Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा ‘लकडाउन’ थप कडाइ

दोलखामा ‘लकडाउन’ थप कडाइ


सुबास बस्नेत
दोलखा, वैशाख १७
लकडाउन उलंघन गर्ने बढेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले मंगलबारदेखि जिल्लामा लकडाउनलाई कडाइ गरेको छ । सरकारले लकडाउनलाई थप कडा गर्न निर्देशन गरेसँगै दोलखामा पनि कडा गरिएको हो । सदरमुकाम चरीकोटमा लकडाउनको उल्लंघन गरेको भन्दै मंगलबार प्रहरीले सवारीसाधनहरूलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सवारी साधनमा सरकारी मोटरसाइकलदेखि ट्याक्टरसम्म रहेका छन् ।

गृह मन्त्रालयको निर्देशनअनुसार थप कडाइ गरिएको दोलखा प्रहरीका प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । मंगलबार मात्रै प्रहरीले २ सरकारी बाइकसहित १६ वटा मोटरसाइकल, चार पांग्रे सवारीसाधन छ, छ चक्के एक र ट्याक्टर एउटा नियन्त्रणमा लिएको छ । लकडाउनको ३६ दिनमा प्रहरीले तीन हजार पाँच सय ८८ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ । लकडाउनमा थप कडाइ गर्ने क्रममा मंगलबार एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्ने उपायबारे प्रशिक्षण दिएर छोडिएको प्रहरीले जनाएको छ । लकडाउन उल्लंघन गरेकालाई कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम र बच्ने उपायबारे हरेकलाई १० मिनेटको प्रशिक्षण दिइएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया