सेवा दिने हिसाबले पनि रोबोटिक्सको क्षेत्रमा नेपालमा धेरै काम भइरहेको छ । हालै हामीले नास्टमा आर्टिफिसिएल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर एउटा ह्यूमानोइड रोबोट बनायौं, जसमा विभिन्न संस्थाका व्यक्तिहरुको योगदान रह्यो । यो बेटा भर्सनमा बनाइएको हो र यसमा अझै धेरै सुधार गर्न जरुरी छ ।

यो क्षेत्रमा हामी जति राम्रो काम गर्दै जान्छौं त्यसले त्यस क्षेत्रमा बेन्च मार्किंग बनाउंदै जान्छ । अब त्यो भन्दा अझ लेटेस्ट बनाउन पर्ने हुन्छ । अब नेपाल आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा फड्को मार्ने तयारीमा छ भन्दा हुन्छ । यो रोबोटको गत कार्तिक ३ गते उद्घाटन भएको हो । यसले सेनिटाइजर दिने, मास्क वितरण गर्ने र साथै मानिसको तापक्रम मापन कार्य पनि गर्दछ । साथै यसले अगाडि आएको मानिसले मास्क लगाए, नलगाएको थाहा पाएर त्यसको जानकारी पनि बोलेर दिन्छ ।

नेपाल आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा इडिपेण्डेन्ट भएर कार्य गर्नसक्ने अवस्थामा पुगेको हो?

त्यसमा हामी पूरै इन्डिपेण्डेन्ट भयौं त नभनौं कतिपय आउटसोर्सिंग डाटाहरु लिनपर्ने हुन्छ । त्यो लेवेलमा झण्डै, झण्डै पुगिसकेका छौं तर शतप्रतिशत विश्वास गर्ने स्थिति अझै बनिसकेको छैन । शायद अरु २, ४ वर्षमा त्यहां पुन्छि होला ।

अन्त्यमा, तपाई दुबईको एक सेमिनारमा नास्टको अनुमति विना नै जान खोज्नु भएको थियो ? तपाईले वेबसाइटमा जुन आर्टिकल राख्नभयो त्यसमा कमी कमजोरी भएर नै त्यो त्यहांबाट हटाउनुभएको हो ?

हैन मैले दुबईमा हुने भनिएको अन्तराष्ट्रिय खगोल संघ (आईएएफ) २०२० सम्बन्धी सो कार्यक्रममा भागलिन जानको निम्ति आईएएफ को फोर्मेटमा कार्यलयबाट अनुमति लिएको थिए । तर सो कार्यक्रम कोभिडको कारण रद्द भै जुममा भर्चुअलरुपमा मात्र भयो । अर्को कुरा सो फेडरेसनको प्रोसिडंगमा अनलाइन राखिएको मेरो प्रेजेन्टेशन लेखमा विवाद देखियो भनेपछि हटाउन वा केहि परिवर्तन गर्न सकिन्छ कि भनेर प्रकाशकलाई गत सालको डिसेम्बरमा भनेको थिए, त्यसैको प्रक्रियाको दौरान प्राध्यापकको अन्य इमेल मलाई आएन र वहासंग मेरो असमझदारी गराई केही संचार माध्यममा ल्याउने चेस्टा गरिएको मात्र हो ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया