‘नेपालमा महिला लगानीमैत्री वातावरणको अभाव छ’

पूर्वी धरानमा जन्मिएकी प्रमिला आचार्य रिजाल एक सफल महिला उद्यमी हुन् । भारतको दिल्लीबाट कलेजस्तरको अध्यापन गरेकी रिजाल महिला उद्यमी महासंघको पूर्वअध्यक्ष, परराष्ट्र मामिला अध्यन केन्द्रको पूर्वकार्यसमिति सदस्यमा तीन कार्यकाल सम्हालेकी थिइन् । राष्ट्रिय महिला आयोगको पूर्वसदस्य, औद्योगिक प्रवर्द्धन बोर्डको पूर्वकार्यसमिति सदस्य, उद्योग वाणिज्य प्रवर्द्धन परिषद्को सदस्य, जनता अन्तर्राष्ट्रिय क्लबको संस्थापक अध्यक्ष, दक्षिण एसियाली महिला विकास मञ्चको अध्यक्ष, मानुषी लघुवित्तको संस्थापक, पीएस ट्रेडिङ हाउसको निर्देशक, प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिको अन्तर्राष्ट्रिय बजार निर्देशक बहुप्रतिभाशाली रिजाल राष्ट्रपतिबाट प्रबल जनसेवा–श्री पदक– २०७५ बाट समेत सम्मानित भएकी छन् ।

विद्यार्थी जीवनदेखि नै महिलाहरूका समस्याहरूको बारेमा आवाज उठाउँदै आएकी रिजाल २५ वर्षदेखि निरन्तर उद्यम क्षेत्रमा सक्रिय छन् । आत्मविश्वास, इमान्दारिता र धैर्यधारण गर्ने क्षमता असल उद्यमी तथा व्यवासायीमा नभई नहुने गुण भएको बताउने दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष तथा महिला उद्यमी प्रमिलासँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

एउटा सफल महिलाको उदाहरण दिनु पर्दा यहाँको नाम लिन सक्ने आधारहरू पर्याप्त छन्, त्यो कसरी सम्भव भएजस्तो लाग्छ ?

प्रत्येक सफलताको पछाडि संघर्ष गौण हुन्छ । जतिजति सफलताको सिढी चढ्दै गइन्छ उतिउति संघर्षहरू पछाडि लुकेका हुन्छन् । केही बन्नको लागि आत्मविश्वास, चाहना, इमान्दारिताका साथ निरन्तर अग्रसर रहे सायद हामीले चाहेको कुरामा सफलता पाउन सक्छौँ जस्तो लाग्छ । वास्तवमा प्रगति गर्न नसक्नुको कारण ‘तातै खाम जल्दै मरम’ भन्ने प्रवृतिको विकास हुनु नै हो । कुनै पनि कार्यको पूर्णरूप देख्नको लागि केही समय धैर्य गर्नुपर्ने हुन्छ । धैर्य गर्न नसक्नेहरू अँगालिरहेको पेशा तथा व्यवसायलाई परिवर्तन गरी अर्को छिटोछरितो बाटो रोज्ने गरेका उदाहरणहरू पनि हामीमाझ तमाम छन् ।

यदि कुनै व्यवसाय तथा उद्योग गरिन्छ भने त्यसैको विकास र विस्तारमा मात्र सोच बनाउनु जरुरी हुन्छ । अरुले यति कमायो अथवा यस्तो ग-यो । मेरो केही भएन, भनेर हीनताबोध गरी पेशा परिवर्तन गर्नु सबैभन्दा ठूलो भुल हो । हामी जे गरेका छौँ त्यसैमा सन्तुष्ट भई थप संघर्षहरूले उक्त कार्यलाई अझै उचाइमा पु¥याउनेतर्फ चिन्तन गर्नु पर्दछ । जसले सबै कुराको तालमेल मिलाई सुखमा नमात्तिएर र दुःखमा नआत्तिएर निरन्तर संघर्ष गर्छ उसैले सफलताको शिखर चुम्ने अवसर प्राप्त गर्छ । मेरो पनि निरन्तर संघर्षको परिणाम हो ।

यहाँलाई उक्त क्षेत्रमा प्रवेश गराउन कसको भूमिकाले महत्वपूर्ण स्थान ओगटेको छ ?

कुनै पनि कामको लागि पहिले आफैँ अग्रसर हुनुपर्दछ । जबसम्म म यो काम गर्छु भन्ने आफूमा आत्मविश्वास हुँदैन तबसम्म कुनै पनि काम गर्न सकिँदैन । म उद्यमी परिवारबाट आएकी हुँ । महिलालाई उद्यमी बनाउने मेरो पहिल्यैदेखिको चाहना हो । आफ्नै उद्यम सञ्चालन गरेको समयमा महिला उद्यमी समुहसँग आवद्ध हुन पुगेँ । जुन समुहले मलाई आर्थिक सशक्तीकरणको यात्रामा लाग्न प्रेरणा दियो । त्यसमा घरपरिवार र इष्टमित्रहरूको पनि साथ र सहयोग उत्तिकै मिल्यो । बुबाआमा, दाजुभाइ, श्रीमानले मलाई राम्रोसँग चिनेर सुझाव सल्लाह दिँदै थप हौसला प्रदान गर्नुभयो, जसले यो स्थानसम्म पु-याउन मदत ग-यो ।

केही दिनअघि मात्र यहाँले नेतृत्व सम्हालेको दक्षिण एशियाली महिला विकास मञ्चको दुई दिने सम्मेलन काठमाडौंमा सकिएको छ, उक्त सम्मेलनको मुख्य उद्देश्य के थियो ?

नेपाली महिलाहरूमा उद्यमशीलताको विकास गर्नु नै सम्मेलनको मुख्य उद्देश्य हो । विश्वका अन्य राष्ट्रहरूको तुलनामा नेपाली महिलाहरूको उद्यम क्षेत्रमा उपस्थिति निकै कमजोर छ । सम्मेलन, अन्य देशहरूमा भएका नयाँनयाँ प्रविधिहरू नेपाल भित्र्याउने एउटा माध्यम पनि हो । नेपालमा महिला उद्यमीहरूले उत्पादन गरेका पस्मिना, हस्तकलाका सामग्रीलगायत अन्य थुप्रै उत्पादनहरूको प्रचारप्रसार गरी व्यापार प्रवर्द्धनमा विदेशी राष्ट्रहरूसँग सहकार्य गरी अवसरहरूको सृजना गर्नु नै मुख्य उद्देश्य हो ।

सम्मेलनमा कति देशका कुन–कुन उद्यमीहरूको उपस्थिति थियो ?

२२ देशका एक सय सात जनाको उपस्थिति थियो । जसमा महिला उद्यमीहरू, बुद्धिजीवीहरू, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरू, यूएनका प्रतिनिधिहरूको उपस्थिति थियो ।

सम्मेलनले के–कस्ता उपलब्धिहरू हासिल गर्न सफल भयो ?

जुन उद्देश्य बोकेर दक्षिण एसियाली महिला विकास मञ्चको पाँचौँ सम्मेलन सफलतापूर्वक काठमाडौँमा सम्पन्न भएको छ, त्यसले नेपाली महिला उद्यम क्षेत्रमा ठूलो अवसर प्रदान गरेको छ । सम्मेलनले महिलाहरूलाई नयाँ व्यवसाय विस्तार गर्ने ठूलो अवसर पनि मिलाएको छ । नेपाली पस्मिनाको बजार विस्तार, भारतको ‘नेश्नल इन्स्टिच्यूट अफ फुड’ले नेपाल एग्रिकल्चर रिसर्च काउन्सिलसँग समन्वय गरी कृषि क्षेत्रमा महिला सहभागिता बढाउनेतर्फ एकप्रकारको खाका तयार गर्दै छ जुन हाम्रा लागि खुशीको कुरा हो ।

दक्षिण एशियाली महिला विकास मञ्चले महिला उद्यमीहरूका हकहितका विषयमा के–कस्ता कामहरू गर्दै आएको छ ?

संस्थाको मुख्य लक्ष्य भनेको महिला उद्यमशीलताको विकास गर्नु हो । विशेष गरेर महिला उद्यमीहरूका समस्याहरूलाई समाधानका लागि आवश्यक क्षेत्रहरूसँग सहकार्य र समन्वय गर्ने, नयाँनयाँ प्रविधि भित्र्याएर व्यापार व्यवसाय विस्तार गरी महिलाहरूको जीवनस्तर उकास्नु नै संस्थाले महिलाहरूको हकहितमा गर्ने कार्यहरू हुन् ।

यहाँ, ‘क’ वर्गको प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिको अन्तर्राष्ट्रिय मार्केटिङ डाइरेक्टर पनि हुनुहुन्छ । नेपाली बजार र अन्तर्राष्ट्रिय बजारको अवस्थामा के–कस्तो अन्तर छ ?

धेरै अन्तर छ । अन्तर्राष्ट्रिय बजारमा नयाँनयाँ प्रविधिहरूको विकास भएको छ । लगानी क्षमता उच्च छ । उनीहरूको कार्यशैली पनि प्रसंशनीय हुन्छ । बजारमा भएका हरेक उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसारका हुन्छन् । न्यून गुणस्तरका सामग्रीहरूलाई सिल्ड गरी जरिवाना तिराएर गुणस्तरीय सामान उत्पादनमा जोड दिइन्छ । तुलनात्मक हिसाबले हामीलाई त्यो स्थानसम्म पुग्न धेरै समय संघर्ष गर्नुपर्ने देखिन्छ ।

चार्डवार्डको समयमा मात्र खाद्य गुणस्तर जाँच गर्ने, भौतिक पूर्वाधारका संरचनाहरू निर्माण गर्दा कमशल सामग्रीहरूको प्रयोग गरी मिलेमतोमा भ्रष्टाचार गर्ने, बजारको अवस्था कस्तो छ ? आवश्यकताहरू के–के छन् ? तोकिएका मादण्डहरू पूरा भएका छन् कि छैनन् ? भनेर सधैँ निगरानी गरेर काम कारबाही गर्नसक्ने हैसियतको टिमको तयार गर्नु यहाँको अहिलेको आवश्यकता हो । जबसम्म गुणस्तरमा सम्झौता गरिन्छ तबसम्म हाम्रो व्यापार व्यवसाय फस्टाउन सक्दैन ।

अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नको लागि हामीले हाम्रा हरेक उत्पादनहरू गुणस्तरिय बनाउन कन्जुस्याइ गर्नु हुँदैन । नेपाली उत्पादनहरू पनि अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिन्छ । अहिलेको जमनामा मानिसहरू गुणस्तरीय सामानको खोजीमा हुन्छन् । गुणस्तरीय सामान पाए परेको मूल्य तिर्न जो–कोही पनि तयार हुन्छ । आर्थिक स्रोत कमजोर हुनेले सस्तो सामग्री खोज्लान तर उनीहरू पनि गुणस्तरीय सामानमै बढी चासो राख्दछन् ।

कन्स्ट्रक्सन कम्पनीको अन्तर्राष्ट्रिय बजार निर्देशक, ट्रेडिङ हाउसको निर्देशक, दक्षिण एशियाली महिला विकास मञ्चको अध्यक्ष, उद्योग वाणिज्य प्रवर्द्धन परिषद्को सदस्यलगायत धेरै निजी तथा सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ, समयको व्यवस्थापन कसरी मिलाउनुहुन्छ ?

कुनै पनि क्षेत्रसँग लगाव छ र भावना गाँसिएको छ भने समय व्यवस्थापन भन्ने कुरा हाम्रै हातमा हुन्छ । मुख्य कुरा कतिखेरको समयलाई कसरी प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा ज्ञान राख्नु जरुरी हुन्छ । एक मिनेट समयको पनि ठूलो महत्व हुन्छ । समयको महत्वलाई बुझेर कार्यसम्पादन गरी समय व्यवस्थापन ग-यौँ भने हाम्रो एक मिनेट पनि खेर जाँदैन । समय व्यवस्थापनमा मलाई अहिलेसम्म त्यस्तो कुनै चुनौती आएको छैन ।

नेपालमा महिला उद्यमीहरूको विकास अवस्था कस्तो हुनुपर्थ्यो र कस्तो भइरहेको छ ?

खासमा नेपालमा महिला उद्यमशीलताको विकास हुन सकेकै छैन । अझै पनि पुरानै सोचले पछ्याइरहेको छ । महिलाहरूले उद्योग व्यवसाय सञ्चालन गर्दा चुनौती छ भनेर अवसरहरूबाट वञ्चित गरिएको छ । वास्तवमा सामाजिक संकार र संकुचित सोचले महिला उद्यम फस्टाउन सकेको छैन । सानातिना घरेलु उद्यम गरेर बसेका महिला दिदीबहिनीहरूका उत्पादनहरूको उचित बजारको प्रबन्ध हुनसकेको छैन् । प्रत्येक महिलाले आत्मनिर्भर बन्न सक्ने हैसियत राख्नुपर्दछ तर त्यो अवस्था निकै दयनीय छ । राजनीतिकरूपमा पछिल्लो समयमा जसरी महिलाहरूलाई अगाडि ल्याइएको छ, त्यसरी नै अन्य क्षेत्रहरूमा पनि अगाडि ल्याउन सकेको अवस्थामा प्रभावकारी हुने देखिन्छ ।

महिला उद्यामीहरूका समस्याहरू के–के छन् र ती समस्याहरूलाई समाधान गर्ने उपायहरू के–कस्ता होलान् ?

मैले अघि पनि भनिसकेँ पुरानो सोचले नछोड्नु मुख्य समस्या हो । महिला लगानीमैत्री वातावरणको सृजना हुन नसक्नु, महिलाहरूको क्षमताप्रति शंका गरिनु, संकुचित सोचको विकास हुनु, पर्याप्त मात्रामा राज्यस्तरबाट प्रोत्साहनका कार्यक्रमहरू नल्याइनु, उत्पादित सामानहरूको उचित बजार प्रबन्ध नहुनुलगायतका धेरै समस्याहरू छन् । ती समस्याहरूलाई समाधान गरी राज्यस्तरबाट महिला उद्यमशीलताको विकासको लागि ठोस र निर्णायक कदम चाल्न सकेको अवस्थामा मात्र महिला उद्यमशीलता फस्टाउन सक्छ ।

अझै पनि धेरै महिलाहरूले घरको चुलोचौको छोड्न नसकेको अवस्था छ । यो अवस्थालाई न्यूनीकरण गर्नको लागि राज्यस्तरबाट के–कस्ता कदमहरू चालिनु पर्छ ?

अवसरहरू दिनुप-यो । सक्दैनन्, हुँदैन, असम्भव छ भनेजस्ता कुराहरू गरेर वञ्चित गरिनु र हुनु भएन । विश्वमा त्यस्ता धेरै उदाहरणहरू छन् जहाँ महिलाहरू पुरुषभन्दा कम छैनन् । पुरानै सोचमा रहेर मेरी श्रीमती हो । यसले घरको काम गर्नुपर्छ भन्ने ती सोचहरूको अन्त्य गराउने कामको थालनी पनि हामी आफैँबाट हुनुपर्छ । गरे जे पनि हुन्छ र नगरे केही पनि हुँदैन भन्ने कुरालाई आत्मसात गर्दै हामीले हाम्रा हरेक कामहरूलाई व्यवसायीकरण गर्न सक्यौँ भने स्वतः हाम्रो जीवनशैलीमा परिवर्तन आउँछ ।

सीपमूलक कामका लागि धेरै क्षेत्रहरू छन् । कस्तो क्षेत्रमा काम गर्दा आफूलाई उपयुक्त हुन्छ त्यो क्षेत्रको पहिचाहन गरी अगाडि बढ्नु जरुरी हुन्छ । जबसम्म हामीले हामीसँग भएको सीपलाई व्यवसायीकरणमा परिवर्तन गर्न सक्दैनौँ तबसम्म जिन्दगीमा कहिल्यै प्रगति गर्न सक्दैनौँ । सीपको उचित व्यवस्थापन नै महिला उद्यमी बन्ने सुर्वण अवसर हो ।

महिलाद्वारा सञ्चालित धेरैजसो उद्योगहरू घरेलु तथा साना उद्योगअन्र्तगतका छन् । वाणिज्य तथा ठूला उद्योगहरूमा महिलाहरूको सहभागिता बढ्न नसक्नुको कारण के होला त ?

लगानीमैत्री वातावरणको सृजना हुन नसक्नु नै प्रमुख हो । महिलाहरूका लागि घरेलु तथा साना उद्योगहरू उपयुक्त हुन्छ, ठूला उद्योगहरू सक्दैनन् भनेर अवसरहरू नदिइनु अर्को कारण हो । त्यसमा बाहिरी क्षेत्रलाई दोष लगाउनुभन्दा पनि आफ्नै घरभित्रको सोच साघुँरो छ । हामीले हाम्रै घरभित्रबाट फराकिलो सोचको विकास गर्नु मुख्य आवश्यकताको विषय हो । महिलाहरूको आर्थिक सशक्तीकरणको लागि ठूला उद्योगहरूमा लगानीमैत्री वातावरण सृजना गर्नु जरुरी छ । अवसर नदिएर सक्दैनन् भन्नुभन्दा पनि अवसर दिएर सकेनन् भन्ने भन्नु जायज हुन्छ ।

महिला र पुरुष समान दर्जामा बसेर समान काम गर्नसक्ने अवस्थाको सृजना होला कि न होला ?

हुनुपर्दछ । यदि त्यसो भएन भने समृद्ध नेपाल निर्माणको सपना तुहिन्छ । महिलाहरू सधैँ एउटै युगमा बसिरहनु पर्छ भन्ने छैन । पछिल्लो समयमा राजनीतिमा महिलाहरूको सहभागिता प्रशंसनीय छ । कुनै पनि देशको विकास हुन जनताको जीवनशैलीमा परिवर्तन ल्याउनै पर्दछ । सचेत नागरिक बनाउनु सरकारको दायित्व हो । आर्थिक विकासमा महिलाहरू पछाडि परेका छन् । अन्य क्षेत्रहरूमा प्रवेश गर्न सकिरहेको अवस्था छैन । क्रमशः महिलाहरू पनि उच्च तहमा काम गर्ने अवसर पाउँदै गएका उदाहरणहरू बढ्दै छन् । ढिलोचाँडो एक दिन समान दर्जामा बसेर काम गर्ने वातवरणको सृजना हुने कुरामा म विश्वस्त छु ।

अन्त्यमा, यस क्षेत्रमा प्रवेश गर्न चाहने महिलाहरूलाई यहाँले के सल्लाह र सुझाव दिन चाहनुहुन्छ ?

हरेक व्यक्तिमा एउटा–एउटा क्षमता लुकेको हुन्छ । आफूसँग लुकेको क्षमतालाई चिनेर आत्मविश्वासका साथ व्यावसायीकरण गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । नबिराउनु नडाराउनु भनेजस्तै आफूले गल्ती गर्नु हुँदैन राम्रो काम गर्न कसैसँग डराउनु पर्दैन । राम्रो गर्दागर्दै कसैले कुरा काट्ने, अगाडि बढ्न नदिनेजस्ता गलत कामहरू गरे पनि त्यसबाट कत्ति विचल्लित नभई आफ्नो काममा निरन्तर लाग्नु पर्दछ ।

हामी गर्न सक्छौँ । हामी पुरुषहरूभन्दा कम छैनौँ । पुरुषबराबर काम गर्ने क्षमता हामीसँग पनि छ । हामीलाई केवल इच्छाशक्तिको जरुरी छ । दृढ संकल्पका साथ आफूले गरेको व्यापार व्यावसाय तथा उद्योगलाई सफल बनाएरै छाड्छु भन्ने आत्मविश्वास राख्न जरुरी छ । 


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com