Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘अबको एक वर्षभित्र प्रत्येक घरमा स्वच्छ पिउने पानीको धारा पुग्छ’

‘अबको एक वर्षभित्र प्रत्येक घरमा स्वच्छ पिउने पानीको धारा पुग्छ’

कृष्ण प्रसाद बस्याल, अध्यक्ष, बगनासकाली गाउँपालिका, पाल्पा


पछिल्लो समयमा पाल्पा जिल्लामा आफ्नो छुट्टै पहिचाहन बनाउन सफल बगनासकाली गाउँपालिका साबिकका नौँवटा गाविसहरूको समायोजमा बनेको गाउँपालिका हो । विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरूको समिश्रण रहेको गाउँपालिकाभित्र उर्वर कृषि भूमि, सामुदायिक वन, दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरूको बासस्थान समेत रहेको छ । कुमाल, बोटेलगायत बाहुन, क्षेत्री, मगर तथा दलित जातीय बाहुल्यता रहेको गाउँपालिकामा कृषि तथा धार्मिक पर्यटनको माध्यमबाट समृद्ध गाउँपालिका निर्माण गर्ने आधारहरू रहेका छन् । ८४ दशमलव १६ वर्गकिमि क्षेत्रफलमा फैलिएको गाउँपालिकामा ३१ हजारभन्दा बढी जनसंख्या रहेको छ ।

बगनास देविस्थान, दर्लम महाकाली, महामृत्युन्जय सीवासन क्षेत्र, सुनगुफा रामनदी धाम, मालारानी, रानीमहल, ऋषिकेशेस्वर मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय महत्व बोकेका सम्पदाहरूको विकासले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने आधारहरू पनि उत्तिकै रहेका छन् । विकास निर्माणको क्षेत्रमा एउटा चरण पार गरिसकेको गाउँपालिकाको समसामयिक विषयमा रहेर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

पाँचवर्षे कार्यअवधिको चौथो वर्षमा हुनुहुन्छ, हालसम्म विकास निर्माणको क्षेत्रमा के–कति काम गर्न सफल हुनुभयो ?

हामी निर्वाचित भएर आएपछि पहिले कानुन निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम ग-यौँ । निर्वाचित भएको पहिलो वर्ष सिकाइको वर्षको रूपमा बित्यो । त्यसपछि हाम्रो प्रथामिकतामा शुद्ध पिउने पानी, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरूमा जनआवश्यकतालाई मध्यनजर गर्दै प्राथमिकताका साथ योजनाबद्ध तरिकाले अगाडि बढ्यौँ । प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने उद्देश्यअनुरूप अहिले तीनवटा वडाहरूमा बर्थिङ सेन्टरको सुवात गरिसकेका छौँ भने केही वडाहरू प्रक्रिमा रहेका छन् । त्यसैगरी नौवटै वडामा ल्याब सञ्चालन गर्ने तयारीमा छौँ ।

हाल दुईवटा वडामा सञ्चालनमा ल्याइसकेका छौँ । सबै वडाहरूमा १२ महिना सवारीसाधन आवजावत गर्न मिल्ने गरी सडक विस्तार र स्तरोन्नतिका कामहरू भएका छन् । नौवटै वडा र गाउँपालिकाका कामहरू अनलाइन सिस्टमबाट गर्नेगरेका छौँ । मापदण्ड बनाएर घरनक्सा पासको व्यवस्था, लिफ्टिङ सिस्टमबाट खानेपानीको व्यवस्था, शून्य होम डेलिभरी अभियानअन्तर्गत ९८ प्रतिशत जति प्रगति भएको भने हिजो उपचारका लागि समयमै एम्बुलेन्स नपाएर छटपाउनुपर्ने अवस्था थियो भने आज त्यो अवस्थाको अन्त्य गरी आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ ।

कृषि र पशुमा क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रमहरू पनि गर्दै आएका छौँ । त्यसैगरी कृषि उत्पादनमा ढुवानीको पनि उचित प्रबन्ध मिलाएका छौँ । सिभिल इन्जिनियरिङका कक्षाहरू पनि सञ्चालनमा ल्याएका छौँ । गाउँपालिकाका सबै विद्यालयहरू बालमैत्री विद्यालय घोषणा भएका छन् । शैक्षिक साक्षरता वृद्धिका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै पिछडिएका क्षेत्रका बालबच्चाहरूको अध्ययन अध्यापनको लागि सोहीअनुसारको व्यवस्था मिलाएका छौँ ।

बालमैत्री गाउँपालिकाको सवालमा हामी गाउँपालिकालाई छिट्टै बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा लागेका छौँ । लगभग सबै काठका पोलहरू विस्थापित गरी सबै ठाउँमा विद्युत् पु-याइसकेका छौँ । पाल्पाकै पहिलो फुसरहित स्थानीय तह घोषणा पनि भइसकेको छ । नेपाल बैंकसँगको समन्वयमा सस्तो ब्याजदरमा कृषकहरूलाई ऋण उपलब्ध गराउने कार्यक्रमको पनि सुरुवात गर्नुका साथै अन्य धेरै देखिने र नदेखिने कामहरू भएका छन् ।

व्यावसायिक कृषिको अवस्था कस्तो छ ?

पछिल्लो समयमा कृषि पेसाप्रति आकर्षण बढ्दै जाँदा अटोमेटिकरूपमा यहाँको कृषि पेसाले व्यावसायिक रूप धारणा गरेको छ । त्यसको एउटा कारण भनेको गाउँपालिकाले कृषि क्षेत्रमा अगाडि सारेका विभिन्न योजनाहरू पनि हुन् । वास्तवमा पछिल्लो समयमा कृषि र पशुपालनको क्षेत्रबाट सर्वसाधारणहरूको आयआर्जन वर्षेनी बढ्दो क्रममा छ ।

कोभिड, भूकम्पजस्ता दैवी प्रकोपहरूले आम नागरिकहरूलाई कृषिको महत्व बुझाउँदै कृषि पेसामा लाग्ने प्रेरणा पनि थपेको छ । सम्भावनाको प्रमुख स्रोत र राज्यद्वारा बढी प्राथमिकता दिइएको क्षेत्र पनि कृषि हुँदा व्यावसायिक कृषिप्रतिको आकर्षण देशव्यापीरूपमै बढेको छ । हामीकहाँ पनि केन्द्रीय सरकार र प्रदेश सरकारले दिने सेवासुविधा त हुँदै भयो, गाउँपालिकाले पनि थपिदिँदा कृषिक्षेत्र झन् मौलाउँदै गएको छ ।

उत्पादन गाउँपालिकामै खपत हुन्छ कि बाहिरी बजारमा पनि जान्छ ?

विगतका दिनमा गाउँपालिकामै खपत हुने अवस्था भए पनि व्यावसायिक कृषिले निकासा गर्नसक्ने वातावरण तयार भएको छ । सरदरमा वार्षिक तीन÷चार करोड रुपैयाँको सेरोफेरोमा कृषि उत्पादन निकासा हुनेगरेको छ । जहाँसम्म उत्पादनको बजारीकरणको कुरा छ बजारको लागि धेरै टाढा धाएर दुःख पाउनुपर्ने अवस्था छैन । यही नजिकैको तानसेन बजार र बुटवल बजार पर्याप्त हुन्छ । ढुवानी भाडाको व्यवस्था गाउँपालिकाले गरेको हुँदा कृषलाई थप लाभ मिलेको छ ।

व्यावसायिकरूपमा उत्पादन हुने कृषि उत्पादनहरू के–के हुन ?

कुरिलो खेती, तराकारी, मासुजन्य वस्तुभाउ, दुध, अदुवा, मौरीपालन, सूर्यमूखी खेतीलगायतका कृषि उत्पादनहरू व्यावसायिकरूपमा गरिएको छ भने मकै, धान गहुँ, तोरी, कोदोलगायतका अन्य परम्परागत कृषि उत्पादन पनि हुनेगरेको छ ।

खेतीयोग्य जमिनमा बाँझोपनको अवस्था कस्तो छ र कृषि क्षेत्रमा के–कस्ता समस्याहरू छन् ?

जनताहरू कृषिमै निर्भर हुँदा बाँझोपनको अवस्था अत्यन्त न्यून अर्थात् नगन्य छ । कुनै कुनै वडाहरूमा बसाइँसराइको कारणले सिजनेवल खेती भए पनि पूर्णरूपमा बाँझो रहने अवस्था छैन । कृषि क्षेत्रको विकासले गाउँपालिकाका जनताहरूको जीवनस्तर उकास्न सकिने सम्भावनाहरू अधिक भएकोले तिनै सम्भावनाहरूमा आधुनिक र व्यावसायिक खेती अनिवार्य छ । सिँचाइको र बाँदर लाग्ने समस्या मुख्य हुन् ।

बाँदरको आतङ्कले कृषकले उत्पादनमा नोक्सानी सहनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बाँदर हेर्ने व्यक्तिको पनि व्यवस्था मिलाए बजेट विनियोजन गरेका छौँ । जसले गर्दा किसानहरूले उत्पादनमा नोक्सानी सहनुपर्ने अवस्थाको केही हदसम्म अन्त्य भएको छ । उर्भर भूमि भएकोले कृषकहरूको आकर्षण पनि तिनै खेतीहरूमा बढी देखिन्छ । गाउँपालिकाले पनि तिनै क्षेत्रहरूलाई प्राथमिकतामा राखेर विभिन्न खालका योजनाहरू कार्यान्वयनमा ल्याउँदै पकेटक्षेत्र बनाएर योजनाबद्धरूपमा अगाडि बढेकोले विगतभन्दा वर्तमानमा कृषि क्षेत्र फस्टाउँदो अवस्थामा छ ।

एक घर एक धाराको अवधारणा ल्याउनुभएको थियो, उक्त कार्यको प्रगति अवस्था के छ ?

यो पाँच वर्षभित्र बगनासकाली गाउँपालिकाका सबै घरधुरीलाई स्वच्छ पिउने पानीको व्यवस्था मिलाउछौँ भनेर हामीले कार्यसम्पादनको पहिलो वर्ष नै उद्घोष गरेका हौँ । जुन कार्य ७०/७५ प्रतिशत जति सफल भएको छ । पूर्वउद्घोष र योजनाअनुसार हामीले आगामी आर्थिक वर्ष गाउँपालिकाभरिका घरधुरीमा स्वच्छ पानीको व्यवस्था मिलाउन सक्ने गरी दु्रत गतिमा कार्यसम्पादन गरेका छौँ ।

यहाँले निर्वाचनको समयमा उठाएका विकास निर्माणका योजनाहरू हालसम्म कति कार्यान्वयनमा आए त ?

निश्चय पनि जुन उद्देश्य राखेर जनतासँग बाचा गरेर निर्वाचित भयौँ त्यो उद्देश्य पूरा गर्नु हाम्रो प्रमुख कर्तव्य हो । हो, काम गर्दै जाँदा कतिपय कुराहरू पूरा नहुन सक्छन् तर राम्रो गर्दागर्दै नहुने कुरामा कसैको पनि दोष हुँदैन । संघीयताको नयाँ अभ्यास र सीमित स्रोत र साधनका बाबजुत पनि स्रोत र साधनको उच्चतम प्रयोग गरेर दीर्घकालीन महत्व राख्ने योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ, त्यो सारा गाउँपालिकाबासीहरूका लागि खुशीको कुरा हो । जहाँसम्म लक्ष्यअनुसारका योजना कार्यान्वयनको कुरा छ त्यो पूरा हुनेमा हामी विश्वस्त छौँ ।

केही बहुवर्षीय योजनाहरू हाम्रो कार्यसम्पादन वर्षभन्दा फरक अर्थात् अर्को आर्थिक वर्षमा सम्पन्न होलान् तर सोचेभन्दा धेरै विकास निर्माणका कामहरू हुन्छन् । कार्यसम्पादनका लागि नौलो अनुभवबीचमा महामारीको रूप धारण गरेको कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउन र चलायमान बन्न नसकेको आर्थिक क्रियाकलापका कारण सामान्यरूपमा असर पारे पनि लक्ष्यभन्दा बढी काम हुने कुरामा यहाँलाई विश्वस्त पार्न चाहन्छु ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया