Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता“सरकारले हामीलाई सहयोग गरेन”

“सरकारले हामीलाई सहयोग गरेन”


हाल नेपालका ३० वटा चिया सहकारी संस्थाहरू यो संघमा आबद्ध भएका छन् । अन्य जिल्लाहरूमा चिया खेती भए पनि संगठित व्यावसायिक रूपमा उत्पादन हुन सकिरहेको छैन । सन् २०१२ गरिएको सर्वेक्षणअनुसार कुल जनसंख्याको छ प्रतिशतले मात्र चिया पिउने गरेकोमा अहिले त्यो संख्या बढेर १० प्रतिशत पुगेको छ । चियाबाट हुने लाभका बारेमा आम मानिसमा जनचेतना फैलन सकेको छैन । डाक्टरले बिरामीको अप्रेशनपछि कालो चिया खुवाएर मात्र अन्य कुरा खुवाउन सुझाएको हुन्छ । यसको कारण चियाले बिरामीलाई मात्र होइन अन्यलाई पनि स्वस्थ र फुर्तिलो गराउन त्यतिकै मदत पु-याउँछ । नेपालमा हाल चिया उत्पादनको अवस्था र यसको भविष्यका बारेमा केन्द्रित रहेर दाहालसँग आर्थिक दैनिकका लागि रामहरि चौलागाईंले गरेको कुराकानीको मुख्य अंशः

केन्द्रीय चिया सहकारी संघले हाल सम्पादन गरेका मुख्य कामहरू के–के छन् र अहिले के गरिरहनुभएको छ ?

हामीले मुलतः किसानहरूले उत्पादन गरेको चियालाई नै केन्द्रबिन्दुमा राखेर काम गरिरहेका छौँ । उत्पादन, प्रशोधन र बजारीकरणको क्षेत्रमा संघले व्यापक रूपमा काम गरिरहेको छ । किसानले उत्पादन गरेको चियाको लागत मूल्य, गुणस्तर कस्तो छ, र प्राविधिक क्षेत्रमा के–कस्तो आवश्यकता रहेको छ ती कुरामा हामीले जोडतोडका साथ ध्यान पु-याइरहेको अवस्था छ । उदाहरणको लागि पुनिङ कतिबेला गर्ने र कुन बेला कस्ता किसिमका बिरुवाहरू उत्पादन गरेर, कुन ठाउँमा रोप्न उपयुक्त हुन्छ र रोप्ने समय कुन हो त्यसबारेमा किसानहरूलाई सल्लाह दिन्छौँ । रोग किराहरूको प्रकोप कसरी नियन्त्रण गर्ने भन्ने विषयमा हामीले किसानहरूलाई सहजीकरण गरेका छौँ ।

यसैगरी किसानहरूलाई यो क्षेत्रमा लाग्न अभिप्रेरित गर्दै रासायनिक र घरायसी मलको प्रयोग गर्ने तरिकाको बारेमा जानकारी दिइरहेका छौँ । चिया खेतीसँगै त्यसभित्र अन्य नगदे र घुसुवा बालीहरू लगाएर आम्दानी लिन सकिने विषयमा पनि हामी उनीहरूलाई सचेत गराउने काममा लागेका छौँ । सँगसँगै पशुपालन र अन्य बालीसँग किसानलाई जोडेर कसरी अगाडि बढाउन सकिन्छ भनेर विभिन्न किसिमका तालिम र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै किसानहरूको आयस्रोत बढाउनेतर्फ पनि प्रयत्न गरिरहेका छौँ ।

किसानहरूलाई परम्पराभन्दा माथि उठाउन र आधुनिक खेती प्रणालीतर्फ अग्रसर गराउन के–कस्तो पहल भइरहेको छ ?

उनीहरूलाई सीपमूलक तालिम दिने काम पनि भइरहेका छ । यसैगरी चिया खेतीसँगै किसानको आयआर्जन वृद्धिका लागि अन्य नगदे बालीहरू लगाएर आम्दानी बढाउन, परम्परागत खेती प्रणालीमा मात्र सीमित नहुन अभेप्ररित गरिरहेका छौँ । हजुरबादेखि नातीको पालासम्म किसान हुने, आफूले दुःख गरी उत्पादन गर्ने र अरुले नै त्यसको भरणपोषण गर्ने कुराको अन्त्य हुनुपर्छ भनेका छौँ । अब उनीहरूलाई हिजोका दिनमा जसरी त्यसमा मात्र सीमित हुन नदिएर फार्मर टु विजनेस म्यानतर्फ अग्रसर हुनको लागि प्रेरित गरिरहेका छौँ ।

पुस्तेनी पेशालाई आधुनिकीकरण गर्दै उनीहरूलाई निर्वाहमुखीभन्दा पनि उद्योगी बनाउनु पर्छ भनेर हामी काम गरिरहेका छौँ । अहिले ३० वटा जति चिया सहकारीद्धारा सञ्चालित उद्योगहरू स्थापना भएका छन् । यसैगरी चारवटा जति सीटीसी चिया उत्पादन गर्ने उद्योगहरू स्थापनार्थ रहेका छन् । संघले विभिन्न किसिमका सीपमूलक तालिम पनि सञ्चालन गरेको छ । किसानलाई सधैँभरि किसानमा मात्र सीमित हुन नदिने र उनीहरूलाई किसानबाट उद्योगी र साझेदारी कार्यक्रममा सहभागी गराउँदै अगाडि बढाउने योजनाका साथ काम गरेका छौँ । किसानहरूद्वारा सञ्चालित सहकारीहरूलाई आवश्यक मेसिनरी सामान उपलब्ध गराउँदै प्रशोधन कार्यमा सहयोग गरिरहेका छौँ ।

हाल बजारमा उपलब्ध चियाको पनि वर्गीकरण भएको छ, हो ?

पहाडी इलकामा उत्पादित सम्पूर्ण चिया अर्थोडक्स हो । यसमा पनि अर्थोडक्स ब्लाक, ग्रिनलगायत विभिन्न किसिमका भेराइटीहरू छन् । तराईका जिल्लाहरूमा उत्पादन भएको सीटीसी चिया हो । अर्थोडक्स चियाको उत्पादन गर्ने तरिका नै फरक छ यसैगरी यो चियाको बिरुवा पनि फरक हुन्छ ।

अर्थोडक्स र सिटीसी चियामा के भिन्नता छ र मूल्यको अवस्था कस्तो रहेको छ ?

मैले माथि पनि बताइसकेँ अर्थोडक्स चियाको उत्पादन गर्ने तरिका अरु चियाको भन्दा भिन्न छ । यसैगरी खाने तरिका पनि फरक छ । अर्थोडक्स चियाको उत्पादन लागत हेरेर मूल्य तोकिएको छ । सीटीसी चियाको तुलानामा यो अलिक महँगो पनि छ । अर्थोडक्स चिया पहाडी इलाकामा हुने भएकोले यसको स्वाद र गुणस्तर तराईमा उतपादित चियाको तुलानामा फरक पर्छ ।

नेपालमा चियाको बजारीकरणको अवस्था कस्तो पाउनुभएको छ ?

हाल मुलकभित्र सीटीसी चियाले हाम्रो आन्तरिका मागलाई धानेर विदेश निर्यात भएको पनि छ । यसैगरी अर्थोडक्स चिया नेपालमा जति उत्पादन भएको छ, त्यसको ९० प्रतिशतभन्दा बढी विदेश निर्यात भएको छ । १० प्रतिशत मात्र हाल मुलुकभित्र खपत भएको अवस्था छ ।

निर्यातको अवस्था के–कस्तो पाउनुभएको छ ?

अर्थोडक्स चिया त शत प्रतिशत नै निर्यात हुन्छ भन्दा पनि हुन्छ । सन् २०१२ मा मार्केटको सर्भे गर्दा छ प्रतिशत खपत भएको पाइएको थियो हाल बढेर १० प्रतिशत पुगेको पाएका छौँ । बाँकी ९० प्रतिशत नै निर्यात भइरहेको छ ।

यो क्षेत्रमा अहिले कति हजारले रोगगारी पाइरहेका छ त छ ?

हाल ३० हजार परिवार चिया खेतीमा आबद्ध भएको पाइएको छ । उनीहरूको परिवारको संख्यासमेत जोड्दा ५० हजारभन्दा बढीले यो क्षेत्रमा रोजगारी पाएको अनुमान हामीले गरेका छौँ । उत्पादन, प्रशोधन, मार्केटको क्षेत्रमा पनि धेरैले रोजगार पाएका छन् । यसैगरी नेपाली मात्र होइन हामीले भारतीय नागरिकालाई पनि रोजगारी दिएका छौँ । मेशिनलगाएत प्याकेजिङको सामान भारतबाट समेत आउँने भएकोले नेपालीबाहेक उनीहरूलाई समेत रोजगारीको सृजना गरेका छौँ भन्ने मेरो ठम्याइ रहेको छ ।

सरकारलाई यो क्षेत्रबाट कति राजस्व गएको छ त ?

किसानलाई एक प्रतिशत भनेर तोकिएको छ । तर, विभिन्न खालका मेसिन औजार खरिद गर्दा तोकिएको कर तिर्नु परे पनि मेसिनबाहेक त्यससँग सम्बन्धित अन्य औजार किन्दा हामीले अलग्गै कर तिर्नुपरेको छ । यसरी अलग्गै तिर्दा ५० देखि ५५ प्रतिशतसम्म हुन आउँछ । बिजुलीसँग सम्बन्धित सामानको अलग्गै र प्लाष्टिकजन्य सामानको पनि त्यसरी नै तिर्नुपरेको छ । प्रिन्टिङवाला सामान छ भने एक प्रतिशत र छैन भने सरकारले तोकेको मूल्यमा नै तिर्नुपर्ने भएकोले समस्या पनि छ । सबैथोक एकैचोटी र ब्लकमा एकै जनाले ल्याउन पनि सकिने विषय रहेन । अलग–अलग रूपमा सामान ल्याउनु पर्दा भन्सारले त्यो सुविधा र सहुलियत दिँदैन । त्यसकारणले पनि सरकारलाई हामीले मनग्य कर तिरेका छौँ ।

सरकारले त किसानलाई अनुदान दिएको छ हैन र ?

सरकारले धेरथोर अनुदान दिएको छ, नदिएको भन्न मिल्दैन । त्यो पर्याप्त छैन । अनुदान लिने विषयमा सरकारसँग सहकारीहरूको पहुँच पनि कम छ । बरु यसअघि डेनिस सरकारले अनुदान सहयोग गरेको थियो । त्यसको चाहिँ भरपुर उपयोग गरेर लिएका थिए ।

चियाको क्षेत्रमा लागेका किसान, उद्योगी र सहकारीहरूको प्रमुख समस्या के–के रहेका छन् ?

चिया उद्योगीहरूको प्रमुख समस्या भनेको अरु किसानहरूलाई रासायनिक मलमा अनुदान दिएजसरी चिया खेतीको लागि प्रयोग गरिने मलमा भने अनुदान नदिनु हो । सरकारले चियामा रासायनिक मल नै प्रयोग गर्न पाइँदैन भनिरहेको अवस्था छ । भाषण गरेर मात्र त चियाको मुना पलाउँदैन । त्यसको लागि त नाइट्रोजन हाल्नै प-र्यो । यदि चियामा प्रयोग गर्नको लागि अनुदान दिन मिल्दैन भने किसानको हैसियतमा दिनुप-यो । त्यसरी दिन मिल्दैन भने किसानलाई गाई किन्न अनुदान दिनुप-यो । किसानले गाई अनुदानमा किन्छ र त्यही मल प्रयोग गर्छ । नभए भर्मी कम्पोष्ट मलमा भए पनि सरकारले अनुदान दिनुप-यो । परम्परागतभन्दा माथि उठेर चिया खेती गर्नको लागि सरकारले खेतबारीसम्म मल पु-याउन गाडी, सिंचाइको लागि पोखरी, किरा मार्न लागि औषधि प्रयोग गर्ने स्प्रे मेशिनलगायतमा सरकारले किसानलाई अनुदान उपलब्ध गराउनु प-यो ।

सहकारीद्वारा सञ्चालित चिया उद्योगहरूको संख्या अहिले कति रहेको छ ?

अहिले ३० वटा उद्योग सञ्चालनमा रहेका छन् । किसानबाट उतपादित पत्ती उद्योगहरूले खरिद गर्ने, सहकारी उद्योगहरूले त्यसको प्रशोधन गर्ने र बजारीकरणको काम पनि सहकारी संघले नै गरिरहेको छ ।

सरकारले के–कस्तो किसिमको सहुलियत दिएको खण्डमा किसानहरूको जीवनस्तर माथि उठ्न सक्ने अवस्था देख्नुभएको छ ?

परम्परागत रूपमा खेती गरेर फाइदा छैन । अहिले नयाँ र आधुनिक किसिमका मेसिन औजारहरू पनि भित्रिसकेका छन् । विदेशीहरूले रि प्लानटेशन पनि गरिसके । अब हामीले भू–बनावट रि प्लानटेशन, मेसिनको सुविधा पुग्ने गरी प्लानटेशन हुनुप-यो । प्रशोधन गर्ने उद्योगहरूलाई अनुदानमा मेसिन खरिद गर्नको लागि अनुदान दिनुप-यो । त्यो दिन सकिदैन भने ऋणमा भए पनि उपलब्ध गराइदिनुप-यो अवधि तोकेर । निश्चित अवधि पार गरेपछि तिमीहरूले रिवर्स गर्नुप-यो भन्नुप-यो । उद्योग स्थापनाको लागि आवश्यक पर्ने मूल्य पाउनुप-यो ।

हाल नेपालमा उत्पादन भइरहेको चियाको लक्षित बजारचाहिँ स्वदेश वा विदेश कुन हो ?

हुनुपर्ने चाही नेपाल नै हो । तर, दुर्भाग्य के छ भने नेपालीहरूमा चिया खाने बानी नै कम रहेको छ । जस्तोः काठमाडौँ, धरान, नेपालगञ्जलगायत मुख्य सहरहरूमा अर्थोडक्स चिया पिउनेहरूको संख्या बढिरहेको छ । मानिसहरू बिस्तारै आफ्नो स्वास्थ्यप्रति पनि सजग भैरहेको छ । यसकारणले पनि स्वच्छ र गुणस्तरिय चिया खानेहरूको संख्या बढेको हो जस्तो लाग्छ । मैले माथि पनि भने नेपालीहरूमा पनि चिया पिउनुपर्छ भन्ने भावना बढ्दै गएको र छ प्रतिशतबाट बढेर १० प्रतिशत पुगिसकेको छ ।

सकेसम्म नेपालमा उत्पादन भएको चिया नेपालमा नै खपत होस् र बढी भएको मात्र निर्यात गर्न पाए हुन्थ्यो । सरकारले पनि यस्तै किसिमका नीति बनाउन अग्रसर हुनुप-यो । जनचेतनामूलक किसिमका सनदेशहरू पर्वाह गर्नुप-यो । त्यसको जिम्मेवारी हाम्रो संघलाई दिएर प्रोत्साहन बढाउने काम गर्नुप-यो । सर्वसाधरण नेपालीलाई दैनिक रक्सी पिउन बन्द गराएर चियामा आर्कषित गर्नुुप-यो । स्वस्थ र गुणास्तरीय चियाले मात्र मानसिलाई फाइदा पुग्छ भन्ने किसिममा जोड दिनुप-यो । उदाहरणको लागि प्युठान जिल्लामा एकचाटी झाडापखाला लागेर ५० जनाको मृत्यु भयो । उनीहरूले चिया खाएनन् र डियाइडेसन भयो । इलाममा यो रोग लागेर एक जनाको पनि मृत्यु भएको छैन । कारण केहो भने चिया पिउनुपर्छ भन्ने जनचेतना जागेको छ । चिया पिउनाले मानिसलाई निरोगी पना बढाउँछ । अहिले तीन तहका सरकार बनेका छन् । स्थानीय सरकारले यस्ता विषयमा बढी ध्यान पु-याउन सकोस् भन्ने माग पनि गर्न चाहन्छु ।

चिया पिउँदा हुने फइदाहरूका विषयमा सर्वसाधारणलाई जानकारी गराइदिनुहोस् न ?

पहिलो कुरा यसले शरीरलाई शक्ति प्रदान गर्दछ । डाक्टरले बिरामीको अप्रेशन गरेर ऊ होसमा आइसकेपछि खानको लागि सिफारिस गर्ने भनेको नै कालो चिया हो । त्यसबाट बिरामीले ईनर्जी प्राप्त गर्छ र रिकभरी हुन्छ भनेर नै त्यसो गरिएको हो । पानीपछिको जैविक पेय पदार्थको रूपमा पनि यसलाई लिने गरिएको छ ।

अहिले बजारमा चियापत्तीको सट्टा ग्रिन टीलाई बढी प्रयोगमा ल्याएको छ तर यो सर्वसाधारणले किनेर खान सक्ने अवस्थामा छैन कारण के हो ?

ग्रिन टी भनेको अर्थोडक्स चियाको अर्को उत्पादन हो । यसको मूल्य फरक पर्नुमा उत्पादन लागत र गुणस्तर पनि हो । चियाको एकपाते सुइरोको मात्र ग्रिन टी बनाउँदा त्यसको लागत मूल्य धेरै नै पर्न जान्छ । त्यो उत्पादनका हिसाबले निक्कै खर्चिलो छ । त्यसको लागि एकजना किसानको ज्याला पनि त्यति महँगो पर्छ । छ किलो मुनाको सुइरोबाट एक किलो पनि बन्दैन । किसानको ज्याला, उत्पादन खर्च र बजारमा आइपुग्दा त्यो निकै खर्चिलो पर्न जान्छ । चियाको गुणस्तरका कारण पनि मूल्य तलमाथि परेको हो ।

अहिले बजारमा ग्रिन टीको बारेमा भन्नुपर्दा पाँच सयदेखि १५ हजार प्रतिकेजी मूल्यका पनि छन् । त्यो चिया टिप्ने किसानको ज्याला नै दैनिक छ सयभन्दा माथि नै रहेको छ । तीन सयदेखि पाँच हजार मूल्य पर्ने चिया पनि छन् । त्यो मानिसको रोजाइ र क्रयशक्तिमा भर पर्ने कुरा हुन् । सबभन्दा राम्रो सुइरो, यसेप, ब्रोकन, सुपर, टोकन, डस्टलगाय थुप्रै किसिमका चिया बजारमा उपलब्ध छन् । कस्तो किसिमका खाने भन्ने आ–आफ्ना ब्राण्ड हुन्छन् र मूल्य पनि त्यही किसिमका छन् ।

नेपालका कुन–कुन भू–भागमा चिया खेती गर्न सकिन्छ त्यसको अध्ययन भएको छ ?

२२ वटा जिल्लामा उत्पादन भएका साथीहरू हाम्रो संघमा आबद्ध नै हुनुहुन्छ । करिब ३० देखि ३२ वटा जिल्लाम चिया रोपेको जानकारी हामीलाई प्राप्त भएको छ । चिया खेतीबाट फाइदा लिएका किसानहरू प्रशस्त छन् । आफूले दैनिक प्रयोग गर्नको लागि सबैले यो लागाउनै पर्छ ।

नेपालमा चिया खेतीको भविष्य कस्तो देख्नुभएको छ ?

यसको भविष्य किन नहुनु ? छ नि । चियाको इतिहास २९ सय वर्ष लामो छ । जसरी मानिसले खाना खान्छ त्यसरी नै चिया पनि खाइरहेकै हुन्छ । कृषिजन्य क्षेत्रमा यसको भविष्य पहिलो नम्बरमा नै पर्दछ ।

केन्द्रीय चिया सहकारीले यसमा आबद्ध भएका किसान, सहकारी संस्थाहरूको आयमा वृद्धि गर्न के–कस्ता किसिमका गतिविधिहरू गरिरहेको छ त ? यसमा पनि राजनीति हावि छ भनिन्छ वास्तविकता के हो ?

धेरै क्षेत्र अहिले राजनीतिबाटै गाइडेड भएका छन् । कर्मचारीहरूले पनि त्यस्तै किसिमका काम कारबाही गरेकोले हामीलाई पनि संघसंस्था खोलेर राजनीति गरेको भन्ने आोप लगाएका हुन सक्छन् । जसले उद्यम र व्यवसाय गरेका छन् भने उनीहरूको राजनीतिप्रतिको लगाव जिरो हुन्छ । यो सहकारी संघमा राजनीतिभन्दा पनि काम गरेका छौँ । विभिन्न किसिमका तालिम, जनचेतनामूलक गोष्ठी गरेर हामीले किसान र सदस्यहरूलाई आयमूलक व्यवसाय गर्न अभिप्ररित गरेका छौँ । जहाँसम्म राजनीतिको कुरा छ यसमा राजनीति गरिएको छैन । नेपाली कांग्रेस, नेकपा जे भए पनि खाने चिया एउटै हो । त्यसकारण व्यवसायमा राजनीति घुसाउनु हुँदैन ।

तपाईंको आफ्नो उद्योगले अहिले कस्तो किसिमको गतिविधि गरिरहेको छ त ?

म केन्द्रीय चिया सहकारी संघको अध्यक्ष भएको नाताले म सबै सहकारी संस्थाहरूको उद्योगी पनि हुँ । सबै सहकारी संस्थाहरूमा आबद्ध सदस्यहरूलाई उद्योगी बन्न प्ररित पनि गरिरहेको छु । मेरो आफ्नै ग्रिलहिल भन्ने संस्था छ । त्यसले आफ्नै नामको चिया उत्पादन गरिरहेको छ । आ–आफ्ना संस्था आफ्नै नामको चिया उत्पादन गरेर काम गरिरहेको अवस्था छ । विभिन्न जिल्लाहरूमा दर्ता भएर खुलेका संस्थारुले आफ्नै ब्राण्डको नाम राखेर काम गरिराखेका छन् । झापा, इलाम, पाचथर, रामेछाप, सिन्धुपाल्चोको, ललितपुरलगायत जिल्लाहरूमा खुलेका सहकारीहरूले आ–आफ्नै किसिमका नाम राखेर कारोबार गरिरहेका छन् । केन्द्रीय चिया सहकारीको भनाइ के हो भने नेपालभरमा सहकारी संस्थाबाट उत्पादित चियाको नाम केन्द्रीय को–अपरेटिभ राखौँ भन्ने हो ।

यही नामबाट नै आयत र निर्यात गनुपर्छ भन्ने मान्यता बोकेका छौँ । सहकारीको माध्यमबाट नै उद्योग दर्ता गर्न पाए हुन्थ्यो कि भन्ने अभिलाषा पनि राखियो तर उद्योग विभागले यसमा हामीलाई सहयोग गरेन र बिचाराधीन अवस्थामा रहेको छ । को–अपरेटिभमार्फत उत्पादन भएको वस्तु उसकै नामबाट बजारमा जाओस् भन्ने हाम्रो उद्देश्य रहेको थियो । अरु मुलुकमा यस्तो गरिएको भए पनि नेपालमा हुन दिइएको छैन । नेपाल सरकारले यो विषयलाई किन बुझ्न सकिरहेको छैन । हामीले पनि मेसो पाउन सकिरहेका छैनौँ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया