Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जन‘को–हजबेण्ड’लाई एक करोड ३० लाख सहयोग

‘को–हजबेण्ड’लाई एक करोड ३० लाख सहयोग


काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ भने क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल भएको छ ।

गणेश पाण्डे निर्देशित को–हजबेण्डले जापानको क्युशु सहरमा सम्पन्न पाँचौँ मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड ३० लाख नेपाली रुपैयाँबराबर)को फिल्म फन्डिङ जितेको हो । यसका साथै, को–हजबेण्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा एक सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो । यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्किन मद्दत मिल्ने पाण्डेले बताए ।

यसैगरी, को–हजबेण्डले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेण्डले उत्कृष्ट पुरस्कार पाएको हो । ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ नयाँ डकुमेन्ट्री फिल्म हो । यसअघि को–हजबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकिया लगायतका देशमा अवार्ड जितिसकेको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को–हजबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले करिब चार वर्षको छायांकन र रिसर्चबाट को–हजबेण्ड निर्माण गरेको बताए । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3

तपाईको प्रतिक्रिया