Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘चार लाख मानिसले मेलाको अवलोकन गर्ने अपेक्षा छ’

‘चार लाख मानिसले मेलाको अवलोकन गर्ने अपेक्षा छ’


गत शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेक मेलाको २६औं संस्करण भृकुटीमण्डपमा जारी छ । बुधबारसम्म सञ्चालन हुने मेलामा चार लाख मानिसले अवलोकन गर्नसक्ने अनुमान आयोजकको रहेको छ । हरेक वर्ष क्यानले यस्तो मेला आयोजना गर्दै आएको छ । क्यानले सातवटा प्रदेशसहित संघीय राजधानी काठमाडौँ र नेपालगञ्जमा गरी यो वर्ष नौवटा मेला आयोजना हुने भएको छ । केही प्रदेशमा यस्ता मेला सम्पन्न भइसकेको पनि छ ।

भृकुटीमण्डपमा जारी मेलामा एक सय ८६ स्टलहरू रहेका छन् । जारी इन्फोटेकमा सामान खरीदबिक्रीभन्दा पनि कम्पनीहरूको प्रडक्ट तथा सर्भिसको ब्रान्डिङमा जोड दिइएको छ । मुख्य हलभित्र रहेको ४० वटा स्टलहरूमा प्राय कम्पनीहरूले आफ्ना नयाँ प्रडक्ट तथा सर्भिसहरू प्रर्दशन गरिरहेका छन् । व्यापारभन्दा पनि सर्वसाधरणले मेलामार्फत डिजिटल प्रविधिबारे बढी जानकारी लिन सक्नेछन् । मेला आयोजना गर्नुको उद्देश्यका बारेमा केन्द्रित रहेर क्यान महासंघका अध्यक्ष कुँवरसँग आर्थिक दैनिकका लागि रामहरी चौंलागाईंले गरेको कुराकानी :

महासंघद्वारा भृकुटीमण्डपमा आयोजित क्यान इन्फोटेक मेलाको रौनक कस्तो चलिरहेको छ ?

क्यान इनफोटेक मेला उत्साहका साथ चलिरहेको छ । विगत वर्षहरूको भन्दा यो वर्ष हामीले डेकोरेसननमा पनि परिवर्तन गरेका छौँ । मेलामा रहेका यहाँभित्रका स्टलहरू पनि भिन्ना–भिन्नै सेक्टरमा रहेको हुनाले अवलोकनकर्ता सबैको आकर्षणको केन्द्र बनेको छ । शुक्रबारदेखि सुरु भएको मेलामा अवलोकनकर्ताहरूले नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी लिइरहेका छन् ।

यसैगरी विद्यार्थीहरूको लागि हामीले प्रवेश शुल्कमा ५० प्रतिशत छुट गरेका छौँ । अरुलाई भने प्रतिव्यक्ति एक सय रूपैयाँ प्रवेश शुल्क तोकेका छौँ । यसअघि काठामाडौँ मात्र मेला आयोजना हुँदै आएकोमा यो वर्षदेखि प्रदेशस्तरमा पनि मेला आयोजना गरिएको छ । क्यान इन्फोटेक मेला अवलोकन गर्न आउने भिजिटरहरूले टिकट काट्ने लामो लाइनमा बस्नुपर्नेछैन । किनभने धेरैले मोबाइल पेमेन्टबाटै टिकट लिन सक्नेछन् । छुटेकाहरूले पनि भित्र छिर्नुअघि किओक्स मेसिनमा नगद राखेर प्रिन्टेट टिकट लिन सक्ने व्यवस्था गरिएको छ ।

मेला अवलोकन गर्न आउनेहरूले पहिलाको भन्दा जारी इन्फोटेकमा के फरक कुराको अनुभूति गर्न सक्नेछन् ?

यो मोलामा हामीले नेपालभित्र प्रविधिमा विकास भएका क्षेत्र इनोभेटिभका क्षेत्रहरूलाई महत्व दिएका छौँ । साथै शिक्षाको क्षेत्रमा नेपाल कति अगाडि छ त सन्दर्भमा इन्जिनियरिङ कलेजहरूलाई पनि मेलामा सहभागी गराइएको छ । नेपालको सूचना प्रविधिको इतिहास हेर्ने हो भने ब्रोडम्यान र साइबर क्षेत्र अगाडि रहेको छ । यो विषयलाई पनि हामीले मेलामा समेटेका छौँ ।

मुलुकलाई डिजिटल इकनोमीसँग जोडेर हेनुपर्ने विषय बाहिर आएका छन् । तर, हाल जारी मेलामा अवलोकनकर्ताहरूको संख्या हेर्दा केही घटेको पाइएको छ नि ?

यसका दई-तीनवटा पक्ष छन् । पहिलो पक्ष भनेको हामी २६औं संस्करणमा आइपुग्दाभन्दा अगाडि २० देखि २२औं संस्करणमा प्रविधिसम्बन्धी जानकारी लिने माध्यम थिएनन् । मुलुकभरि नै एउटा मात्र क्यान इन्फोटेक मेलाको आयोजना त्यो पनि राजधानी काठमाडौँमा मात्रै हुने गरेको थियो । अहिले पछिल्लो समयमा आएर सोसल मिडियाको संख्या पनि बढेका छन् । व्यक्तिगतरूपमा पनि आ–आफूले सोसल मिडिया चलाउन थालेका पनि छन् । त्यसैगरी हामीले पनि यस्ता मेला जिल्ला र प्रदेशस्तरमा पनि आयोजना गर्न थालेका छौँ । यसबाट पनि केही संख्या घटेको हो किजस्तो देखिएको छ । तर, जो यहाँ आउनुभएको उनीहरू प्रडक्टिभहरू नै आउनुभइरहेको छ । अहिले जारी मेलाालाई हामीले विद्यार्थीदेखि नेपाल सरकारका कर्मचारी, व्यापारी र गृहणीहरूलाई समेत उपयागी हुने खालका सूचनामूलक प्रविधहरू राखेकोले पनि मेलाको आकर्षणमा कमी आएको छजस्तो मलाई लाग्दैन ।

मेलाबाट हुने उपलब्धिका बारेमा क्यानले के अपेक्षा गरेको छ ?

मुख्य उपलब्धि भनेको त सूचना प्रविधिबारे पछिल्लो चरणमा भएको विकासको जानकारी दिनु नै रहेको छ । यसअघिको मेलाहरूमा व्यापारलाई पनि फोकस गर्ने गरिन्थयो । अहिले त्यसो नगरेर प्रर्दशनीलाई मात्र प्राथमिकता दिएका छौँ । हाल चल्तीमा आएका प्रविधिहरूलाई एकै ठाउँमा राखेर जनमानसमा जानकारी गराउने नै अहिलेको मुख्य उद्देश्य हो । यो वर्ष हामीले व्यवसाय प्रवर्द्धनलाई मात्र प्राथमिकतामा राखेका छौँ । यहाँबाट अहिले खासै कारोबार गर्ने उद्देश्य राखिएको छैन ।

अहिले जारी यो मेलामा कति भिजिटरहरूले अवलोकन गर्छन् भन्ने अपेक्षा तपाइँहरूको रहेको छ ?

हामीले अनुमान गरेको संख्या भनेको चार लाख जति हो । आज आइतबारसम्म डेढ लाखभन्दा बढीले नै मेलाको अवलोकन गरिसक्नुभएको छ । अझै मेला बुधबारसम्म चल्ने भएकोले पनि हामीले सोचेको भन्दा बढीले नै मेलाको अवलोकन गर्नेछन् भन्ने अपेक्षा रहेको छ । हाम्रो उद्देश्य भनेको ब्रान्डिङ नै हो ।

तपाईंहरूले जारी क्यान इन्फोटेक मेलाको कुल खर्च कति हुने अनुमान गर्नुभएको छ ?

यो ठाउँको लागि मात्र हामीले झण्डै तीस लाख रूपैयाँ खर्च गर्नुपर्नेछ । पूर्वाधार निर्माणमा अर्को ५० लाख जति खर्च भएको छ । केही खर्च हामीले स्पोन्सरबाट जुटाएका छौँ भने केही शुल्क स्टलहरूसँग लिएका छौँ । हामीले यो मेलामा करिब डेढ करोड जति खर्च हुने अनुमान गरेका छौँ ।

अवलोकनकर्ताहरूको लागि मुख्य आकर्षक प्रविधिहरू मेलामा के–के रहेका छन् ?

मुख्य आकर्षक नै इनोभेटिभ पार्टस, मोबाइल, मोबाइल बैंकिङ, गेटवेहरू छन् । कम्प्यूटर पार्टस र कम्प्युटहरूमा पनि धेरै नयाँ प्रविधिहरू भित्रिएका छन् । जस्तो एउटै कम्प्यूटरमा पनि दुई÷तीनवटा स्क्रिनहरू रहेको देख्न सकिन्छ । तीन हजारदेखि चार हजार मिटरको दूरीसम्म टिप्ने क्षमताका इन्टरनेटका राउटरहरू देख्न पाउँछौँ । यसैगरी एकै मिनेटमा चारदेखि पाँच सय पेजसम्म प्रिन्ट गर्नसक्ने प्रिन्टरहरू पनि मेलामा रहेका छन् । त्यति मात्र होइन प्रिन्ट भएको पेपरलाई मेटेर पुनः प्रिन्ट गरेर प्रयोगमा ल्याउन सकिने प्रविधिहरूसमेत मेलामा देख्न सकिन्छ । अहिलेको सन्दर्भमा भन्नुपर्दा डिजिटलसम्बन्धी अत्याधुनिक प्रविधिहरू मेलामा अवलोकन गर्न सकिनेछ ।

अवलोकनकर्ताहरूले मेलामा सामान खरीद गर्दा के–कस्तो अफरहरू प्राप्त गर्नसक्ने अवस्था छ ?

ब्राण्डहरूमा धेरै अफरहरू रहेका छन् । मोबाइल सेक्टरमा जानुभयो भने एनसेलको सिम एक रूपैयाँमा, दश मिनेटको निःशुल्क टक टाइम र दशवटा एसएमएस प्राप्त गर्नसक्ने अफर छ । यसैगरी भायोनेटले टिभीको लागि विशेष अफर दिएको छ । मोबाइल कम्पनीहरूले ५० प्रतिशतसम्म छुट दिएका छन् । हार्डवेयर, ल्यापटप, कम्प्युरटर मोनिटरहरूमा पनि १० देखि १५ प्रतिशतसम्म छुट दिएका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले भारी छुटमा आफ्ना सेवाहरू उपलब्ध गराइरहेको अवस्था छ । नेपाल टेलिकमले फोरजी सिम निःशुल्क प्रदान गरिहेको छ । सागर ग्रुपले प्रिन्टर, एन्टीभाइरस, प्रोजेक्टर र अन्य प्रडक्टहरूमा पनि छुट अफर दिएको छ । त्यसैगरी आसुस, साथी कम्प्यूटर, नारायणी र मर्कान्टाइलले ल्यापटप र अन्य प्रडक्टहरूमा केही छुट प्रदान गरेको अवस्था छ ।

सरकारले डिजिटल प्रविधिलाई महत्व दिएर पेपरलेस बनाउँदै प्रविधिमा जोड दिइरहेको छ, यसलाई क्यानले कसरी लिइरहेको छ ?

नेपालको प्रविधिको समग्र क्षेत्रलाई हेर्ने हो भने यो क्षेत्रको तुलना अहिले अरुसँग गर्न मिल्दैन । नेपाल सरकारले नै मुलुकलाई डिजिटलाइज गर्ने भनिरहेको अवस्थामा यो क्षेत्रको महत्व अझ बढेर गएको छ । सरकारले नै यो क्षेत्रलाई महत्वका साथ प्राथमिकतामा राखेपछि त यसको महत्व र भविष्य कल्पना गर्न नसकिने गरी बढेर गइरहेको छ । सरकारी क्षेत्रबाट दिने सेवा पनि प्रविधिमैत्री भइरहेको छ । उद्योग कलकारखानाले पनि सूचना प्रविधिमार्फत नै धेरै कुरा गर्न थालिसकेका छन् । यी कारणले गर्दा पनि यो क्षेत्रमा रोजगारी निकै बढेर गएको छ । समय–समयमा हुने यस्ता मेला त झन् प्रविधिबारे चासो राख्नेहरूको लागि बुझ्ने र जान्ने ठूलो अवसर नै हो ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया