Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘आम्दानी र रोजगारीको भरपर्दो क्षेत्र कला पनि हो’ : नमराज ढुंगाना, लोक गायक

‘आम्दानी र रोजगारीको भरपर्दो क्षेत्र कला पनि हो’ : नमराज ढुंगाना, लोक गायक


पछिल्लो समय कलाक्षेत्र पनि व्यावसायिक बन्दै गएको छ । कलाक्षेत्र व्यावसायिक बन्दै जाँदा यो क्षेत्रसँग प्रत्यक्ष तथा अप्रतक्ष्यारूपमा संलग्नहरूको लागि कला आम्दानी र रोजगारीको लागि राम्रो क्षेत्र बन्दै गएको छ । कलाक्षेत्र राम्रोसँग चलायमान हुँदा यसले अन्य क्षेत्र अर्थात् होटल तथा पर्यटन, फेसन तथा सौन्दर्य, विभिन्न किसिमका मेला महोत्सव, आन्तरिक तथा बाह्य पर्यटन, आफ्नो धर्म तथा संस्कृतिलगायतका धेरै क्षेत्रलाई चलायमान बनाएको छ । यस अर्थमा कला क्षेत्र चलामान हुनु भनेको राजधानी काठमाडौंसहित देशका धेरै ठाउँमा रहेका रेकर्डिङ स्टुडियो, वाद्यवादक, म्युजिकल सामग्रीजस्ता धेरै क्षेत्रलाई चलामान बनाउनुहो । कलाक्षेत्र आज विशुद्ध कलामात्र नभएर कलाक्षेत्रसँग जोडिएको व्यावसायिक क्षेत्र पनि हो । कलाको कुरा गर्दा नेपाली काठे भाका राष्ट्रियसँगै अन्तर्राष्ट्रियरूपमै लोकप्रिय छ । यही काठे भाकाबाट राष्ट्रियरूपमा परिचय बनाएका लोकदोहोरी गायक हुन् नमराज ढुंगाना ।

नमराज भन्नासाथ काठे भाकाको पर्याय भनेर नेपाली गीत सङ्गीत क्षेत्रमा चिन्ने गरिएको छ । हुन त नमराजले लोक, लोकदोहोरी भाकाअन्तर्गत पूर्वेली, पश्चिमेली, काठे, असारेजस्ता विभिन्न प्रकारका गीतमाआफ्नो आवाज दिसकेका छन् । उनी नेपाली सङ्गीत क्षेत्रमा काठे लोकदोहोरी गायकको रूपमा लोकप्रिय छन् । २०६०को दशकबाट ‘काठमाडौंमा हङकङ बजार’ गीतबाट उनले गायन यात्रा सुरु गरेका थिए । पहिलो गीत नै चर्चित भएपछि उनी काठे भाकामा एकपछि अर्को गीत ल्याएर चम्किरहे । उनका चर्चित गीतहरूमा ‘दुःखीको दैलोमा’, ‘निष्ठुरीलाई छड्के सलामी’, ‘हा“सखेल गरम’, ‘सार छोड्यो छायाँले’, ‘पिरतीमा दम छ’, ‘फूल फुल्यो अमला’, ‘एउटा चिनो’, ‘चोखो छ जावनी’सहित थुप्रै रहेका छन् । उनले आफ्नो यो गायन करिअरमा दुई सयवटा गीतहरू आफ्नो स्वरमा दर्शकमाझ ल्याइसकेका छन् ।

राष्ट्रिय सङ्गीतकर्मी संघको संस्थापक सहसचिव हुँदै दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष रहिसकेका गायक नमराज ढुंगाना हाल राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव रहेका छन् । काठे भाकाका लोकदोहोरी गीत सङ्गीतको संवर्द्धनका लागि राष्ट्रिय काठे लोक दोहोरी महोत्सव २०७६ र २०७८ का संयोजक समेत रहेका उनी काठे भाकाका महंगा गायकका रूपमा परिचित छन् । उनी काठे भाकाका गीतमा पहिलो रोजाइका गायकका रूपमा परिचित छन् । यिनै कलाकारसँग नेपालमा गीत सङ्गीत, काठे भाकाको अवस्था, काठे भाकाको व्यापार र विविध विषयमा आर्थिक दैनिकका लागि सुरेश राउतसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईँको गायनयात्रा कसरी सुरु भयो ?

मेरो जन्म काभ्रोको ढुङखर्कमा भएको हो । पार्वती मावि काभ्रे ढुङखर्कमा पढ्दा कक्षा ६ मा थिएँ । त्यतिबेला गाउँपालिकाले सोही विद्यालयमा एकल लोकगीत प्रतियोगिता आयोजना गरेको थियो । त्यो आयोजनामा म दोस्रो भएँ । त्यसपछि स्कुलकै विभिन्न कार्यक्रममा गीतहरू गाउन थालेँ । सोही क्रममा ९ कक्षामा पढ्दै गर्दा रेडियो नेपालको पाण्डव सुनुवार दाइको कार्यक्रम ‘चौतारी’मा गीत गाएँ । मैले रेडियोमा गीत गाएपछि धेरैले गायक बन्न मलाई प्रेरित गर्नुभयो । त्यसपछि म उच्चशिक्षाको लागि काठमाडौं आएँ । उच्चशिक्षा हाँसिल गर्ने क्रममै मैले स्टुडियोमा गीत रेकर्ड गरेर गायनयात्रा सुरु गरेँ ।

यहाँको पहिलो हिट गीत कुन थियो र त्यो गीत गाउँदाको स्मरण कस्तो रह्यो ?

त्यतिबेला भिडियो गर्ने चलन थिएन । चक्का क्यासेटमा अडियो निकाल्ने चलन थियो । सोही क्रममा मैले पहिलो गीत ‘काठमाडौं हङकङ बजारमा’ रेकर्ड गराएर बजारमा ल्याएँ । धौलागिरी क्यासेट सेन्टर प्युखा न्युरोडले मेरो क्यासेट निकालेको थियो । यही गीतिसङ्ग्रहमा मेरो अर्को गीत ‘पूर्व मेची छेउ’ थियो । त्यतिबेला ५० हजार प्रति अडियो क्यासेट बिक्री भएको थियो । यो पहिलो काम नै श्रोताले व्यापक रुचाएपछि मैले गायनयात्रालाई व्यावसायिकरूपमा अघि बढाएँ ।

क्यासेटको जमानामा तपाईँको व्यापारको हिसाबले त्यतिखेरका उत्कृष्ट पाँच गीत कुन थिए ?

पहिलो त ‘काठमाडौं हङकङ बजार’ नै थियो । यो ५० हजार प्रतिभन्दा बढी क्यासेट बिक्री भएको गीत हो । यसपछि एसएस हिसारिया इन्टरप्राइजेज कम्पनीबाट निक्लेको ‘सल्लेरीको वन’ बोलको गीत थियो । यो गीतमा सोही कम्पनीको लगानी थियो र यो गीतको ६० हजारभन्दा बढी प्रति क्यासेट बिकेको थियो । त्यसपछि राम्रो बिक्री भएको गीतहरू‘उलेनी काठमाडौंमा क्यासेट सङ्ग्रह’ ५४ हजार क्यासेट बिक्री भयो भने पञ्चेबाजामा सरगम एट म्युजिकबाट निक्लेको ‘अन्माएर पठायौ’ गीतको क्यासेट ८० हजार प्रतिभन्दा बढी बिक्री भएको थियो । यस्तै त्यतिबेला मेरो राम्रो चलेको गीत ‘आँशु आको छ’ हो । यो गीतको त्यतिबेला बागमती सङ्गीत म्युजिक प्रालिबाट निक्लेको थियो र यो करिब ४५ हजार प्रति क्यासेट बिक्री भएको थियो । त्यसको केही वर्षपछि चक्का क्यासेट विस्तापित हुँदै गयो र सीडीको जमाना आयो ।

सीडीको जमानामा पनि त गीतहरू हिट भए होलान्नि?

अवश्य हिट भए । त्यो समयमा ‘दर्पण छायाँले’ गीतको सिडी क्यासेट राम्रो बिक्री भयो । बागमती सङ्गीत म्युजिक प्रालिबाट यो गीतको भीसीडी त्यतिबेला २५ हजार प्रति बिक्री भएको थियो । किनकि क्यासेटको तुलनामा भीसीडी महंगो पनि थियो । यसपछि पनि केही गीतहरू भिडियोमा आए र राम्रो व्यापार भयो । तर पछि युट्युबमार्फत गीत रिलिज गर्न थालेपछि सीडी र भीसीडी दुवै प्रविधिमा नेपालमा गीत ल्याउने क्रम कम हुँदै गयो ।

यहाँको युट्युबमा पनि थुप्रै्र गीतहरू लोकप्रिय छन् होइन ?

हो नि । मेरो थुप्रै गीतहरूले मिलियनभन्दा बढी भ्युज युट्युबमा पाएको छ । जसमध्ये‘पिरतीमा दम छ’, ‘दुःखीको दैलोमा’, ‘हाँसखेल गरम’, ‘साथ छोड्यो छायाँले’, ‘रातो फुलबुट्टे चोलाको’जस्ता गीतहरू मिलियनभन्दा बढी भ्युज भएका गीतहरू हुन् । अहिले पछिल्लो समय टिकटकलगायत अन्य सामाजिक सञ्जालमा हिट भएको गीत ‘फूल फुल्यो अमला’ हो । मेरो यो गीतमा एक लाखभन्दा बढीले टिकटक बनाएका छन् भने युट्युबमा यो गीतले डेढ मिलियनभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ ।

तपाईँ स्टेजमा पनि त्यत्तिकै व्यस्त कलाकारको रूपमा परिचित हुनुहुन्छ । हालसम्म कतिवटा स्टेज कार्यक्रम गर्नुभयो र एउटा प्रोग्रामबाट कतिसम्म पारिश्रमिक आउँछ ?

स्टेज कार्यक्रम प्रशस्तै गर्छु । हालसम्म करिब पाँच सय स्टेज कार्यक्रममा गीत गाइसकेको छु । वर्षमा २० देखि ३२ वटासम्म नेपालमै हुने विभिन्न मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रममा गीत गाउने गरेको छु । अब नजिकका साथीहरूको स्टेज कार्यक्रममा ५०/६० हजार दिनुहुन्छ । काठमाडौंबाहिर मोफसलमा एउटा कार्यक्रम कम्तीमा एक लाख रूपैयाँ दिने गर्नुभएको छ । काठे भाकाको गीतमा मलाई देश विदेशबाट पनि सम्झने गर्नुभएको छ । विदेशमा जाँदा एउटा कार्यक्रमबाट दुईदेखि तीन लाखसम्म लिनेगरेको छु । हालसम्म मैले मलेसिया, कतार, कोरिया, स्विजरल्यान्ड, अष्ट्रिया, इटाली, फ्रान्स, जर्मन, चीन, भारतलगायतका देशमा सम्पन्न कन्सर्टमा गीत गाइसकेको छु ।

गायनबाट रोयल्टी कत्तिको पाउने गर्नुभएको छ ?

रोयल्टीमा काठे भाकाबाट यसवर्ष सबैभन्दा बढी रोयल्टी रकम पाउनेमा म पहिलो नम्बरमा थिएँ । सोही कारण पनि काठे लोकदोहोरीबाट अब्बल गायकमा चिनिन पाउँदा खुसी छु । मूलतः काठे भाकाबाट सर्वाधिक बढीे रोयल्टी पाउने कलाकारको रूपमा आफू परेकोमा सम्पूर्ण दर्शकश्रोताहरूलाई धन्यवाद ज्ञापन गर्दछु । त्यसैले रोयल्टीको आम्दानी पनि राम्रै छ ।


क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया