Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘मानव सभ्यतामा नआएको राउटेलाई समेत घर बनाएर बस्ने बनाएका छौँ’ 

‘मानव सभ्यतामा नआएको राउटेलाई समेत घर बनाएर बस्ने बनाएका छौँ’ 

अध्यक्ष खेम बहादुर पाठ ,साना किसान विकास लघुवित्त वित्तीय संस्था


सरकारको उद्देश्यअनुरूप लघुवित्त संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विनाधितो लघुकर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत संकलन गर्ने काम लुघवित्त संस्थाले गर्नुपर्छ । सरकारको सोही उद्देश्यअनुरूप र मुलुकको अर्थतन्त्र अघि बढाउने साना किसान विकास लघुवित्त संस्था कसरी अघि बढिरहेको छ भनी उक्त संस्थाका अध्यक्ष खेम बहादुर पाठकसँग प्रवीन राउतले गरेको कुराकानी :

सरकारले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विनाधितो लघुकर्जा प्रवाह तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने उद्देश्य राखेर लघुवित्त संस्थाहरू सञ्चालन गर्नू भनेको छ, सरकारको उक्त उद्देश्यलाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कति आत्मसात् गरेको छ ?

यसमा के छ भने लघु उद्यमलाई जोडेर दुईवटा छाता निकाय रहेको छ । एउटा साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघ । ती दुवै मिलेर अघि बढ्दा सफलता मिलेको हो । एउटा आर्थत् किसान लघुवित्तले संस्था बनाउँछ भने सहकारी संघले आफ्ना सदस्य तथा विपन्न तथा न्यून आए भएका किसान, महिलाका लागि आवश्यक ज्ञान, प्रविधि दिलाउँछ । साथै अर्को महत्वपूर्ण विषय भनेको उनीहरूका लागि पुँजी परिचालन गर्छौँ ।

अब अहिलेको हाम्रो काम भनेको ग्रामीण क्षेत्रमा रहेको जो पछाडि परेका महिला, समुदाय, व्यक्तिहरू छन्, उनीहरूलाई उद्यमी बनाउने रहेको छ । उद्यमीमार्फत आत्मनिर्भर बनाउने हो । यसका लागि व्यावसायिक तरकारी खेती, पशुपालनाको क्षेत्रलाई समेट्दै आएका छौँ र लगानी विस्तार गर्दै आएका छौँ । यति भन्दाभन्दै किसाल लघुवित्तले वित्तीय कारोबार गर्ने भए पनि यसले आफैँले पुँजी तयार गरेर पुँजी दिने काम मात्रै गर्दैन । यसले किसानलाई उद्यमी बनाउने हो भने सो किसानलाई उद्यमी बने/बनेन त्यसको अनुगमन गर्छ । यसका लागि पालिका वा स्थनीय तहमा कार्यालय रहेको छ, त्यसलाई निर्देशन दिने गरेका छौँ । सो कार्य केन्द्रबाट हुनेगर्छ ।

यस्तै सरकारले लघुवित्त सञ्चालक अर्थात् विशेषगरी साना किसान लघुवित्तजस्ता संस्थाहरूलाई बैंक तथा फाइनान्सलगायतका संस्था जसरी पुँजी संकलन वितरण र नाफा कमाउने उद्देश्य राखेर हेर्ने हुँदैन ।

अर्को कुरा भनेको नाफा बाँडेन भनेर हेर्न भएन । त्यसैले गरिबी निवारण, महिला सशक्तीकरणलगायतका कामका लागि हामीले प्रत्यक्ष लगानी गर्नेभन्दा पनि पालिका तथा स्थानीय तहमा भएका सहकारीमा लगानी गर्छौँ र सो सहकारीले लगानी गरी उद्यमी निर्माण गर्न सहयोग गर्छ । यो भनेको गरिब, महिलालगायतका समूहको सशक्तीकरण हो ।

त्यसैले गर्दा सहकारीमार्फत किसानका लागि आवश्यक बीउबिजन, मल तथा भण्डारण, बजारीकरणको व्यवस्थापन गर्दै आएका छौँ । परम्परागत कृषि प्रणाली र पशुपालनलाई आधुनिक बनाई त्यसबाट उच्चतम लाभ लिन र उद्यमी व्यवसाीय निर्माण गर्न हामी अग्रसर हुँदै आएका छौँ ।

अन्यले हेर्दा यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ, काठमाडौंमा बसेर रोल्पाको किसनालाई कसरी उद्यमी बनाउन सक्ला ? भन्ने प्रश्न हामीतर्फ तेर्सिन्छ, तर केन्द्रीय कार्यालयले नेपालगञ्जको इलका कार्यालयको लागि नीति, निर्देशन, कार्यक्रम निर्माण गर्छ र दिन्छ अनि नेपालगञ्जको कार्यालयले सोही काम गरी किसानहरूले बनाएको संस्थाहरूलाई निर्देशन गर्छ । अनि ग्रामीणमा रहेको किसानहरूको संस्थाले किसान, महिलालाई लगानी गरी व्यवसायीकरणमार्फत आर्थिक समुन्नत बनाउने काम गर्छ । त्यसैले समग्रमा हामी सरकारको उद्देश्यअनुरूप नै हिँडेका छौँ भन्दा दुई मत देखिँदैन ।

तपाइँले व्यवसायीकरणको कुरा गर्नुभयो, किसानको हकमा परम्परागत र व्यावसायिक दुवै खेती गर्ने परिपाटी रहेको छ । यस्तो अवस्थामा साना किसान व्यवसायीकरण कति सफल भएको छ त ?

हामीले बनावटी कुरा गरेर हुँदैन जे सत्य हो त्यही बोल्नु पर्छ । पहिला हामीले के ग-यौँ भने, हामी किसानलाई संगठित बनाउनतर्फ लाग्यौँ, अनि संगठित किसानलाई सरकारले कुनै बैंक तथा वित्तीय संस्थाले पुँजी नदिएको खण्डमा भने उनीहरूको बीचबाट पुँजी संकलन गर्नतर्फ लाग्यौँ अनि अपुग भएको खण्डमा बैंक तथा वित्तीय संस्थाबाट पुँजी खोजेर अनि व्यावसायिक किसानलाई दिनतर्फ हामी लाग्यौँ भनेपछि जुन समयदेखि हामीले कार्यक्रम सुरु ग-यौँ सो समयदेखि धेरैभन्दा धेरै किसानलाई संगठित गर्ने, संगठित संस्था बनाउने संस्था बलियो बनाउने, अनि पुँजी चाहिन्छ भने आफैँ संस्थाको पुँजी संकलन तथा पुँजी वृद्धितर्फ हामी लाग्यौँ । भने पछि हामी एकातर्फ पुँजी संगठित ग-यौँ भने अर्कोतर्फ संगठित समूहलाई पुँजी दिएर व्यवसायी बनाउनतर्फ लाग्यौँ र अनि उनीहरू बिस्तारै व्यवसायी बने । किसान लघुवित्तका मुलुकभर १३ लाख सदस्य छन् त्यसमध्ये ३० देखि ३५ प्रतिशत व्यवसायी बन्न सफल भएका छन् । अब यति भन्दाभन्दै फेरि प्रश्न उब्जन सक्छ कि किन ९०/एक सय प्रतिशत सदस्य व्यवसायी बनेनन् किसान लघुवित्तमार्फत ? यसको उत्तर भनेको हामीले हाम्रो किसान तथा सदस्यहरू सफल बनून् भन्ने उद्देश्य राखेका थियौँ । किसान लघुवित्तले संख्याभन्दा पनि गुणस्तर वृद्धि गर्ने खोजेका छ सदस्यहरूलाई असफल व्यवसायी हुन नदिने उपाय अवलम्बन गरेका हौँ ।

सबै किसानलाई एकैपटक व्यवसायी बनाउन खोज्दा उनीहरूको उत्पादनले स्थान, बजार नपाउला अनि ऋणमा डुबाउन उचित होइन भन्ने लागेर शतप्रतिशत नतिजा नखोजेको हो । पहिला हामीले परीक्षण ग-यौँ त्यसपछि सफल भएपछि त्यसलाई वृद्धि गर्दै लग्यौं । अर्को कुरा भनेको यति धेरै संख्यामा सफल व्यवसाय र व्यवसायीकरण गर्न सफल हामीहरूका सफल सदस्य तथा व्यवसायीहरू भने सातवटै प्रदेश, ७६ वटा जिल्ला, धेरै नगरपालिका र स्थानीय तहमा रहेका छन् ।

प्रत्येक जिल्लामा हामीले करिब ४० प्रतिशतभन्दा बढी सदस्यलाई व्यवसायी बनाउँदै लैजान गृहकार्य थालेका छौँ । यसका लागि सदस्य तथा किसानहरूलाई पुँजी अर्थात् ऋणको आवश्यक पर्छ, त्यसको व्यवस्थापन हामीले गर्नु आवश्यक रहेको छ ।

त्यसैले अब एसियाली विकास बैंकबाट जुन छ अर्ब रकम लिने सुरुवात गरेका छौँ त्यसलाई निरन्तरण दिनेछौँ । उक्त बैंकबाट लिएको जुन उद्यमी कर्जाबवापतको रकम छ त्यसबाट हामी ६०/७० प्रतिशत सफल भइसकेका छौँ । यो सुरु गरेको डेढ वर्ष भयो । यो पाँच वर्षको लागि हो । पाँच वर्षमा हामीले शतप्रतिशत लक्षित समूह रहेका छन् । साना किसानमा एक हजार सदस्य छन् भने सबैलाई व्यवासायी बनाउने भनी सुरुवात गरेको छैन, देशभरमा एउटा संख्या किटान गरेको छौँ त्यसले माहोल निर्माण गर्छ । जस्तो १० लाख सदस्यमा ५० हजारलाई उद्यमी बनायौँ भने ५० हजारले अर्को ठूलो संख्यालाई प्रभावित बनाउनेछ र त्यसले सफलता प्रदान गर्ने हाम्रो विश्वास रहेको कारण आगामी दिनमा त्यसरी नै अघि बढ्नेछौँ ।

त्यसैले एडिबाका साथै अन्य संस्थाहरू पनि हामीले खोजी पसेका छौँ । फेरि यति भन्दैमा हामी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था खोजीमा लागेका भने होइनौँ । सरकारले पनि पशुपालनालाई सुलभ कर्जा भनेर दिएको छ । सरकारले पनि सुलभ कर्जाअन्तर्गत पशुपालन भनेर साना किसान लघुवित्तमार्फत वार्षिक दुई अर्बभन्दा बढी लगानी गरेको छ सो रकम लिई लगानी गरिरहेका छौँ ।

हामी सञ्जालबाट धेरैतर्फ प्रवेश गरेका छौँ हिजो हामीसँग स्रोत थिएन अलमलमा परेका थियौँ त्यसैले अहिले धेरैतर्फबाट प्रवेश गरको छौँ । अन्य संस्थाले पनि हाम्रो संस्थाले काम गर्ने रहेछ यसलाई सहयोग गर्दा हामीलाई समेत जस मिल्छ भनेर हातेमालो गर्न आएका छन् । सरकारले पनि किसान लघुवित्त र कृषि सहकारी केन्द्रीय संघमार्फत अघि बढ्दा सफल हुन्छौँ भनेर हामीसँग हातेमालो गर्न चाहेको छ । हाम्रो सफलतालाई अर्थ मन्त्रालय हुँदै सरकारका बीचमा पनि समीक्षा भएको राम्रो उदाहरण रहेको छ ।

सम्पूर्ण प्रदेश र करिब सबै जिल्लामा सेवा दिनुभएको छ, यस्तो अवस्थामा पुँजी परिचालनचाहिँ कसरी गर्नुभएको छ ?

हाम्रो लक्षित कार्यक्रम भनेको सहरमुखी नभएर गाउँ तथा ग्रामीण समुदायमुखी हो । यसको प्राथमिकता भनेको ग्रामीण क्षेत्र त्यहाँ रहेका किसानहरू हुन् । दोस्रो कुरा कसरी पुँजी पाउँछन् भने संस्थाको क्षमताको आधारमा, उक्त संस्थाले कति पुँजी चलाउन सक्ने क्षमता रहेको छ । त्यसको आधारमा पुँजी पाउँछ । अब व्यक्तिले कसरी पाउँछ भने उसको क्षमता, आम्दानी स्तर हेरेर ऋण पाउँछ, सहकारीमा एउटा मान्यता के छ भने ऋण पाउने अधिकार होइन आवश्यकता हो, त्यसलाई आत्मसात् गरेर अनुशासनसहित हामी काम गर्दै आएका छौँ ।

हाम्रो मान्यता एउटा सदस्यले यति पाएको छ मैले पनि त्यति पाउनुपर्छ भन्ने होइन । उसले के गर्नका लागि पायो मैले के गर्नका लागि पाउने भन्ने कुरा मुख्य हो । उसको परियोजना के हो साना–ठूलो के हो । जस्तोः व्यावसायिक तरकारी खेती, पशुपालन गर्न धेरै पुँजी आवश्यक पर्छ न कि सामान्य खेती तथा पशुपालनालाई ।

व्यावसायिक हुन खोज्नेलाई भने हामीले ज्ञान, सीप, प्रविधि लिएको छ/छैन अध्ययन गरेर ऋण प्रदान गर्नेगरेका छौँ । ऋण चलाउने क्षमताको पनि अध्ययन गर्ने हुँदा हामी फेल हुन पाएका छैनौँ र दिएका पनि छैनौँ, जसले सदस्यलाई समेत खुशी प्रदान गरेको छ ।

केही नमूना छन्, दाबी गर्न सक्ने ?

हामी अध्ययन गरेर क्षमता हेरेर पुँजी परिचालन गर्छौँ भन्दा तपाईँले हाम्रो विश्वसनीयतामाथि त प्रश्न पो उठाउनुभयो । तर म सरल भाषामा भन्दा तपाइँ हाम्रो सदस्य रहेको हरेक स्थानमा गएर भेट्न सक्नुहुन्छ । अब उदाहरण हेर्नुहुन्छ भने काठमाडौंको नजिक धादिङ, धुनवेँसी नगरपालिका जीवनपरका उद्धव न्यौपानलाई गएर भेट्न सक्नुहुन्छ, जो हाम्रो सदस्य हुनुहुन्छ अनि व्यावसायिक तरकारी खेतीमार्फत वार्षिक एक करोड रूपैयाँ भित्र्याउने गर्नुभएको छ । स्टेसनरी सञ्चालन गर्दै आएका न्यौपानलेलाई इजरायल पठाएर व्यावसायिक तरकारी खेतीमा सफल बनाउन सकेका हौँ ।

तनहुँ भानुमती साना किसान कृषि सहकारी संस्थामार्फत पुँजी लिई शिव आलेले बयर बाख्राको बीउ उत्पादन गरी वार्षिक १८ लाखको कारोबार गर्छन् । उनी पनि इजरायल पठाई सीप सिकाएर आएका हुन् । हामीले उनीहरूलाई पुरस्कृत समेत गरेका छौँ, हामी वार्षिकरूपमा उत्कृष्टलाई पुरस्कृत गर्नेगरेका छौँ । तरकारी खेती, व्यावसायिक पशुपालनमार्फत हजारौँ संख्यामा हाम्रा सदस्यहरूलाई सफल व्यवसायी तथा उद्यमी बनाउन सकेका छौँ ।

तपाइँको संस्था, कर्मचारी, सदस्य र तिनीहरूले गरेको कामहरूले समग्र मुलुकको अर्थतन्त्र र लघुवित्त क्षेत्रमा कति प्रतिशत योगदान पु-याएको छ ?

हामीले यस विषयमा अध्ययन गरेका छैनौँ जसले गर्दा यति नै प्रतिशत भन्ने अवस्था छैन । जुन हाम्रो कमजोरी हुन सक्छ । भोलिका दिनमा यो आवश्यक छ र हामी गर्छौँ पनि ।

आजभन्दा १३ वर्षअघि सरकार एकदम अप्ठ्यारोमा परेको थियो त्यति नै खेर सरकारलाई सहयोग गरेर हाम्रो संस्थाले मुलुकको आर्थिक समृद्धिको लागि के गर्न सक्छौँ भनि प्रमाण पेस गरी सकेको अवस्था हामीसँग छ । १३ वर्षअघि १६ अर्बको मासु आयात हुन्थ्यो, सरकारले त्यो मासु रोक्न कसले सक्छ भन्दै खोजी परेको समयमा हामीले सक्छौँ अर्थात् साना किसान लघुवित्तले सक्छ भनेको थियौँ , त्यसपछि सरकारले आधार माग ग-यो । हामीले त्यति नै खेर सरकारलाई हाम्रा किसानसँग भेट्नु, परीक्षण गर्नु अनि विश्वास गर्न भनेका थियौँ । अनि हामीले हाम्रा सदस्यहरूले भेडा, बाख्रा, भैँसी, च्याङ्ग्रा कुखुरा फार्महरूमा लगेका थियौँ ।

लगत्तै सरकारको तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा, अर्थमन्त्रालयका सचिव रामेश्वर खनाल, अर्थमन्त्रीको अर्थसल्लाकार डा. केशव आचार्य, त्यतिखेरका कृषि सचिवको टोलीले हाम्रा सदस्यले सञ्चालन गरेका पशुफार्महरू सर्वेक्षण गरेका थिए । चार सदस्यी टोलीले मकावनपुर, बारा, धादिङ, चितवन पशुफार्म हेर्नुभयो ।

अहिले परिणाम नै सार्वजनिक भइसकेको अवस्था अर्थात् त्यसका लागि हामी पुराना भइसकेका छौँ । त्यसैले गर्दा आजभन्दा एक वर्ष अगाडि कृषिमन्त्रीले सरकारको तर्फबाट पत्रकार सम्मेलन गरेर मासुमा हामी आत्मनिर्भर भयौँ भनेर घोषणा गरे । यसका लागि हामीले हाम्रा सदस्यहरूलाई प्रदान गरेको तालिम, प्रविधि र अभिप्रेरणा हो । पहिलो चरणमा एक अर्ब, दुई अर्ब बढाउँदै लगेर मासुजन्य उत्पादनमा आत्मनिर्भर भएका हौँ । पशुपालन कर्जा पत्याएर हामी १२ वर्षको बीचमा हामी मासुमा आत्मनिर्भर भयौँ त्यसै सरकारले हामीलाई पत्याएको हो । जे जिम्मा दियो त्यो काम गर्छ भन्ने सरकारको सोच रहेको छ ।

अब आजको अवस्था चित्रण गर्ने हो भने खसी बोका, राँगाभेडा बिक्री गर्ने ठाँउ छैन कहाँ लगेर बिक्री गर्ने भनेर बसेका छौँ । यो समस्यामा पो पुगेका छौँ । बजार व्यवस्थापन हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ । अब नाकाबन्दीमा दशैँ सहजै मनाए भने कोभिड १९ को कालखण्डमा पनि त्यही अवस्था रह्यो ।

अब हामी दुघ, तरकारी, गेडागुडी, अन्नबालीमा क्रमगतरूपमा आत्मनिर्भर हुन्छौँ भनेर सरकारलाई भनेको छौँ । सबैमा एकैपटक हुन्छौँ भनेका छैनौँ त्यसलै गर्दा सफलता मिलेको हो ।

संस्थाले गरेको काम हेर्दा तपाइँहरूले गरेको लगानी असफल भएको छैनजस्तो छ तर तपाइँहरूको लगानी भनेको सहकारी हुँदै सदस्यमा पुग्ने हो । सहकारी असफल(फेल) हुँदै गएको अवस्थामा तपाईँहरू असफल हुनुभएको छैन ?

तपाइँले एकदमै राम्रो कुरा गर्नुभयो । हाम्रा सदस्य भनेको सहकारीका सदस्य हुन् । सहकारी बजारमा फेल भएको हो ग्रामीण क्षेत्रमा त झन् प्रथम हुँदै आएको छ । अझै महिलाको विषयमा त पैसा देख्न नपाउने अवस्थामा रहेकोबाट लगानी गर्ने अवस्थामा पुगेका छन् । त्यसैले गर्दा हामी करिब ९९ प्रतिशत सफल छौँ । यो सबैको पछाडि भनेको हामी विधि, निति, नियममा चल्नु हो ।

सहकारीको हकमा चार सय घरलाई आबद्ध नगरी संस्था दर्ता गर्दैनौँ, एक वर्ष अध्ययन गराउँछौँ ३० लाखभन्दा कम पुँजी भएमा संस्था सञ्चालन गर्दैनौँ । संस्थाको नेतृत्व विकास, कर्मचारी व्यवस्थापन, पुँजी निर्माण सदस्यलाई सहकारीको शिक्षा प्रदान गर्ने, अनि उनीहरू सक्षम भएपछि हामी सहकारी सञ्चालनको लागि अघि बढ्छौँ । हरेक सदस्यलाई आफ्नो संस्था र तिनका सदस्यको विषयमा जानकारी हुन्छ, भेटघाट भइरहेको हुन्छ । तर बजारको सहकारीमा थुप्रै समस्या छ । बजारको सहकारीमा सदस्यलाई थाहा हुँदैन आप्mना पदाधिकारीको विषयमा अनि समस्या हुँदैन !

दैवी प्रकोप, कोभिड १९ महामारीजस्तो समयमा अधिकांश पेशा, व्यवसाय असफल हुन्छ भने त्यसबाट हामी कहाँ अछुतो हुन्छ अर्को कुरा हामी शतप्रतिशत छौँ भन्दैनौँ । तर हामी धेरै हदसम्म सफल छौँ । यसको पछाडि भनेको हामीले किसान तथा सदस्यहरूलाई प्रदान गर्ने ज्ञान, प्रविधि, पुँजीलगायतका कुराहरू नै हो । अर्को शब्दमा भन्नुपर्दा परियोजनाको उचित व्यवस्थापन नै हो ।

भनेपछि तपाईँहरूले सञ्चालन गरेको कार्यक्रममार्फत दिगो विकासको सातमध्ये आर्थिक लक्ष्यहरू समेत समेटेको छ भन्न सक्छौँ ?

हो त्यही कुरा, सरकारले अन्य बैंक, लघुवित्त सहकारीलाई सहयोग नगर्ने र हामीलाई सहयोग गर्नुमा सरकारको उद्देश्य र हामीले गरेको काम एकै स्थानमा बस्यो ।

सरकारको उद्देश्यलाई प्रतिफल निकाल्ने कुरामा राम्रो भयो भनेर हामीलाई निरन्तर सहयोग गरेको अवस्था हो । ७९ प्रतिशत त महिला मात्र छन् हाम्रो सञ्जालमा यो महिला सशक्तीकरणको सर्वोत्तम कार्य हो । यति धेरै संस्थाबाट पुँजी लिएर महिलाहरू व्यवासायी तथा उद्यमी बनेका जसबाट आफ्नै हातबाट पुँजी परिचालन गर्न सक्षम भएका छन्, अन्य कुनै पनि कार्यक्रमले यस्तो गर्न सकेको छैन । महिलाको यति धेरै नेतृत्व तयार भएको छ ।

त्यसैले गर्दा दिगो विकासका सम्पूर्ण लक्ष्य भने हामीले सञ्चालन गरेको कार्यक्रमले समेट्दैन तर त्यसमध्ये केही र महत्वपूर्ण विषयहरूलाई हामीले छुन्छौँ यसमा विश्वस्त छु । गरिबीको अन्त्य, रोजगारी तथा आर्थिक वृद्धि, जमिनमाथिको जैविक विविधताको संरक्षण, उद्योग पूर्वाधार र नवीन सिर्जना, असमानता न्यूनीकरण, भोकमरीको अन्त्यजस्ता विषयमा हाम्रो कार्यक्रमले सहयोग गरेको छु भन्न सक्छु र आधार पनि छन् ।

यो सबैको पछाडि भने एउटा हामीले दिने गरेको प्रविधि, शिक्षा, सीपबाट र अर्को पुँजीबाट महिला सशक्तीकरण भयो । महिला अधिकारको कुरा गरेर मात्र हुँदैन, जब महिलाको हातमा पैसा छैन, सशक्तीकरण र व्यवसायी बन्ने विषय अपूर्ण हुन्छ । हाम्रो परिवेशमा सम्पत्ति चलाउने अभ्यास हेर्दा पुरुषमा बढी देखिन्छ तर यो कार्यक्रमले पुँजी महिलाको हातमा जान्छ कार्यक्रम लैजाँदै नै महिलाको हातमा ज्ञान, पुँजी, प्रविधि जान्छ ।

गरिबको कुरा गर्दा मानव सभ्यतामा नआएको राउटे, जसलाई आफू घर बनाएर बस्ने बनाएका छौँ । यसका साथै उनीहरूलाई फर्निचर बनाउने, बाख्रा, कुखरालगायतका व्यावसायिक पशुपालना तथा तरकारी खेती गर्ने काम किसान लघुवित्त र कृषि सहकारी संघले गरेको छ । जुन अनौठो साहस हामीले गरेका छौँ । मुसहर जातिको कुरा गर्दा उनीहरूको पेसा व्यवसाय नै थिएन सो अवस्थामा हामीले उनीहरूलाई संगठित गरेर बाख्रापालनमा अग्रसर ग-यौँ । मासु खानको लागि शिकार गर्नुपर्ने अवस्थामा घरमा नै मासुको व्यवस्था गर्नेदेखि लिएर आफ्ना बालबालिकालाई विद्यालय नपठाउनेमा अवस्थामा परिवर्तन ल्याएका छौँ । अहिले आफ्ना बच्चाहरूलाई सबैले विद्यालय पठाउने गरेका छन् । यसरी पिछडिएका समुदायलाई अघि बढाउने काम समेत साना किसान लघुवित्तले गरेको छ ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया