कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ

२०४० सालमा अस्थायी दरबन्दीबाट निजामती सेवामा प्रवेश गरेका ज्ञानु प्रसाद पनेरु हाल तिनाउ गाउँपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत छन् । दुई वर्षपछि २०४३ सालमा खरिदारमा स्थायी भई निजामती सेवामा जग बसाल्न सफल भएका पनेरु मिलनसार र स्वच्छ आचरण भएका प्रमुख प्रशासकीय अधिकृतको रुपमा चिनिन्छन् । २०४६ सालमा नायब सुब्बामा नाम निकालेर बढोन्नती भएका पनेरु २०६४ सालमा अधिकृत हुन सफल भएका थिए । सिंचाइ, खानेपानी, सडकलगायतका विभिन्न क्षेत्रहरुमा कार्यानुभव संगालेका पनेरुले गत वर्ष फागुनमा तिनाउ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पदीय दायित्व सम्हालेका हुन् । जनतालाई आवश्यक दीर्घकालीन महत्वका योजनाहरु कार्यान्वयनमा ल्याउन सक्नु नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको धारणा राख्ने पनेरुसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

पहिलोपटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँपालिकामा कार्यरत हुनुहुन्छ, कस्तो अनुभव बटुल्दै हुनुहुन्छ ?

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुँदा कार्यसम्पादनमा मलाई त्यस्तो कुनै उल्झन अथवा अलमलको अवस्था सृजना भएको छैन । संघीयताको नयाँ व्यवस्थामा सामान्य रुपले अलमल हुनुपर्ने अवस्था मेरो मात्र नभएर सबैको छ । गत आवमा गाउँपालिकाका लागि आवश्यक नीति, नियम, कार्यविधि अपूर्णताले केही कुराहरुमा बृहत् छलफलको माध्यमबाट तयार गर्नुपर्ने हुँदा त्यसको लागि केही समय खर्च भयो । जसले नजानिँदो तरिकाले बजेट कार्यान्वयनमा सामान्य चुनौतीको अवस्था सृजना ग-यो ।

बजेट खर्च तथा योजना कार्यान्वयन नीति र प्रक्रियाले गरेको व्यवस्थाअनुरुप गरिने हुँदा खासै प्रभाव पार्ने अवस्था रहेन । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुपूर्व विकास निर्माणकै अड्डामा कार्यरत भई अनुभव संगालेको हुँदा योजना निर्माण र कार्यान्वयनमा खासै समस्या भएन । घामको झुल्कोसँगै अस्तसम्म योजना निर्माण तथा कार्यान्वयनमा समय व्यतित गर्नुपर्दा समय व्यवस्थापनको लागि केही समस्या चाहिँ पक्कै भएको हो ।

प्रदेश नं. ५ को राजधानी बुटवलबाट नजिकको क्षेत्र भए पनि यस क्षेत्रको विकास हुनसकेको देखिँदैन नि ?

नजिक र टाढा भन्नुभन्दा पनि भौगोलिक अवस्थाले सृजना गरेको अवरोध हो । बुटवल तराईअन्तर्गत प-यो भने तिनाउ गाउँपालिका पहाडअन्तर्गत प-यो । २०औं वर्षसम्म स्थानीय व्यवस्था जनप्रतिनिधिविहीन हुँदा विकास निर्माणले गति लिन सक्ने अवस्था रहेन । निर्वाचित जनप्रतिनिधि नहुँदा पहिले भूगोलले विकास निर्माणमा अवरोध सृजना गरे पनि अब त्यो अवस्था शतप्रतिशत अन्त्य भएको छ । आफ्नो निर्वाचन क्षेत्रको विकास अवस्था, सम्भावना र आवश्यकता सबै कुराहरुको जानकार व्यक्ति नै यो भूगोलमा विकासको मूल फुटाएर समृद्धि ल्याउन सक्छु भन्ने प्रतिबद्धतासाथ निर्वाचित हुनुभएको छ । पक्कै पनि उहाँहरुले भूगोल र सम्भावनाअनुसारका विकासे योजनाहरु ल्याउनुभएको छ, ल्याउनुहुनेछ । जुन योजनाहरुले समृद्ध गाउँपालिका मात्र नभई समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जनस्तरमा विश्वासको वातावरण सृजना भएको पाइन्छ ।

गाउँपालिकाको विकासमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण सबैको संयुक्त प्रयासमा अगाडि सारिएका विकासका योजनाहरुबारे के भन्नुहुन्छ ?

पहिले विना योजना काम हुन्थे तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ । दीर्घकालीन योजनाविना गरिएका कामहरुले क्षणिक रुपमा लाभ दिनसक्ने भए पनि छोटो समयमै उक्त योजनालाई पुनः गर्नुपर्ने अवस्था हुन्थ्यो । त्यो शैलीले विकास निर्माणका योजनाहरुमा कार्यसम्पादन गर्ने हो भने वर्षेनी एउटै योजनामा कार्यसम्पादन गर्नुपर्ने अवस्था आउँछ । पुरानो कार्यशैलीलाई ‘ब्रेक’ लगाएर दीर्घकालीन रुपमा फाइदा लिनसक्ने गरी नयाँ प्लानिङ गरी एक वर्ष लगाइएको लगानीले वर्षाैँसम्म फाइदा दिनसक्ने गरी विकास निर्माणका योजनाहरु कार्यान्वयनमा ल्याएका छौं । अहिले सडकको आवश्कता छ, भोलि सडकमा नालीको आवश्कता पर्छ । सडक मात्र बनाउँदा भोलिको नालीको आवश्यकताले त्यही सडक बिगार्नुपर्ने अवस्था आउनसक्छ । त्यसैले भोलिको आवश्कतालाई मध्यनजर गर्दै आवश्यकता र सम्भावनाहरुमा आधारित भई दीर्घकालीन महत्व राख्न सक्ने गरी विकास निर्माणका योजनाहरु कार्यान्वयनमा ल्याएका छौं । जुन योजनाहरुले समृद्ध गाउँपालिका निर्माणमा टेवा पुग्नेछ ।

आगामी आर्थिक वर्ष २०७६/७७ मा समृद्ध गाउँपालिका निर्माणको लागि कस्तो नीति तथा कार्यक्रमको तय भएको छ ?

सम्भावना र सम्भव हुने योजनाहरुलाई आधार मान्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तय गरेका छौं । संक्षेपमा विगतकै नीति तथा कार्यक्रमको निरन्तरताले स्थान पाएको छ ।

एउटै नीति तथा कार्यक्रमको बहुवर्षे प्रयोगले विकास निर्माणमा अवरोध सृजना गर्छ कि गर्दैन ?

पर्दैन । एक वर्षे कार्यक्रममा सम्पन्न नहुने योजनाहरुलाई बहुवर्षे योजनाअन्तर्गत राखेर नीति तथा कार्यक्रम तय गरिने हुँदा त्यसले कुनै असर पार्दैन । तातै खाम, जल्दै मरौँ भनेजस्तै कुनै पनि कार्यसम्पादन भन्नासाथ सहजता नहुने हुँदा केही समय धैर्य गर्नु बाध्यात्मक अवस्था हो । सबैको चाहना छिटो गरौं भन्ने हुन्छ तर सीमित स्रोत र साधनका बाबजुद हामीले हाम्रो चाहनालाई शान्त राख्नुपर्दछ । आवश्यकतालाई मध्यनजर गर्दै सम्भावनालाई कार्यान्वयनमा ल्याएर दीर्घकालीन महत्वका योजनाहरुमा गरिएको कार्यसम्पादन नै विकास निर्माणको मुख्य आधार भएकोले ती योजनाहरु सम्पन्न गर्न दुई/चार वर्ष लाग्नुलाई अन्यथा लिनुहुँदैन ।

जनताको जीवनस्तर उकास्ने सम्भावनाका स्रोतहरु के–के छन् ?

प्रमुख स्रोत कृषि नै हो । जसअन्तर्गत दूध, अण्डा, तरकारी, माछा–मासु, लगायतका कृषि तथा पशुपक्षीजन्य क्षेत्रअन्तर्गतका कार्यक्रमहरुले सहजै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ । समग्रमा व्यावसायिक कृषि र प्रवर्द्धनात्मक पर्यटकीय विकास नै मुख्य सम्भावनाका स्रोतहरु हुन् । जुन सम्भावनाहरुलाई आधार मानेर विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुका साथै ती क्षेत्रको विकासको लागि आवश्यक अन्य कार्यक्रमहरु सञ्चालनमा ल्याएका छौं ।

चालू आर्थिक वर्षको अन्तिम महिना चलिरहँदा गाउँपालिकामा प्रगतिको अवस्था कस्तो छ ?

एकदमै सबल र सफल छ । दुई/तीन वटा ठूला योजनाहरुबाहेक सम्पूर्ण योजनाहरु सम्पन्न भइसकेका छन् । बाँकी रहेका ती योजनाहरु पनि तोकिएको निर्धारित समयभित्रै सक्ने गरी तीव्र गतिमा कामहरु भएका छन् । चालू आवको लागि विनियोजित ३९ करोड बजेटमा ९५ प्रतिशतभन्दा बढी खर्चको लक्ष्यका साथ अगाडि बढेका छौं ।

गाउँपालिकामा आन्तरिक आम्दानीका स्रोतहरु के–के छन् ?

संघ र प्रदेश सरकारले दिने सशर्त र अनुदानमा रकम नै बजेटको प्रमुख स्रोत हो । संघ र प्रदेशको मात्र नभएर सानो हिस्सा भए पनि गाउँपालिकामा आफ्नै आम्दानी रहेको छ । ढुङ्गा, गिट्टी, बालुवा, चुनढुङ्गा खानीबाट प्राप्त रोयल्टी र प्रदुषणबापत उठ्ने रकम नै आम्दानीका प्रमुख स्रोतहरु हुन् । आन्तरिक आम्दानीबाट गत आवमा दुई करोड ५० लाख रुपैयाँ संकलन भएको थियो भने चालू आवमा पनि सोहीबराबर उठ्ने अनुमान गरेका छौं । आगामी वर्षहरुमा आन्तरिक आम्दानी वृद्धि नयाँ सोच, योजना र छलफलका साथ अगाडि बढेका छौं ।

अन्य स्थानीय तहहरुभन्दा फरक खालका कुनै कार्यक्रमहरु सञ्चालनमा ल्याउनुभएको छ ?

हामीले गरेका सबै कामहरु नयाँ छन् । काम नयाँ भए पनि अन्य स्थानीय तहहरुले पनि कार्यान्वयनमा ल्याएका छन् कि छैनन् भनेर एकीनसाथ भन्नसक्ने अवस्थाचाहिँ छैन । सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गाउँपालिकाकै स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउन आउने आमाहरुको लागि स्वास्थ्य र तन्दरुस्तीको लागि अण्डा उपलब्ध गराउँदै आएका छौं । त्यस्तै गर्भवती भइसकेपछि नेपाल सरकारले दिने दुई हजार रुपैयाँमा गाउँपालिकाबाट थप दुई हजार थपेर चार हजार रुपैयाँ उपलब्ध गराउने गरेका छौं । मानिसको जीवनमा स्वस्थ रहनु सबैभन्दा महत्वपूर्ण पक्ष भएकोले स्वास्थ्य इकाइहरु सञ्चालनमा ल्याउनुका साथै ७० वर्ष काट्नुभएका वृद्ध आमाबुवाहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्थाको पनि सुरु गरेका छौं । पढ्न चाहने तर समय व्यवस्थापनमा समस्या पर्ने विद्यार्थीहरुको अवस्थालाई ध्यानमा राखेर दुईवटा सामुदायिक शैक्षिक संस्थाहरुमा छात्रावासको प्रबन्ध मिलाएका छौं । यी कार्यक्रम नयाँ हुन् ।

समृद्ध तिनाउ गाउँपालिका निर्माण गर्न सक्ने आधारहरु के के छन् ?

मैले अघि पनि भनिसकेँ । कृषि र पर्यटन क्षेत्रको विकास नै समृद्ध तिनाउका प्रमुख आधार हो । समृद्ध भन्नासाथ कुनै एउटा पक्ष मात्र नहुने हुँदा सामाजिक, आर्थिक, भौतिकलगायतका हरेक क्षेत्रहरुको उच्च विकास जरुरी हुन्छ । पहाड र तराईसँग जोडिएको गाउँपालिका हुनाले विकासले गति लिनसक्ने आधारहरु प्रशस्तै रहेका छन् । पहाडमा उभिएर हिमालको मनोरम दृश्य पनि देखिने र तराईको मनमोहक दृश्य पनि देखिने स्थानहरु विरलै मात्रामा छन् । दृश्य अवलोकनको क्षेत्रको रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउनसक्ने आधारहरु पनि छन् भने अन्य धार्मिक तथा पर्यटकीय स्थलहरु पनि अवस्थित छन् । तीन स्थानमा सञ्चालनमा आउँदै गरेका केबलकारले पनि गाउँपालिकाको पर्यटकीय विकासमा टेवा पुग्ने हाम्रो विश्वास छ । समृद्ध तिनाउ निर्माणको लागि हरेक सम्भावनाहरुको खोजी गर्दै अगाडि बढ्नु हामी सबैको कर्तव्य भएकोले सोहीअनुसार अगाडि बढेका छौं ।

गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ ?

सामान्य रुपमा गाउँपालिकाको प्रशासनिक भवनको अभावले साँघुरो ठाउँबाट सेवाप्रवाह गर्नुपर्ने बाध्यता भए पनि छिटोछरितो रुपमा सेवा प्रवाहलाई ध्यानमा राखेर कार्यसम्पादन गरेका छौं । नागरिक बडापत्र, कार्यसम्पादनको निगरानी, समयको महत्वलाई बुझेर इलेक्ट्रिक हाजिरीको पनि व्यवस्था मिलाएका छौं । पारदर्शी सूत्रमा आधारित लेखा प्रणालीका साथै बिजुली गएर सेवाप्रवाहमा हुने ढिलासुस्तीलाई मध्यनजर गर्दै छिटोछरितो सेवाको लागि सोलार प्यानलको व्यवस्था पनि मिलाएका छौं । गुनासो सुनुवाइको लागि निःशुल्क टेलिफोनको व्यवस्था तथा वेबसाइटमार्फत उजुरीको प्रबन्धलगायत जनतालाई सुशासनको प्रत्याभूति दिलाउन हरेक क्षेत्रलाई चुस्त रुपले अगाडि बढाएका छौं । तिनाउ गाउँपालिकालाई पेपरलेस अड्डाको रुपमा विकास गर्न आवश्यक प्रक्रियाहरुको अवलम्बन गर्दै अनलाइन सिस्टमलाई कार्यान्वयनमा ल्याएका छौं ।

कुनै–कुनै स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच राम्रो सम्बन्ध नहुँदा विकास निर्माणमा बाधा उत्पन्न भएको गुनासाहरु सुनिन्छन्, तिनाउ गाउँपालिकामा त्यसको अवस्था कस्तो छ ?

सबैभन्दा राम्रो पक्ष तिनाउमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद तथा समस्या नहुनु नै हो । कर्मचारीले जनप्रतिनिधिलाई राम्ररी बुझेका छौं भने जनप्रतिनिधिहरुले कार्यसम्पादनमा कर्मचारीको आवश्यकतालाई राम्ररी बुझ्नुभएको छ । जनप्रतिनिधि नीतिनियम निर्माणमा अग्रसर हुनुहुन्छ भने कर्मचारीहरु त्यसलाई कार्यान्वयनमा ल्याउन तल्लीनमा छौं । स्थानीय सरकार सञ्चालनमा कर्मचारी र जनप्रतिनिधि दुवै पक्षको भूमिका महत्वपूृर्ण हुने हुँदा दुवै पक्ष मिल्नुको कुनै विकल्प छैन । कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध नङ र मासुको सम्बन्धले देखाउने औँलाको सुन्दर रुपजस्तै भएकोले समन्वय र सहकार्यमा कार्यसम्पादन हुनुपर्छ भन्ने हामी सबैको मान्यता हो ।

जनताबाट अमूल्य मतबाट निर्वाचित जनप्रतिनिधि जनसेवाकै लागि निर्वाचित भएको र कर्मचारी पनि त्यही जनताका आवश्यकताहरुमाथि कामकारबाही गर्न सेवारत हुनुहुन्छ यहाँका जनप्रतिनिधि । त्यसैले यहाँ जनप्रतिनिधि र कर्मचारी दुवै एउटा रथका दुई पाङ्ग्रा हुन् । लक्ष्य एक भएको स्थानमा मनमुटावको अवस्था सृजना हुने अवस्था रहँदैन । कर्मचारी, जनप्रतिनिधि र स्थानीयलगायत सबै पक्षहरु सकारात्मक सोचका साथ अगाडि बढेकोले तिनाउमा अहिलेसम्म त्यो समस्या देखा परेको छैन । जसले गर्दा विकास निर्माणका गतिविधिहरु तीव्र रुपमा भइरहेका छन् ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com