आईसीसी विश्वकप क्रिकेट लिग-२यूएईले टस जितेर ब्याटिङ रोज्यो
काठमाडौं, आईसीसी विश्वकप क्रिकेट लिग- २अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजको निर्णायक खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । नेपालले आफ्नो टिमका अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र करण केसीलाई टिम भन्दा बाहिर राखेको छ । उनीहरुको ठाउँमा गुलशन झा र रलित राजवंशीले स्थान लिएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोली एउटा महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्नबाट एक कदम मात्रै पर छ। आज यूएई विरुद्धको खेल जितेमा नेपाल विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिनेछ।
र, तीन महिनापछि जिम्बाब्वेमा हुने ‘विश्वकपको ग्लोबल क्वालिफायर’ मा सिधै छनोट हुनेछ।क्वालिफायरमा छानिनुको अर्थ टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउनु हो।
पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाए यता नेपाल पहिलोपटक ठूलो ‘मञ्च’मा खेल्ने अवसर नजिक पुग्न लागेको हो।एक महिना अगाडिसम्म ‘एकदिवसीय अन्तर्राष्ट्रिय’ राष्ट्रको मान्यता जोगाउन समेत अत्यन्त मुस्किल अवस्थामा रहेको नेपाल अहिले शीर्ष तीन स्थानमा उक्लिएर विश्वकप क्वालिफायरमा छनोट हुने बलियो स्थितिमा पुग्नु सानो विषय होइन।
तर यदि युएईसँग पराजय भोगे नेपालको यो अवसर गुम्नेछ र टोलीले एसोसियट राष्ट्रहरू सम्मिलित प्ले अफ क्वालिफायरमा खेल्नुपर्नेछ।उक्त प्ले अफको शीर्ष दुईमा पुग्न सकेमा पनि नेपाल क्वालिफायरमा फेरि खेल्न पाउनेछ।अर्थात् ‘प्ले अफ’ क्वालिफायरमा पुग्ने अर्को घुमाउरो अवसर हो।
क्वालिफायर के हो ?
क्वालिफायर भारतमा आगामी वर्ष हुने विश्वकपमा पुग्ने अन्तिम ढोका हो। क्वालिफायरमा १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट शीर्ष २ टोलीले विश्वकप खेल्ने अवसर पाउनेछ।
१० राष्ट्रहरू विभिन्न तीन वटा माध्यमबाट छनोट हुनेछन्। ती हुन् ‘सुपर लीग’ को पुछारमा रहेको पाँच राष्ट्र, विश्वकप लीग-२ को शीर्ष तीन राष्ट्र र प्ले अफका शीर्ष दुई राष्ट्र।
सुपर लिग भनेको आइसीसीको पूर्ण सदस्य रहेको टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता हो। नेदरल्यान्ड्सले आइसीसी क्रिकेट विश्वकप लिग च्याम्पियनसिप जितेको आधारमा सुपर लिग खेल्ने अवसर पाएको हो।
यी १३ मध्ये आठ राष्ट्र सिधै विश्वकपमा छनोट हुनेछन् भने पुछारमा रहेको पाँच टोली क्वालिफायरमा झर्नेछन्।
आयोजक राष्ट्रको नाताले भारत स्वतः विश्वकपमा छानिएको छ भने अफगानिस्तान, अस्ट्रेलिया, बाङ्गलादेश, इङल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तान गरी ७ राष्ट्रहरू आवश्यक अङ्कका साथ विश्वकपमा पुगिसकेका छन्।
यो समूहबाट अब एउटा राष्ट्र मात्रै विश्वकपमा छनोट हुन बाँकी छ। त्यसमा श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डबीच प्रतिस्पर्धा चलिरहेको छ।
यी चार मध्ये एक टोली विश्वकपमा पुग्दा बाँकी तीन टोली क्वालिफायरमा झर्नेछ। १२औँ र १३औँ स्थानमा रहेर आयोजक जिम्बाब्वे र नेदरल्यान्ड्स पहिले नै क्वालिफायरमा झरिसकेका छन्।
यसरी सुपर लिगका पुछारमा रहेका पाँच राष्ट्रले क्वालिफायर खेल्नेछन्।लीग-२ त्यस्तै लीग-२ का शीर्ष तीन टोली क्वालिफायरमा छनोट हुनेछन्।
जस अनुसार आवश्यक अङ्क प्राप्त गर्दै पहिलो स्थानमा रहेको स्कटल्यान्ड र दोस्रो स्थानको ओमान छनोट भइसकेका छन्।
अब तेस्रो स्थानमा रहेको नामिबिया र चौथो स्थानमा रहेको नेपाल मध्ये एक राष्ट्र क्वालिफायरमा पुग्दैछ।
सबै ३६ खेल खेलिसकेको नामिबियाको ३९ अङ्क छ। अन्तिम खेल खेल्न बाँकी नेपालको ३८ अङ्क छ।
भोलि नेपालले युएईलाई जित्नासाथ ४० अङ्क प्राप्त गर्दै तेस्रो स्थानमा उक्लिनेछ र जिम्बाब्वेको यात्रा तय गर्नेछ।
हारेमा भने नामिबियाले सो स्थान पाउनेछ।
जिम्बाब्वेमा आगामी असार ३ गते देखि २४ गतेसम्म (१८ जुन देखी जुलाई ९ तारिख) प्रतियोगिता हुने तय भइसकेको छ।
प्रतियोगिता दुई सहर हरारे र वुलावायोमा हुनेछ।
क्वालिफायर प्ले अफ
प्ले अफ ६ राष्ट्रबीचको प्रतिस्पर्धा हो। विश्वकप लीग-२ को सात मध्ये तालिकाको पुछारमा रहेका चार राष्ट्र तथा एसोसियट राष्ट्रहरूबीच खेलिएको च्यालेञ्ज लिगका शीर्ष दुई टोली यसमा सहभागी हुनेछन्।
च्यालेञ्ज लिगबाट न्यु जर्सी र क्यानडा छानिसकिएका छन्।यस्तै लीग-२ बाट अमेरिका, यूएई र पपुवा न्यूगिनीको स्थान पक्का भइसकेको छ।
स्थान सुरक्षित हुन बाँकी नेपाल र नामिबियामध्ये एकको भविष्य बिहीवार हुने नेपाल र युएईबीचको खेलको परिणामले निर्धारण गर्नेछ।
युएईसँग पराजित भएमा नेपालले यो प्ले अफ खेल्नुपर्नेछ। प्ले अफमा शीर्ष-२ मा पर्ने राष्ट्रहरू मात्र क्वालिफायरमा पुग्ने छन्।
साथै यी राष्ट्रहरूले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पनि प्राप्त गर्नेछन्।नेपालको लागि सबैभन्दा राम्रो पक्ष के हो भने यो चक्रमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भने सुरक्षित भइसकेको छ।
यस्तो अवस्थामा पहिले नै ओडिआई मान्यता पाएको देशले शीर्ष दुई स्थान हात पारेको खण्डमा त्यो भन्दा तल पुग्न सफल देशमा ओडिआई मान्यता सर्नेछ।
प्ले अफ क्वालिफायरमा अमेरिका अनि नेपाल र नामिबिया मध्ये एक ओडिआई प्राप्त राष्ट्र हुनेछन्।
यस्तोमा यूएई र पपुवा न्यूगिनीलाई ओडिआई जोगाउने अवसर खुल्नेछ।
नेपालले अङ्क बाँड्नुपरे के हुन्छ?
बिहीवारको खेल जितेमा नेपालले दुई अङ्क प्राप्त गर्नेछ। यद्यपि एक अङ्क मात्र प्राप्त हुन सक्ने केही अवस्थाहरू पनि छन्।वर्षाका कारण खेल बिथोलिए सहभागी टोलीले एक-एक अङ्क बाँड्नेछन्। खेलकोबीचमा पानी परेको खण्डमा दुवै टोलीले कम्तीमा २० ओभर खेल्न नपाए पनि एक-एक अङ्क बाँडिनेछ।
२० ओभर भन्दा बढी खेलेको अवस्थामा डीएलएस प्रणालीमा आधारित रहेर खेलको नतिजा निकालिनेछ।यदि दुवै टोलीले समान रन बनाएर खेल टुङ्ग्याएमा पनि अङ्क बाँडिनेछ।
यस्तो अवस्थामा के एक अङ्क नेपाललाई शीर्ष तीनमा उक्लिन पर्याप्त हुन्छ त ?
नेपाली राष्ट्रिय टोलीका छनोट समितिका संयोजक दीपेन्द्र चौधरी भन्छन्, ” जित बाहेक जुनसुकै अवस्था आएमा पनि नेपाल क्वालिफायरमा पुग्नेछैन।”
अर्थात् नेपाललाई स्पष्ट जित हात पार्नै पर्छ।किनभने अङ्क तालिकामा नामिबियाभन्दा नेपाल एक अङ्कले तल छ। नामिबियालाई उछिन्न नेपाललाई दुई अङ्क नै चाहिन्छ।
यदि एक अङ्क मात्र पाएमा नेपाल र नामिबिया दुवैको समान ३९/३९ अङ्कको बराबरी हुनेछ।र आइसीसीको नियम अनुसार बराबरीको अवस्थामा सबैभन्दा पहिले कुन राष्ट्रले बढी खेल जितेको छ, सोही राष्ट्र अगाडि बढ्नेछ।
लीग-२ को कुल ३६ खेलमा नेपालले १८ खेलमा जित हात पारेको छ भने नामिबियाले १९ खेल जितेको छ।त्यसैले बिहीवार नेपालले यूएईलाई पराजित गर्नुको विकल्प छैन।(बीबीसी)
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया