Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताविद्यार्थीलाई पढाइका साथै समस्यासँग जुध्ने र समाधान गर्ने उपाय सिकाउँछौं

विद्यार्थीलाई पढाइका साथै समस्यासँग जुध्ने र समाधान गर्ने उपाय सिकाउँछौं

दिरेकलाल श्रेष्ठ संस्थापक, द रोलिङ स्टोन्स स्कुल, काठमाडौं


–हामी समुदायसँग मिलेर काम गरिरहेका छौं ।
– विद्यार्थीलाई खेल्न मिल्ने आवश्यक सबै संरचना छ ।
– रमणीय वातावरणमा कक्षा सञ्चालन गर्नु नै विद्यालयको विशेषता हो ।
– पैसाको महत्व र खर्च र व्यापार गर्ने तरिकाबारे सिकाउने गरेका छौं ।
– थोरै शुल्कमा उत्कृष्ट शिक्षा दिएका छौं ।

द रोलिङ स्टोन्स स्कुल काठमाडौंंको कोरक्षेत्रको अब्बल विद्यालय हो । यो विद्यालय स्थानीय अभिभावकको मन र मस्तिष्कमा छाप पार्न सफल रहेको छ । सो क्षेत्रका निजी विद्यालयका तुलनामा अब्बल बनाउँदै अघि बढेको द रोलिङ स्टोन्स स्कुल स्थापनाको छोटो समयमा आफ्नो नाम उचाइमा पु¥याउन सफल विद्यालय हो । यस विद्यालयमा १ देखि १० सम्मका कक्षाहरू सञ्चालनमा छन् । अन्य विद्यालयभन्दा फरक शैली भएकै कारण यो विद्यालय काठमाडौंको कोरक्षेत्रका अभिभावकको पहिलो छनोट बन्ने गरेको छ ।

सो क्षेत्रका अन्य विद्यालयको तुलनामा फरक विषयमा ज्ञान दिने भएका कारण द रोलिङ स्टोन्समा छोराछोरी पढाउन पाउँदा अभिभावक खुसी छन् । विद्यालयका संस्थापक दिरेकलाल श्रेष्ठको निरन्तरको खटाइ, नयाँ सोच र योजनाका कारण विद्यालयले सफलता हासिल गर्दै आइरहेको हो । उहाँ अमेरिकामा उच्च शिक्षा हासिल गरेर आफ्नै स्वदेशमा केही गरौं भन्ने भावनाका साथ नेपाल फर्केर शिक्षा क्षेत्र, सञ्चार क्षेत्रलगायतका विभिन्न व्यवसायहरू सफलताका साथ सञ्चालन गरिरहनुभएको छ । विद्यालय सफलताका कारण, नयाँ योजना र कार्यक्रमलगायतका विषयमा संस्थापक श्रेष्ठसँग गरिएको कुराकानी :

द रोलिङ स्टोन्समा छोटो समयमा विद्यार्थीको आकर्षण बढ्नुको कारण के हो ?

प्रत्येक विद्यार्थी विशेष हुन्छन् । उनीहरुलाई हामी किन र कसरी विशेष भए भन्ने कुरा रोलिङ स्टोन्समा सिकाउँछौं । द रोलिङ स्टोन्समा विद्यालयको शिक्षणमैत्री वातावरणका कारण अभिभावकको आकर्षण बढ्दै गएको छ । हाम्रो विद्यालयको व्यवस्थापन पक्ष राम्रो छ । पढाइमा गुणस्तरीयता छ । अभिभावक र विद्यालयसँगको सम्बन्ध राम्रो छ । विद्यालयका प्रिन्सिपल र शिक्षक सधैं सँगै रहने भएकाले विद्यालय र अभिभावकबीचको सम्बन्ध प्रगाढ बनेको छ ।

हामीले सबै अभिभावकलाई सुखी र सन्तोषपूर्ण जीवन बिताउने किसिमको शिक्षा उहाँहरूका छोराछोरीलाई दिएका छौं । विद्यालयको व्यवस्थापनसँगै हामीले आफ्ना विद्यार्थीलाई प्रविधिसँग नजिक बनाएका छौं । हाम्रो स्कुलको फेसबुक पेज स्क्यान गर्दा विद्यालयको बारेमा सम्पूर्ण जानकारी पाउन सकिन्छ । हाम्रो मुख्य आकर्षण भनेको समुदायसँग जोडिएका छौं । कोरक्षेत्रमा विद्यालय भएकाले हामीले समुदायसँग मिलेर काम गरिरहेका छौं । अतिरिक्त क्रियाकलापलाई पढाइसरह उच्च महत्व दिने गरेका छौं । अभिभावक, शिक्षक र विद्यार्थीबीचको सधैं सुमधुर सम्बन्ध हुनु नै द रोलिङ स्टोन्सको आकर्षण र सफलता हो ।

विद्यालयको विशेषता के छ ?

नेपाल र विदेशको राम्रो स्कुलको क्रियाकलापबाट सिकेर त्यसलाई स्थानीयस्तरको शिक्षा प्रदान गरेका छौं । हामीले सहुलियत शुल्कमा विद्यार्थीलाई धेरै अनुभव गर्ने मौका दिएका छौं । हाम्रो पढाइको स्तर कस्तो छ, कस्तो पाठ्यक्रम पढाउँछौं, विद्यालयको शैक्षिक अवस्था कस्तो छ लगायतको विषयमा अभिभावकलाई प्रस्ट जानकारी दिने गरेका छौं । ताकि विद्यालय र घरमा पढ्ने सिक्ने तरिका एउटै होस् । उनीहरु द्विविधामा नपरून् । घरमा र विद्यालयमा पढ्ने सिक्ने कुरा फरक भयो भने बालबालिका अलमलमा पर्छन् । त्यसैले हामीले उनीहरुलाई समस्यासँग जुध्न सिकाउँछौं र समाधानको बाटो बताइदिन्छौं । किताबी ज्ञानका अतिरिक्त अन्य विषयमा ध्यान दिने गरेका छौं । आफ्नो समस्या आफैंले समाधान गर्ने गरी विभिन्न क्रियाकलाप सिकाउने गरेका छौं । समग्र क्षमता विकासका लागि के गर्नुपर्छ भन्ने विषयमा ध्यान दिने गरेका छौं । यो नै यस विद्यालयको विशेषता हो । विद्यार्थीलाई गृहकार्य गर्दा कहिल्यै दबाब दिने गरेका छैनौं । रमणीय वातावरणमा कक्षा सञ्चालन गर्नु नै विद्यालयको विशेषता हो ।

पब्लिक स्पिकिङ, हाजिरी जवाफ, वक्तृत्वकला, शिक्षक, विद्यार्थी र अभिभावकबीच काउन्सिलिङ गर्ने व्यवस्था गरेका छौं। शैक्षिक वातावरणमा अध्यापन गराइन्छ । हरेक कक्षामा ४० जनाभन्दा बढी विद्यार्थी राखिँदैन । प्ले ग्रुपमा खेलाउँदै पढाउने व्यवस्था छ ।

शुल्कको अवस्था कस्तो छ ?

अन्य विद्यालयको तुलनामा अभिभावकलाई आर्थिक बोझ नपर्ने गरी शुल्क निर्धारण गरेका छौं । ट्युसन शुल्क कम गर्न हामीले विदेशी दातृ निकायबाट अनुदानमा शैक्षिक र खेलकुद सामग्री ल्याएका छौं । लेगो फाउन्डेसनले थुप्रै लेगो खेलौनाहरू उपलब्ध गराएको छ । जुन सामग्री हामीले विद्यार्थीलाई पढाउन र खेल्नका लागि प्रयोग गरेका छौं । ती सामग्री खरिद गर्दा अभिभावकलाई भार पर्ने थियो ।

त्यसैले हामीले थोरै शुल्कमा उत्कृष्ट शिक्षा दिएका छौं । प्रयोगात्मक शिक्षालाई जोड दिएका छौं । विद्यार्थीलाई क्रियटिभ हुन सिकाएका छौं । घोकन्ते पढाइबाट टाढा राखेका छौं । नाम चलेको विद्यालयको तुलनामा हाम्रो विद्यालयको शुल्क अत्यन्तै कम छ । हामीले नाफामुखीभन्दा पनि सामाजिक क्षेत्रमा केही गरौं भन्ने मनसायले विद्यालय सञ्चालन गरेका हौं । यसै कारणले पनि यहाँका स्थानीय अभिभावकहरुले हरेक दिन बसमा दुई घण्टा जाने आउने समयलाई मध्यनजर गर्दै हाम्रो विद्यालयमा आफ्ना नानीबाबु ल्याउनुभएको छ ।

अन्य विद्यालय र तपाईंको यो विद्यालयमा के फरक छ ?

कोरक्षेत्रमा भए पनि हाम्रो जस्तो खेलमैदान अन्य विद्यालयमा छैन । तर ठूला र फाइनल खेलकुद वा अन्य कुनै कार्यक्रम गर्दा बाहिरको क्षेत्र छनोट गर्ने गरेका छौं । विद्यालयको भौतिक संरचना धेरै छ । २०७२ सालको भूकम्पबाट विद्यालय भवनमा कुनै क्षति भएको छैन । सो भूकम्पबाट पीडाबोध भएको समयमा यस क्षेत्रका मानिसहरूलाई हाम्रै विद्यालयमा सहारा दिएका थियौं । यसो भन्नुको कारण विद्यालयमा हजार जनाभन्दा बढी अट्न सक्ने भौतिक संरचना र चौर छ ।

यति ठूलो संरचना यस भेगका निजी विद्यालयमा सायदै छैन होला । विद्यार्थीलाई खेल्न मिल्ने आवश्यक सबै संरचना छ । आवश्यकताको आधारमा सबै किसिमका खेलकुद गर्न मिल्ने चौर छ । रमाइलो वातावरण छ । हामीले ७० प्रतिशत समय शिक्षण र ३० प्रतिशत समय अतिरिक्त क्रियाकलापमा दिएका छौं ।

अतिरिक्त क्रियाकलापमा के–के हुन्छ ?

हामीले विद्यालयको कक्षा समयपछि अध्यापन हुने ५ दिन विभिन्न क्रियाकलाप सञ्चालन गरेका छौं । उत्कृष्ट नृत्य र संगीत प्रशिक्षकबाट नृत्य प्रशिक्षण दिन्छौं । तेक्वान्दो, संगीत, कलालगायत खेलकुद र विभिन्न क्रियाकलाप सञ्चालन गरेका छौं । सबै विद्यार्थीलाई विज्ञान संग्रहालय, चिडियाखाना, विश्व सम्पदा सूचीमा सूचीकृत पाटन, भक्तपुर र काठमाडौं दरबारक्षेत्र, उपत्यकाका मठमन्दिर र त्यसको धार्मिक महत्वका बारेमा अध्ययन भ्रमण गराउँछौं । पौडी खेल्न सिकाउँछौं । हरेक वर्ष उपत्यका बाहिर देशका विभिन्न जिल्लामा धार्मिक र पर्यटकीय शैक्षिक भ्रमण गराउँछौं । रोपाइँको समयमा खेतमा धान रोप्न सिकाउँछौं । विज्ञान, स्वास्थ्य, गणितलगायत प्रयोगात्मक विषयमा फिल्ड भिजिटको शुरुवात गरेका छौं ।

No description available.

विद्यार्थीलाई मोबाइल कसरी चलाउँदा फाइदा हुन्छ भन्नेबारेमा अध्ययन गराउँछौं । त्यसको सही प्रयोग गर्न प्रोत्साहन गर्छौं । वृत्तचित्र, फिल्म हेर्न गृहकार्य दिन्छौं । ताकि बच्चाहरू गेम, टिकटक, फेसबुकजस्तो सामाजिक सञ्जालमा झुम्मिने सम्भावना कम होस् भन्ने चाहन्छौं । स्पोर्टस, संगीत र कलामा बालबालिकालाई सीपसँग जोडेका छौं । ट्यालेन्ट विद्यार्थीले सिकेको ज्ञानले विद्यालयको माहोल राम्रो बनाउँछ । अन्य विद्यार्थीलाई ‘इन्सपायर’ गर्छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयले स्थानीयलाई केही सुविधा दिने गरेको छ कि ?

यस विद्यालयमा काठमाडौंं महानगरपालिकाको १९, २० र २३ र २४ वडाका बालबालिका अध्ययन गर्छन् । हामीले ती वडाका बालबालिकालाई विशेष सहुलियत दिएका छौं । विद्यालयले चारवटै वडाका बालबालिका लक्षित ट्यालेन्ट छात्रवृत्ति व्यवस्था गरेको छ । जसमा ३–३ जना विद्यार्थीलाई पूर्ण निःशुल्क पढाइरहेका छौं ।

समाज के हो भन्ने विषयमा जानकारी गराउन समुदायमा सामाजिक काम गर्न पठाउने गरेका छौं । हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गरेका छौं । अभिभावक र टोल लक्षित निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेका छौं । यो वर्ष अभिभावक विद्यार्थी गरी १ हजार ४ सयले स्वास्थ्य परीक्षण गरेका छन् । केहीलाई निःशुल्क औषधि उपलब्ध गराएका थियौं । हरेक वर्ष यस्तो कार्यक्रमलाई निरन्तरता दिनेछौं । पैसाको महत्व र खर्च र व्यापार गर्ने तरिकाबारे सिकाउने गरेका छौं ।

शिक्षकको नेतृत्व विकास गर्न कुनै कार्यक्रम छ ?

शिक्षक राम्रो भएपछि मात्रै विद्यालयको पठनपाठन गर्ने वातावरण राम्रो हुन्छ । शिक्षकको वृत्ति विकास भएपछि विद्यालयको नाम रहन्छ र सो विद्यालय उत्कृष्टताको नमुना बन्छ । त्यसैले यस विद्यालयले विदेशी शिक्षक ल्याएर हाम्रा शिक्षकलाई अन्य विद्यालयमा निरीक्षण गर्न पठाउँछौं । शिक्षकलाई पढ्न र क्रियटिभ काम गर्न सिकाउने गरेका छौं । शिक्षकलाई बेलाबेलामा तालिम दिने गरेका छौं । शिक्षण विधि सिकाउने व्यवस्था गरेका छौं । यस विद्यालयमा कम्तिमा १० वर्षमाथि अनुभव प्राप्त गरेका शिक्षकले पढाइरहेका छन् । सबै अनुभवी र तालिमप्राप्त शिक्षक भएकाले हाम्रो विद्यालयको शैक्षिक स्तर माथि उठेको छ ।

विद्यालय र अभिभावकबीचको सम्बन्ध कस्तो छ, कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

हाम्रो विद्यालयलाई राम्रो विद्यालय बनाउन अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थीलाई हिँडेर विद्यालय आइपुग्न बढिमा १५ मिनेट मात्र लाग्छ । आफ्ना छोराछोरीले कस्तो पढिरहेका छन् भनेर हेर्न आउन अभिभावकलाई पनि १५ मिनेट मात्र लाग्छ । शिक्षक र अभिभावकको भेट जुनसुकै बेला हुन सक्छ । अभिभावकसँग शिक्षक र विद्यार्थीको भेट छरछिमेकसँग किनमेल गर्दा बजार गएजस्तै हो । छोटो दूरीमा सजिलै भेट हुन्छ ।

यसले गर्दा शिक्षकले बालबच्चालाई आफ्नै बच्चाजस्तै गरेर राम्रोसँग हेरचाह गर्छन् । स्कुलमा अभिभावकलाई जुनसुकै बेला पनि विद्यालय स्वागत गर्न तयार हुने वातावरण छ । अर्थात् बच्चाहरूको दिनहुँ घण्टौं बसमा बसेर विद्यालय जानुपर्ने अनावश्यक समय बचत भएको छ ।

अन्त्यमा तपार्ईं देशकै पहिलो सञ्चारगृहका रूपमा रहेको कामना न्युज पब्लिकेसनको प्रमुख र यस विद्यालयको प्रधानाध्यापकको महत्वपूर्ण जिम्मेवारी लिनुभएको छ । कसरी समय व्यवस्थापन गरिरहनुभएको छ ?

म बिहान साढे ७ देखि साढे ११ बजेसम्म स्कुलमा व्यस्त रहन्छु । त्यसपछि राति ११ बजेसम्म मिडिया र अन्य व्यापारमा समय दिने गरेको छु । अमेरिकाबाट उच्च शिक्षा हासिल गरी देशको सेवा गर्न आएकाले मलाई भूमिका बाँधेर कुरा गर्न आउँदैन । मेरा प्रायः बैठक १५ देखि ३० मिनेटसम्मको मात्र हुन्छ । बैठक हुनु पहिले नै बैठकको बारेमा सबै गृहकार्य गरेपछि मात्र बैठकमा बस्छु ।

त्यसैले समयको पूरै सदुपयोग गरिरहेको छु जस्तो लाग्छ । मैले त योजना बनाउने मात्रै हो । सबै योजनाको कार्यान्वयन प्रोफेसनल र लामो समयसम्म काम गरेका अनुभवी शिक्षक तथा कर्मचारीले गर्नुहुन्छ । त्यसैले मैले सबै क्षेत्रको व्यवस्थापन गर्न सकिरहेको छु जस्तो लाग्छ ।


क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया