अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट हुन्छ । तीन जिल्ला कार्यक्षेत्र भएको तिनाउ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठले आजबाट एकिकृत कारोबार गर्दै गरेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड, रूपन्देहीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीले उनलाई थप चुनौतीपूर्ण यात्रामा डो-याएको छ । २०३० सालमा स्याङजा जिल्लाको वइघामा जन्मिएर २०५६ सालबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ २०६८ सालमा तिनाउ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । व्यवस्थापन विषयमा स्नाकोत्तर उत्र्तिण गरेका श्रेष्ठ उत्पादनमूलक क्षेत्रमा लगानीको जोड दिने प्रमुख कार्यकारी अधिकृतको रूपमा चिनिन्छन् । वित्तीय पहँच र सेवा प्रवाहलाई विशेष ध्यान दिने तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड रूपन्देहीका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

एकीकृत कारोबारको लागि आर्थिक वर्षको अन्तिम दिन नै रोज्नुको कारण के हो ?

यहि २०७५ साल चैत्र तीन गतेको दिन प्रारम्भिक सम्झौता भएको चार महिनाभित्र हामीले मर्जरको प्रक्रिया टुङ्ग्याउन सफल भएका छौँ । हामी दुई संस्था एक भइ कारोबार गर्ने सहमतिपत्रको कार्ययोजना र हाम्रो उद्देश्य आव ०७५/७६ भित्र संयुक्त कारोबार गरी यो आर्थिक वर्षको साधारण सभा एउटै गर्ने र आगामी आर्थिक वर्ष ०७६/७७ सुरुवातसँगै तिनाउ मिसन डेभलपमेण्ट बैंकको नामबाट वित्तीय कारोबार गर्ने रहेको थियो सोही अनुरूप हामीले कार्य गर्दै गयौँ र मर्जरको नीतिगत प्रक्रिया, आन्तरिक व्यवस्थापन, गर्दागर्दै केही समय लाग्यो जसको कारण हामीले यस आर्थिक वर्षको अन्तिम दिनलाई संयुक्त कारोबार गर्ने दिनको रूपमा चयन ग-यौं ।

बैंकको वित्तीय संरचनाको कस्तो छ ?

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको वित्तीय संरचनाको कुरा गर्दा अधिकृत पुँजी तीन अर्ब, जारी पुँजी एक अर्ब १४ करोड ४१ लाख र चुक्ता पुँजी पनि एक अर्ब १४ करोड ४१ लाख हुनेछ । त्यसैगरी जगेडा तथा अन्य कोषहरू २६ करोड छ लाख, निक्षेप संकलन १० अर्ब २० करोड, कर्जा प्रवाह आठ अर्ब ९२ करोड, सञ्चालन मुनाफा १९ करोड ७६ लाख र खूद मुनाफा १२ करोड ५६ लाख हुनेछ ।

शाखा सञ्जाल, सेवाग्राही र कार्यक्षेत्रको अवस्था कस्तो छ ?

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड हाललाई नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको सात जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्था हो जसमा चितवन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा र दाङ जिल्ला रहेका छन् । हालसम्म तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको शाखा सञ्जालको संख्या ३८ वटा रहेको छ भने दुईवटा शाखा कार्यालयहरू क्रमशः पाल्पा शाखा र घोराही शाखा सञ्चालन गर्ने तयारीमा रहेका छौँ भने सेवाग्राहीको संख्या करिब ९५ हजार रहेको छ ।

बैंकलाई शाखा व्यवस्थापन मिलाउने चुनौती पनि छ नि ?

हामी ५ नं. प्रदेशको प्रादेशिकस्तरको विकास बैंकको रूपमा कारोबार गर्ने सोच राखेर अगाडि बढ्ने हो भने हामीले तीन नं .र चार नं. प्रदेश अर्थात् चितवन र नवलपरासीपूर्व भएका शाखाहरूलाई व्यवस्थापन गरी अगाडि बढ्नुपर्ने हुन्छ तर हाम्रो सोच प्रादेशिकस्तरको विकास बैंकको नभएर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति गरी अगाडि बढ्ने रणनीति भएकोले हामीले संयुक्त कारोबार गरेपश्चात नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई लिनेगरी सम्झौता गरिसकेका छौँ भने मर्जर, एक्विजिसन, बोनस शेयर र हकप्रद शेयरको रणनीतिलाई समेत अगाडि बढाउनेछौँ ।

नेपाल कम्युनिटीलाई प्राप्ति गर्ने प्रक्रिया कहाँ पुग्यो ? कहिलेसम्म एकीकृत कारोबार गर्नसक्ने सम्भावना छ ?

हामीले नेपाल कम्युनिटी डेभलपमण्ट बैंकसँग प्रारम्भिक संझौता गरिसकेका छौँ । यही २०७६ असोज मसान्तसम्म उक्त संस्थालाई प्राप्ती गरी संयुक्त कारोबार गर्ने योजनाका साथ काम अगाडि बढाइरहेका छौँ । हाम्रो अबको लक्ष्य राष्ट्रियस्तरको विकास बैंक बन्ने नै हो । सोहीअनुरूप नै हामीले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गर्नको लागि सम्झौता गरेका हौँ ।

राष्ट्रियस्तरको बैंकको रूपमा कारोबार गर्न अहिलेकै जनशक्ति पर्याप्त हुन्छ ? बदलिँदो परिस्थितिमा कर्मचारी व्यवस्थापनलाई कसरी मिलाउनुहुन्छ ?

हामी तीनवटा विकास बैंकहरू एक भएर अगाडि वढ्दै गर्दा तीनवटै संस्थामा योग्य, अनुभवी, लगनशील र दक्ष कर्मचारीहरू हामीसँग छँदैछन् तर पक्कै पनि स्तरोन्नति गरी अगाडि बढ्दा कारोबारको, नेटवर्क पनि बढ्दै जान्छ यो स्वाभाविक हो । यसको व्यवस्थापनको लागि हामीले हाम्रा भएका कर्मचारीहरूलाई अझ सक्षम बनाउनको लागि आन्तरिक र बाह्य तालिमको व्यवस्थापन गर्नेछौँ । आन्तरिक नियन्त्रण प्रणाली, व्यवस्थापन र सूचना प्रणालीमा अझ थप ध्यान दिनेछौँ । यस विकास बैंकको आवश्यकताअनुसार आवश्यक योग्य, दक्ष र अनुभवी कर्मचारीहरू भर्ना गर्ने योजनाका साथ अगाडि बढेका छौँ ।

तिनाउ र मिसन बैंकबीच कर्मचारी तथा सञ्चालक समितिको जिम्मेवारी बाँडफाँट कसरी गर्दै हुनुहुन्छ ?

यस सम्बन्धमा हामीहरूले सम्झौतामा स्पष्टरूपमा उल्लेख गरेका छौँ साबिकको तिनाउ विकास बैंकको तर्फबाट दुईजना संस्थापक सञ्चालक, एकजना सर्वसाधारण सञ्चालकको प्रतिनिधित्व हुनेछ भने मिसन डेभलपमेण्ट बैंकको तर्फबाट दुईजना संस्थापक सञ्चालक र एकजना सर्वसाधारण सञ्चालकको प्रतिनिधित्व हुनेछ । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतमा साबिक तिनाउ विकास बैंकबाट म प्रदिपकुमार श्रेष्ठ रहनेछु भने नायव प्रमुख कार्यकारी अधिकृतमा साबिक मिसन डेभलपमेण्ट बैंकबाट हरिप्रसाद घिमिरेको प्रतिनिधित्व हुनेछ भने दुवै बैंकमा रहेका कर्मचारीहरूको समान तहमा नै रहनेछन् । त्यसैगरी नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्तीपश्चात एकजना संस्थापक सञ्चालक एकजना सर्वसाधारण सञ्चालकको प्रतिनिधित्व हुनेछ भने कर्मचारीहरूको हकमा संयुक्त मर्जर समितिले निर्णय गरेबमोजिम हुनेछ ।

तीन बैंकको मर्जर तथा एक्विजिसनपछिका भावी योजनाहरू के–के छन् ?

पक्कै पनि स्थानीयस्तरका लगभग समान आर्थिक स्थिति, यसै क्षेत्रका शेयरधनीहरू तथा ग्राहकहरू पनि भएका तीन विकास बैंकहरू एकआपसमा मर्जर तथा प्राप्तीले गर्दा सबै सरोकारवालाहरू उत्साहित हुनु स्वाभाविक नै हो । हाम्रो सोच पनि यसै क्षेत्रको क्षेत्रीयस्तरको विकास बैंक मिलेर राष्ट्रिय पहिचान बनाउनु हो । सोहीअनुरूप हामीले मर्जर गरेका हौँ भने मर्जरपश्चात हाम्रो केन्द्रीय कार्यालय रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. चार, पाल्पारोडमा आफ्नै भवनमा रहनेछ । ग्राहक सन्तुष्टि, सरल, छिटो र छरितो सेवा सुविधा, संस्थागत सुशासन, सबल वित्तीय अवस्था, उचित प्रतिफल नै हाम्रो लक्ष्य हुनेछ ।

क्षेत्रीयस्तरमा सञ्चालित विकास बैंकहरूका समस्याहरू के–कस्ता छन् ?

क्षेत्रीयस्तरमा सञ्चालित विकास बैंकहरूका मात्र नभएर समग्र बैंकिङ क्षेत्रकै समस्या भनेकै अस्वस्थ प्रतिस्पर्धा हो । वाणिज्य बैंकहरूले समेत यसएमीलगायत स–साना हायरपर्चेज कर्जा लगानी गर्ने गरेको अवस्था छ । यसले गर्दा विकास बैंकहरूलाई कर्जा लगानीमा निकै प्रतिस्पर्धा गर्नुपरेको छ । विकास बैंकहरूले वास्तवमा गाउँगाउँमा गई शाखा विस्तार गरी वित्तीय पहँंच पु¥याएको अवस्था हो । ग्रामीण र वित्तीय पहुँच नपुगेको क्षेत्रका ग्राहकहरूलाई बैंकसँग कारोबार गर्न विकास बैंकहरूले सिकाएको छ । विकास बैंकहरूले ग्राहकहरूलाई जग तयार गर्ने काम गरेको छ । जब ग्राहकहरू व्यावसायिक हिसाबमा सक्षम हुन्छन् तब वाणिज्य बैंकतर्फ सिफ्ट हुन्छन् यो विकास बैंकको समस्याको विषयवस्तु बनेको छ ।

त्यसैगरी अहिले पनि वित्तीय बजारमा लगानीयोग्य रकमको अभाव छ । वित्तीय संस्थाहरूले आफ्नो ध्यान निक्षेप संकलनमा मात्र केन्द्रित गर्नुपर्ने अवस्था सृजना भएको छ । व्यावसायिले बुझाउने वित्तीय विवरण पनि समस्याको विषयवस्तु बनेको छ कर भुक्तानी गरेअनुसारको कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था बैंकलाई गरिदिएको छ । यो व्यवस्था गर्नुपूर्व कर प्रणालीलाई सुधार गर्नुपर्ने मैले देखेको छु ताकि बैंकले कर्जा दिँदा कर मिलाएर आउनुस् तपाईको व्यवसाय राम्रो छ तर करमा बुझाएको वित्तीय विवरणले गर्दा तपाईलाई कर्जा दिन मिल्दैन भन्नै नपरोस् । प्रणाली सुधार गरेर लागू गर्दा सबै पक्षलाई राम्रो र सजिलो हुने हो भने यसले समग्र देशको आर्थिक समृद्धिमा टेवा पु-याउने हो ।

विकास बैंक र वाणिज्य बैंकहरूलाई राज्यस्तरका निकायहरूले हेर्ने दृष्टिकोण कस्तो छ ?

वास्तवमा भन्नुपर्दा वाणिज्य बैैंक र विकास बैंकहरू दुवै नै नेपाल राष्ट्र बैंकको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमनमा सञ्चालित हुन्छन् । सबै बैंक तथा वित्तीय संस्थाहरूको दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक एवं वार्षिक वित्तीय विवरणहरूको बारेमा राष्ट्र बैंकले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा अनसाइट तथा अफसाइटरूपमा सुपरिवेक्षण गरिरहेको हुन्छ, भन्नुको तात्पर्य दुवै स्तरका बैंकहरू जोखिमको हिसाबले हेर्ने हो भने समान नै हुन्छन् । तर पनि नेपाली जनताको बुझाइमा वाणिज्य बैंक तथा विकास बैंकहरूलाई हेर्ने दृष्टिकोण अथवा धारणा फरक छ । भन्ने गरिन्छ कि विकास बैंकको तुलनामा वाणिज्य बैंकहरू बढी विस्वासिला र भरपर्दा हुन्छन् । त्यसैले गर्दा नै वाणिज्य बैंकहरूप्रति जनताको बढी झुकाव छ तर बास्तवमा त्यो सत्य होइन ।

विकास बैंकहरू पनि उत्तिकै सफल र सक्षम छन् । रिटर्नको हिसाबले पनि हेर्ने हो भने लगानीकर्ताहरूलाई उत्तिकै प्रतिफल दिइरहेका छन् ता कि विकास बैंकहरूको आम्दानीको मुख्य स्रोत भनेकै ब्याज आम्दानी हो । अर्कोतर्फ विकास बैंकहरूलाई राज्यको तर्फबाट हेर्ने दृष्टिकोण पनि फरक गरेको पाइन्छ । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारको गठनपश्चात पनि ती निकायहरूबाट प्राप्तगर्ने सुविधाहरू पनि वाणिज्य बैंकहरू नभएमा मात्र विकास बैंकलाई पाउनेगरेका छन् । वास्तवमा भन्ने हो भने हरेक कामकारबाहीको हिसाबले विकास बैंकहरू पनि उत्तिकै सक्षम छन् त्यसैले राज्यले हेर्ने दृष्टिकोणमा पनि समनता हुनुप-यो ।

तपाईं विकास बैंकर्स एसोसिएसनको सचिव पनि हुनुहुन्छ । नेपालका विकास बैंकहरू कसरी सञ्चालन भइरहेका छन् ?

विकास बैंकहरूले गाउँगाउँमा गएर वित्तीय पहुँच नभएका जनताहरूलाई वित्तीय सेवा प्रदान गरेका छन् । अधिकांश विकास बैंकहरूले लघुवित्त परियोजनासमेत सञ्चालन गरेर विनाधितो सामुहिक जमानीमा कर्जा प्रवाह गरेका छन्, त्यसरी नै गाउँगाउँसम्म आफ्ना शाखा विस्तार गरेर ग्रामीण क्षेत्रका वित्तीय पहुँच नभएका जनताहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेका छन् । पछिल्लो समयमा आएर विकास बैंकहरू एक आपसमा मर्जर भएर संख्यात्मक हिसाबले कम हुँदै गएको अवस्था छ । विकास बैंकहरू नियमनकारी निकायको निर्देशन, बैंक तथा वित्तीय संस्था ऐन र अन्य प्रचलित ऐन नियमअनुसार नै सञ्चालन भएको अवस्था छ ।

एउटा बैंकर्सको नाताले भन्नुपर्दा राज्यमा आर्थिक समृद्धि ल्याउन बैंक तथा वित्तीय संस्थाहरूले कस्तो भूमिका निर्वाह गरिरहेका छन् र गर्नुपर्छ ?

तपाई हामीलाई थाहा भएको कुरा हो बैंक तथा वित्तीय संस्था वित्तीय मध्यस्थकर्ता हो । जसले राज्यमा सर्वसाधारणमा छरिएर रहेको पुँजीलाई निक्षेपको माध्यमबाट एकतृत गरी लगानीको लागी पुँजी अभाव भएको व्यक्ति, व्यवसायी, उद्यमीलाई लगानी गर्दछ । नेपालमा जब बैंक तथा वित्तीय संस्था खोल्नको लागि नीजि क्षेत्रलाई स्वीकृती दिइयो तब नीजि क्षेत्र उत्साहित भई बैंक तथा वित्तीय संस्थाहरू खोले र शाखा सञ्जालहरू विस्तार गरे र अहिले अधिकांश स्थानमा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल पुगेको अवस्था छ । पचास प्रतिशतभन्दा बढी जनता वित्तीय पहुँंचभित्र पुगेको अवस्था छ । उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेको छ र नेपाल सरकारले लिएको आर्थिक बृद्धिदरमा साथ दिएको अवस्था छ ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com