Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘जनताको माग अनुसार नै मैले फेरि पालिका अध्यक्षमा उम्मेदवारी दिएको हुँ’ : छवी लामा (अन्तर्वार्ता)

‘जनताको माग अनुसार नै मैले फेरि पालिका अध्यक्षमा उम्मेदवारी दिएको हुँ’ : छवी लामा (अन्तर्वार्ता)

निवर्तमान अध्यक्ष एवम् अध्यक्षका उम्मेद्वार वैतेश्वर गाउँपालिका


जिल्लाको बैतेश्वर गाउँपालिका पूर्वाधार बिकासमा तिव्र रुपले अगाडी बढिरहेको छ । गाउँपालिकामा संघियता कार्यन्वयन पछिको पहिलो निर्वाचित जनप्रतिनिधिहरु आएपछि पाँच वर्षमा पालिकाको मुख्य प्रशासनिक भवन देखी आठ वटै वडाको कार्यालय भवन निर्माण सम्पन्न गरेको छ भने आफ्नै रकमबाट ९ किलोमीटर सडक कालोपत्रे र ८ किलोमीटर पक्की गोरेटो बाटो निर्माण समेत सम्पन्न गरेको छ । साथै खानेपानीका धारा ८० प्रतिशत स्थानियहरुको घरघरमा पुगेका छन् । कृषिमा आधुनिकिरणको प्रयास गरिएको छ । पहिलो पाँच वर्षमा यस गाउँपालिकामा विकासको जग बसाउन सफल भएका गाउँपालिका अध्यक्ष छवि लामा फेरि गाउँपालिकाको अध्यक्ष बन्ने दौडमा उत्रेका छन् । नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका लामालाई नेपाली कांग्रेसले फेरि गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाएको छ । प्रस्तुत छ, विगतमा गाउँपालिकामा भएका विकास र आगामी योजनाका बारेमा सुबास बस्नेतले गाउँपालिका निवर्तमान अध्यक्ष एवं आगामी निर्वाचनका उम्मेदवार छवि लामा संग गरेको कुराकानीको सम्पादित अशं :

वैतेत्यश्वर गाउँपालिकाको तपाईँ पहिलो अध्यक्ष हुनुहुन्छ, तपाई निर्वाचित हुनु भन्दा अगाडी र अहिले पालिकाभित्र कत्तिको परिवर्तन देख्नुहुन्छ ?

वैतेश्वर गाउँपालिका साविकको क्षत्रपा, नाम्दु, काब्रे, गैरीमुदी र मिर्गे गाविस मिलेर बनेको छ । ८ वटामा विभाजित भएको यस गाउँपालिमा हामी निर्वाचित भएर आउँदा कुनै पनि वडामा वडा कार्यलय भवन थिएनन् । सुरुको वर्षमा हामीले भाडाको घरमा अस्थायी कार्यालय राखेर नागरिकलाई सेवा दिन सुरु गरेका थियौ । अहिले पालिकाले पक्की साढे दुई तलाको भवन निर्माणगरि स्थायी केन्द्र बाटै सेवा दिदै आएको छ । हामीले पहिलो गाउँसभा त अहिले पालिका केन्द्र रहेको पाँडुडाडा त्यतिबेला खुल्ला चौर थियो, त्यही गरेका थियो । त्यस्तो अवस्थाबाट हामी अहिले प्रत्येक वडामा व्यवस्थित वडा कार्यलय, सुविधासम्पन्न पालिकाको प्रशासनिक कार्यलय भएको अवस्थामा पुगेका छौ । गाउँपालिका कार्यालयदेखि प्रत्येक वडामा सडक सञ्जालमा जोडिएका छन् । वडाहरुमा हामी निर्वाचित भएर आउनु अघि न्यूनतम आधारभूतका विकासका काम पनि भएका थिएनन् । वडा वडा जोड्ने सडक, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्र दयनीय अवस्थामा थिए । अहिले वडा वडामा एक एक पहिचान खुल्ने संरचना निर्माणको थालनी भएको छ । हामी निर्वाचित हुनुअघि र अहिलेको तुलना गर्न आकाश जमिनको फरक छ ।

पालिकामा विकासको प्रत्यभूति दिने गरी के कति योजना सम्पन्न भएका छन् ?

स्थानीय सरकाले पाएको पहिलो महत्वपूर्ण कानुन बनाउने काम सम्पन्न गरी कार्यान्वयनमा ल्याउन सफल भयौं ।

विकासको पूर्वाधारको रुपमा रहेका सडकहरु करिब ३५ करोड लगानीमा ट्रयाक खोलिएका छन् । २६ किलोमिटर लामो सडकको ट्रयाक खोल्ने काम पुरा गरेर सो सडकलाई गाउँपालिका ओहोरदोहोर गर्ने मुख्य राजमार्गको रूपमा हिउद–बर्खा चल्नेगरि बिकास स्तरोन्नति गरिएको छ ।

सबै वडामा समान हिसाबले पहुँच पु–याउन छोटा र लामा गरी ७९ वटा सडक ट्रयाकहरु खोलेका छौँ । पाँच वर्षमा कालोपत्रे गर्ने सोचका साथ केही सडकहरु कालोपत्रे÷ढलान गर्ने कामले गति लिएको छ । चालु वर्ष भित्र ९ किलोमीटर सडक कालोपत्रे सकिने छ । प्रत्येक वडामा यातायात सञ्चालन भएका छन् ।

‘गुणस्तरीय शिक्षा सबैको साथ, वैतेश्वरको विकास’ भन्ने नाराका साथ शिक्षालाई प्राथमिकता दिएर सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन लागी गाउँपालिकाले विषयगत शिक्षक उपलब्ध गराएको छ । विद्यार्थीलाई पठनपाठनमा रुची दिलाउन छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । शिशु कक्षादेखि १० कक्षासम्म निःशुल्क विद्यालय पोसाक प्रदान गरिएको छ ।
हनुमन्तेश्वर माविमा ९–१२ प्राविधिक धार ईन्जिनियरिङ विषयको पढाई भइरहेकै छ । हनुमन्तेश्वर र क्षत्रावती मावि विद्यालयलाई नमुना विद्यालय बनाउन गाउँपालिका सफल भएका छौँ ।

चुनावी घोषणापत्रमा उल्लेख भएका प्रतिवद्धता कति पूरा भए त ?
हामीले निर्वाचनका बेला बनाएको चुनावी घोषणापत्रमा उल्लेख भए अनुसार नै काम गर्न सुरु गरेका थियो, सोही अनुसार काम पनि धेरै पुरा भएका छन् । पालिकावासीलाई हामीले गर्न नसक्ने र नहुने सपना बाँडेका थिएनौ, गर्न सक्ने काम नै गर्छौ भनेका थियो । हामीले गर्छौ भनेका कामहरु करिब ८० प्रतिशत जति पुरा गरेको छौँ ।

केही बाँकी छन् ती पनि विस्तारै पुरा हुने अवस्थामा छन् । मतदातालाई दिएको आश्वासन, विश्वास तल माथि नहुनेगरि काम गरेको छु । चुनावको अगाडि एउटा पार्टीको झन्डा बोकेर निर्वाचित भएको भएपनि ५ वर्षको अवधीमा मैले कोहि कसैमाथी विभेद नगरी समान व्यवहार गरेर काम गरेको छु । समग्र पालिकालाई समृद्ध बनाउने आधार तयार पारेर काम शुरु गरेको थिए ।

अहिले पालिकावासीलाई शतप्रतिशत विद्युत्को पहुँचमा पु¥याउन सफल भएको छु । गाउँघरका काठका पोल फेरिएका छन् ।

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन, वन वातावरण, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, खेलकुद, गोरेटो बाटो निर्माण लगायतका पूर्वाधार लगायतमा विशेष ध्यान दिएर काम गरेको छु ।

भौतिक पूर्वाधारमा नै बढी महत्व दिनु भएको देखिन्छ । अरु क्षेत्र ओझेलमा त परेका छैनन् ?
कुनै पनि क्षेत्रहरु ओझेलमा परेका छैनन् । भौगोलिक विकटता भएका गाउँमा भौतिक पूर्वाधार समृद्धिको पहिलो खुटकिलो हुँदो रहेछ ।

सडक, बिजुली, सिँचाइ, सञ्चार, पिउनेपानी, हिढ्ने बाटो, खेलकुद लगायतमा जहाँ सुविधा र विकास हुँदैन त्यहाँ समृद्धि हुँदैन । तरपनि हामीले भौतिक पूर्वाधारलाई मात्र ध्यान नदि सबै क्षेत्रको आवस्यकतालाई मनन गरेर काम गरेका छौँ । पालिकावासीको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमा सुधार ल्याउन उत्तिकै ध्यान दिएर काम गरेका छौँ ।

कृषि तथा पशुपालनबाट आयआर्जन दिलाउन कृषि सङकलन र चिस्यान केन्द्र ठाउँ–ठाउँमा निर्माण गरेको छौँ । कृषिलाई प्राथमिकतामा राखेर किसानलाई उन्नत जातको बिउ, हाते ट्रयाक्टर, बोयर जातका बोका, फौजी नियन्त्रणमा समेत पालिका किसानलाई सहयोग गर्दै आएका छौँ ।

स्वास्थ्य चौकीबाट टाडा रहेकाहरुलाई पायक पर्ने ठाउँमा स्वास्थ्य इकाई स्थापना गरेर तत्कालीन उपचारको व्यवस्था मिलाईएको छ । गाउँपालिकाले नै १५ शैय्याको वैतेश्वर अस्पताल सञ्चालन गरेको छ । यहाँबाटै दाँत र आँखाको पनि उपचार हुने व्यवस्था मिलाइएको छ । शैय्या थप गर्न अहिले बैतेश्वर अस्पतालको थप भवन निर्माणधिन अवस्थामा छ । बालबालिका, महिला, ज्येष्ठजन र अपाङ व्यक्तिलाई समेत ध्यानमा राखेर विभिन्न कार्यक्रम संचालन गरेको छौँ । हामी समग्र पालिका भित्रको सबै क्षेत्रको विकासमा समान जोड दिएका छौँ ।

आवश्यक कानुन निर्माण गरेर कार्यान्वयन गर्ने सम्पूर्ण अधिकार पालिकालाई छ, कानुन निर्माणमा समस्या भए कि ?

केही कानुन निर्माण गरी कार्यान्वयन भएका छन् । अझै केही कानुन निर्माण गर्न बाँकी छन् । स्थानीय जनप्रतिनिधिको बहुमत सहभागितामा निर्मित कानुन पालिकाको साझा दस्तावेज भएकाले सबैले त्यसको अपनत्व स्विकारेका छन् ।

हामीले निर्माण गरिएका कानुन निर्माण र कार्यन्वयनमा खासै समस्या देखिएका छैनन् । यदपी स्थानिय तहलाई माथिल्लो सरकारले धेरै संकुचित रहेको छ । स्थानिय तहको दायरा अझै फराकिलो बनाउनुपर्छ भन्ने लाग्छ ।

योजना छनौट तथा कार्यान्वयनमा कतिको विवाद देखिए त ?
योजना छनौट तथा कार्यान्वयनमा पनि हामीले पालिकावासीको सहभागितालाई मुख्य ध्यान दिएका थियौ । पालिकावासीसँग छलफल र अनुगमन गरेर मात्र स्थानीयको आवश्यकता अनुसार योजना छनौट गर्ने गरेका थियौं । वडाले पालिकामा ल्याएका योजनालाई बजेट वितरण गर्नु पुर्व पालिकाका जनप्रतिनिधि सहित प्राविधिकलाई अनुगमनमा पठाएर मात्र वितरण गर्ने गरेकाले खासै विवाद आएनन् । योजना कार्यान्वयमा पनि पालिकावासीको महत्वपूर्ण भूमिका रह्यो ।

प्रदेश र सङघीय सरकारसँगको सहकार्य कस्तो रह्यो त ?

सङघीय सरकारले वित्तीयमा समानीकरण, सशर्त, विशेष अनुदान बजेट मात्र प्रदान गर्ने गरेको थियोे । त्यसो, हँदा खासै सहकार्य हुन सकेन । प्रदेशले पनि झन्डै उस्तै बजेट विनियोजन गर्ने भएकाले दोहोरोपन आउन सकेन । प्रदेशले सानातिना योजना पनि परिचालन गर्ने गरेकाले पालिकामा केही समस्या देखिए तर मैले त्यसलाई स्वभाविक रूपमा लिए ।

पाँच वर्ष स्थानिय सरकार चलाएर पनि फेरि उम्मेदवारी दिनु भएछ नि ?

अघिल्लो पालामा सुरु गरेका दर्जनौं महत्त्वपूर्ण केही योजना समय र बजेट अभावले अधुरै छन् । ति योजना पुरा गरेर बैतेश्वरलाई नमूना पालिका बनाउन जनताको माग भए अनुसार नै मैले फेरि पालिका अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

मेरो पार्टी नेपाली कांग्रेसले पनि जनचाहाना अनुसार नै मलाई फेरि पालिका अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेर मलाई अगाडी बढायो । सबै साथीभाईहरुको साथ सहयोगले नै फेरि अध्यक्षको उम्मेद्वार बनेको हुँ ।

यस अघिको कार्यकालमा सुरु गरेका योजना केके बाकी छन्, पुरा हुन ?
गाउँपालिकाले सुरु गरेको सडक कालोपत्रे अभियान अनुसार अझै करिब ३७ किलोमीटर कालोपत्रे गर्न बाकी छ ।

ग्रामीण क्षेत्रका एक गाउँ र अर्को गाउँ जोड्ने गोरेटो बाटो निर्माण तथा स्तरोन्नतिको काम पनि ८ किलोमीटर मात्र पुरा भएको छ । एक घर एक धारा कार्यक्रम ७० प्रतिशत मात्र सम्पन्न भएको छ । अझै ३० प्रतिशत पुरा गर्न बाकी छ । त्यसैगरी कृषि, स्वस्थ्य, शिक्षा र खानेपानी थालनी गरेका अधुरा काम पुरा गर्न पुनः पालिकामा आफ्नो आवस्यकता ठानेर र जनताले चाहाना अनुसार उम्मेदवारी दिएको हुँ ।

जितेपछिका आगामी योजनाहरु चाँही के के छन् त ?

फेरि निर्वाचित भएमा पहिलो काम भनेको अधुरा कामलाई पुरा गर्ने नै हुन्छ । त्यसपछि शिक्षामा हामीले सोचेजति अझै विकास गर्न सकिरहेका छैनौ । प्रत्येक विद्यालयमा विज्ञ टोली पठाएर त्यहाँको विस्तृत अध्ययन गरि प्रतिवेदन तयार पारेर सोही अनुसार व्यवस्थापन गर्ने उदेश्य छ । सामुदायिक विद्यालयमा नै कम्यूटर शिक्षा, आवश्यक ल्याव, प्राविधिक शिक्षाको पहुँच बनाउन सकेमा आम नागरिकका सन्तानले सहजै गुणस्तरीय शिक्षा पाउँछन्, त्यतातिर विशेष ध्यान जाने छ ।

यहाँको भुमी उर्वर छ । धेरै किसानहरुलाई व्यवसायिक कृषितिर आकर्षण गरि बेरोजगारी समस्याको उन्मुलन गर्नु छ । जमिन बाँझो छ, युवा विदेशमा छन् । अब बाँझो जमिनमा आवश्यक सिंचाईको उपलब्ध गराएर युवाहरुलाई गाँउघरमा नै कषिमा प्रेरित गर्न विभिन्न अनुदान कार्यक्रम गर्ने सोच छ । साथै कृषकले उत्पादन गरेका सामाग्रीहरु पालिकाले नै जम्मा गरेर नजिकैको बजारहरु मैनापोखरी, तामाकोशी, जिरि, चरिकोट, काठमाडौसम्म पु¥याउने व्यवस्था गर्ने सोच छ । अवको मुख्य फोकस भनेको पुर्वाधार विकाससंगै बेरोजगारी अन्त्यतिर हुनेछ । जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने, प्रत्येक वडा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण गर्ने योजना छ ।

चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ त ? गत निर्वाचनमा त माओवादीसंग गठबन्धन थियो, अहिले त छैन ?

चुनाव नजित्ने भन्ने कुरै छैन । चुनाव जितिन्छ, गत निर्वाचनमा हामीले नेकपा माओवादी केन्द्रसंग तालमेल गरेका थियौ । हामीले यसपटक केन्द्रिय निर्देशन अनुसार माओवादीलाई पनि साथमा नै लान खोजेका पनि थियौँ तर साथीहरुले एक्लै हिड्न रहर गरे, हामीले पनि हुन्छ भन्यौ । गत निर्वाचनमा प्रमुख र ४ वटा वडा मात्रै हामीले जितेका थियौँ, अव प्रमुख उपप्रमुख सहित ८ वटै वडा जित्छौ ।


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको प्रतिक्रिया