Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘सबल, सक्षम, अनुभवी र समावेशी टिम नै मेरो चुनाव जित्ने आधार हुन्’

‘सबल, सक्षम, अनुभवी र समावेशी टिम नै मेरो चुनाव जित्ने आधार हुन्’


(आगामी जनवरी १७ अर्थात् माघ ३ गते एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) को ५३औं साधारणसभा र नयाँ कार्यसमितिको लागि निर्वाचन हुन गइरहेको छ । कुल १७ सदस्सीय कार्यसमितिको चयन हुने भए पनि १५ पदका लागि मात्र चुनाव हुने र दुई सदस्य मनोनयनबाट पछि चयन हुनेछन् । निर्वाचनमा चार सय ९८ मतदाताले मतदान गर्ने कार्यक्रम रहेको छ । साधारणसभाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक यड्ड्यन मन्त्री योगेश भटट्राईले गर्ने कार्यक्रम तय भएको छ । व्यवसायीहरु आगामी नेतृत्व हात पार्नको लागि तीनवटा छुट्टा–छुट्टै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

मूलतः सरकार पक्ष र प्रमुख विपक्षी नेपाली कांग्रेस निकटका व्यवसायीहरुको बीचमा नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस निकट व्यवसायीहरुको बीचमा चुनावी एकता हुन नसक्दा उनीहरुले अलग–अलग प्यानलसहितको टिम घोषणा गरेका छन् । सो प्यानबाट अध्यक्षको प्रत्यासीमा अच्युत गुरागाइँ र मिहिका शाह धाख्वा चुनावी मैदानमा छन् । यसैगरी सत्तापक्ष अर्थात् नेकपा निकट व्यवसायीको तर्फबाट भिमप्रसाद पन्तले आफ्नो प्यानलसहितको टिम यसअघि नै घोषणा गरिसकेका छन् । अध्यक्षका प्रत्यासी उनै पन्तसँग चुनावी सेरोफेरोमा केन्द्रित रहेर आर्थिक दैनिकका लागि रामहरि चौलागाइँले गरेको कुराकानीको सम्पादित अंशः

यही माघ ३ गते हुन गइरहेको चुनावमा तपाईंं अध्यक्षको प्रत्यासी हुनुहुन्छ, तपाईंको चुनाव जित्ने आधार र चुनावी एजेण्डाहरु के छन् ?

मेरो प्रमुख एजेण्डा भनेको नाट्टामा आबद्ध सबै व्यवसायीलाई एकीकृत बनाएर लैजाने र यो संस्थालाई सबै व्यवसायीहरुको साझा मञ्च बनाउने योजना रहेको छ । पर्यटन व्यवसायीहरुको बीचमा व्यवसायी एकताको वातावरण बनाएर अगाडि बढ्नु नै मेरो चुनावी एजेण्डा पनि हो । त्यसैगरी सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई घनीभूतरुपमा सफल र साकार पार्नु रहेको छ ।

यसैगरी पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका बीचको सम्बन्धलाई जीवन्त राख्नका लागि पनि पहल गरिनेछ । पर्यटन व्यवसायी, संघीय सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र प्रदेश पर्यटन मन्त्रालयको बीचमा समन्वय गरी पर्यटनमैत्री ऐन बनाएर ऐतिहासिक वातावरण बनाउन पहल गरिनेछ । यो क्षेत्रको लागि आवश्यक कानुन निर्माण गरी व्यवसायीको हितमा अधिकतम काम गर्दै, नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको यस क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा विकास गर्ने लक्ष्य छ ।

साथै पर्यटन बोर्डसँग मिलेर काम गर्ने र उसलाई सल्लाह र सुझाव दिँदै यो क्षेत्रको उन्नति र प्रगतिका लागि सँगै अगाडि बढन प्रेरणादायी भूमिकामा रहनेछौँ । जुन–जुन मुलुकका पर्यटक नेपालमा आउँछन् र जुन मुलुकले हामी नेपालीलाई फ्रि भिसा दिएका छन्, ती मुलुकका नागरिकलाई पनि नेपालले त्यसरी नै भिसाको व्यवस्था गरोेस् भन्ने मेरो मान्यता छ । यी प्रस्ताव सरकारसँग पु-याएर लागू गराउनु नै मेरो चुनावी एजेण्डा हुन् ।

यो निर्वाचनमा तपाईंंको चुनावी प्रतिस्पर्धा कोसँग हुँदै छ ?

प्रतिस्पर्धा हामी व्यवसायीहरुकै बीचमा हुने हो । अहिले चुनावी मैदानमा मसँगै अच्युत गुरागाईं र अर्को एक जना महिला व्यवसायी मिका धाख्वा शाह हुनुहुन्छ । उहाँहरु पनि व्यवसायी र मेरो सहकर्मी मित्रहरु नै हुनुहुन्छ । उहाँहरु दुईवटा समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ भने मैले पनि टिम बनाएर अगाडि बढिरहेको अवस्था छ । उनीहरुलाई पनि मैलै मैरै टिममा सहभागी भएर एउटै प्यानलबाट चुनाव लड्नको लागि आह्वान पनि गरिसकेको छु । साथै यसलाई साझा र राष्ट्रिय संगठनको रुपमा विकास गरौँ भन्ने प्रस्ताव पनि राखेको छु । यद्यपि त्यो प्रस्ताव अहिले लागू हुन सकेन र तीनवटा प्यानल घोषणा भएकोे छ ।

तपाईंं व्यवसायीहरु व्यावसायिक एकताभन्दा पार्टीगतरुपमा चुनावी मैदानमा उत्रँदा संगठन त कमजोर भयो नि हैन र ?

हो, यसैका लागि मैले साथीहरुलाई एकजुट भएर चुनावमा जाऔं भनेर प्रस्ताव गरेँ । तर, उहाँहरु मान्नुभएन । यसलाई साझा संगठनको चौतारी बनाऔँ भनेर मेलै भनेकै हो । साथीहरु किन मान्नुभएन मलाई थाहा छैन । हामी व्यवसायीहरु नै एक–आपसमा लड्नु राम्रो होइन र एउटै प्यानल बनाएर चुनावमा गएको भए संगठन र व्यवसायी एकता मजबुत हुनेथियो । मेरो मान्यता अहिले पनि त्यही नै रहेको छ ।

तपाईंहरुको बीचमा व्यवसायी एकताका साथै अन्य विषयमा कुरा मिल्न नसक्नुको कारण के हो ?

एक किसिमले भन्नुपर्दा यो व्यक्तिगत इगो नै मैले देखेको छु । त्योबाहेक मैले अरु कारण अहिले देखेको छैन । मैले त पहिलेदेखि नै व्यासायिक एकता कायम गरेर नै चुनावी मैदानमा जानुपर्छ भनिरहेकै थिएँ । अहिले पनि मेरो यो धारणामा परिवर्तन आएको छैन ।

व्यवसायीहरु व्यावसायिक एकताभन्दा पनि राजनीतिकरुपमा प्रशिक्षित भएर चुनावमा गएको आरोप तपाईंंहरुमाथि लागेको छ नि, वास्तविकता के हो ?

तपाईंंले गरेको प्रश्नमा केही सत्यता होला । तर, राजनीतिमा आस्था राख्न नै हुन्न भन्ने पनि छैन र नपाइने कुरा पनि छैन । तर, व्यवसायमा संलग्न भएपछि राजनीतिक आस्थाभन्दा पनि व्यावसायिक हकहितको लागि काम गर्ने हो । यसमा राजनीतिभन्दा पनि व्यावसायिकतातर्फ अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

छुट्टा–छुट्टै तीनवटा प्यानल चुनावी मैदानमा उत्रिएको छ, कसको प्रतिस्पर्धा कोसँग हुने अनुमान गर्नुभएको छ ?

तीन गते हुन गइरहेको चुनावमा मैले नेतृत्व गरेको प्यानलले निर्वाचन जित्ने कुराम म ढुक्क छु । यो टिम सशक्त, सबल, अनुभवी र समावेसी पनि रहेको छ । यही कारण हामी चुनाव जित्छौँ । हाम्रो टिमको साथीहरु निर्वाचनको लागि रातदिन नभनी खटिइरहनुभएको पनि छ । फेरि एउटै विचार बोक्ने साथीहरु पनि मिल्न सक्नुभएको छैन ।

परिणाम तपाईंंहरुकै पोल्टामा आउँछ भन्ने आधार के हो त ?

आम व्यवसायी साथीहरुको आग्रह र अनुरोधमा मैले उम्मेदवारी दिएको हुँ । साथै साझा उम्मेदवारको हैसियतमा म खडा भएको छु । विगत दुई कार्यकाल मैले संगठनको जिम्मेवारी लिएर काम गरिसकेको छु । मेरो काम गराइबाट व्यवसायी साथीभाइहरु सन्तुष्ट हुनुहुन्छ । मेरो काम गराइबाट उत्साहित उनै साथीभाइको आग्रहमा अहिले म निर्वाचनको मैदानमा खडा भएको हो ।

तपाईंले विगतमा संगठनको जिम्मेवारी लिएर काम गरेको भन्नुभयो, यसअघि तपाईंंले कुन संगठनको कुन पदमा बसेर काम गर्नुभएको हो ?

म सन् २०१० देखि २०१२ सम्म केन्द्रीय सदस्य भएर काम गरेँ । त्यसैगरी ०१६ देखि ०१८ सम्म महासचिव भएर काम गरिसकेको अनुभव मसँग छ । महासचिव हुँदा मैले रि फाइनान्सिङको व्यवस्था मिलाएर यो क्षेत्रलाई महत्वपूर्ण गुन लगाएको छु । त्यसबाट यो सेक्टरमा धेरै काम पनि भए । रि फाइनान्स भनेको कम ब्याजदरमा बैंकले हामी व्यवसायीलाई सहुलियतरुपमा कर्जा उपलब्ध गराउनु हो । त्यो काम मेरै पहलमा भएको थियो । यो कामबाट व्यवसायीहरु धेरै नै उत्साहित हुनुभयो र आर्थिक लाभ पनि लिनुभयो । नेपाल राष्ट्रबैंकले बैंकहरुलाई कुल कर्जाको केही प्रतिशत कर्जा रकम पर्यटन व्यसायमा लगानी गर्नैपर्ने नियम बनाइदिएको पनि छ । यसबाट व्यवसायीहरुले मनग्गे लाभ उठाएका छन् ।

सरकारले सन् २०२० जनवरी १ का दिन नेपाल भ्रमण वर्षसँग लक्षित कार्यक्रमको शुभारम्भ गरिसकेको छ, सरकारको घोषित कार्यक्रमलाई सघाउ पु-याउन तपाईंंहरुको भूमिका कस्तो रहनेछ ?

होटलहरुले डिस्काउन्ट अफर दिइराखेका छन् । त्यसैगरी टुर कम्पनीहरुले पनि अफर घोषणा गरेका छन् । उनीहरुले १० देखि २५ प्रतिशतसम्म छुट अफर भ्रमण वर्षलाई नै लक्षित गरेर सार्वजनिक गरेका हुन् । अझ हामीले के भनेका छौँ भने जुन–जुन मुलुकमा हाम्रो कूटनीतिक सम्बन्ध राम्रो छ र हामीलाई उनीहरुले भिसा फ्रि गरेर पठाइरहेको छ । ती देशका नागरिक नेपाल आउँदा सरकारले त्यस्तै व्यवहार गर्नुप-यो भन्ने मेरो सरकारसँग आग्रह पनि छ । हामी चुनाव जितेर आएपछि त्यो कामको लागि पहल पनि गर्दै छौँ । अनौपचारिकरुपमा अहिले पनि यो विषयमा सरकारसँग कुराकानी भइरहेको पनि छ । नेतृत्वमा पुगेपछि औपचारिकरुपमा नै त्यसको सुरुवात गर्नेछौँ ।

भ्रमण वर्ष सफल पार्नको लागि पर्यटन बोर्ड र सरकारले तपाईंंहरुसँग कुनै सहयोगको लागि अनुरोध गरेको छैन ?

अहिलेसम्मको आँकडा हेर्दा प्राइभेट सेक्टरले नै पर्यटन क्षेत्र धानिरहेको अवस्था छ । सरकारको भन्दा पनि प्राइभेट सेक्टरको भूमिका अझ बढी र महत्वपूर्ण रहँदै आएको छ । यसैगरी पर्यटन बोर्डको भूमिका पनि प्रभावकारी हुनुप-यो । सरकारले नै अन्तर्राष्ट्रिय जगतमा नै विज्ञापन गरेर भए पनि पर्यटन भित्र्याउन पहल गर्नुप-यो । यसमा हामीले हाम्रो तर्फबाट सरकारलाई जे सहयोग पनि गर्न तयार छौँ ।

हाल नेपालीहरुलाई कुन–कुन देशमा घुम्न र जानका लागि फ्रि भिसा उपलब्ध छ ?

इन्डोनोनिसिया, सिंगापुरलगायत मुलुकमा अहिले नेपालीले एराइवल भिसा पाइरहेका छन् । म भर्खरै इन्डोनोसियाको राजधानी बाली गएको थिएँ । त्यहाँको पर्यटन क्षेत्रको बारेमा अध्ययन र अवोलोकन गर्ने मौका पनि मिल्यो । उनीहरुले धेरै मुलुकका मानिसहरुलाई आराएबल भिसा दिएर आर्कषित गरिरहेका पाइयो । उनीहरुको धेरैभन्दा धेरै पर्यटक भित्र्याउने रणनीतिअन्तर्गत नै त्यसो गरेका रहेछन् । नेपाल सरकारले पनि यस्ता पोलिसी ल्याएर पर्यटकलाई आर्कषण गर्न सक्नुपर्दछ।

बढीभन्दा बढी पर्यटक भित्र्याउन सरकारबाहेक ट्राभल एजेन्सीहरुको पनि त्यतिकै भूमिका आवश्यक छैन र ?

हामीहरुले गरिरहेका छौँ । नेपालमा पर्यटक भित्र्याउन ट्राभल्स एजेन्सीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् र हामी गर्न पनि तयार छौँ । हाम्रो पेशा व्यवसाय नै यही भएकोले नगर्ने भन्ने त कुरै आउँदैन । साथसाथै पर्यटक घुमाउनको लागि पनि नयाँ–नयाँ ठाउँको बारेमा पनि अध्ययन भइरहेको छ । पुरानै गन्तव्यलाई पनि पूर्वाधारका हिसाबले सुधार गर्दै लैजान आवश्यक छ । पहिलो कुरा पूर्वाधार नै राम्रो बन्नुप-यो । यस विषयमा पनि सरकारसँग हाम्रो अनौपचारिक कुराकानी चलिरहेकै छ । हामी चुनाव जितेर नाट्टाको नेतृत्वमा पुगेपछि यसलाई अझ घनीभूतरुपमा अगाडि बढाउनेछौँ ।

व्ययवसायीभन्दा पनि तपाईंहरु बढी नाफामुखी भएको आरोप लाग्नेगरेको छ, यसबारेमा तपाईंको भनाइ के छ ?

व्यवसाय गरेपछि नाफा कमाउनु स्वाभाविक हो । यसलाई त्यसरी नै बुझ्न म सबैसँग आग्रह गर्दछु । खासमा भन्नुपर्दा अहिले नेपालमा घुम्न आउने भनेको सस्ता किसिमका टुरिस्टहरु मात्र हुन् । क्वालिटीका कमै आउने गरेका छन् । अहिले दैनिक गुजारा गर्नको लागि व्यवसाय चलिरहेको छ । अनलाइनमा हेर्ने हो भने अहिले होटलको कोठाको मूल्य २०–३० डलर रहेको भटिन्छ । त्यो मूल्यले होटल सञ्चालन खर्च पनि धान्न गाह्रो छ । त्यसकारण होटलको स्तर निर्धारण नगरिकन व्यवसाय टिकाउन समस्या छ । यसकारण पनि हामीमाथि लगाइएको आरोपमा सत्यता नरहेको म तपाईंको मिडियामार्फत सबैमा जानकारी गराउन चाहान्छु ।

सरकारले के गरिदिएको खण्डमा तपाईंंहरुको व्यवसाय सजिलै अगाडि बढ्न सक्छ, तपाईंहरुको अपेक्षा सरकारसँग के रहेको छ ?

सरकारले व्यवसायीसँग उचितरुपमा सरसल्लाह गरेर अगाडि बढ्ने हो भने व्यावसायिक वातावरण बन्नेछ र व्यवसाय फस्टाउँछ पनि । अनि त्यसको लाभ सरकार र व्यवसायी दुवैले लिन सक्नेछन् । यसका लागि व्यवसायमैत्री ऐन कानुन बन्न आवश्यक छ । मैले माथि पनि भने अहिले दुःखका साथ यो व्यवसायलाई हामीले टिकाइराखेका छौँ । यो क्षेत्रलाई टिकाइराख्नको लागि हामी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा पनि सरकारको ध्यान जाओस् । हामी व्यवसायीहरु सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार छौँ ।

वर्तमान सरकारसँग तपाईंहरुको सम्बन्ध कस्तो रहेको छ, समन्वय कसरी भइरहेको छ ?

वर्तमान सरकार पर्यटनमैत्री नै रहेकोले हाम्रो सम्बन्ध पनि राम्रै छ । सरकारले व्यवसायीहरुसँग हातेमालो गरेर नै काम गर्नुपर्छ भनिरहेको छ । अब हामी चुनाव जितेर गएपछि अझ घनीभूतरुपमा छलफललाई अगाडि बढाउनेछौँ ।

यदि चुनाव जितेर नेतृत्वमा पुग्नुभयो भने तपाईंंका आगामी रणनीतिहरु के–के हुनेछन् ?

हाल विभाजित भएर अगाडि बढ्नुभएका व्यवसायी साथीभाइलाई एकै ठाउँमा ल्याउने पहिलो प्रयास मेरो रहनेछ । भिजिट नेपाल २०२० लाई भव्यरुपमा सफल गराउनु हाम्रो प्रयास र कर्तव्य ठानेर सकारात्मकरुपमा अगाडि बढ्नेछौँ । यो सरकारको मात्र नभएर हामी सबैको काम हो भन्ने मेरो ठम्याइ छ । अब भनेर मात्र होइन गरेर नै देखाउने बेला आइसकेको छ । यो विषयमा हामी सरकारसँग मिलेर काम गर्न तयार पनि छौँ । म महासचिव हुदाँ नै आगामी सन् २०३० सम्ममा वार्षिक ३० लाख पर्यटकलाई नेपाल भित्र्याउन पहल गर्नुपर्छ भनेर योजना अगाडि सारेको थिएँ । यो घोषित नीतिलाई पनि अगाडि बढाउँदै कार्यान्वयनमा लैजाने योजना मेरो रहेको छ ।

चुनावका लागि मतदान गर्न तयार भएर बसेका चार सय ९८ मतदातालाई के भन्न चाहनुहुन्छ ?

मैले माथि पनि धेरै कुरा उल्लेख गरिसकेको छु । सबै मतदातामा मेरो के अनुरोध छ भने मेरो टिम सबल, सक्षम, अनुभवी र समावेसी रहेको छ । यसलाई सहयोग गरेर निर्वाचन जिताउनुहोस् । व्यवसायी र व्यवसायलाई व्यस्थित बनाएर अगाडि लैजान म तयार छु । यसमा नै सबैको हित र भलाइ हुनेछ यही कुरा सबै मतदातालाई भन्न चाहन्छु ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया