Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘श्रोत साधनको उच्चतम प्रयोग विकास निर्माणको महत्वपूर्ण आधार हो’

‘श्रोत साधनको उच्चतम प्रयोग विकास निर्माणको महत्वपूर्ण आधार हो’

मनिश क्षेत्री, लेखा अधिकृत, रुरुक्षेत्र गाउँपालिका गुल्मी


मनिश पाण्डे क्षेत्री रुरुक्षेत्र गाउँपालिका गुल्मीका लेखा अधिकृत हुन । २०७६ साल देखि अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरेका क्षेत्री निजामती सेवामा नियुक्ति भएदेखि रुरुक्षेत्र गाउँपालिकामा आर्थिक प्रशासन शाखा प्रमुखको रुपमा कार्यरत छन् । उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग दु्रत विकासको मुख्य आधार भएको बताउने क्षेत्री उत्पादनसँग जोडिएर योजना निर्माण गर्नु पर्ने धारणा व्यक्त गर्दछन् । नेतृत्व वर्ग विकासप्रति दृढ ईच्छा शक्ति र दीर्घकालिन सोचका साथ चल्न सके समृद्धिको सपना छिट्टै पुरा हुन सक्ने कुरामा जोड दिने क्षेत्रीसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

रुरुक्षेत्र गाउँपालिकामा विकासको अवस्था कस्तो छ ?

रुरुक्षेत्र गाउँपालिका गुल्मी जिल्लाको प्रवेश द्वार समेत भएको हुनाले विकासका पूर्वाधार निर्माणको काम धेरै पहिले देखि नै सुरू भएको हो । विशेष गरि शिक्षा, स्वास्थ्य, यातायात पूर्वाधार, विद्युतीकरणको अवस्था पहिले देखि नै राम्रो थियो हाल स्थानीय तह कार्यान्वयनमा आईसकेपछि खानेपानीको र कृषि क्षेत्रमा ठूलो प्रगति भएको छ । समग्रमा हाल यस गाउँपालिकाको विकासको अवस्था उत्तम मान्न सकिन्छ ।

संघीयता कार्यान्वयनको चौथो बर्ष वितिसकेको छ, यो अवधीमा विकास निर्माणको क्षेत्रमा के कति प्रगति भएको छ ?

देश संघीय संरचनामा गईसके पछि त्यसको कार्यान्वयनको पाटो असाध्यै चुनौतिपूर्ण नै देखिन्छ । तर पनि यस गाउँपालिकाले आफ्नो स्रोत र साधनको उच्चतम प्रयोग गर्दै विकास निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । गाउँपालिका भित्रका सबै टोलहरुमा सडक संजाल पुगेको छ । गाउँपालिकाको धेरै भु–भाग पहाडी क्षेत्र पर्ने भएकोले पहिले खानेपानीको समस्या धेरै नै थियो तर हाल ९० प्रतिशत भन्दा बढी जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । कृषि उत्पादनको उत्पादकत्त्व बढाउन र कृषिको व्यवसायीकिकरण, यान्त्रिकरण, बजारीकरण गर्न कृषि ब्लक तथा पकेट क्षेत्रको विकास र बिस्तार गर्ने, कृषकको ज्ञान, सिप र क्षमता अभिवृद्धी गर्ने, कृषि प्राविधिकको सहज उपलब्धता, कृषकलाई उन्नत जातका बिउ, बिरुवा मल र औषधिको वितरण लगायतका कृषि क्षेत्रसँग सम्बन्धित कामहरु भएका छन् ।

गत आर्थिक बर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

गत आर्थिक बर्षमा चालु तर्फ ८४.१२ प्रतिशत र पूँजीगत तर्फ ६१.३३ प्रतिशत खर्च प्रगति रहेको छ । कुल बजेटको ७४.४९ प्रतिशत खर्च प्रगति भयो । समग्रमा गाउँपालिकाको खर्चको अवस्था सन्तोसजनक नै रह्यो ।

के कारणले पूर्ण रुपमा पुँजीगत बजेट खर्च हुन सकेन ?

गत आर्थिक बर्षमा गाउँपालिकाको बहुवर्षीय योजनाहरु गाउँपालिकाको प्रशासकीय भवन निर्माण योजना, ६०० मे.ट. क्षमताको कोल्ड स्टोर निर्माण योजना र १५ बेडको अस्पताल निर्माण योजनाको जग्गा प्राप्ति, डि.पि.आर. निर्माण, टेन्डर आह्वान र सम्झौता लगायतका कार्यहरू नै भए जसकारण वित्तिय प्रगति कम देखिएको हो ।

त्यस्तै कोभिड १९ महामारीको दोस्रो लहर सुरु भई बैशाखको मध्यबाट जारी बन्दाबन्दीको कारण निर्माण सामाग्री र श्रमिकको अभावले गर्दा केही योजनाहरूको निर्माण कार्य प्रभावित हुन जाँदा समयमै योजना सम्पन्न हुन सकेनन् । निर्माणका कार्यहरूमा जग्गा प्राप्तिको समस्या, खरिद विधि र प्रकृयामा नै बढि समय लाग्ने तथा ठेकेदारको ढिला सुस्ति जस्ता समस्या राष्ट्रव्यापी समस्या हुन् । ई– बिडिङ्ग मार्फत हुने खरिद प्रकृयाले निर्माण कार्य र वस्तु तथा सामानको खरिद कार्य प्रतिस्पर्धी भई लागत अनुमान भन्दा धेरै कममा खरिद हुने गरेको छ जसले गर्दा ठूलो रकम बचत भएको हो ।

चालु आर्थिक बर्षको बजेटको संरचना कस्तो छ ?

यस आ.व.मा गाउँपालिकाले ५० करोड ७६ लाखको सुरु आय र व्ययको अनुमान पारित गरेको छ । जसलाई आर्थक विकासको क्षेत्रमा कुल बजेटको १०.१ प्रतिशत, सामाजिक विकास तर्फ ५१.१ प्रतिशत, पूर्वाधार विकासको क्षेत्रमा २३.४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १.४ प्रतिशत र प्रशासनिक तथा कार्यालय व्यवस्थापन तर्फ १४ प्रतिशत बाँडफाँड गरिएको छ ।

पुर्तीका श्रोतहरु के के हुन ?

गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडको रकम, समानीकरण अनुदान, ससर्त अनुदान, विषेश अनुदान र समपूरक अनुदानका साथै स्थानीय तहको अधिकार सुची अन्तर्गतका श्रोतबाट प्राप्त कर तथा गैरकर राजश्व र गाउँपालिकाले विभिन्न साझा अधिकार सुची अन्तर्गतका विषयमा कर लगाई उठाएको राजश्वबाट बाँडफाँड गरि प्राप्त रकम नै स्रोत पुर्तीका प्रमुख आधारहरू हुन् ।

कुन क्षेत्रमा कति योजना कार्यान्वयनमा आएका छन् र कुन क्षेत्रका योजनाहरुलाई विशेष प्रथामिकतामा परेका छन् ?

यातायातको क्षेत्रमा ४५ कि.मी. भन्दा बढी कच्चि सडक, २५ कि.मी. सडकको स्तर विकास र ५५० मिटर पक्की सडक निर्माण भई सबै वडामा बाह्रै महिना गाडी चल्न सक्ने सडक निर्माण भएको छ । छम्दि खोलामा स्टिल ट्रस्ट पुल निर्माण सम्पन्न भएको छ । भवन निर्माण तर्फ ४ वटा वडामा आफ्नै कार्यालय भवन बनेका छन् । त्यस्तै वाँकी २ वडामा समेत यस वर्ष वडा कार्यालय भवन निर्माण गर्ने गरि काम भईरहेको छ । ६ करोड ३२ लाखको लागतमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य भईरहेको छ । स्वस्थ्य क्षेत्रमा ५ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न र वाँकी एक वडामा निर्माण भईरहेको छ ।

रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा अत्याधुनिक ट्रमा युनिटको स्थापना गरिएको छ । रिडीमा १४ करोड २४ लाखको लागतमा १५ सैयाको अस्पताल निर्माणको चरणमा रहेको छ । गाउँपालिकामा २ वटा आयुर्वेद औषधालयहरुले समेत सेवा दिईरहेका छन् । शिक्षा क्षेत्रमा विद्यालय संरचना निर्माण, पुस्तकालय, आईसिटि ल्याव संचालन, कृषि प्राविधिक शिक्षा, विषेश क्षमता भएका विद्यार्थीहरूलाई शिक्षा, अटिजम भएका बालबालिकालाई शिक्षा, विद्यालय बस संचालन लगायतका कार्यहरू भएका छन् । नमुना मा.वि. क्षेत्र विकास कार्यक्रम अन्तर्गत जनवोध मा.वि. को १ करोड ५० लाखको लागतमा भवन निर्माण र विद्यालय प्रङ्गणमा टायल विच्छाउने कार्य भईरहेको छ ।

खानेपानीको क्षेत्रमा १ घर १ धारा कार्यक्रमले गाउँपालीकको करिव ९० प्रतिशत घरपरिवारमा खानेपानीको पहुँच पुगेको छ । बलेटक्सार लि.खानेपानी योजना, मिनामपोखरा लि.खानेपानी योजना, जरुवा खोल्सा मच्देउ खानेपानी योजना, धाराखोला लि.खाने पानी योजना लगायतका खानेपानी योजना निर्माण भएका छन् । कृषिको क्षेत्रमा अमराई सिचाई योजना, वेसिका चौर सिचाँई योजना, काउले खोला डुम्री खर्क सिचाई योजना, बोहा फाँट सिचाँई योजना लगायतका योजना निर्माण भएका छन् । रिडीमा ४ करोड १३ लाखको लागतमा कोल्ड स्टोर निर्माणको चरणमा रहेको छ । बलेटक्सारमा कृषि बजार पूर्वाधार निर्माण सम्पन्न हुने चरणमा छ । वडाहरुमा कृषि उपज संकलन केन्द्र निर्माण भएका छन् ।

खेलकुद तर्फ १ करोड ५ लाखको लागतमा घिउबेसी खेल मैदान निर्माण भएको छ । बलेटक्सारमा ३५ लाखको लागतमा सुविधा सम्पन्न ब्याडमिन्टन कभर्ड हल निर्माण भएको छ । वडाहरूमा भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट निर्माण भएका छन् । औधोगिक ग्राम संचालनको लागि जग्गा छनौट भई निर्माण हुने चरणमा रहेको छ । पर्यटन पूर्वाधार तर्फ रिडीमा देवदत्त पार्क निर्माण, सुगन्ध विहार अतिथी गृह, श्रृङ्गेश्वर ऋषीको शालिक निर्माण, वम्घा कोट संरक्षण लगायतका कार्यहरू भएका छन् । बजारक्षेत्रको फोहोरमैला व्यवस्थापनको लागि बलेटक्सार र रिडीमा १ करोड ६६ लाखको लागतमा डम्पिङ्ग साईट निर्माण र ट्रयाक्टर खरिद गर्ने काम भईरेहेको छ । गाउँपालिकाले सबैक्षेत्रका योजनालाई उत्तिकै प्राथमिकतामा राखेको छ । खासगरि खानेपानी र कृषी क्षेत्र सँग सम्बन्धित योजनालाई तुलनात्मक रुपमा केही बढी महत्त्व दिएको छ । हाल खानेपानीको समस्या धेरै नै समाधान भईसकेको छ ।

गाउँपालिकाको गौरव बढाउने खालका योजनाहरु छन् कि छैनन् ?

प्रत्येक वडामा कृषि पकेट क्षेत्र निर्माण, ठूला सिंचाई योजना, कृषि बजार पूर्वाधार निर्माण, कोल्ड स्टोर निर्माण, एक घर एक धारा खानेपानी योजना, गाउँपालिका भवन निर्माण योजना, बलेटक्सार–रानीवास–चौतारा रिङरोड कालोपत्रे योजना, १५ सैयाको अस्पताल निर्माण योजना, घिउबेशी खेलमैदान निर्माण योजना, सम्पूर्ण वडामा वडा कार्यालय भवन तथा स्वस्थ्य चौकी भवन निर्माण योजना, औधोगिक ग्राम लगायत गाउँपालिको दिर्घकालिन महत्त्वका योजनाहरू सबै गाउँपालिकाको गौरव बढाउने योजनाहरु हुन् ।

आर्थिक रुपमा गाउँपालिकालाई सवल बनाउने आधारहरु के के छन् ?

विकासको औचित्य तब मात्र पुष्टि हुन्छ जब त्यहाँका जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हुन्छ । त्यसैले जनताको आर्थिक उन्नति र प्रगतिलाई केन्द्रमा राखेर विकासका कार्यहरु हुनु पर्छ । आर्थिक समृद्धि हासिल गर्न विकासलाई उत्पादनका क्षेत्रमा जोड्ने र ठूलो मात्रामा रोजगारी सृजना गर्ने कार्य धेरै नै चुनौतिपूर्ण हुन्छ । सरकारले ठूलो मात्रमा रोजगारी सृजना हुने क्षेत्रहरु जस्तो ठूला कृषी परियोजना संचालन, कृषी जन्य उद्योग निर्माण, खानिज पदार्थको संभाव्यता अध्ययन र उत्खनन्, कृषि उपजको बजारिकरण, पर्यटकीय क्षेत्रको विकास र विस्तार, जडिबुटी लगायतका प्राकृतिक स्रोतहरूको खोज र उपयोग, हाम्रा परम्परागत ज्ञान, सिप, कला तथा पेशा–व्यवसायलाई उद्योगको रुपमा विकास गर्न सक्यो भने समग्र गाउँपालिकाको आर्थिक पक्षलाई सबल वनाउन सकिन्छ ।

गाउँपालिकाका मुख्य आम्दानीका श्रोतहरु के के हुन र श्रोत बृद्धिका लागि कस्तो रणनीति अवलम्बन भएको छ ?

नदिजन्य पदार्थ बिक्रिबाट प्राप्त राजश्व, रिडीको घाट दाउराबाट हुने आम्दानी, मालपोत, व्यवसाय दर्ता शुल्क तथा कर, सिफारिस दस्तुर, घर वहाल तथा सम्पत्ति वहाल वापतको कर, कवाडी बिक्रि बाट प्राप्त आय लगायतका स्रोतहरुबाट प्राप्त आम्दानी गाउँपालिकाको आम्दानीका प्रमुख स्रोतहरू हुन् । गाउँपालिकाले आन्तरिक आम्दानी बढाउन आम्दानीका स्रोतहरूको पहिचान गरि करका दायराहरू बढाएको छ । विभिन्न समयमा घुम्ति शिविरहरु संचालन गरि राजश्व संकलन गर्ने, लगत प्रणालिलाई व्यवस्थित गर्ने, बजार अनुगमन गरि करको दायरामा ल्याउने, कर सम्बन्धि विभिन्न माध्यमबाट सुचना प्रसारण गर्ने कार्यहरु गरेको छ । त्यसैगरि यस बर्ष उद्योग वाणिज्य संघ सँगको समन्वयमा करदाता शिक्षा संचालन गर्ने कार्यक्रम रहेको छ ।

बार्षिक आन्तरिक आम्दानी कति हुन्छ ?

गाउँपालिकाको बार्षिक आन्तरिक आम्दानी ९० लाख देखि १ करोडको विचमा हुने गरेको छ ।

गाउँपालिकामा सु–शासको अवस्था कस्तो छ ?

गाउँपालिकामा सु–शासनको अवस्था राम्रो छ । जनप्रतिनिधिहरुले विकास निर्माणका कार्यहरूमा नेतृत्त्वदायी भुमिका निर्वाह गर्नुभएको छ, जसले गर्दा जनताप्रति जवाफदेही, उत्तरदायी र जिम्मेवार बनाएको छ । योजना छनौट स्थानीय आवश्यकता र प्राथमिकताको आधारमा हुने गरेको छ । कार्यालयहरुले दिने सेवा छिटो छरितो र विश्वसनीय तुल्याउन सुचना प्रविधिको प्रयोग, नियमित अनुगमन, घटना दर्ता सिविर, व्यवसाय दर्ता सिविर, सामाजिक सुरक्षा भत्तालाई बैङ्कीङ् प्रणालि मार्फत वितरण लगायतका कार्यहरू भएका छन् । खरिद प्रकृयालाई प्रतिस्पर्धी बनाउन ई–विडिंङ्ग मार्फत खरिद कार्य गरिएको छ ।

गाउँपालिका कार्यालय, वडा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा विद्युतिय हाजिरी प्रणालीको व्यवस्था गरि कर्मचारीको उपस्थितिलाई नियमित बनाईएको छ । कार्यालयमा सिसि टि.भि. क्यामराको जडान गरि कर्मचारीको कामको कार्यालय प्रमुखबाट नियमनको व्यवस्था गरिएको छ । यस आ.व.मा योजना व्यवस्थापन प्रणालि र मालपोत तथा आन्तरिक राजश्व व्यव्थापन प्रणालि जडान गरि योजना संझौता तथा राजश्व संकलन लगायतका कार्यहरुलाई व्यवस्थित बनाउने कार्य भईरहेको छ ।

व्यवसायीक कृषिको अवस्था कस्तो छ र कृषि क्षेत्रमा युवा आकर्षणका कुनै योजनाहरु कार्यान्वयनमा आएका छन् ?

गाउँपालिका भित्र पकेट क्षेत्रको विकास गरि व्यवसायीक कृषि तथा पशुपालन भएको छ । वडा न. ३ र ४ मा व्यवसायिक ऊँखु खेती भएको छ । त्यसबाट खुदो तथा गुँड बनाई बार्षिक २ करोड भन्दा बढीको खुदो र गुँड निर्यात हुने गरेको छ । वडा नं. ५ मा व्यवसायीक भैसी तथा गाई पालन गरि वर्षेनी २ करोड बराबरको दुध निर्यात हुने गरेको छ । त्यस्तै तरकारीको व्यवसायीक खेतिबाट वडा नं. ५ र ६ मा बर्षेनी १ करोड भन्दा बढिको आम्दानी हुने गरेको छ । बाख्रा पालन व्यवसायबाट वडा नं. २ र १ मा बर्षेनी १ करोड भन्दा बढिको आय आर्जन भएको छ । कफी खेति गुल्मी जिल्लाको पहिचानसँग जोडिएको छ ।

यस्तै यस गाउँपालिकामा कफीको व्यवसायीक खेति गरिएको छ । गाउँपालिकामा कफी अनुसन्धान केन्द्र र कफी प्रसोधन केन्द्र रहेका छन् । जसले गर्दा कफीको व्यवसायीक विकासमा महत्त्वपूर्ण टेवा पुगेको छ । सुन्तला, लिची, कागती, केरा लगायतका फलफुलको व्यवसायीक खेति हुने गरेको छ । त्यसबाट लाखौँको आम्दानी भएको छ । व्यवसायीक रुपमा कुखुरा पालन, कालिज पालन, माछा पालन, बंगुर पालन लगायतका कृषी र पशुपालनको क्षेत्रमा गाउँपालिकाले उल्लेख्य उपलब्धि हाँसिल गरेको छ ।

पहाडी क्षेत्रको विकासमा धेरै चुनौती तथा समस्याहरुसँग लड्नु पर्छ, त्यसको कारण के हुन सक्छ ?

पहाडि भुगोलमा विकास निर्माणका कार्य गर्न कठिन र धेरै खर्चिलो हुन्छ । अर्को चुनैती भनेको पहाडि क्षेत्रमा बस्ति छरिएर रहेको हुन्छ, जसले गर्दा थोरै जनसंख्याको लागि ठूलो रकम खर्च गर्नु पर्ने हुन्छ । वर्षायाममा पहिरोको समस्याले पूर्वाधारमा क्षति पुग्न गई धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । कहिले काँही विकासका कार्यहरुले जमिन र बस्तिहरुनै जोखिममा पर्ने र क्षति समेत हुने गरेको छ । एकिकृत बस्ति विकास, मजबुत संरचनाको निर्माण, दिगो र पर्यावरणमैत्री विकासले जोखिमलाई न्युनिकरण गर्न सकिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया