पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन् । खोला, भीर पाखा भएको यो वडामा सबै बस्तीलाई सडक सञ्जालले घेर्ने उनको अभियान अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य, शिक्षामा निकै पछाडि रहेको लिस्तीमा जनप्रतिनिधि आएपछि सुधारको क्रममा छ ।

खानेपानीको चरम समस्या रहेको यो गाउँका अहिले ९० प्रतिशत घरमा पानीको पहुँच पुगेको छ । विशेषगरी कृषिबाट वडा मात्रै नभई जनता पनि आत्मनिर्भर बनाउने शेर्पाले अनेक कदम चालेका छन् । स्याउ, सुन्तला, कागती, किवी, दाँते ओखर रोपेर उदाहरणीय काम गरेका मुके कृषि क्रान्तिबाटै पर्यटन प्रवर्द्धन हुनेमा जोड दिन्छन् । कृषि पर्यटनको सम्भावनाहरु पहिचान गरेर वडालाई अर्थतन्त्रमा अब्बल बनाउन लागिपरेका उनै वडाअध्यक्ष मुके शेर्पासँग गरिएको कुराकानीको संक्षेप अंश यहाँ प्रस्तुत गरिएको छ : 

हालसम्म तपाईंको वडामा विकास निर्माणको के कस्ता कार्यसम्पादन भयो ?

विकासका कामहरु लक्ष्यअनुरुप भएको छ । साथै प्रशासनिक र प्राविधिक पक्षमा पनि सुधारोन्मुख छ । नेपाल सरकार, प्रदेश सरकारबाट र गाउँपालिकाबाट जुन लक्ष्यका लागि भनेर बजेट आएको थियो । उपभोक्ता समितिबाट हुने कामहरु भएको छ ।

वडाको समृद्धिका लागि चुनावमा गरेका वाचाहरु कति पूरा भए, लक्ष्य प्राप्ति कहिले हुन्छ ?

मैले जे गर्न खोजेको थिएँ, त्यो क्रमबद्ध रुपमा भइरहेका छन् । पहिले चुनाव लड्दा मैले जे प्रतिबद्धता जनतासामु गरेको थिएँ । त्यो पूरा हुने क्रममा छन् । यहाँ आएको बजेट अरुलाई पनि खान दिन्न र आफू पनि खाने छैन भनेको थिए । त्यो गरेको छु । समस्या कहाँ हुँदो रहेछ भने आफूले जे काम गर्दै गयो । त्यसमा कर्मचारीको मिलेमतो भयो भने समृद्धिमा समस्या हुँदो रहेछ । कार्य सम्पन्न भएका योजनामा अनुगमन गरेर उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने जस्ता कार्य गरेर कर्मचारी सक्रिय भएमा समृद्धि हुन्छ । विशेषगरी कृषिबाट वडा आत्मनिर्भर बनाउन लागिपरेको छु । स्वास्थ्य, शिक्षा, पर्यटन प्रवर्द्धन, सडक विस्तारले गति लिएको छ ।

तपाईं जनप्रतिनिधि हुनुहुन्छ । जनतालाई खुसी पार्ने योजना के कस्ता छन् ?

जनतालाई सुविधा चाहिन्छ । बाह्रैमास मोटर चल्ने सडक हुनुपर्छ । कृषि उपजलाई ढुवानी गर्न सक्नुप-यो । बिक्री गर्नुप-यो । यो वडा निकै विकट वडा हो । असार सुरु भएपछि वडा कार्यालयसम्म पनि सवारी आइपुग्न निकै कठिन हुन्छ । हिँडेर जानुपर्ने अवस्था हुन्छ । वडा कार्यालयमा आइपुग्न ३ देखि ४ घण्टासम्म लाग्छ । जनताको चाहना सडकमै छ । अरनिको राजमार्गबाट लिस्तीका सबै ठाउँमा मोटर चढेर आइपुग्न पाऊँ । टोलटोलका सडकहरुमा समेत सवारी आवागमन होस् भन्ने चाहना जनताको छ । घरमा पुुग्न बाटोमा ढुंगा बिच्छ्याउने, सहज खानेपानीको व्यवस्था, विद्यालय, स्वास्थ्य उपचार, कृषि व्यवसायमा राम्रो गर्न पाए हुने भन्ने इच्छालाई सहज सेवा दिलाउनका लागि म लागिपरेको छ ।

कृषिबाट जनतालाई आयआर्जनमा ल्याउन के कस्ता योजना छन् । के–के गर्नुभयो ?

यो हिमाली गाउँ हो । चीन अनि भारतमा म घुम्न जाँदा यहाँकै जस्तो हावापानीमा स्याउ, दाँते ओखर निकै फलेको देखें । उस्तै प्रकृतिको हावापानी भएपछि यहाँ चै किन हुन सक्दैन भनेर यो वडाबाट मैले सुरु गरेको छु । स्याउ रोपिसकिएको छ । दाँतेओखर, किवी, सुन्तला, कागतीहरु पनि लगाइएको छ । उत्पादन दिन केही समय लाग्छ । यहाँका जनताहरुचाहिँ अहिले काम गरेर तुरुन्तै फल लिन पाए हुन्थ्यो जस्तो सोच छ । मेरो भने दीर्घकालीन सोच छ । पछि आउने जनप्रतिनिधिले पनि जनता लाभान्वित हुने सोच ल्याउनु जरुरी छ । यस्तो होस् कि यति विकट गाउँमा उत्पादन भएको कृषि उपज खरिदका लागि विदेशी व्यापारीहरु आओस् भन्ने इच्छाले मैले यो वडामा जनतालाई कृषिबाटै आत्मनिर्भर बनाउन खोजेको हुँ । बरु दश वर्ष समय लागोस् तर यो सम्भव गरेरै छाड्छु भनेर लागेको छु ।

यो वडाको हालको विकासको अवस्था कस्तो छ ?

लिस्तीको साविक ९ नं. वडामा पर्ने घिच्चेत गाउँ एकदमै विकट छ । अहिले भएको वडा कार्यालयबाट त्यहाँ पुग्न ४ घण्टासम्म लाग्छ । पहरो काट्नुपर्छ । भीर फोड्नुपर्छ । त्यहाँ बाटो पु-याउनुपर्छ भनेर मैले दुई वर्षदेखि वडाबाट बजेट राखेर अहिले त्यहाँ सडक पुगेको छ । सवारीसाधन पुगेको छ । छगाम हुँदै ऐतिहासिक दुगुनागढीसम्म बाटो खोल्नुपर्छ भनेर मैले गाउँपालिकासँग कुरा राखेर यसपालि अब दुगुनामा सडक पुग्छ । बञ्जी जम्प हुँदै छोटो बाटो लिस्ती आउनका लागि सात किलोमिटर पर्छ । यो सडक निर्माण भएको छ ।

भोटेकोशी नदीमा पुल नभएका कारण भने अहिले समस्या आएको हो । अहिले पनि मोटरसाइकल प्रयोग गरेर हामी वडा कार्यालय हुँदै बन्जी जम्प पुग्न सकिन्छ । केन्द्रीय सरकार र प्रदेश सरकारमातहतका कामहरु पनि राम्रो भइरहेको छ । डाँडामा टावर सञ्चालनमा भएको छ । भोटेकोशी, बाह्रबीसे र त्रिपुरासुन्दरीका जनता लाभान्वित भएका छन् । जसले सञ्चारको विकासले फड्को मारेको छ ।

सम्भावना के–के छ समृद्ध वडाका लागि ?

२० वर्षसम्म जनप्रतिनिधि नहुँदा यहाँका जनता पछि परेका हुन् । त्यसैले कसैले चासो नदिँदा केही सम्भावना खोतल्न सकिएन । अहिले मैले यहाँका अमूल्य जडीबुटीबारे अध्ययन गरिरहेको छु । लेकमा भएका जडीबुटी संकलन राम्रोसँग हुन सकिरहेको छैन । हरेक प्रकारका जडीबुटीबाट यहाँका बासिन्दाले आयआर्जन गर्न सक्नेछन् । यहाँ यार्सागुम्बा, धुप बनाउने पाती, सुनपाती, लार्खाती, चिलाउने, रंग बनाउने लहरा, जटामसीलगायत धेरै जडीबुटी छ ।

यहाँका ठाडोखोलामा हाइडोपावर अपार सम्भावना छ । यहाँका व्यापारीहरुले यसमा लगानी गर्नसके गाउँमै रोजगारीको वातावरण बन्ने मात्रै हैन अर्थतन्त्रमा लिस्तीलाई अब्बल बनाउन सकिन्छ । अहिले यो दर्ता पनि भइसकेको छ । र, छिट्टै निर्माणकार्यलाई अगाडि बढाएर सञ्चालनमा ल्याउनु जरुरी छ । कृषि उपजलाई गाउँपालिकासँग समन्वय गरेर वडाले यहाँ भएका आयआर्जनका आधारलाई पहिचान गरेर लिस्तीमा ठूलो संकलन केन्द्र राख्न जरुरी देखेको छु । जनताद्वारा संकलित सामग्रीलाई वडा कार्यालयले निश्चित मूल्य तोकेर खरिद गरिदिने र बजार व्यवस्थापन गर्ने योजना छ ।

भैरवकुण्ड पदमार्ग निर्माणसँगै पर्यटन वृद्धिका लागि के गर्न सकिएला ?

यहाँ जनै पूर्णिमामा मेला लाग्छ । देश विदेशका नागरिकहरु यो मेलामा सहभागी हुने गर्दछन् । धार्मिक पर्यटकीय गन्तव्य भएकाले यसको व्यवस्थित गर्नु जरुरी छ । यहाँ पाहुनाहरु आएर कम्तीमा एक दिन बास बस्ने व्यवस्था मिलाउन सके पर्यटन वृद्धिका लागि आधार बन्ने थियो । त्यहाँ पुग्न बाटोको सुविधा राम्रो छैन । बस्ने बास छैन ।

पहिला पञ्चायतकालमा त्यहाँ ३/४ वटा पाटी थियो पाहुना बस्नका लागि । अहिले त्यो भत्किएको छ । अहिले पाटी निर्माण गरेमा पाहुनाहरु पक्कै आउनेछन् । सुविधा नभएकै कारण पर्यटनमा कमी भएको हो । मैले गाउँपालिकामा बञ्जीबाट भैरवकुण्डसम्मका लागि गोरेटो बाटो निर्माण गर्ने प्रस्ताव लगेको छु । गोरेटो बाटो भएको खण्डमा दुई दिनमा भैरवकुण्ड पुग्न सकिन्छ । तीनवटा जति पाटी जस्ताको छानो लगाएर बनाएमा मान्छे लक्ष्यअनुसारका आउनेछन् ।

यो मार्ग हुँदै भैरवकुण्ड जान सक्ने वातावरण मिलाउन सके यहाँका संस्कृतिको पनि उजागर हुनसक्छ । यो मार्गमा पर्ने बस्तीहरुमा नेवार, शेर्पा, तामाङहरुको संस्कृतिलाई उजागर गर्न सकिन्छ । आनी गुम्बा र ऐतिहासिक दुगुनागढीमा आउने पर्यटकमा वृद्धि हुनेछ । यसका लागि गाउँपालिकामा सभाबाट पारित गरेर गुरुयोजना बनाउनु जरुरी छ । चौरीपालन हुने हुँदा छुर्पी, चौरीको दूध दहीहरुको व्यापार बढ्छ । यसका लागि म आफैँले पहलकदमी लिनेछु ।

पर्यटन वर्ष २०२० का लागि तपाईंको वडामा के कस्ता कार्यक्रम छ ?

नेपाल सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । यो हाम्रो लागि निकै फाइदाको विषय हो । यहाँ आउने पर्यटकलाई हामी स्वागत गर्दछौँ । आफ्नो वडामा भएका पर्यटकीय गन्तव्यहरुको प्रचार गरी पर्यटक आकर्षित गर्ने हाम्रो योजना हो । यहाँका धार्मिक सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक धरोहरको संरक्षण विकास गर्नेछौं ।

लिस्तीमा पाहुना किन आउने ?

यहाँ बहुल संस्कृति छ । लिस्ती माई मन्दिरको दर्शन गररेमा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ नेवार, शेर्पाहरुको संस्कृति छ । लिस्ती माई गुठी समितिले प्रस्तुत गर्ने संस्कृति छुटाउनै नुहने खालको छ । जसले पूर्ण आनन्द दिन्छ । चैत्य गुम्बा, शेर्पा बस्ती को संस्कृति अर्काे विशेषता हो । दुगुनागढी, पाउगुम्बा, छगामका आनीको बस्ती, भैरवकुण्ड भएकै कारण पर्यटक आउने आधारहरु हुन् ।

वडाले स्वास्थ्य, शिक्षा, खानेपानीलाई कसरी व्यवस्थित गर्दै छ ?

खानेपानीका लागि चुनावअघि नै मैले पहल गरेको हो । साविक वडा नं. ६ मा पानीको हाहाकार थियो । गरिबी निवारण कोषमार्फत त्यहाँ व्यवस्था गरिएको हो । बस्ती ठूलो थियो नेवार, शेर्पा बस्तीका लागि गरिबी निवारण कोषलाई आग्रह गरेपछि छ लाख हालिदियो । त्यसले नपुग्ने भएपछि थप पानी ल्याउनका लागि मैले व्यक्तिगत सात लाख रुपैयाँ राखेर जनताको समस्या समाधान गरिएको थियो । लिस्तीमा नेपाल सरकार र विभिन्न सामाजिक संस्थाको सहयोगले खानेपानीमा लगानी गरिएपछि अहिले जनता समस्याबाट मुक्ति पाएका छन् । साविक वडा नं. ७, ८ र ९ मा योजना निर्माणाधीन छ ।

पहिले स्वास्थ्य संस्था सिंगो लिस्तीमा एउटा मात्रै थियो । अहिले दुर्गम गाउँ घिम्चे र कान्मामा निर्माण भइसकेको छ । त्यहाँबाट सेवा प्रवाह पनि भएको अवस्था छ । अब छगाममा निर्माण गरेपछि स्वास्थ्य सेवाले सिंगो लिस्तीलाई समेट्नेछ । शिक्षामा भने समस्या छ । साविक वडा नं. १ मा चाइनाको दूतावासमार्फत विद्यालय भवन बन्ने क्रममा छ । लिस्ती गाउँ र घिम्चेमा समस्या हो । त्यहाँका लागि पहल भइरहेको छ । गाउँ दुर्गम भएकाले विषयगत शिक्षकहरु आउन मान्दैनन् । गुणस्तरीय शिक्षा दिन सक्ने शिक्षकको खाँचो छ ।

लिस्तीमा सडकको अवस्था कस्तो छ ?

साबिक १ मा ८ करोड ९० लाखको ठेक्का छ । जुन ७० प्रतिशत सम्पन्न भइसकेको छ । डाक्लाड धारापानीमा वडाले १३ लाख बजेट छुट्याएको छ । बञ्जी जम्प हुँदै वडा कार्यालय आउनका लागि वडाले १० लाख विनियोजन गरेको छ । लिस्ती हुँदै घिम्चेबाट दलित बस्ती जानका लागि २० लाख बजेट छुट्याएको छु । साबिक सबै वडामा रहेका बस्तीमा बाटो पुग्ने क्रम जारी छ । यो वर्ष सम्भवतः सबै योजना पूरा हुन्छन् ।

तपाईं आफैँ वडाअध्यक्ष भएकै कारण गाउँको विकासमा के फाइदा भयो ?

मलाई लाग्छ अरु भएभन्दा म हुँदा फरक छ । किनभने हामी हरेक महिनाको कम्तीमा तीन चोटि बैठक बस्छौँ । बैठक भत्ता चार हजारको हाराहारीमा मासिक हुन्छ । त्यो सबै मैले गाउँको विकासमा खर्चिएको छु । नेपाल सरकारले पठाएको मासिक २० हजारमा कर कट्टीपछिको तलब पनि गाउँकै विकासका लागि दिएको छु । मैले लिएको छैन । अहिलेसम्म बैठक भत्ताकै रकम मैले छ लाखभन्दा बढी गाउँको विकासमा हालेको छु । गुम्बा निर्माण, विद्यालयमा तलब भत्ता दिएको छु । घिप्चेको गुम्बालाई पाँच लाख, एउटा विद्यालयमा निजी स्रोतको शिक्षकलाई तलब खुवाउन एक लाख पाँच हजार राखिदिएको छु । एक लाख ३५ हजार धारापानीको विद्यालयलाई प्रदान गरेको छु ।

विकास निर्माणका लागि कतिको चुनौती छ ?

यहाँ विकास गर्नुपर्ने धेरै छ । विकासमा कर्मचारी बाधक जस्तो मेरो अनुभव छ । कसरी भने विनियोजन गरिएको बजेट आर्थिक वर्षको अन्त्यतिर मात्रै सम्झौता हुन्छ । विकट हिमाली तथा पहाडी गाउँमा वर्षात्को समयमा केही काम हुन सक्दैन । विनियोजन गरिएको बजेट नियमभित्र रहेर कात्तिक या मंसिरबाटै काम सुरु गरिनुपर्छ । असारमा काम सुरु गरेपछि पहाडी भेगको काम ठाडो खोलामा पिठो हालेजस्तै हो ।

यसपालि छगाम बगाम बाटो भनेर २३ लाख रुपैयाँ विनियोजन भयो । घिम्चे गोलु सडक भनेर दुईवटैको एउटैमा गरी ५० लाख विनियोजन भयो । जेठ १५ बाट बल्ल प्रक्रिया सुरु भयो । असारको ५ बाट सुरु भएको काम २० गते सकियो । २५ गते भुक्तानी भयो । आफैँ बुझ्नुस काम के भयो । अर्काे चुनौती राजनीति हो । जुन पार्टीले हाल्यो काम उसैका कार्यकर्तालाई हुने । संघीय तथा प्रदेश सरकारले विनियोजन वडामा गरेको हुन्छ । सम्झौता अन्यत्रै पनि हुन्छ । मेरो पार्टी र तेरो पार्टीले हालेको बजेट भन्ने भएपछि विकासमा चुनौती थपिएको हो ।

समृद्ध वडा निर्माणका लागि अबचाहिँ के गर्नुहुन्छ ?

पहिलो प्राथमिकता बाटो हो । यहाँका विभिन्न स्थानमा पुग्न बाटोको समस्याले निकै सकस भइरहेको अवस्था छ । यहाँ आएका बजेटबाट भएका कामको अनुगमन प्रभावकारी हुनु जरुरी छ । कहाँ राम्रो भयो कहाँ भएन भनेर हेर्नुपर्छ । पार्टीको झण्डा बोक्नेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर कार्यकर्ता मोटाउने अनि विकास २० प्रतिशत गरेर बाँकी खल्तीमा हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । काम नगर्नेलाई कारबाही गरिनुपर्छ । त्यो सबैमा लागू हुनुपर्छ । म यसमा प्रतिबद्ध छु । विकास निर्माणका क्रममा हुने कामहरुमा कहाँ कति ढुंगा, बालुवा, गिटी, जाली, माटो लाग्छ भन्ने मलाई पनि थाहा छ । कति काममा कति कुल्लीको प्रयोग हुन्छ भन्ने बारे पनि ममा जानकार छ । मैले यो पार्टी र त्यो पार्टी भनेकै छैन । टोलको मान्छे आएर राम्रो मान्छे आउनु भनेको छु । यही नै हो मेरो समृद्धिका योजना ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com