Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसन्दीप लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाइने

सन्दीप लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाइने


काठमाडौं,क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कारको मुद्दामा काठमाण्डू जिल्ला अदालतले जाहेरीकर्ता किशोरीको तत्कालीन अवस्थामा स्वास्थ्य जाँच गर्ने विशेषज्ञ चिकित्सकलाई बकपत्रका लागि बोलाउने निर्णय गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेको मुद्दामा काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले त्यस्तो निर्णय गरेको हो।

काठमान्डू जिल्ला अदालतको इजलास नम्बर २८ का इजलास अधिकृत राममणि फुयाँलले पीडितको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ चिकित्सकको बकपत्र गर्न अदालतले आदेश दिएको जानकारी दिए।

उनले अहिले बकपत्रका लागि मिति भने तय भइनसकेको जानकारी दिए। उनले भने, “निरन्तर सुनुवाइको र संवेदनशील मुद्दा भएकाले प्रतिवादी पक्ष उपस्थित भएपछि सकेसम्म चाँडो अर्को पेसीको मिति तोकिनेछ।”

गत बुधवार पनि उक्त मुद्दाको पेसी तोकिएको थियो।त्यस दिन पालो नआएकाले उक्त मुद्दालाई “हेर्न नभ्याइने”मा राखिएको थियो।

त्यसअघि गत पुस १९ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो।तर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि सन्दीपको पक्षका अधिवक्ताको अनुरोधमा सुनुवाइ रोकिएको थियो।

यसअघि के-के भयो?
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका बेला एक नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको थियो।

तर गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई उनलाई तारेखमा रिहा गरिदिएको थियो।न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई तारेखमा छोड्ने आदेश दिँदा उल्लेख गरिएका थुप्रै बुँदाहरूमध्ये एउटामा लामिछानेलाई मुद्दाको छिनोफानो नभएसम्म विदेश जान रोक लगाइएको थियो।

लामिछानेलाई विदेश जाने मात्र नभएर काठमाण्डू उपत्यका छाड्नुपरेको खण्डमा समेत बाहिरिने र फर्केर आउने मिति खुलाएर जिल्ला प्रहरी परिसरमा लिखित जानकारी दिनुपर्ने आदेश दिइएको थियो।

तर लामिछाने उक्त प्रतिबन्धात्मक बुँदा हटाउन माग गर्दै सर्वोच्च अदालतमा पुगेका थिए।सर्वोच्च अदालतले गत फागुन दोस्रो साता उनलाई ससर्त विदेश जान दिने अनुमति दिएको थियो।

अदालतले “खेल समाप्त भएको मितिले स्वदेश फर्कँदा लाग्ने युक्तिसङ्गत म्यादबाहेक १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित हुनुपर्ने,” सर्तसहित त्यस्तो अनुमति दिएको हो।

न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छोड्ने निर्णयलाई पनि सदर गरेको थियो।अदालतले उनको राहदानी रोक्का रहेको भए फुकाउनसमेत आदेश दिएपछि उनी यूएई पुगेर खेलेका थिए।
घटना के हो?
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।

नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए।आरोपहरू सार्वजनिक भएपछि उक्त लीगलाई बीचमै छाडेर केही समय सम्पर्कविहीन भएका लामिछाने त्यसको केही समयपछि नेपाल फर्केका थिए।
प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनी विरुद्ध इन्टरपोलमार्फत् सूचना पनि जारी गरेको थियो।

त्यसपछि सन्दीपले पहिलो पटक फेसबुक स्ट्याटस लेख्दै आफूलाई फसाइएको र त्यस विरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए।

लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।उनी पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।

उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्गलादेश र पाकिस्तानका लीगमा खेलेका छन्।(बीबीसी)


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया