एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
काठमाडौं,आइतवार माल्दिभ्सलाई १३८ रनले हराएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले “धेरैले गरेको पदकको आशा” आफूहरूले बुझेको प्रतिक्रिया दिए।
उनले भने: “नेपालबाट धेरैले यस खेललाई नियालिरहनुभएको छ। हाम्रो प्रयास पनि क्रिकेटबाट पदक दिलाउने हो।”
एशियाली खेलकुदको क्रिकेटतर्फ पहिलो खेलमा मङ्गोलियाविरुद्ध कैयौँ विश्व कीर्तिमानहरू सहित जित हात पारेपछि नेपाली क्रिकेट टोलीको हान्झाउमा जसरी चर्चा पाइरहेको छ, त्यसरी नै खेलाडीहरू पनि मानसिक रूपमा सफलतालाई दोहोर्याउँदै लैजाने धुनमा देखिएका छन्।
आइतवार लिगको अन्तिम खेलमा समेत नेपालले माल्दिभ्सलाई उही शैलीमा एकपक्षीय जित हात पार्यो।
यससँगै १४ टोली सहभागी एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल अन्तिम आठमा पुगेको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले जी ज्याङ युनिभर्सिटी अफ टेक्नोलोजी मैदानमा सुरुमा रन जोड्नमा सङ्घर्ष गर्नु परेको थियो।
माल्दिभ्सविरुद्धको खेलमा नेपालले २०० रन पार गर्न समेत कठिन हुने छनक देखिएको थियो।
तर कप्तान रोहित पौडेल र कुशल मल्लका आक्रामक ब्याटिङका सहायताले नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन जोड्न सफल भएको थियो।
जसक्रममा कप्तान पौडेलले अर्ध शतक (५२ रन) बनाउन सफल भए भने मल्लले अविजित ४७ रन जोडेका थिए।
आइतवारको खेलमा अविनाशको कीर्तिमान
जवाफी बलिङका क्रममा अविनाश बोहोराले करिअरको उत्कृष्ट इनिङ्स खेल्दै ६ विकेट लिए।
जससँगै माल्दिभ्स २ बल खेल्न बाँकी छँदा नै ७४ रनमा अलआउट हुन पुगेको थियो।
बोहोराले ३.४ ओभर बलिङ गर्दै ११ रन जोड्न दिए र ६ विकेट लिए। यो कुनै पनि नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो।
सो क्रममा उनी दुई पटक ह्याट्रिक नजिक पुगेका थिए।
उनले भने: “ह्याट्रिकको लागि मौका पाएको थिएँ। तर त्यो भन्दा पनि देशको लागि जित महत्त्वपूर्ण हो।”
छैटौँ ओभरमा बलिङ गर्न आएका ‘डेथ ओभर’ विशेषज्ञ बलरको रूपमा चिनिने अविनाशले आफ्नो पहिलो ओभरमा नै ३ विकेट लिएका थिए। त्यसबेला उनी ह्याट्रिक नजिक थिए।
अर्को तीन विकेट उनले अन्तिम ओभरमा लिएका हुन्। त्यति बेला पहिलो दुई बलमा विपक्षी खेलाडीलाई बोल्ड गरेपछि तेस्रो बलमा विकेट पाउन चुकेका थिए।
तर चौथो बलमा विपक्षीलाई एलबीडब्लुको सिकार बनाएपछि माल्दिभ्सको इनिङ्स सकिएको थियो।
निर्णायक नकआउट चरण
नेपालले क्वार्टर फाइनलमा हुने भेटको टुङ्गो सोमवार टाइ सिट ‘ड्र’ बाट थाहा हुनेछ।
तर कुनै पनि प्रतिद्धन्दीको सामना गर्न आफूहरू तयार भएको कप्तान रोहित बताउँछन्।
जी ज्याङ युनिभर्सिटीमा बनाइएको नयाँ पिच अनुमान गर्न नसक्ने खालको भएको हुनाले कुनै पनि टोलीलाई खेल्न सजिलो नहुने उनको भनाई छ।
“एक दुई ओभरमा खेलको नतिजा फरक पर्न सक्ने हुनाले जे पनि हुनसक्छ। हामी पदकमा केन्द्रित भएर खेल्नेछौँ,” उनी भन्छन्।
क्वार्टर फाइनलमा नेपालले क्रिकेटका शक्तिशाली राष्ट्रहरूमध्ये एकसँग खेल्नेछ जसक्रममा भारत, पाकिस्तान, श्रीलङ्का वा बाङ्लादेशमध्ये एकको सामना गर्नुपर्ने हुनसक्छ।
नेपाल कति बलियो?
हालै एशिया कप खेलेको नेपाललाई उक्त अनुभवको लाभ हान्झाउमा हुनसक्ने कतिपय खेल विश्लेषकहरूको भनाइ पाइन्छ।
नेपालको पाकिस्तानविरुद्धको बलिङ र भारतविरुद्धको प्रशंसनीय ब्याटिङले गर्दा खेलाडीहरूमा ‘आत्मविश्वास भरिएको’ उनीहरूको विश्लेषण पाइन्छ।
क्रिकेट विश्वकप समेत हुन लागिरहेको यस बेला शक्तिशाली राष्ट्रहरूले आफ्नो पहिलो रोजाइको टोली एशियाली खेलकुदमा पठाएका छैनन्।
र टी-ट्वेन्टी ढाँचाको खेल भएकाले एक दुई ओभरमै खेलहरूले नाटकीय मोड लिन सक्ने सम्भावनाले समेत खेललाई नाटकीय मोडहरू सिर्जना हुनसक्ने धेरैको आकलन पाइन्छ।
इन्टरन्याश्नल क्रिकेट काउन्सिल आईसीसीको वरियता क्रममा नेपाल १७औँ स्थानमा छ।
(बीबीसी)
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया