Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदनेपाल  दक्षिण अफ्रिका सँग एक रनले पराजित

नेपाल  दक्षिण अफ्रिका सँग एक रनले पराजित


काठमाडौँ, आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।  वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रुपमा अनिल शाहलाई गुमाउन पुग्यो । अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए । आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए ।
नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए ।
ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रुपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र  एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भन  आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।

क्याटेगोरी : खेलकुद, विश्वकप

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x