‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको क्षेत्रको विकासमा बढी रुचि राख्ने न्यौपाने २०४९ सालदेखि हालसम्म अधिकांश विकट क्षेत्रहरूमा कार्यसम्पादन गर्दै आएका छन् । कार्यसम्पादनका क्षेत्रहरूमध्ये केही बढी विकट क्षेत्रहरू भएता पनि केही त्योभन्दा सुगम क्षेत्रहरू पनि रहेका छन् । प्यूठान, रोल्पा, सल्यानलगायतका जिल्लाहरूमा कार्यसम्पादन गरिसकेका न्यौपाने रूपन्देही सुगम जिल्लामा गनिएता पनि सुगम जिल्लाको केही पछाडि परेको गाउँपालिका मायादेवीमा पनि पछिल्लो दुई वर्ष कार्यसम्पादन गरेका छन् ।

चार महिनाअघि मात्र शुद्धोधन गाउँपालिकामा सरुवा भई आएका न्यौपानेको मायादेवी गाउँपालिकामा रहँदाको कार्यशैलीले शुद्धोधनमा सरुवा भई आउँदा त्यहाँका स्थानीयहरू खुशी बनाएको छ । सम्भव, सम्भावित, दीर्घकालीन महत्व राख्ने योजनाहरूलाई कार्यान्वयनमा ल्याउनुपर्ने मान्यता राख्ने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

मायादेवीबाट शुद्धोधनमा सरुवा भई आएपछि यहाँको आगमनले शुद्धोधनमा धेरैलाई खुशी देखाएको छ नि किन होला ?

त्यो कुरा त यहाँका सर्वसाधारणलाई नै थाहा होला, उहाँहरू किन खुशी हुनुहुन्छ भन्ने । म त एउटा राष्ट्रसेवक कर्मचारी हुँ । विधिविधान, नीतिको परिधिभित्र रही कार्यसम्पादन गर्नु मेरो जिम्मेवारी र कर्तव्य हो । मायादेवी र शुद्धोधन एउटै क्षेत्रका दुई स्थानीय सरकार हुन् । मायादेवीमा मैले गरेका कार्यहरूको उहाँहरूले नजिकबाट नियाल्ने अवसर पाउनुभएको होला । जनतालाई सुशासनसहितको प्रशासनिक सेवाको अपरिहार्यता हुन्छ । त्यो प्रकारको सेवा सुविधा उपलब्ध गराउन मैले हरसम्भव प्रयास गरिरहेको हुन्छ ।

अर्को आवश्यकताका आधारमा योजनाहरू तर्जुमा र कार्यान्वयन, विकास निर्माणका सम्भव सम्भावनाहरूको खोजी र कार्यान्वयन, प्राथमिकताका आधारमा योजनाहरू कार्यान्वयन गर्ने कार्यशैलीले यहाँले भनेजस्तो माहोलको सृजना भएको हुन सक्छ । वास्तवमा हामी जनताका सेवक हौँ । जनताको सेवा गर्नु एउटा कर्मचारीको धर्म हो । नियम र कानुनको परिधिभित्र रही जनचाहनालाई पूर्ति गर्नेगरी निस्वार्थ भावनाले लागिन्छ भने त्यहाँ स्वस्फूर्त रूपमा प्रशंसाहरूको उत्पत्ति हुन्छ ।

शुद्धोधन गाउँपालिकामा विकासको अवस्था कस्तो छ ?

क्रमशः विकासले गति लिँदै गरेको शुद्धोधन औषत विकास भएको गाउँपालिका हो । भौगोलिक हिसाबले सुगम र राजमार्गदेखि नजिक भएको हुनाले एक गाउँबाट अर्को गाउँ जोड्ने, यहाँ उत्पादित सामानहरूलाई बजारीकरणको लागि गन्तव्यसम्म पु¥याउन सक्ने आधारहरू छन् । शिक्षा, स्वास्थ्य, सञ्चारको अवस्था आवश्यकता परिपूर्र्तिको अवस्थामा छ । जनतालाई आत्मनिर्भर बनाउन सक्ने कृषियोग्य जमिन र आवश्यक सडक सञ्जालहरूका साथै आन्तरिक स्रोतमा वृद्धिको लागि सघाउ गर्ने दुईवटा तिनाउ र दानव नदी छन् । जनताको जीवनस्तर उकास्ने प्रमुख स्रोत भनेको कृषि भएकोले आधुनिक तथा व्यवसायिक कृषि प्रणालीमार्फत उत्पादन र उत्पादकत्व बढाई जनतालाई आर्थिकरूपले बलियो बनाउनेतर्फ अग्रसर बनाउनु हाम्रो सबैभन्दा महत्वपूर्ण काम हो । कृषि र आयआर्जनलाई मध्यनजर गर्दै कार्यसम्पादन गर्दै विगतका दुई वर्षमा कृषि क्षेत्रमा एउटा खुड्किलो पनि पार गर्न सफल भएका छौँ ।

गत अर्थिक वर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

सन्तोषजनक नै रह्यो । करिबकरिब ९४ प्रतिशतको सेरोफेरोमा बजेट गर्न सफल भयौँ । अघिल्लो वर्षको तुलनामा विविध कारणले सामान्य कम भएता पनि निराशजनक छैन ।

चालू आर्थिक वर्षमा कति बजेटमा के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउँदै हुनुहुन्छ ?

चालू आर्थिक वर्षको लागि कुल ४६ करोड ८९ लाख ८५ हजार रपैयाँ बजेट विनियोजन भएको छ । उक्त बजेटबाट आर्थिक विकास, सामाजिक विकास, पूर्वाधारको विकास, संस्थागत विकास, वन तथा वातावरण संरक्षण र विपत् व्यवस्थापन, सुशासन तथा सामाजिक सुरक्षालगायतका क्षेत्रहरूअन्र्तगतका योजनाहरू कार्यान्वयनमा ल्याउँदै छौँ ।

योजनाहरूको बाँडफाँड कसरी गर्नुभएको छ ?

गाउँपालिकास्तरीय र वडास्तरीय गरी दुई तरिकाबाट योजनाहरू बाँडफाँड गरेका छौँ । वडास्तरीय योजनाहरूको लागि सम्बिन्धित वडा कार्यालयहरूले एक/एक करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ भने वडाहरूले गर्न नसक्ने र सम्भव नहुने योजनाहरूलाई गाउँपालिका स्वम्ले गर्ने गरेको छ ।

गाउँपालिकास्तरीय योजनाहरू कुनकुन क्षेत्रमा कति छन् ?

भौतिक पूर्वाधारतर्फ २३ वटा, स्वास्थ्यतर्फ १६ वटा, आयुर्वेदिकतर्फ पाँचवटा, सामाजिक विकास कोषतर्फ दुईवटा, सरसफाइ तथा स्वच्छतातर्फ आठवटा, महिला विकासतर्फ सातवटा, शिक्षातर्फ १६ वटा, संस्थागत विकास तथा अन्य सामाजिक विकासतर्फ आठवटा, वातावरण तथा विपत् व्यवस्थापनतर्फ दुईवटा योजनाहरू रहेका छन् । बजेटको सिलिङबराबरका योजना तथा कार्यक्रमहरू लभग सबै क्षेहरूलाई समेट्ने गरी प्राथमिकता र आवश्यकताका आधारमा ल्याएका छौँ ।

पृथक तथा नयाँ प्रकृतिका योजनाहरू छैनन् ?

खासै त्यस्ता योजनाहरू छैनन् । चालू आर्थिक वर्षका पुरानै परम्परागत शैलीका योजनाहरू धेरै छन् । नयाँ र पृथक योजनाहरूभन्दा पनि हामीले गाउँपालिकाको समृद्धिसँग सम्बन्ध राख्ने खालका योजनाहरूलाई प्राथमिकताको सूचीमा राखेर सोहीअनुसारका योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ ।

वितेका दुई वर्षमा गाउँपालिकाको विकासमा तुलनात्मक परिवर्तनको अवस्था कस्तो छ ?

२० वर्ष लामो समयसम्म राजनीतिक अस्थिरताले पछाडि परेको विकास निर्माण क्रमशः सिढी चढ्ने क्रममा रहेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पहिलेदेखिका विकासका आवश्यकताहरू धेरै र पूर्र्ति गर्ने स्रोत र साधनहरू सीमित भएकोले जनताका अधिकभन्दा अधिक आवश्यकताहरूमा क्रमशः पूरा गर्दै जानु पर्ने अवस्था छ । बितेका दुई वर्षमा एक खालको जग बसिसकेको छ । पूर्वाधारको विकास, स्वास्थ्य, कृषि, शिक्षालगायत सामाजिक तथा आर्थिक विकासअन्तर्गतका क्षेत्रहरूमा काम भएका छन् ।

व्यवस्थित र चौडा सडक, स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुन नदिने गरी व्यवस्था, १५ सैयाको अस्पताल निर्माणाधीन अवस्थामा, हरियाली प्रवर्द्धन, प्राविधिक शिक्षाको पठनपाठनको सुरुवात, गाउँपालिकाको भवन निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्नुको साथै वडास्तरीय भवनहरू पनि क्रमशः निर्माण प्रकृयामा छन् ।व्यावसायिक खेतीका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन, नक्सा पास प्रक्रिया, ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरूको संरक्षण सम्वर्द्धन र विकासलगायतका धेरै गतिविधिहरू भैरहेकोले पहिलेको तुलनामा विगतका दुई वर्षहरूमा धेरै परिवर्तन भएको हाम्रो विश्वास छ 

 

गाउँपालिकामा आन्तरिक आम्दानीका स्रोतहरूको अवस्था कस्तो छ ?

ग्रामीण क्षेत्रको गाउँपालिका भएकोले आम्दानीका स्रोतहरू कम छन् । सहरी क्षेत्रमा जस्तो आन्तरिक आम्दानी गर्नसक्ने अवस्था नरहेता पनि दायरा बढाएर आम्दानीमा वृद्धि गर्ने योजनाहरू अगाडि बढाएका छौँ ।

कुन–कुन क्षेत्रहरूबाट कर संकलन हुने गर्दछ ?

सम्पत्ति कर, मालपोत तथा भूमि कर, सिफारिसहरू, घर नक्सा पास, नदिजन्य पदार्थको बिक्रीवितरण, व्यावसायिक तथा औद्योगिक कर, बालविटौरी करलगायतका क्षेत्रहरू रहेका छन् ।

आन्तरिक स्रोतलाई थप मजबुत बनाउन सक्ने घरबहाल कर संकलनको अवस्था कस्तो छ ?

अहिलेसम्म घरबहाल कर भनेर त्यस्तो उल्लेख्य संकलन गर्न सकेको अवस्था छैन । गाउँपालिकामा शाखा कार्यालयहरू स्थापना गरेर कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूले स्वस्फूर्तरूपमा बहाल कर बुझाउने गर्नुभएको छ । त्योबाहेक घरबहाल कर खासै उठेको छैन । आन्तरिक आम्दानी बृद्धि गर्नसक्ने यो पनि एउटा आधार भएकोले नीतिनियम निर्माण गरेर यस विषयमा पनि प्रक्रिया अगाडि बढाउनु पर्ने कुरा सतहमा आइसकेको छ ।

गाउँपालिकाको विकासका लागि पर्यटकीय क्षेत्रहरूको अवस्था कस्तो छ ?

आकर्षक पर्यटकीय क्षेत्रहरू नहुँदा यहाँको पर्यटकीय विकास हुन सकेको छैन । दरबहवा क्षेत्र, सियाभार मन्दिर र सहरोन्मुख क्षेत्र फर्साटिकर बजार मुख्य पर्यटकीय तथा सांस्कृतिक क्षेत्रहरू हुन् । हामीसँग भएका यी तीन क्षेत्रको विकासका लागि आवश्यक योजनाहरू तर्जुमा गरेर अगाडि बढेका छौँ ।

अर्थतन्त्रको प्रमुख स्रोतको रूपमा लिइने कृषि क्षेत्रको अवस्था कस्तो छ ?

निर्भाहमुखी कृषिबाट भर्खरै मात्र निर्यातमुखी बन्दै छौँ । धान, गहुँ, दलहन, व्यावसायिक पशुपालन, तरकारी खेती, मत्यपालन क्षेत्र फस्टाउँदै गएको छ । फस्टाउँदै गएका उत्पादनहरूलाई प्रोत्साहन गर्दै हावापानीअनुकूलका अन्य मौसमी तथा बेमौसमी अन्नबालीहरूको पनि उत्पादन गरी जनस्तर उकास्ने खालका योजनाहरूमा केन्द्रित भएका छौँ । मासुजन्य पदार्थ, तरकारीलगायत केही उत्पादनहरू निर्यात गर्न सक्ने गरी विकास भएको छ भने अन्य उत्पादनहरूलाई पनि निर्यातमुखी बनाउने प्रयासमा छौँ ।

कृषिमा युवाहरूको आकर्षण कस्तो छ ?

पहिलेको तुलनामा युवा आकर्षण बढ्दै गएको छ । युवाशक्तिलाई पनि क्रमशः आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएकोले आकर्षण बढ्दै गएको हो । केही युवाहरूले त उदाहरणीय प्रगति गर्नुभएको छ । वास्तवमा जबसम्म कृषिमा युवा आकर्षण बढाउन सकिँदैन तबसम्म हाम्रो कृषि क्षेत्र फस्टाउन सक्दैन । युवाहरूलाई जति धेरै कृषि उत्पादनमा लगाउन सक्यो उति धेरै राज्यको अर्थतन्त्र मजबुत हुने हुँदा राज्यस्तरबाट युवा कृषि उद्यमीहरूको लागि सोही खालका प्रोत्सान मिल्ने कार्यक्रमहरू ल्याउनु पर्दछ ।

नीतिनियम निर्माणको अवस्था कस्तो छ ?

हालसम्म ३० वटा जति ऐननियम र कार्यविधिहरू निर्माण गरिसकेका छौँ ।

३० वटा ऐननियम तथा कार्यविधि पर्याप्त छ त गाउँपालिका सञ्चालनको लागि ?

ऐननियम, कार्यविधि आवश्यकताअनुसार बन्ने हुँदा वर्तमान परिवेशमा गाउँपालिकाका लागि आवश्यक ३० वटा जति निर्माण गरेका हौँ । अर्को हामीलाई आवश्यक भए पनि निर्माण गरिसक्ने अवस्था छैन् । स्थानीय सरकारले ऐननियम निर्माण गर्दा संघ र प्रदेशसँग बाझिएको अवस्थामा स्थानीय सरकारको उक्त कानुन स्वतः खारेज हुने संवैधानिक व्यवस्था भएकोले क्रमशः निर्माण गर्दै जाने रणनीतिअनुसार सञ्चालित छौँ ।

धेरैजसो स्थानीय तहहरूले सडकमै बजेट खन्याएको अवस्था छ नि, किन होला ?

विकास सन्तुलित हुनुपर्छ । सडक विकासको पहिलो आधार भएकोले सडक विकासमा बजेट खर्चिनुलाई अन्यथा लिनु हुँदैन । अन्य क्षेत्रहरूमा भन्दा सडकमा जनताहरूको माग बढी पनि छ । सडकबाहेक अन्य क्षेत्रहरूको विकासमा लागि आवश्यक योजनाहरू नल्याएको भन्ने छैन । शुद्धोधनको सवालमा हामीले चौतर्फी क्षेत्रका योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ । समृद्ध शुद्धोधनको लागि चौतर्फी क्षेत्रको विकास आवश्यक भएकोले सोहीअनुसारका योजनाहरू तर्जुमा गरेका छौँ ।

गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ ?

प्रशासनिक भवनको अभावले कार्यसम्पादनमा केही कठिनाइहरू आएता पनि जनताका कामहरू समयमै सम्पन्न गरेका छौँ । आवश्यकता तथा समस्याहरूलाई मध्यनजर गर्दै नीतिनियमभित्र रही द्रुत सेवा प्रवाह गर्नु मुख्य उद्देश्य रहेकोले सोहीअनुसारको सेवा प्रवाह र समास्या समाधनको व्यवस्था मिलाएका छौँ ।

केही स्थानीय तहहरूमा कर्मचारी र जनप्रतिनिधिबीच राम्रो सम्बन्ध नभएका कुराहरूले बेलाबेलामा चर्चा पाउने गरेको छ । शुद्धोधनमा त्यसको अवस्था कस्तो छ ?

शुद्धोधनमा पनि आंशिकरूपमा केही कठिनाइहरू नभएका होइनन् । धेरै पछि चुनाव हुनु, कर्मचारी र जनप्रतिनिधिले गर्ने कामहरू प्रस्ट नहुनु, कानुनको विषयमा ज्ञान नहुनु सम्बन्धमा दरार ल्याउने मुख्य कुराहरू हुन् । जनताका कामहरू गर्न निर्वाचित जनप्रतिनिधि र तिनै जनताको सेवामा समर्पित कर्मचारीहरू नमिल्नु भनेको व्यक्तिगत स्वार्थले प्रेरित हुनु हो । के कर्मचारी, के जनप्रतिनिधि दुवै पक्ष जनताको आवश्यकता पूर्र्तिको लागि एक हुनुपर्छ । कर्मचारीले पनि हामी जननिर्वाचित प्रतिनिधि हो भनेर कर्मचारीलाई होच्याउने र कर्मचारीले पनि पाँच वर्षको लागि हुन् भनेर नगन्ने गलत प्रवृतिको विकास हुन दिनु हुँदैन । समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यका साथ ल्याइएको संघीयतामा आपसी वैमनश्यताले कसैको पनि भलो गर्दैन । त्यसैले दुवै पक्ष आफ्नो व्यक्तिगत, दलगत स्वार्थबाट माथि उठेर जनताका कामहरूमा लाग्नु पर्दछ ।

संघीयतामा विकास निर्माण कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ?

अधिकार र जिम्मेवारी तल्लो तह अर्थात् स्थानीय तहलाई दिइएको छ निकै खुशीको कुरा हो । हरेक कामहरू जस्तैः नीतिनियम बनाउने, आफ्ना योजनाहरू आफैँ छनौट गर्नेलगायतका धेरैभन्दा धेरै अधिकारहरू स्थानीय तहमा भएकोले हरेक क्षेत्रहरूमा जस्तै स्थानीय तहमा पनि केही चुनौतीको सामना गर्नुपर्ने अवस्था त हुन्छ नै । त्यसमा कुनै काममा कम चुनौती होला, कुनैमा बढी त्यो आफ्नो ठाउँमा छ । संघीयतामा विकास निर्माणलाई चुनौतीभन्दा पनि अवसरको रूपमा हेर्नुपर्छ जस्तो लाग्छ । जग बलियो भयो भने घर बलियो हुने हुँदा अवसरको सही सदुपयोग भयो भने राम्रै हुन्छ । भने, दुरूपयोग भयो भने नराम्रो ।

गत आर्थिक वर्ष संघीयताको पहिलो वर्ष भएकोले सबै स्थानीय तहहरूमा चुनौतीपूर्ण वर्षको रूपमा रहन गयो जस्तो लाग्छ । नीतिनियम निर्माणको आवश्यकता, नयाँ अनुभवले कार्यसम्पादनमा अभ्यासको जरुरी, कर्मचारी व्यवस्थापनमा समस्याजस्ता केही कुराहरूले सामान्य समस्या पारेता पनि काम गर्दै जाँदा अवरोधहरू पनि हट्दै जाने भएकोले संघीयतामा विकासनिर्माण चुनौती होलाजस्तो लाग्दैन । संघीयता सहज मार्गको दिशा निर्देश भएकोले संघीयताको मर्मअनुसार कार्य गर्न सकेको खण्डमा दुःख र विनाशभन्दा पनि सुख र समृद्धिको झलक बढी झल्किन्छ जस्तो लाग्छ ।

अन्त्यमा, स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतको हैसियतले भन्नुपर्दा समृद्ध नेपाल निर्माण गर्ने आधारहरू के–के होलान ?

सम्भावना पहिलो कुरा हो । जुन हामीसँग अथाह छन् । ती सम्भावनाहरू कार्यान्वयनको लागि सुझबुझसहित दीर्घकालीन सोच भएका जनप्रतिनिधि कति पाउँछौँ त्यो अर्को पाटो हो । अहिले एकखालको राजनीतिक स्थिरता आएको छ । काम गरेर नाम कमाई प्रशंसा बटुल्ने उपयुक्त समय हो । जनप्रतिनिधिहरूले कत्तिको सही सदुपयोग गर्न सक्नुहुन्छ उहाँहरूमा निर्भर रहने कुरा हो । अधिकार छ । काम गर्ने टिमवर्क छ । सम्भावना पनि छन् र सम्भव पनि छ । केवल दृढ संकल्पको साथ इच्छाशक्तिको आवश्यकता झल्किएको छ । 


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com