‘यसकारण लामोसाँघु–जिरी सडकको ठेक्का रद्द’

सन् १९७५ देखि १९८५ सम्म स्विस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु–जिरी सडकको चौडा बढाउने कार्य अहिले भइरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा सन् २०१९ जुलाई महिनाको अन्त्यसम्ममा पनि काम सम्पन्न भएको छैन । कारण दुई ठेकेदार कम्पनीको वाक्युद्धले गर्दा समयमा सम्पन्न हुन नसकेको ठहर सडक डिभिजन चरीकोटको रहेको छ । डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाका अनुसार अहिलेका निर्माण व्यवसायीहरुबाट काम हुनै नसक्ने भएपछि ठेक्का रद्दको प्रक्रिया अगाडि बढेको छ । सो सडकको अवस्थाबारे डिभिजन प्रमुख झाकै शब्दहरु :-

हामीले पटक–पटक सम्बन्धित ठेकेदार कम्पनीलाई अनुरोध गरेका थियौँ । तर ठेकेदारहरुले वास्ता नगरेपछि ठेक्का रद्द नै गर्नुपर्ने निर्णय हामीले गरेका छौ’ । सो सडक खण्ड चौडा गर्नका लागि पहिलो प्याकेजमा ५० करोड ८२ लाख २६ हजार ४ सय ५८ रुपैयाँ ५१ पैसा बजेट र दोस्रो प्याकेजमा ९० करोड १४ लाख ८७ हजार ५ सय १० रुपैयाँ ४३ पैसाको लागतमा सडक चौडा गर्ने र कालोपत्रे गर्ने जिम्मा दिइएको थियो ।

३ जुन २०१५ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको मितिले दुई वर्ष अर्थात् १५ जुलाई २०१८ सम्म सडक निर्माणसम्पन्न गर्नुपर्नेमा सो समयसीमाभित्र सम्बन्धित ठेकेदार कम्पनीले गर्न सकेनन् । भारतीय एक्जिम बैंकको लगानीमा सडक चौडा बनाउन खाडीचौरदेखि मुडेसम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लिएको कम्पनी यसअघि नै काम छाडेर भागेपछि समस्या आएको हो । खाडीचौरदेखि मुढेसम्म सुनौलो खिम्ती र भारतीय सीमाञ्चल र नेपाली गौरी पार्वतीले कम्पनीले यसको जिम्मा लिएका थिए । सुनौलो खिम्ती बेपत्ता भएपछि यो सडक खण्डको निर्माणको जिम्मा पनि नेपालको गौरी पार्वतीलाई नै दिइएको थियो ।

मुडेबाट चरीकोटसम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा भारतको सकिल हैदर, शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको थियो । २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक मर्मतकार्य सक्नुपर्ने भए पनि यो खण्डको काम समयमा नसकेपछि सो ठेक्का रद्द गर्ने प्रक्रियामा डिभिजन कार्यालयले सुरु गरिसकेको छ ।

सडक सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनीपछि निर्माणाधीन लामोसाँघु–जिरी सडकखण्डका ठेकेदारहरुले गत मंगलबारदेखि सडक सुधार गरेर यातयात आवागमनलाई सहज बनाउने लिखित वाचा गरे पनि सोचेअनुसार काम हुनसकेको छैन । लामोसाँघु–जिरी सडक सुधार आयोजनाले गत आइतबार तीन दिनभित्र सडक सुधार नगरे ठेक्का रद्द गर्ने सूचना प्रकाशित गरेपछि उनीहरु कार्यालयको सम्पर्कमा आएका थिए । दुई निर्माण व्यवसायीको विवादले गर्दा सडक निर्माणमा समस्या भएको ठेकेदारहरुले स्वीकारेका छन् । खाडीचौरदेखि २५ किलोसम्म सडक निर्माणको जिम्मेवारी सुनौलो खिम्ती, भारतीय सीमाञ्चल र नेपाली गौरी पार्वती कम्पनीले लिएको थियो । अघिल्लो निर्माण व्यवसायीले रकम भुक्तानी नगरेपछि सडक निर्माणमा प्रयोग भएका सबै उपकरणको चाबी खोसिएको थियो ।

यसले गर्दा समस्या भएको ठेकेदारहरुले गुनासो गर्दै आएको प्रमुख झा बताउँछन् । बिग्रेको सडकमा ग्राभेल नगर्ने हो भने लामोसाँघु जिरी सडक अनिश्चितकालका लागि बन्द गर्नुपर्ने अवस्था आइसकेको झाको ठहर रहेको छ । लिसंखुपाखर गाउँपालिकाको क्षेत्रमा सडक बढी बिग्रेको छ । छ किलोमिटर सडकमा ठूलो समस्या छ, यो क्षेत्रका बासिन्दाको दैनिकीमा नै समस्या पर्दै आएको छ ।

चार जिल्लाको लाइफ लाइनका रुपमा रहेको लामोसाँघु जिरी सडकखण्ड स्तरोन्नतिको काम यो वर्ष पनि नसकिए ठेक्का तोड्ने सडक कार्यालयले चेतावनीसहितको पत्र दिएपछि मात्र ठेकेदारहरु सम्पर्कमा आएको हो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगालगायतका जिल्लाको लाइफ लाइनको सडक स्तरोन्नतिको काममा हेलचेक्र्याइँ गरेको ठहर प्रमुख झाको रहेको छ । ठेकेदारको चरम लापरबाहीका कारण निर्माणमा ढिलाइ भएको हो । वर्षा सुरु हुनुभन्दा अघिदेखि ठेकेदार कम्पनीलाई सडक सम्पन्न गर्न निर्देशन दिएको तर सो निर्देशनको समेत पालना उनीहरुले नगरेकै कारण अहिले सो सडकखण्डमा सवारीसाधन सञ्चालनमा समस्या र यात्रुहरुले चरम दुःख पाएका छन् ।

ठेकेदारहरुले साइडमा राखेको निर्माण सामग्रीबाटै सडक सुधार गर्ने र त्यसको सबै जिम्मेवारी ठेकेदार कम्पनीबाटै व्यहोर्न लगाउने निर्णय भएको थियो । सडक सुधार नभए सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ (संशोधनसहित) बमोजिम ठेक्का सम्झौता रद्द गर्नुका साथै कार्यसम्पादन जमानत तथा धरौटी रकम जफत गर्नुको साथै प्रचलित कानुनबमोजिम गरिने झाले बताए ।

निर्माण कम्पनी सीमाञ्चल–गौरी पार्वती–सुनौलो खिम्ती जेभीले खाडीचौरको जिरोदेखि मुडेनजिकै २५ किलोमिटर सडक सुधारको जिम्मा पाएको थियो । जिरोदेखि आठ किलोसम्म कालोपत्रे सकिए पनि सडक नाली भने नबनाएका कारण सडक झन बिग्रिएको छ । सडक खनेर कमसल खालको बेस राख्दा वर्षामा समस्या देखिएको छ । वर्षात्को झरीमा सडकमै पानीको भल बग्ने गरेकका कारण यो सडकमा सवारीसाधन आवतजावत गर्न सक्दैनन् । मालवाहक ट्रक तथा टिप्पर हिलोमा फसेपछि लामोसाँघु–जिरी सडकखण्डका विभिन्न स्थानमा दैनिकजसो यातायात अवरुद्ध हुँदै आएको छ । खाडीचौर चरिकोट सडक खण्ड फराकिलो बनाउने काम आर्थिक वर्ष २०७०/०७१ बाट सुरु भएको हो । सो समयमा पाएको ठेक्काको काम गत असार महिनामै सकिनुपर्ने थियो । दुईवटा प्याकेजमा काम भइरहेको छ । अर्काे प्याकेज आर्थिक वर्ष २०७१/०७२ बाट सुरु भएको हो । ठेक्का फरक–फरक समयमा भए पनि काम २०७२ सालमा लगभग एकै साथ सुरु भएको थियो ।

तल्लो प्याकेजको खाडीचौरदेखि मुडे खण्डको २५ किलोमिटरको निर्माण व्यवसायी सीमाञ्चल गौरी पार्वती सुनौला खिम्ती र माथिल्लो प्याकेज मुडेदेखि चरीकोटसम्मको ३० किलोमिटर निर्माण व्यवसायी सुनौला खिम्ती अनि शंकर माली दुईवटा फर्मबाट काम गर्ने जिम्मेवारी पाएको थियो । काम गर्ने क्रममा दुईवटै ठेक्का सुनौला खिम्तीको भीमसेन भण्डारीले कामको जिम्मेवारी लिएका हुन् । स्ट्रक्चरका कामहरु गरे तर सम्पन्न भने गरेको छैन । पछि उनीहरुले नाफा हुने काम गर्न थालेकै कारण यो सडकखण्डमा समस्या आएको हो । क्रसरहरु राखेर गिटी बेच्न थाले उनीहरुले । पछि काम लथालिंग भएपछि लिड पार्टनर इन्डियन भए पनि बीचको गौरी पार्वतीको रामकुमार थापा आएर काम गर्न थालेकोे धेरै भएको छैन । ७/८ महिना भएको छ । गौरी पार्वतीका थापाले सो काम गर्न थाले पनि भण्डारीले भुक्तानी गर्नुपर्ने करोडौ रुपैयाँको बक्यौता रकम चुक्ता नगरेका कारण समस्या परेको बताए । पट्रोल पम्प, लोडर, क्रसर, कामदारलागायतको रकम नदिई भण्डारी भागेपछि पछि काम गर्न आएका थापा सो समस्याको चेपाइमा परेका छन् ।

माथिको प्याकेजमा शंकर माली आफैँ आएर काम गरेको अवस्था रहेको छ । हाम्रो काम गर्ने क्रममा तल्लो प्याकेजको लगभग आठ किलोमिटर कालोपत्रे गरिसकेका छौँ, बाँकी दुई किलोमिटरको तयारी काम भइरहेको देखिन्छ । सुनौला खिम्तीको बक्यौताहरुले गर्दा पनि कामले तीव्रता नपाएको हो । पेट्रोलपम्पको, क्रसरको, किराना पसल, मजदुरले पाउने रकमको बक्यौता अत्यधिक रहेको छ । यसरी बक्यौता भुक्तानी नहुँदा पीडितहरुले मेसिनको साँचो खोसिदिने कहिले मेसिन नै लगिदिने, कहिले तोडफोड गरिदिनेजस्ता कार्यले गर्दा काममा बाधा आएको थापाको भनाइ छ  । ११ किलोमिटरसम्म पिच गर्ने लक्ष्य रहेको थियो । ग्राभेल गरेर छोड्दा वर्षात्मा समस्या हुन्छ । बेस गर्ने लक्ष्य थियो तर, बीचमै समस्या भयो । निर्माण व्यवसायीले पुरानो बक्यौता तिर्न नसक्ने भएकाले पनि समस्या भएको हो ।

माथिल्लो प्याकेजको मात्रै सात करोड रुपैयाँ जरिवाना लगाइसक्यौं । अर्काेको साढे पाँच करोड जरिवाना तिर्नुपर्नेछ । हाम्रो उद्देश्य काम हुने हो तर जरिवाना लगाएर पनि काम हुन सकेन । भदौको दोस्रो हप्तादेखि दुवै प्याकेजले काम गर्ने प्रतिबद्धता जनाएका छन् । वैशाख मसान्तभित्र काम सकिन्छ भन्ने हाम्रो थियो । तर सो सीमाभित्र काम सकिएन । यातायात सहज गराउन तपाईंहरु आउनुहोस् भनेका थियौं । नत्र ठेक्का रद्द हुन्छ र कालोसूचीमा लान्छौं भनेपछि उनीहरु सम्पर्कमा आएका हुन् । सडक विभागबाट पनि दुईवटा लोडर र दुईवटा टिप्पर खटाएका छौं । ती मेसिनहरुले पनि फसेका गाडीहरु तान्ने, मिलाउने काम गरिरहेको छ ।

माथिल्लाको ७० भन्दा माथि र तल्लोको ६० प्रतिशत काम भएको छ भनिए पनि अधिकांश स्थानमा सडकपेटी र नालीको काम पूरा भएको देखिँदैन । तल्लोको आठ किमि पिच गरेर सकिएको छ । १७ किमि पिच गर्न र नालीहरु बनाउन बाँकी छ । माथिल्लोकोे पिच गर्न पूरै बाँकी छ । गिटी र बेसहरु राखिएको छ । अलकत्रा पनि झारिसकिएको छ । भदौ दोस्रो साताबाट कालोपत्रेको काम सुरु हुन्छ भनिएको छ । यहाँ भएको पिच फरक खालको हो । प्राविधिक रुपले राम्रो पिच बनाइँदै छ । यहाँको डिजाइनअनुसार रोड तापक्रम मिल्नुपर्छ १६ डिग्री सेल्सियस हुनुपर्छ । १५ सयभन्दा माथिको उचाइमा हुँदैन । मुडे, चरीकोटमा हुँदैन । अस्फाल्ट हुनुपर्छ डिजाइनमा । निर्माण व्यवसायीले गल्ती के गरे भने पहिलो कोट गरे, दोस्रो गरेनन् । अहिले ठाउँठाउँमा खाल्डो परेको छ, दोस्रो कोड नगरेका कारण । अब सबै मर्मत गर्नुपर्छ अनि दोस्रो कोड गनुपर्ने झाको भनाइ छ ।

डिजाइनमा के रहेछ भने पिच गरेपछि स्लोपमा नाला बनाउने हो । सुरुमा नाला भएको भए समस्या हुँदैनथ्यो । अहिले गाडी फसेका कारण त्यही हो । नालाको पनि डिजाइनमै त्रुटि रहेको पाइएको छ । व्यवस्थापन फितलो भएका करण सो समस्या परेको हो । पहिला कुन काम गर्ने भन्ने नै छैन । डिजाइन केन्द्रीय कार्यालयले त्यसको निर्णय गर्छ । सडक सुधार तथा विकास आयोजना निर्देशनालयले पनि गर्छ ।

माथिल्लोमा काम भएन भनेर म्याद थप गरेनन् । म्याद थप गर्न समय लाग्छ । थप नभई काम गर्दिन भनेर बसेको हो । विभिन्न निहुँमा निहुँ खोज्दै बस्ने हुँदा काम अगाडि नबढेको हो । पिच सुरु नगरेकाले बिल रोकिदिएको छु । ९० करोडको ठेक्का हो माथिल्लो । ५५ करोड भुक्तानी भएको छ । ग्राभेल र स्ट्रक्चर भइसकेको छ । अब पिच बात्रै बाँकी हो । बगाएको ग्राभेल र भत्केको स्ट्रक्चर मर्मत गर्न निर्देशन दिएका छौ । बेस मिलाऔँ अनि पेमेन्ट गरौँला भनेर नौ करोड बिल रोकिदिएका छौँ । तल्लो ५४ करोडको हो । ३७ करोड जति भुक्तानी भएको छ । काम जति राम्रो भयो उति नै चाँडो बिल हुन्छ । कात्तिकमा हामी कामको प्रगति हेर्छाैँ । अहिले पनि यातायात सञ्चालन गर्न सकेनन् भने ठेक्का रद्द गर्छाैँ । ४/५ किलोमिटर बाटो निकै बिग्रेको छ ।

काम गर्न सहज बनाइदिएका छौं र पनि ठेकेदारहरु काम गर्दैनन् किनकि ठेकेदारसँग स्रोत साधन कमी हुँदा पनि समस्या आएको छ । काम ओगट्ने प्रवृत्ति छ । यहाँको ठेक्का तोडिने भएपछि काम गर्न भनेर बाहिरको मेसिन ल्याएका छन् । ठेक्का तोड्न निकै समस्या छ । नियमअनुसार बढेको रेट ठेकेदारसँग लिनुपर्दछ । त्यसका लागि पनि लामो प्रक्रिया छ । मुद्दा, अदालतसम्म पुग्छ । त्यसैले पनि निकै गाह्रो रहेको छ । सहायक राजमार्गमा चरीकोटअन्तर्गत सिन्धुपाल्चोक र दोलखा गरेर सिन्धुपाल्चोकमा बनदेउदेखि तातोपानीको अरनिको राजमार्गमा गाडी गुडिरहेको छ । मुख्य समस्या भनेको कोठे, जुरे, बाह्रबीसेमाथि र तातोपानी छेउमा रहेको छ । चौताराको सडक, साँखु, भोटेचौरको बाटो पनि सञ्चालनमा रहेका छन् । जिरोकिलो मेलम्चीको बाटोमा ठेक्का लागेर अहिले ग्राभेल खोलाबाट झिकेर काम गर्न लगाइएको छ । बलेफी तेम्बाथानको बाटोमा पनि पहिरो आउने गर्छ । पन्छाएर समस्याको समाधान भइरहेको छ ।

सडक निर्माण कसैले रोक्न सक्दैन । अर्थ मन्त्रालयबाट बजेट आइसकेपछि कार्यान्वयन गर्ने हामीले हो । जिरी सडकमा पनि अहिले द्रुतगतिमा काम भइरहेको छ । सवा दुई अर्बको बजेट हो । रुख कटानीको समस्या त्यहाँ आएको थियो । वन कार्यालयसँग समन्वय गरेर अहिले टाँचा लगाइसकिएको छ । म आएपछि काम द्रुत गतिमा भइरहेको छ । सियाँलेको पुलको काम रोकिएको थियो । ठेकेदारले काम रोकेको थियो । पछि पत्रिकामा निकालेर कारबाही गर्छाैँ भनेपछि काम भयो । लामोसाँघुबाट तौंथली जाने बाटोको पुलको काम पनि भएको छ । चरीकोटमा पनि यसपालि बालुवा खोला, फुल्पिङ खोला, झाँक्रे खोला, भस्मे खोलालगायतमा गरी तीनवटा पुलको काम सम्पन्न भइसकेको छ । बाँकी तीनवटा पुलको काम भइरहेको छ ।

सिन्धुपाल्चोकको हाँडी खोलाको पुल काम भइरहेको छ । अरनिको राजमार्गमा निकै समस्या रहेको थियो । तातोपानीसम्म गाडी नै जाँदैन थियो । चीन सरकारको सहयोगमा र नेपाल सरकारको आर्थिक सहायतामा हामीले बनदेउदेखि तातोपानीसम्म सडक बनाएर सवारी सुचारु गरेका छौँ । जुरेमा गएको पहिरोका कारण पनि सो राजमार्गमा बढी समस्या हुन पुगेको हो । माथिबाट आएको पानी अहिले सडकमा आउँदैन ग्याभिनले रोक्ने व्यवस्था मिलाएका छौँ । खोलाले पनि कटान नगरोस् भनेर वाल लगाएका छौं ।

कोठेको वान वे मात्रै हुने सडकलाई अहिले फराकिलो बनाएका छौँ । सुकुटेमा खोलाले कटान गर्ने गर्दथ्यो त्यहाँ पनि वाल लगाएर सो समस्या समाधान गरेका छौँ । बाह्रबीसे अस्पतालनजिक पनि खोलाले कटान गर्ने गरेको थियो त्यहाँ पनि २ सय मिटर वाल लगाएर सो समस्यालाई समाधान गरेका छौँ । साँधी खोला पुल बनाएका छौँ । मितेरी पुल, बन्दरगाह चीन सरकारले बनाइसकेको छ । यस पटक पनि अरनीको राजमार्गका लागि १५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजित भएको छ । (प्रमुख झासँगको कुराकानीमा आधारित) 


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com