सकारात्मक परिवर्तन हुने गरी कार्यसम्पादन गर्नु अहिलेको आवश्यकता हो

पाल्पामा रहेका साबिकका नौ गाविसहरू मिलेर बनेको गाउँपालिका हो बगनासकाली गाउँपालिका । विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरूको सम्मिश्रण रहेको गाउँपालिकाभित्र उर्वर कृषिभूमि, सामुदायिक वन क्षेत्र, दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरू बासस्थान रहेको छ । कुमाल, बोटेलगायत बाहुन, क्षेत्री, मगर, तथा दलित जातीय बाहुल्य रहेको गाउँपालिका ८४.१६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । ३१ हजारभन्दा बढी जनसंख्या रहेको गाउँपालिकामा बगनास देवीस्थान, दर्लममहाकाली, महामृत्युञ्जय शिवासन क्षेत्र, सुनगुफा रामनदी धाम, मालारानी, रानीमहल, ऋषिकेश्वर मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय महत्व बोकेका सम्पदाहरू अवस्थित छन् । धार्मिक तथा पर्यटकीय दृष्टिकोणका साथै कृषि क्षेत्रको विकासबाट पनि समृद्ध गाउँपालिका निर्माण गर्नसक्ने आधारहरू रहेको गाउँपालिकामा कृष्णप्रसाद बस्याल निर्वाचित जनप्रतिनिधिको रूपमा गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत छन् । नेपाली कांग्रेसको राजनीतिबाट अध्यक्ष पदमा निर्वाचित भएका बस्याललाई महत्वाकांक्षी चाहना राख्ने विकासप्रेमी नेताको रूपमा चिनिन्छन् । उनै बस्यालसँग आर्थिक राष्ट्रिय दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश : 

बगनासकाली गाउँपालिकामा आधारभूत आवश्यकताको परिपूर्तिको अवस्था कस्तो छ ?

औषत विकास रहेको गाउँपालिकामा व्यावहारिक शिक्षाको अवस्था कमजोर छ । सामुदायिक शैक्षिक संस्थाहरूमा देखिएको न्यून गुणस्तरीय शिक्षालाई गुणस्तरीय शिक्षामा विकास गरेर प्राविधक शिक्षामा जोड दिँदै धेरैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ । साबिकका सबै गाविसहरूका स्वास्थ्य संस्था भएता पनि सबै वडाहरूमा बर्थिङ सेण्टर नभएकोले क्रमश राख्ने तयारीमा छौँ । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधीहरूको अभाव सृजना हुन नदिन सोहीअनुसारको प्रबन्ध मिलाएका छौँ ।

सबै वडाहरूसँग जोड्ने सडक भएता पनि पक्की कालेपत्रे सडकको अवस्था कम छ । सबैभन्दा बढी समस्या खानेपानीको हुँदा प्रत्येक घरमा धारा हुनेगरी विभिन्न योजनाहरूको तर्जुमा गर्दै खानेपानीको पर्याप्तताको लागि आवश्यक योजनाहरूका साथ कार्यसम्पादन गरेका छौँ । केन्द्रको अधिकार स्थानीय तहलाई भनिएता पनि सानो आकारको बजेटमा ठूला आकारका तथा धेरै कामहरू गर्नुपर्ने परिस्थितिले केही समस्या उत्पन्न हुने अवस्था रहन्छ । एकैसाथ सबै योजनाहरूमा कार्यसम्पादन गर्न कठिनाइ भएता पनि सम्पन्न कामहरूले दीर्घकालीन महत्व राख्नेगरी हुनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेका छौँ ।

कार्यसम्पादनको दुई वर्षमा गाउँपालिकामा विकास निर्माणका के–कति कामहरू भए ?

क्षमताले भेट्नेजति विकास निर्माणका कामहरू भएका छन् । कार्यसम्पादनको पहिलो वर्ष मेनपावरको कमीले चाहना हुँदाहुँदै पनि अपेक्षित काम गर्नसक्ने अवस्था नरहेता पनि प्रभावकारी बजेट खर्चले उत्साहको वातावरण सृजना ग-यो । पहिलो वर्ष नीति नीयम निर्माण, नयाँ व्यवस्थामा नयाँ अनुभवले केही असहज परिस्थितिको सृजना गरेता पनि उच्चतम बजेट खर्च गर्न सफल भयौँ, सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ । चालु आवमा कार्यसम्पादनमा अघिल्लो आवमा भन्दा केही सहजताको वातावरण सृजना भयो र हामी पनि अनुभवी भयौँ । पाँच वर्षे कार्यअवधिको दुई वर्षमा चाहना र इच्छाअनुसारका कामहरू गर्न असम्भव भएता पनि जन–आवश्यकतालाई सम्बोधन गर्नसक्ने प्रकृतिका कामहरू भएका छन् । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका योजनाअन्र्तगतका कामहरू भएका छन् । युवा स्वरोजगार तथा व्यावसायिक कृषिमा कृषकको आकर्षणका लागि विभिन्न प्रकृतिका प्रोत्साहनका कार्यक्रमहरू पनि बितेका दुई वर्षमा गर्न सफल भएका छौँ ।

गाउँपालिकामा नीति–नियम र कार्यविधि निर्माण भएका छन् ?

२५ वटा ऐन नीयम र कार्यविधि निर्माण गरी गाउँकार्यपालिकाबाट पास भैसकेका छन् । थप चार वटा पास हुने क्रममा छन् । गाउँपालिका सञ्चालनको लागि २९ वटा ऐन, नीयम र कार्यविधि पर्याप्त नभएता पनि आवश्यकताका आधारमा निर्माण गर्दै जाने रणनीति तय गरिएकोले सोहीअनुसार अगाडि बढ्दै छौँ । आवश्यकतालाई प्राथमिकताको सूचीमा राखेर योजनाहरूमा कार्यसम्पादन गरिएकोले सोही प्रक्रिया प्रभावकारी पक्ष बनेको छ ।

चालू आर्थिक वर्ष २०७५/७६ को लागि विनियोजित बजेटमा प्रगतिको अवस्था कस्तो छ ?

चालू आवको लागि विनीयोजित ४२ करोड बजेटमध्ये अधिकतम बजेट खर्च भैसकोको छ । न्यूनतम बजेट खर्चको लक्ष्य ९५ प्रतिशत भएता पनि पुँजीगत बजेट खर्चको लक्ष्य ९९ प्रतिशतसहित कार्यसम्पादन तीव्रता दिएका थियौँ । तर विविध कारणले सामान्य अंश बजेट खर्च गर्न सक्ने अवस्था रहेन । जुन खर्च कार्यसम्पादनमा ढिलाइ भन्दा पनि समय परिस्थितिले सृजना गरेको अवस्था हुँदा चिनिन्त बन्नुपर्ने देखिएन ।

आर्थिक वर्ष २०७६/७७ को लागि बजेट बाँडफाँटको अवस्था कस्तो छ ?

आव २०७६/७७ मा धेरै साना योजनाहरू छनोट गरिएता पनि आवश्यकता र प्राथमिकताको आधारमा करिब तीन सय योजनाहरूमा बजेट बाँडफाँड गरिएको छ । त्योबाहेक केही दीर्घकालीन महत्व राख्ने योजनाहरू पनि छन् । सडक, पर्यटकीय विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, सिंचाइलगायतका क्षेत्रहरू बजेट वाँडफाँडका मुख्य क्षेत्रहरू हुन् ।

योजनाहरू कार्यान्वयनको लागि बजेटको आकार कस्तो छ ?

आर्थिक वर्ष २०७६/७७ को लागि गाउँपालिकामा कूल ३८ करोड ९३ लाख सात हजार पाँच सय रूपैयाँ बजेट विनीयोजन भएको छ, जसमा सामाजिक सुरक्षाभत्तालाई समावेश गरिएको छैन् । उक्त गाउँपालिकाको बजेटमा प्रदेश सरकारको वित्तीय समानीकरणमा ४१ लाख ३१ हजार रूपैयाँ परेको छ भने सशर्तमा ८० लाख रूपैयाँको साथै राजश्व बाँडफाँडबाट ३९ लाख २२ हजार, समपुरकमा एक करोड ५० लाख र विशेष अनुदानमा ५२ लाख गरी तीन करोड ८२ लाख ५३ हजार रूपैयाँ रहेको छ । त्यसैगरी संघीय सरकारबाट वित्तीय समानीकरणमा नौ करोड १८ लाख रूपैयाँ, सर्शतमा १७ करोड १६ लाख र राजश्व बाँडफाँडबाट छ करोड ५१ लख रूपैयाँ रहेको छ ।

बजेटको स्रोत विवरण हेर्दा परनिर्भरता धेरै देखिन्छ नि ?

सबै स्थानीय तहहरूमा पर्याप्त मात्रामा आम्दानीका स्रोतहरू हुन्छन् भन्ने छैन् । आम्दनीका स्रोतहरू हुने स्थानीय तहबाट नहुने स्थानीय तहहरूमा पु-याउनको लागि प्रदेश र संघीय सरकार स्थापना भएको हो । आम्दानी हुँदै नहुने भन्ने होइन, हुन्छ । तर त्यति धेरै हुँदैन भन्ने हो । सात सय ५३ वटा स्थानीय सरकारहरू भएको नेपाल एउटै राज्य हो । संघीयता केवल विकास मोडेल भएकोले संघ र प्रदेशले दिएको बजेटबाट स्थानीय तह सञ्चालन हुनुपर्ने अवस्था नराम्रो पक्ष होइन । त्यही स्थानीय तहबाट पठाइएको राजश्व प्रदेश र संघमा पुगेर वाँडफाँड भई पुन स्थानीय तहमा आउँछ । जसबाट स्थानीय तहले आवश्यकताको आधारमा स्थानीय स्तरको विकासको लागि प्रयोगमा ल्याउँदछन् ।

स्थानीय तहहरूले आम्दानीका स्रोतहरू नखोजे पनि हुन्छ ?

आम्दानीका स्रोतहरू नखोजे पनि हुन्छ भन्ने अर्थ होइन । सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ । कसैको एक्लो प्रयासले देशको मुहारमा चमक ल्याउन सकिँदैन । स्रोत हुनेहरूले स्रोतको अत्याधिक प्रयोग गर्ने र स्रोत कम हुनेहरूले स्रोत बृद्धिको लागि हरेक सम्भावनाहरूको खोजी गर्नु नै समृद्ध नेपाल निर्माण गर्न सक्ने प्रमुख आधार हो । हामीसँग धेरै सम्भावनाहरू छन् तर कार्यन्वयनमा ल्याउन नसक्दा हामी कमजोर बन्दै गएका छौँ । बगनासकालीमा पनि कृषि र पर्यटन क्षेत्रमा रहेका छन् । सम्भावनाहरूलाई कार्यन्वयनमा ल्याएर गाउँपालिकाको आयस्तर बृद्धि गर्ने योजनामा लागेको हुँदा आम्दानीका स्रोतहरू थपिँदै जानेमा विश्वस्त छौँ ।

अन्य स्थानीय तहहरूका भन्दा फरक योजनाहरू के–के छन् ?

ठ्याक्कै फरक भनेर त छैनन् । तर पनि युवा स्वरोजगार र बालमैत्री अभियान फरक खालका योजना हुन् कि भन्ने हाम्रो ठम्याइ छ । विशेष गरेर युवा स्वरोजगारलाई बढी प्राथमिकतामा राखिएकोले उत्पादनमूलक क्षेत्रमा जोड दिएका छौँ ।

गाउँपालिकामा देखिने प्रकृतिका कामहरू के के भएका छन् ?

स्वास्थ्यअन्र्तगत चार वटा वर्थिङ सेण्टरहरू सञ्चालनमा ल्याएका छौँ । स्वास्थ्य संस्थाहरूमा औषधीको अभाव हुन नदिन सोही खालको व्यवस्था छ । स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराइने औषधीबाहेक सुगर र प्रेसरको औषधी थप गरेर स्वास्थ्य सेवालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने योजनामा छौँ । सडक विस्तार र स्तरोन्नतिका कामहरूको साथै व्यावसायिक आधुनिक कृषि प्रणालीका लागि आवश्यक प्रक्रियाहरूमा कार्यसम्पादन गरेका छौँ । गरिएका कामहरूमध्ये केही कामहरू देखिने प्रकृतिका भएता पनि केही कामहरू नदेखिने प्रकृतिका हुन्छन् । नदेखिने प्रकृतिका कामहरूले अदृश्यरूपमा आफ्नो महत्व बढाएका हुन्छन् भने भौतिक विकासअन्र्तगतका कामहरू बढी देखिने प्रकृतिका हुन्छन् ।

गाउँपालिकामा कृषि उत्पादनको अवस्था कस्तो छ ?

राम्रो छ । कृषिमा सम्भावना बोकेको गाउँपालिका भएकोले कृषि क्षेत्रको विकासले जनताको जीवनस्तर उकास्न सकिने आधारहरू छन् । तरकारीलगायत अन्य अन्नबाली र पशु क्षेत्रको विकासले निकास दिने आधारहरूलाई प्रोत्साहन दिँदै विभिन्न खालका अनुदान, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने लगायतका कामहरू पनि भैरहेका छन् । मापदण्ड बनाएर कृषि उत्पादनको बजारीकरणको लागि आवश्यक सहयोगको साथै ढुवानी व्यवस्था समेत मिलाउने गरेका छौँ । पहिलो प्राथमिकता कृषि भएकोले उत्पादन र उत्पादकत्व बढाउने योजनाहरूको साथ पकेट क्षेत्रहरू निर्माण गरी हावापानी अनुकूलको खेतीमा विशेष जोड रहेको छ । पछिल्लो एक वर्षलाई हेर्दा कृषि क्षेत्रमा धेरै परिवर्तनहरू आएका छन् भने कृषि पेशाप्रति किसानहरूको लगाव पनि बढ्दै गएको छ । फस्टाउँदै गएको कृषिले हामीलाई कार्यसम्पादनमा थप उर्जा प्रदान गरेको छ ।

कृषिमा युवा आकर्षण कत्तिको छ ?

नाक खुम्च्याउने परिपाटीले अपेक्षितरूपमा विकास हुन नसकेको कृषिमा पछिल्ला दुई वर्षमा धेरै परिवर्तन आएको छ । केही उदाहरणीय कृषकहरूको कारण कृषितर्फ आकर्षण बढ्दै गएको हो । गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा शैक्षिक प्रमाणपत्र धितो राखेर कृषि कर्जा लिनेको माग बढ्दै गएकोले हाम्रो कृषि फस्टाउँदै गएको प्रष्ट हुन्छ । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन केन्द्र सरकारले अलमलमा परिरहेको समयमा हामीले अघिल्लो वर्षबाटै व्यवाहारमा ल्यायौँ र प्रभावकारी बन्यो हाम्रा लागि निकै खुशीको कुरा हो ।

चाहना हुँदाहुँदै पनि लगानी अभावले कृषि पेशा अवलम्वन गर्न नसक्ने किसानलाई निरास बन्नु पर्ने अवस्थाको अन्त्य हुँदै गएको छ । जसले किसानहरू समूहगत र व्यक्तिगतरूपमा कृषि पेशामा आकर्षित बनाउँदै गएको छ । अघिल्लो वर्ष पाँच/सात जनाको समूह बनाएर आउने कृषकहरूको समूहबाट एक जनाको अनिवार्य शैक्षिक योग्यताको प्रमाणपत्र राख्ने गरेका छौँ भने एकल आउनेलाई पनि सोही व्यवस्था गरेका थियौँ अब त्यसलाई थप प्रभावकारी बनाउनेतर्फ केही मापदण्डहरू छुट्याएर अगाडि बढेका छौँ । दुई वर्षभित्र ऋण तिर्नेलाई पाँच प्रतिशत छुटको व्यवस्था मिलाएका छौँ भने तीन महिनासम्म काम सुरु गर्न नसकेमा लिएको रकम फिर्ता गर्नुपर्ने प्रावधान राखेका छौँ ।

के–कस्ता क्षेत्रहरूमा कर्जा सुविधाको व्यवस्था छ ?

विशेष गरेर व्यावसायिक कृषि गर्ने किसानहरूलाई ऋण दिने गरेका छौँ । तरकारी खेती गर्ने, बाख्रापालन, भैसी पालन, गाई पालन, कुखुरा पालनलगायतका कृषिसम्बन्धी कामहरूलाई प्राथमिकतामा राखेर सहजताको लागि ऋण उपलब्ध गराउने गरेका छौँ । माग धेरै हुँदै गएको र कृषि कार्य गरिरहेका किसानहरूको पनि माग सम्बोधन गर्नुपर्ने अवस्थालाई सम्बोधन हुनेगरी कार्य गर्नु अर्को आवश्यकता भएकोले त्यसको लागि उहाँहरूलाई पनि मलाखाद, बीउविजन लगायतका सेवासुविधाहरूको व्यवस्था मिलाएका छौँ ।

खेतीयोग्य जमिनमा बाँझोपनको अवस्था कस्तो छ र कृषि क्षेत्रमा के–कस्ता समस्याहरू छन् ?

जनताहरू कृषि मै निर्भर हुँदा बाँझोपनको अवस्था अत्यन्त न्यून अर्थात नगन्य छ । कुनै–कुनै वडाहरूमा बसाइसराइको कारणले सिजनेवल खेती भएता पनि पूर्ण रूपमा बाँझो रहने अवस्था छैन् । कृषि क्षेत्रको विकासले गाउँपालिकाका जनताहरूको जीवनस्तर उकास्न सकिने सम्भावनाहरू अधिक भएकोले तिनै सम्भावनाहरूमा आधुनिक र व्यावसायिक खेती अनिर्वाय छ । सिचाइँको र बाँदर लाग्ने समस्या मुख्य हुन् । बाँदरको आतंकले कृषकले उत्पादनमा नोक्सानी सहनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बाँदर हेर्ने व्याक्तिको पनि व्यवस्था मिलाए बजेट विनियोजन गरेका छौँ । जसले गर्दा किसानहरूले उत्पादनमा नोक्सानी सहनुपर्ने अवस्थाको केही हदसम्म अन्त्य भएको छ ।

तरकारी, गाजर, सूर्यमुखी, केरा, अदुवा, मौरी पालन, कुरिलो खेतीलगायतका विभिन्न खेतीहरूको लागि उर्भरभूमि भएकोले कृषकहरूको आकर्षण पनि तिनै खेतीहरूमा बढी देखिन्छ । गाउँपालिकाले पनि तिनै क्षेत्रहरूलाई प्राथमिकतामा राखेर विभिन्न खालका योजनाहरू कार्यन्वयनमा ल्याउँदै पकेटक्षेत्र बनाएर योजनाबद्धरूपमा अगाडि बढेकोले विगतमा भन्दा वर्तमानमा कृषि क्षेत्र फस्टाउँदो अवस्थामा छ ।

एउटा स्थानीय सरकारको प्रमुखका नाताले भन्नुपर्दा के समृद्ध नेपाल सम्भव छ ?

अवश्य पनि सम्भव छ । तर अधिकारसम्पन्न स्थानीय सरकारहरूलाई अधिकार दिन आनाकानी गर्ने, नीति निर्माणकर्ताको रूपमा रहेका सांसदहरूलाई पैसा बाँड्ने, राजनीतिक अस्थिरता कायम राख्दै व्यक्तिगत स्वार्थमा बढी प्रेरित भई विकास निर्माणका योजनाहरू कार्यान्वयनमा ल्याउने परम्पराको अन्त्य नभएसम्म कठिन छ । समृद्ध नेपाल निर्माणको लागि सात सय ५३ स्थानीय सरकार र सात वटा प्रदेश सरकार गठन गरिएको छ । उनीहरूलाई काम गर्ने वातावरणको सृजना गर्नु जरुरी विषय हो ।

सांसदले विकासकोषबाट पैसा लिएर गाउँगाउँमा गएर एक्लै विकास निर्माणका योजनाहरू सम्पन्न गर्न नसक्नेहुँदा जुन क्षेत्रको सांसद हो सोही क्षेत्रको स्थानीय तहलाई विकास निर्माणका कामहरू सुम्पिनु पर्दछ । समृद्ध नेपाल निर्माणका लागि धेरै सम्भावनाहरू रहेकोले तेरोमेरो भन्ने भावनाको अन्त्य गरी हाम्रो र हामी सबैको भन्ने भावनाको विकास गरी आवश्यकताका आधारमा योजनाहरू कार्यन्वयनमा ल्याउँदै सम्भावनाहरूमा द्रुत गतिमा काम हुनुपर्दछ ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com